क्यान्सर अनुसन्धाता डा. सोनिया दुलाललाई अमेरिकी ‘गोल्डेन एप्पल अवार्ड’ | Khabarhub Khabarhub

क्यान्सर अनुसन्धाता डा. सोनिया दुलाललाई अमेरिकी ‘गोल्डेन एप्पल अवार्ड’

डा. दुलालले स्रोत–साधनको अभावका बीच क्यान्सर रोगीको उपचार र व्यावसायिक विकासमा योगदान गरेकी थिइन्



सुनसरी– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर विशेषज्ञको रूपमा कार्यरत एसोसिएट प्रोफेसर डा. सोनिया दुलाललाई हेल्थ भोलन्टियर्स ओभरसिज (एचभीओ) ले ‘गोल्डेन एप्पल अवार्ड’ले सम्मान गरेको छ ।

अमेरिकाको वासिङ्टन डिसीस्थित एचभीओले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा डा. दुलाललाई सम्मान गरेको हो ।

सन् २००६ देखि विश्वका युवा चिकित्सकले गर्ने अनुसन्धान, बिरामी उपचारमा निर्वाह गरेको भूमिकाको आधारमा गोल्डेन एप्पल अवार्ड दिँदै आएको छ ।
स्रोत साधनको अभाव भएपनि आफ्नै प्रयासमा क्यान्सर रोगीको उपचार र व्यावसायिक विकासमा उल्लेखनीय योगदान दिएको भन्दै डा. दुलाललाई विश्व स्वास्थ्य दिवस र विश्व स्वास्थ्यकर्मी सप्ताहको अवसरमा अवार्डद्वारा सम्मान गरिएको हो ।

डा. दुलाल करिब पाँच वर्षदेखि बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छिन् । उक्त अवार्ड स्वास्थ्य क्षेत्रका शिक्षक, सल्लाहकार तथा विशेषज्ञको उत्कृष्ट योगदानको सम्मानस्वरूप प्रदान गरिन्छ ।

विश्वभरका मानिसहरूलाई सुरक्षित र दक्ष उपचार सेवा उपलब्ध गराउन प्रोत्साहित गर्ने उद्देश्यले स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि एचभीओले प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्दै आएको छ ।

एचभीओका कार्यकारी निर्देशक एप्रिल पिन्नरले डा. दुलाललाई अवार्ड सम्मानको हकदार बनाउनुका कारणबारे भनेका छन्, ‘डा. दुलालले स्वास्थ्य शिक्षामार्फत् नेपालको स्वास्थ्य सेवा सुधार गर्न जुन जोस र समर्पण देखाउनु भएको छ, त्यो प्रेरणादायक छ । उहाँको योगदानले स्रोत अभाव भएका समुदायहरूमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

अवार्डबाट सम्मानित भएपछि खबरहबसँग कुरा गर्दै डा. दुलालले जिम्मेवारी थपिएको महसुस भएको बताइन् । उनले भनिन्, ‘मलाई अवार्डले सम्मान गरेको जानकारी पत्रमार्फत् दिइएको थियो । यो सम्मानले मलाई क्यान्सरमाथि थप अनुसन्धान गर्ने हौसला बढेको छ ।’

यो पुरस्कारबाट सम्मानित हुने सम्भवतः उनी पहिलो नेपाली हुन् । क्यान्सरको उपचार क्षेत्रमा डिएम मेडिकल अंकोलोजी गर्ने जनशक्ति नेपालमा पाँच जनामात्र छन् । ती मध्ये एक डा. दुलाल हुन् । नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) बाट विद्यावारिधि (डिएम) गरेकी उनी नेपालकै पहिलो दुई अंकोलोजिस्टहरूमध्ये एक हुन् । यो नेपालमा सुरु गरिएको पहिलो मेडिकल अंकोलोजी कार्यक्रम थियो ।

