धर्मनिरपेक्षमा गगनको बैराग, राजावादीसँग शेखरको प्रेम | Khabarhub Khabarhub

कांग्रेसमा वैचारिक उछाल

धर्मनिरपेक्षमा गगनको बैराग, राजावादीसँग शेखरको प्रेम

कांग्रेस संस्थापन पक्षका नेता भन्छन्– व्यक्तिको विचारलाई पार्टीको नबनाऔं


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत जेठ ४ गते रातोपाटी डटकममा पत्रकार नरेश ज्ञवालीको बाइलाइनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अन्तरवार्ता छापियो । चर्चामा रहेको उक्त अन्तरवार्ताको शीर्षक थियो– ‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन।’

के महामन्त्री थापाले संविधानमा रहेको धर्मनिरपेक्षताको आलोचना गरेकै हुन् त ? शीर्षक हेर्दा त्यस्तै लाग्छ । तर, अन्तरवार्ताको पेटबोलीमा थापाले भनेका छन्, ‘म धर्म निरपेक्षताको विपक्षमा भन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षको मान्छे हो ।’

धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताबारे लामो व्याख्या गर्दै महामन्त्री थापाले अन्तरवार्ताकारलाई सम्झाएका छन्, ‘…यति कुरा नगरिकन एक लाइनको कुरालाई लिएर जान पाउनुहुन्न है तपाईले । त्यसले गलत ठाउँ (अर्थ) मा लिएर जान्छ ।’

पूरै अन्तरवार्ता पढ्दा धर्म निरपेक्षताप्रति महामन्त्री थापामा कुनै पनि राग वा आकर्षण देखिँदैन । तर, उनले धर्म निरेपक्षताको विरोध पनि गरेका छैनन् ।

आखिर, कांग्रेस महामन्त्री थापाले अन्तरवार्तामा खासमा के भन्न खोजेका रहेछन् ? उनको अन्तरवार्ता, उनकै शब्दमा हेरौं–

नेपाली कांग्रेसभित्रका हामी बहुसंख्यक मानिसहरु राज्य, धर्म र यसबीचको सम्बन्धलाई कसरी हेर्छौं भनेर बुझाउन नसक्दाखेरि सम्भवतः पार्टीभित्रको बहसमा व्यक्तिहरुका बारेमा पनि यसखालका मतहरु बन्छन् भन्ने लाग्छ । हामी नेपाली कांग्रेसभित्र प्रशिक्षित भएका बहुसंख्यक मानिसहरु खास गरी धर्मको विषयका सन्दर्भमा वीपी कोइरालाबाट बढी प्रशिक्षित छौं, दीक्षित छौं ।किनभने, यी विषयमा हाम्रो लिटरेचर (सन्दर्भ सामाग्री) नै सबैभन्दा बढी उहाँकै छ ।

धर्म मेरो एकदमै प्राइभेट डोमेन हो । मैले टीका लाउँछु कि फूल लाउँछु कि के लाउँछु भन्ने कुरा तपाईले सोध्न पनि पाउनुहुन्न । मेरो निजी कुरा हो त्यो । म बिहान कति घण्टा पूजा गर्छु, मेरो उपासना गर्ने मेरो विधि हो नि त्यो । मेरो पन्थ हो नि त्यो । मेरो च्वाइस हो नि त्यो । फ्रिडम (स्वतन्त्रता) हो त्यो । यी सबै व्यक्तिका निजी कुरा हुन् । यसमा राज्य पनि छिर्नु हुन्न, अरु व्यक्ति पनि छिर्नु हुन्न । सँगसँगै, अर्को (धर्म) को पनि त्यतिकै स्पेस छ भन्ने पनि मैले मान्नुपर्छ ।

हाम्रो क्लियर के हो भने राज्यको आफ्नो उपासना गर्ने विधि हुँदैन । राज्यको आफ्नो पन्थ हुँदैन । पन्थ व्यक्तिको हुन्छ । राज्यको धर्म हुँदैन त ? बकाइदा हुन्छ । राज्यको धर्म भनेको– न्याय गर्नु राज्यको धर्म हो । विवेक पु¥याउनु राज्यको धर्म हो । समान व्यवहार गर्नु राज्यको धर्म हो । मानवताको रक्षा गर्नु राज्यको धर्म हो ।

म संविधानको मस्यौदा समितिको सदस्य हुँदादेखि नै त्यतिखेर हामीभित्र छलफल थियो । कृष्णप्रसाद सिटौलाजी संयोजक हुनुहुन्थ्यो । हामी सबैलाई आ–आफ्नो लिखित मत राख्ने अवसर दिइएको थियो । त्यसबेला म हाम्रो संविधानमा धर्म निरपेक्षता… यो आफैंमा नेगेटिभ शब्दावली हो । राज्यको धर्म हुन्छ, राज्यको पन्थ हुँदैन । त्यसैले नेपाली समाजको चरित्र कस्तो हुनुपर्छ भने नेपाली समाजभित्र धार्मिक स्वतन्त्रता छ, सबै व्यक्ति आफ्नो धर्म वा पन्थ छनोट गर्ने सन्दर्भमा स्वतन्त्र छन् । यो पो यसको क्यारेक्टर हुनुपर्छ भनेर म त त्यो बेलाको संविधानमा आफ्नो समितिभित्रै धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता राख्नुपर्छ, धार्मिक स्वतन्त्रता ठीक कुरा हो ।

भारतको संविधानको बहस पनि मैले हेरेँ । निरपेक्षताको बहस त्योबेलामा कसरी भएको रहेछ, कुन तरिकाले बुझिएको रहेछ, त्यसलाई नेपालको सन्दर्भमा कसरी आउने रहेछ भन्ने ढंगबाट हेरियो । हाम्रो पार्टीभित्र ठूलो मत आस्तिकहरु पाउनुहुन्छ । कतिपय सन्दर्भमा यसलाई परम्परावादी पनि भन्न सक्नुहुन्छ । यसको ठूलो पंक्ति छ । पहिलेदेखि नै चार ताराको अर्थ पढ्दै आए । कांग्रेसका चार तारामध्ये एउटा धार्मिक स्वतन्त्रता हो भन्ने पढ्दै आए, बुझ्दै आए ।

मलाई सबैभन्दा ठूलो चिन्ता चाहिँ धर्म परिवर्तनमा छ । यो कुरालाई मचाहिँ दक्षिणपन्थ मान्दिनँ । जस्तो–म सनातनी हुँ, यसमा म सन्तुष्ट छु । कोही बौद्ध परम्परामा होला, कोही ईसाई परम्परामा होला । तर, धर्मशून्य समाज परिकल्पना गरेको होइन क्या कांग्रेसले । यसलाई म सकारात्मक मान्छु, किनभने यसले जोड्छ । यसले बचाउँछ । बरु बेलाबेलामा यसलाई उत्तेजनामा ल्याउन र भड्काउन खोजिएको छ, यसलाई रोक्नुपर्छ ।

म धर्म निरपेक्षताको विपक्षमा भन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षको मान्छे हो । नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो, जहाँ सबै धर्मलाई समान व्यवहार गरिन्छ, यदि संविधानको स्टेटमेन्ट त्यो हुन्थ्यो भनेचाहिँ ठीक कुरा हुन्थ्यो ।

नेपालको संविधानले नै बर्जित गरेको, कानूनले नै बर्जित गरेको, हाम्रो धार्मिक परम्परा र हाम्रो मान्यताले पनि बर्जित गरेको जुन धर्म परिवर्तनको कुरा छ, त्यो पूरै रोकिनुपर्छ भन्ने पक्षमा छु । कानूनी हिसाबले पनि रोकिनुपर्छ, राजनीतिक हिसाबले पनि रोकिनुपर्छ । राज्यको ध्यान बरु त्यहाँ जानुपर्छ । एउटा त गर्नेलाई रोक्नुपर्छ र अर्को किन भइरहेको छ भन्ने जरामा पनि पुग्नुपर्छ । यति कुरा नगरिकन एक लाइनको कुरालाई चाहिँ लिएर जान पाउनुहुन्न है तपाईले । त्यसले गलत ठाउँमा लिएर जान्छ ।’ (रातोपाटीबाट साभार)

शेखर कोइरालाको अर्को तर्क

धर्म निरपेक्षताबारे कांग्रेस नेता थापाको भनाइले तरंग ल्याइरहेको थियो, मंगलबार नयाँपत्रिका दैनिकमा अर्का नेता डा. शेखर कोइरालाको अझ कडा भनाइ आयो । कोइरालाले गगनभन्दा अझ दाँयातिर उभिएर राजसंस्था र हिन्दु राष्ट्रबारे जनमत संग्रहमै जानुपर्छ भनेर ठोकिदिए ।

नयाँपत्रिकाका लागि खगेन्द्र पन्त र कमलराज भट्टसँग कुराकानी गर्दै डा. कोइरालाले भनेका छन्–

हिन्दु राष्ट्रको सन्दर्भमा संविधान संशोधन वा जनमतसंग्रहमार्फत निर्णय लिन सकिन्छ । मैले संविधान बनाउँदा नै हिन्दु राष्ट्रको कुरा गरेको हो । संविधान निर्माण गर्दा देशभरबाट जनताका सुझाव संकलन पनि ग¥यौँ । तर, त्यसका पोका नै खुलेनन् । कि ती पोका खोल्नुप¥यो वा जनमतसंग्रह गर्नुप¥यो । जनमतसंग्रहले बहुदललाई हराउँदा बीपी कोइरालाले स्वीकार गरेको पार्टी हो कांग्रेस । हामी त बीपीका अनुयायी हौँ । जनमतसंग्रहमा जाँदा आत्तिन हुँदैन ।

जुनसुकै देशमा परम्परागत शक्ति हुन्छ । उनीहरूले आफ्ना कुरा राख्छन् । राप्रपाले पनि संवैधानिक राजतन्त्रको कुरा राखिरहेको छ । त्यसले केही फरक पर्नेवाला छैन । तर, हाम्रो सरकार र हामी संविधानअनुसार त्यो बोल्नै पाइँदैन भन्दै छौँ । बोल्न नपाउने भए गणतन्त्र र संविधानको के अर्थ भयो ? अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भबाट बोल्न पाउने अधिकार त हुनुप¥यो नि । के फरक पर्छ, उहाँहरू सडकमा आउनुहुन्छ, राजा चाहियो भन्नुहुन्छ, भन्न दिनुस् । त्यसको सम्बोधन गर्ने उपाय पनि जनमत संग्रह नै हो ।

मलाई विश्वास छ, म (पार्टीमा) निर्णय गराउँछु, गराउन सकिन्छ । तपाईं विरोधीको आवाज नसुन्ने हो भने कस्तो लोकतन्त्रवादी त ? विरोधीको आवाज सुन्न सक्यो भने पो त हामी लोकतन्त्रवादी हुन्छौँ । त्यसैले, उपाय छन्, निकास निकाल्न सकिन्छ ।

(नयाँपत्रिकाबाट साभार)

गगन र शेखरले निम्त्याएको तरंग

गृष्म ऋतुको पहिलो महिना जेठको उखरमाउलो गर्मीले देशभर तापक्रम बढेको छ । टन्टलापुर घामले तातेको देशको राजनीतिक सरगर्मीलाई पुरानो दल नेपाली कांग्रेसका दुई प्रभावशाली नेता डा. कोइराला र थापाको अभिव्यक्तिले थप तताएको छ ।

पार्टीको १५ औँ महाधिवेशनमा सभापतिका लागि तीव्र आन्तरिक तयारीमा जुटेका नेताद्वय कोइराला र थापाले संविधानका महत्वपूर्ण खम्बाहरू मध्ये एक मानिएको ‘धर्म निरपेक्षता’ का बारेमा दिएको अभिव्यक्तिले राजनीतिमा तरंग उत्पन्न भएको हो ।

यसको उदाहरणका रूपमा लिन सकिन्छ, चिया पसलमा सुनिएको गफको एक अंश – ‘अब कांग्रेसका बहालवाला महामन्त्री र सभापतिमा हारेका नेताले राजा ल्याउनुपर्छ भनेर बोल्नमात्र बाँकी छ ।’ यो ‘चिया गफ’ राजनीतिक बिटमा लेख्दै आएका एक पत्रकारले कुराकानीका क्रममा ‘शेयर’ गरेका हुन् ।

महामन्त्री थापाको अभिव्यक्तिले तरंगित राजनीतिमा कांग्रेस नेता डा. कोइरालाको एक कदम पछाडि हटेर आएको अभिव्यक्तिले थप तुफान ल्याएको छ । उनले महामन्त्री थापाभन्दा पनि ‘चर्को’ अभिव्यक्त दिएका छन् । कांग्रेसमा एउटा समूहको नेतृत्व गरिहरेका नेता कोइरालाले यथास्थितिवादी शक्तिका रुपमा चिनने राजावादीहरूले उठाउँदै आएको ‘हिन्दु राष्ट्र’ र ‘संवैधानिक राजसंस्था’ को विषयमा जनमत संग्रहमै जाने सकिने बताएका हुन् ।

‘कोइरालाको अभिव्यक्ति संविधानविपरीत’

के संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका नेता शेखर कोइरालाले दाबी गरेजसरी नेपाली कांग्रेसले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका विषयमा पुनर्विचार गर्दै जनमत संग्रहमा जाने निर्णय गर्न सक्ला ? कांग्रेस संस्थापन पक्षीय एक केन्द्रीय सदस्य भन्छन्, ‘सभापतिका अभिव्यक्ति सुन्नुभएकै होला । उहाँले नचाँहदासम्म यसबारे कसैले कल्पना नगर्दा हुन्छ ।’

ती नेताले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाका विषयमा डा. कोइरालाले दिएको अभिव्यक्तिलाई पिता–पुर्खा हिँडेको बाटो बताए । साथै उनले उक्त अभिव्यक्ति नेपाली कांग्रेसको विधान एवं देशको संविधानविपरीत भएको टिप्पणी गरे ।

‘बीपीले राजनीतिमा धर्मको कुनै गुन्जायस छैन भन्नुभएको छ । तर, उहाँका सन्तानहरू धर्मलाई नै सहारा बनाएर राजनीतिमा आइरहनुभएको छ, यो उल्टो बाटो हो । आफ्ना पिता पुर्खाहरूभन्दा पनि उल्टो, पार्टीको विधान र देशको संविधानभन्दा उल्टो हो,’ ती नेताले भने, ‘फेरि अर्को कुरा नेपालमा अहिले बीपी, गिरिजाबाबु, सुशील दाइ नरहेका बेलामा उहाँहरूले जथाभावी बोलिरहनुभएको छ । त्यसको पुरस्कार र दण्ड उहाँहरू आफैँले भोग्ने हो ।’

व्यक्तिगत विचारलाई पार्टीको धारणा नबनाऔं : विश्वकर्मा

कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा नेताहरुले व्यक्तिगत रूपमा राखेको धारणाकै आधारमा पार्टीको धारणा बनाउन नहुने बताउँछन् । ‘केन्द्रीय समितिको बैठक भयो भने यसबारे गहिरो छलफल हुन्छ,’ उनले खबरहबसँग भने, ‘व्यक्तिगत टिप्पणीकै आधारमा, व्यक्तिगत धारणा राखेकै आधारमा पार्टीको धारणा बनाउनु हुँदैन ।’

प्रचार विभाग प्रमुख विश्वकर्मा कांग्रेसमा वैचारिक दृष्टिकोणले स्पष्ट भइनसकेका नेताहरूले मनोमानी आवेग र भावनामा बोल्नु पार्टीको विधान र संविधानका दृष्टिकोणबाट उपयुक्त नहुने बताउँछन् ।

‘कोही कतैबाट, कोही कतैबाट प्रभावित त हुनुहुन्छ नै होला । आफैँले बालेको भए संविधान बनाउँदा किन त्यस्तो संविधान बनाउनु ?,’ प्रश्न गर्दै उनले भने, ‘संविधान बनाइसकेपछि त्यसकै बारेमा असन्तुष्टि जस्तो प्रकट गरेर जथाभावी बोल्दै हिँड्नु विधान र संविधान दुवै दृष्टिकोणबाट उपयुक्त होइन ।’

शेखर कोइरालाको अभिव्यक्तिलाई पार्टी विधान र संविधानको विपरीत भएको बताएका विश्वकर्माले महामन्त्री थापाको अभिव्यक्तिको भने बचाउ, गरे । महामन्त्री थापाको भनाइ ‘ट्वीस्ट’ गरिएको उनले दाबी गरे ।

‘सभापति देउवाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संविधानका पाँच उपलब्धिहरूमा दृढ संकल्पित हुनुहुन्छ । मैले महामन्त्री थापाको अन्तर्वार्ता पनि हेरेँ,’ विश्वकर्माले खबरहबसँग भने, ‘हेडिङ ट्वीस्ट गरिदिएको मात्रै हो, भित्र त क्लियर नै छ । उहाँको भनाइमा त्यस्तोखालको केही छैन । आफ्नो लयमा व्याख्या गरेको पाउँछु म त ।’

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ५७ बजे

लाओसको पोष्टमा नेपालको गोल वर्षा, साम्बा एक्लैले गरिन् चार गोल

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालकी कप्तान

नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल

काठमाडौं – नायक जीवन लुइँटेलले नेपाली फिल्मसँग दूरी बढाएको दशक

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको

असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने

धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल

काठमाडौं – असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै