वैशाख र जेठको रिलिज क्यालेन्डर : ९ सातामा ११ फिल्म, महानायकले कमब्याक गर्दा सौगातका तीन फिल्म | Khabarhub Khabarhub

वैशाख र जेठको रिलिज क्यालेन्डर : ९ सातामा ११ फिल्म, महानायकले कमब्याक गर्दा सौगातका तीन फिल्म


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले हलमा ६ वटा नेपाली र दुई हिन्दी फिल्म प्रदर्शनरत छन् । ‘कर्मा’ र ‘पिताम्बर’ चैत २९ मा प्रदर्शनमा आएका हुन् । अन्य फिल्म यसअघि नै प्रदर्शनमा आएर हलमा टिकिरहेका छन् ।

चलचित्र विकास बोर्डका अनुसार वि.सं. २०८१ मा ६२ वटा फिल्म प्रदर्शनमा आए । फिल्मीवृत्तमा ०८२ मा यसको दोब्बर बढी फिल्म प्रदर्शनमा आउने चर्चा छ । जसका कारण दशैँ, तिहार र सार्वजनिक बिदाजस्ता ‘प्राइम डेट’ अहिले नै प्याक भइसकेका छन् ।

त्यसो भए ०८२ को सुरुवात कस्तो देखिन्छ त ?

यस वर्षको सुरुवाती दुई महिना वैशाख र जेठमा जम्मा ९ शुक्रबार परेका छन् । यो अवधिमा ११ फिल्म प्रदर्शनमा आउने घोषणा भएको छ ।

अहिलेसम्म वैशाखमा ५ र जेठमा ६ फिल्म प्रदर्शनमा आउने घोषणा भएको छ । यस घानमा महानायक राजेश हमालको कमब्याक र सौगात मल्लका तीन फिल्म परेका छन् ।

०८२ को दोस्रो सातामा प्रवेश गर्दा एउटा शुक्रबार पार भइसकेको छ । वैशाख ५ गते शुक्रबार फ्रेस फिल्म प्रदर्शनमा आएनन् ।
वैशाखका बाँकी तीन सातामा दुई शुक्रबार बक्स अफिस भिडन्त हुने देखिन्छ ।

जेठमा ५ शुक्रबार परेका छन् । जेठ २३ मा फिल्म ‘जन्ते बाख्रो’को मिति हेरफेर हुँदा यो मिति खाली छ ।

बाँकी चार सातामा दुई फिल्मले सोलो रिलिज पाएका छन् भने अन्य दुई सातामा बक्स अफिस भिडन्त हुने देखिन्छ ।

व्यस्त सौगात र महानायकसँग बक्स अफिस प्रतिस्पर्धा

महानायक राजेश हमाल फुलफ्लेज हिरो भएर विश्राम लिएको ९ वर्षपछि फिल्म अभिनयको ‘कम ब्याक’को तयारीमा छन् ।

उनी दिवाकर भट्टराई निर्देशित फिल्म ‘नरसिंहाः अवतार’ बाट दर्शकसँग ठूलो पर्दामा साक्षात्कार गर्दैछन् ।

राजेशले आफ्नो फिल्म सोलो रिलिज गर्ने इच्छा देखाएपछि नयाँ वर्षको प्राइम डेट छाडेर जेठ ९ लाई प्रदर्शन मिति तोकिएको थियो ।

जेठ २३ गते प्रदर्शन मिति तोकिएको सौगात मल्लको फिल्म ‘जन्ते बाख्रो’ जेठ ९ मा प्रदर्शनमा आउने भएछि महानायक हमालको फिल्म सोलो रिलिज नहुने भएको छ ।

सौगातको फिल्म जेठ २३ र २९ मा प्रदर्शनमा आउँदा हलमा एकै नायकको दुई फिल्मले प्रतिस्पर्धा गर्ने अवस्था देखिएपछि ‘जन्ते बाख्रो’ को मिति हेरफेर गर्नुपरेको निर्माण टिमको स्पष्टीकरण छ ।

यो मिति हेरफेरले सौगातले महानायक हमालसँग बक्स अफिस प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

सौगात यो वर्षको सुरुवाती दुई महिना निकै व्यस्त देखिन्छन् । ९ सातामा उनको तीन नयाँ फिल्म प्रदर्शनमा आउने देखिन्छ ।

सौगातका फिल्महरू वैशाख २६ मा ‘जार’, जेठ ९ मा ‘जन्ते बाख्रो’ र जेठ ३० मा ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउने भएका छन् ।

वैशाख महिनामा प्रदर्शन हुने फिल्म

वैशाख शुक्रबार : ५ फिल्म, दुई भिडन्त

वैशाखको पहिलो शुक्रबार खाली नै बित्यो । दोस्रो शुक्रबार वैशाख १२ गते ०८२ सालले पहिलो पटक नयाँ फिल्म पाउँदै छ । तर, यो शुक्रबार पनि भिडन्तबाट सुरु हुँदैछ ।