उनी काठमाडौंको नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) मा कार्यरत रहँदारहँदै सन् २०२० देखि बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञको रूपमा काम गर्दै आएकी छन् । बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञको रूपमा कार्यरत रहेपनि क्यान्सर उपचारका लागि छुट्टै युनिट, अन्य चिकित्सकीय जनशक्ति, भौतिक पूर्वाधार, मेडिकल उपकरण अभावका बीच उनले इनप्यासेन्ट अंकोलोजी सेवा, केमोथेरापी इन्फ्युजन डे केयर युनिट, आउटप्यासेन्ट अंकोलोजी सेवा तथा क्यान्सर स्क्रिनिङ क्लिनिक सञ्चालन गर्न सफल भइन् ।

डा. दुलालले भनिन्, ‘बिपी प्रतिष्ठान प्राइभेट अस्पताल जस्तो होइन, त्यसैले चिकित्साशास्त्रका विद्यार्थी र नर्सहरूसँग मिलेर समुदायमा क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्क्रिनिङ र सचेतना अभियानहरू पनि सञ्चालन गर्दै आएको छु । समुदायमा क्यान्सर स्क्रिनिङ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विद्यार्थी समूह पनि गठन गरिएको छ । मैले सिकेको र जानेको ज्ञानको आधारमा क्यान्सर स्क्रिनिङसम्बन्धी मार्गनिर्देशन, केमोथेरापी अर्डरहरू र उत्कृष्ट अभ्यासहरूलाई निरन्तरता दिने प्रयास जारी छ ।’

न्याम्समा अंकोलोजी तालिम कार्यक्रम २०२३ मा बन्द भएपछि डा. दुलालले बिपी प्रतिष्ठानमा डिएम मेडिकल अंकोलोजी कार्यक्रम सुरु गर्न नेपाल, भारत क्यानडा र अमेरिकाका विशेषज्ञहरूको सहभागितामा पाठ्यक्रम विकास कार्यशाला सञ्चालन गरिन् ।

चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले डिएम मेडिकल अंकोलोजीका लागि एक सिट पनि दियो । तर दुर्भाग्य सुरुको वर्ष एक जनाको पनि निवेदन परेन ।

आफ्नो अध्ययन पूरा गरेपछि काठमाडौं छाडेर बिपी प्रतिष्ठानमा आएपछि पहुँचभन्दा बाहिर रहेका ग्रामीण भेगका जनसमुदायलाई लक्षित गरेर क्यान्सर उपचारको क्षेत्रमा सक्रिय डा. दुलाल बिपी प्रतिष्ठानमा क्यान्सरको छुट्टै युनिट र क्यान्सरका सबै प्रकारका उपचार गर्ने पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक मेडिकल उपकरणयुक्त क्यान्सर उपचार केन्द्र भए हुन्थ्यो भन्ने सपना देखिरहेकी छन् ।

उनले भनिन्, ‘हुनेखानेहरू विदेश वा प्राइभेट क्यान्सर उपचार केन्द्र (अस्पताल) मा जान सक्छन् तर दुर्गम र गाउँमा बस्ने कतिपय विपन्नले क्यान्सरको पहिलो, दोस्रो स्टेज पनि थाहा पाउँदैनन् । अन्तिम अवस्थामा पीडामा मृत्युवरण गर्न पुग्छन् ।’

यसअघि उनले अमेरिकाबाट ‘ग्लोबल अंकोलोजी यङ इन्भेस्टिगेटर अवार्ड’ पनि पाइसकेकी छन् । वंशाणुगत जिनका कारण परिवारका अन्य सदस्यमा पनि क्यान्सर देखिएको बारे उनले पूर्वका निश्चित जाति र परिवारमा गरेको वैज्ञानिक अनुसन्धान–पत्रले उक्त अवार्ड दिलाएको हो । उनले किन एउटै वंशका जिनमा मात्र, त्यो पनि नेपालमा मात्र यस्तो देखियो भनेर थप अनुसन्धान हुन भने बाँकी रहेको बताइन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ०६ बजे

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको

रसुवा बाढी : ९८ करोड ५९ लाख बीमा दावी

काठमाडौं – गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित

कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा !

काठमाडौं–  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको