काठमाडौं- अप्रिल १५, २०२५ मा सीएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्यालीस्तरमा पुग्ने छ’ भन्ने प्रसंग उल्लेख गरिएको छ ।
अप्रिल १५ देखि १८ तारिखको अवधिमा पाकिस्तानको बलुचिस्तानमा नियमित तापक्रमभन्दा ८ डिग्री सेल्सियस बढेर ४९ डिग्री सेल्सियस (१२० फरेनहाइट) सम्म पुग्ने अनुमान उक्त समाचारमा गरिएको छ । यही समाचारका आधारमा यो लेख तयार पारिएको छ ।
पृथ्वीको सतहको तापक्रमलाई प्रभाव पार्ने धेरै कुरामध्ये जमिनको सतहको उचाइ प्रमुख आधार हो । सतहको उचाइ र तापक्रमबीच विपरीत सम्बन्ध हुन्छ । जब-जब जमिनको सतहको उचाइ बढ्दै जान्छ, तब पृथ्वीको सतहको तापमान घट्दै गएको पाइन्छ ।
पृथ्वीको तापको प्रमुख स्रोत सूर्यबाट प्राप्त हुने तापका किरण नै हुन् । आफ्नो खपत क्षमताभन्दा बढी भएको तापक्रम पृथ्वीले परावर्तन गरी अन्तरिक्षमा फर्काउने गर्दछ ।
पृथ्वीले आफ्नो आवश्यकता भन्दाबढी तापक्रम फर्काउने बाटोमा रहेको वायुमण्डलमा अतिरिक्त अवरोध सिर्जना भई परावर्तित तापका किरण वायुमण्डलमै घुलेर रहने हुँदा पृथ्वीको सतहमाथिको हावाको तापक्रम बढ्न गएको हो ।
अनियन्त्रित र प्रकृति विनाशको अत्यधिक मानवीय क्रियाकलापले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइड र अत्यधिक धुलिकरणको मात्रा बढ्न गई तापका किरण फर्कने बाटोमा अवरोध सिर्जना भएको छ ।
नेपालमा उत्तर-दक्षिणको छोटो दूरीको अन्तरमा अत्यधिक उचाइमा विविधता छ । यसको उचाइ समुन्द्री सतहबाट ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्म छ ।
सबैभन्दा अग्लो सगरमथा शिखर हो भने सबैभन्दा होचो भू-भाग धनुषाको मुखियापट्टीमा जम्मा ५९ मिटर छ ।
सन् २०१७ भन्दा पहिला नेपालको सबैभन्दा होचो भू-भाग झापाको कचनाकेवललाई मानिन्थ्यो । जसको उचाइ समुद्र सतहदेखि ७० मिटर छ ।
तर सन् २०१७ मा नेपाल सरकारले गरेको सर्वेक्षणले धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको पत्ता लगाएको हो ।
यस लेखका लागि सन्दर्भ सामग्रीको रुपमा विश्व बैंकले अनलाइन पोर्टललाई लिइएको छ । यहाँ सन् १९०१ देखि २०२३ सम्मको नेपालको जमिनको सतहको वायुको वार्षिक औसत तापक्रम र नेपालका विभिन्न ८२ वटा मेट्रोलोजिकल स्टेशनको सबैभन्दा बढी तापक्रम भएको बेलाको तापमानको तुलना गरिएको छ ।
नेपालमा तापक्रम वृद्धि
हाल बढिरहेको जलवायु परिवर्तनका कारण चरम मौसमी घटनामा वृद्धि हुने क्रम जारी छ । यसै क्रममा ग्रीष्मकालीन समयमा नेपालमा पनि छोटो-छोटो समयमा विभिन्न ठाउँहरूको तापक्रममा उछाल आउने गरेको छ ।
विश्वबैंकको तथ्याङ्क हेर्दा प्रत्येक ३० वर्षको अवधिमा चरम गर्मीका लहरहरू आएको देखिन्छ । साथै यस लेखमा देखाइएको ग्राफले पनि तापक्रमका लहरहरू तल-माथि गर्दै क्रमश तपक्रम बढदै आएको देखिन्छ ।
सन् २००९ पछि लगातार रुपमा औसत तापमानभन्दा निकै माथि चरम गर्मीका लहरहरू आएको देखिन्छ । झन्डै १२० वर्षको अवधिमा नेपालमा जम्मा ०.६६ डिग्री सेल्सियस (प्रतिवर्ष ०.००५५ डिग्री सेल्सियस ) बढेको देखिन्छ ।
सामान्य रुपमा हेर्दा प्रति वर्ष ०.००५ डिग्री सेल्सियस सानो अंक लाग्छ । तर वायुमण्डलमा यसको प्रभाव ठूलो परेको हुन्छ । जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ ।
अर्थात्, १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ । ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ । वायुमण्डलको थोरै तापक्रमको परिवर्तनबाट स्थानीय हावाको चापमा परिवर्तन भई हावाको बहाव र दिशामा ठूलो परिवर्तन हुनाको साथै सम्पूर्ण मौषममा नै गुणात्मक परिवर्तन हुन्छ ।
यसको परिणामस्वरुप सम्पूर्ण जीव तथा वनस्पति जगतले आफूलाई अनुकूलन गर्न आफ्नो प्राकृतिक स्वरुपमा नै परिवर्तन गर्नुपर्छ । जसले आफूलाई बदल्न सक्दैन, यस धर्तीबाट लोप भएर जानुपर्छ ।
तापक्रमको स्थानीय वितरण
इन्टरनेटमा प्राप्त ८० मेट्रोलोजिकल स्टेशनहरूको नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेट्वर्कलाई उपलब्ध गराएको ग्रीष्मकालीन औसत तापमान विवरण र गुगल सर्चबाट उक्त स्टेशनको चरम तापमान पत्ता लगाई नेपालको तापक्रम वितरण तयार पारिएको हो ।
यसैको आधरमा नेपालको चरम तापक्रम वितरण नक्सा तयार गरिएको छ । उक्त नमूनास्वरुप लिइएका ८० स्टेशनको वितरणको ढाँचा अनियमित रहेकोले नक्सामा देखाइएको तापक्रम वितरणमा केही फरक पर्न सक्छ । तर सामान्यतया सत्यतको नजिकै हुन्छ ।
समान्यतया ३० वर्षको औसत तापक्रमले स्थानीय हावापानीलाई प्रतिनिधित्व गर्दछ । यस लेख तयार पर्दा सो अवधिको तथ्याङ्क इन्टरनेटमा उपलब्ध हुन नसक्दा जम्मा १० वर्षको ८० वटा स्टेशनका ग्रीष्मकालीन डाटालाई मात्र आधार बनाएर गरिएको छ ।
नक्सा तयार पार्दा अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडिडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ ।
नक्सामा गाढा हरियोबाट फिका हरियो, फिका पहेंलोबाट गाढा पहेलो अनि फिका रातोबाट गाढा रातो रङबाट क्रमश: चरम गर्मीका लहरहरू हुन सक्ने स्थानहरूको वर्गीकरण गरिएको छ ।
गाढा रातो रङले पोतिएका स्थानहरू सम्भावित चरम गर्मी हुन सक्ने क्षेत्रहरू हुन् । पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ ।
१. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेको थियो । १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५ डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ ।
२. सप्तरी : सप्तरीको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेको थियो । सन् २०१९ जुन १६ मा ४३ डिग्री सेल्सियस पुगेको थियो । अति तापक्रमका कारण बढेका बिमारीको संख्या व्यवस्थापन गर्न अस्पताललाई कठिनाइ परेको विवरण सर्च इन्जिनबाट देखिन्छ ।
३. रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिकाको ग्रीष्मकालीन औसत तापक्रम ३२.३ डिग्री सेल्सियस थियो । तर सन् २०१५ जुन १९ तारिखका दिन तापक्रम बढेर ४४.१ डिग्री सेल्सियस पुगेको थियो ।
४. परासी : साविकको नवलपरासी र हालको परासीमा पर्ने दुम्कौली मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३४.३ डिग्री सेल्सियस हुने गरेको थियो । तर सन् १९७९ जुन ५ का दिन ४३.८ डिग्री सेल्सियस र फेरि जुन २०२३ मा पनि ४३.८ डिग्री सेल्सियस पुगेको थियो । यस तथ्यांकले उक्त क्षेत्रमा पटक-पटक चरम गर्मीका लहरहरू आउन सक्ने सम्भावनालाई इंगित गर्दछ ।
५. बाँके : बाँकेको नेपालगन्ज चरम गर्मीको सूचीमा लगातारजसो परिरहन्छ । नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको डाटा सेटअनुसार नेपालगन्जको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस देखिन्छ । तर, सन् १९९५, २०१३ र २०२३ का जुन महिनामा चरम गर्मीको लहर ४५.९ डिग्री सेल्सियसभन्दा बढी मापन भएको देखिन्छ ।
६. बर्दिया : बर्दिया जिल्लाको रानी जरुवामा रहेको मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस हुने गरेको थियो । सन् १९९५ जुन ५ मा ४६.४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।
७. कैलाली : कैलालीको टीकापुर, धनगढी र अत्तरिया सर्वाधिक गर्मी हुने स्थानरू हुन् । यी स्थानमा ग्रीष्मकालीन औसत तापक्रम क्रमश: ३५.२ र ३५.८ डिग्री सेल्सियस हुने गरेको थियो । तर सन् १९९५ जुन १६ मा ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । नेपालको हालसम्मको सबैभन्दा बढी तापक्रम यही नै हो ।
सारांश
नेपालको तराईबाट क्रमश: तापक्रम पहाडी क्षेत्रतिर घट्दै गएको देखिन्छ । पूर्वी पहाडी क्षेत्रभन्दा मध्य र पश्चिमी पहाडी भू-भाग ग्रीष्मकालीन समयमा बढी गर्मी रहेको देखिन्छ ।
पश्चिमी पहाडका डडेल्धुरा र दार्चुला उच्च पहाडी भू-भागमा रहेर पनि ग्रीष्मकालीन चरम तापक्रम ३४ डिग्रीसम्म पुगेको पाइएको छ ।
अत्यधिक गर्मीको बेला मानिसको टाउको दुख्ने, पसिना बढी आउने, रिङ्टा लाग्ने, बान्ता आउने, सास छिटो-छिटो फेर्ने, अत्यधिक तिर्खा लाग्ने जस्ता मानवीय स्वास्थ्यमा प्रभाव पर्दछ ।
यस्तो बेला सकेसम्म तातोबाट बच्ने, धरै पानी पिउने, विशेष कामबाहेक घर वा छहारीबाट बाहिर ननिस्कने र शरीरले असजिलो महसुस गरेमा नजिकमा प्राप्त हुने स्वास्थ्य सुविधाहरू लिनु नै सामान्य बचावटको उपाय हुन सक्छन् ।
चितवन, हाल अमेरिका
प्रतिक्रिया