वैशाख १२ गते हरिवंश आचार्य स्टारर फिल्म ‘भूठान’ र नायिका सुरक्षा पन्त स्टारर फिल्म ‘खेल’ प्रदर्शनमा आउने पक्का छ ।

वैशाखको १९ गते अर्थात् तेस्रो शुक्रबार पनि खाली छैन । यस मितिमा ‘झोला’ फिल्मका निर्देशक यादवकुमार भट्टराईको ‘झिल्को’ प्रदर्शनमा आउने भएको छ ।

वैशाखको चौथो तथा अन्तिम शुक्रबार पनि बक्स अफिस भिडन्तबाट बच्न सकेको छैन । नायक विपीन कार्की तथा नायिका मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’ र नायक सौगात मल्ल, अनुपविक्रम शाही, नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा रहेको ‘जार’ प्रदर्शनमा आउँदै छ ।

यो महिनाको सुरुवात भिडन्तबाटै सुरु भएर भिडन्तबाटै अन्तिम हुने देखिन्छ ।

जेठ महिनामा प्रदर्शनमा आउने फिल्म

जेठमा ६ फिल्म, खाली डेट एउटा

जेठको सुरुवात पनि बक्स अफिस भिडन्तबाटै हुँदैछ । जेठको पहिलो शुक्रबार अर्थात् २ गते दिलीप रायमाझी स्टारर ‘हेल्लो कासिराम’ र दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनमा आउने छन् ।

के घर के डेरा–२’ मा नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिका केकी अधिकारी र उपासनासिंह ठकुरी केन्द्रीय भूमिकामा रहेको छ ।

जेठ ९ गते महानायक हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ र सौगात मल्ल स्टारर फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शनमा आउने छन् ।

जेठ १६ गते महिनाको तेस्रो शुक्रबार पर्छ । तर बिहीबार गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ जेठ १५ गते प्रदर्शनमा आउँदैछ ।

यस फिल्ममा नायक आर्यन सिक्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिका मलिका महत, गौमाया गुरुङ र अञ्जना बराइली केन्द्रीय भूमिकामा रहने बताइएको छ ।

जेठ २३ अर्थात् यस महिनाको चौथो शुक्रबारबाट ‘जन्ते बाख्रो’को प्रदर्शन मिति हेरफेर भएपछि यो डेट खाली छ । जेठको खाली डेट यही मात्रै हो ।

जेठ ३० गते महिनाको अन्तिम शुक्रबार सौगात मल्लको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउँदैछ । यसमा सौगात र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा छन् ।

फर्किएको हो आर्यनको व्यस्तता ?

आर्यन सिग्देल ६० को दशकको अन्त्यतिरका महँगा नायक हुन् । यो दशकको अन्त्यतिरबाट नेपाली फिल्म निर्माणको धार फेरियो । यथार्थवादी फिल्म बन्न थाले ।

लभस्टोरी फिल्ममा स्थापित आर्यनले अन्य जनरामा पनि प्रयास गरे । दर्शकले उनलाई स्वीकार गरेनन् । माग घट्दै गयो । ७० को दशकमा पनि आर्यनले फिल्म नगन्य सङ्ख्यामा गरे । तर, बक्स अफिस कलेक्सन निराशजनक रह्यो ।

०८१ सालमा आर्यनले फिल्म पुजार सार्की गरे । यो फिल्म हिट भयो । त्यसयता उनलाई फिल्म लिन चाहने मेकरहरू पनि बढेका छन् । त्यसैले हुनुपर्छ, जेठमा आर्यनको अभिनय रहेका दुई फिल्म प्रदर्शनमा आउने भएका छन् ।

जेठ २ मा फिल्म ‘के घर के डेरा : घर नम्बर २’ र जेठ १५ मा ‘महाभोज’ प्रदर्शनमा आउँदैछ ।

संयोग, यी दुवै फिल्म मल्टिस्टारर हुन् । अब प्रश्न उठ्छ– के आर्यन यी दुवै फिल्ममा केन्द्रीय भूमिकामा छन् वा सहायकमा ?
यो प्रश्नको जवाफ भने यी दुई फिल्मको ट्रेलर र टिजर सार्वजनिक वा फिल्म प्रदर्शनमा आएपछि पाइन्छ ।

तर, समग्रमा हेर्दा ०८२ सालको सुरुवात आर्यनले राम्रैसँग गरेका छन् । एकै महिनामा दुई फिल्म प्रदर्शनमा आउनु कलाकार व्यस्त रहेको संकेत हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : २९ बजे

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा