काठमाडौँ – अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति अमेरिका प्रत्यक्ष नै सहभागी हुने देखिएको छ । तर अमेरिकाले इरानमा कस्तो सैन्य भूमिका खेल्छ, त्यो हेर्नु बडो रोचक हुनेछ । अमेरिकाले इराक र अफगानिस्तानजस्तो सैनिक नै जमिनमा उतार्छ कि लिबियामा झैँ हवाई आक्रमणमै सीमित रहन्छ ? यो प्रश्न महत्वपूर्ण हुनेछ ।
यो युद्ध इरानले चाहेको छैन । अमेरिका र इजरायलले इरानमाथि जबरजस्ती युद्ध थोपरेका छन् । इरानको वायुसेना र नौसेना कमजोर छ । इरानले क्षेप्यास्त्र बललाई मजबुत बनाएको छ । यसैगरी, इरानले धेरै ठूलो सङ्ख्यामा लडाकु परिचालन गर्न सक्छ । उसले ‘अनकन्भेन्सनल’ र ‘एसिमेट्रिक वारफेयर’ अर्थात् अपरम्परागत र असमान युद्ध लड्ने क्षमता विकास गरेको छ । शिया धार्मिक शासन व्यवस्था (थेओक्रेसी) रहेको इरानको समर्थनमा मध्यपूर्वका अरू देशमा बस्ने शियाहरू पनि परिचालित हुनसक्छन् ।
प्रभावशाली डायस्पोराका कारण इरानी समाजको युवापुस्ता र मध्यम वर्ग सामाजिक रूपमा उदार देखिन्छ । तर, त्यहाँको राजनीतिक नेतृत्व कट्टर इस्लामिक दर्शनमा आधारित पुरातनपन्थी छ । इरानको एउटा तप्काले इस्लामिक क्रान्तिलाई अझै स्वीकार्न सकेको छैन । त्यसबाहेक इरानमा जातीय अल्पसङ्ख्यक पनि धेरै छन् । इरानभित्र रहेका पाँचौँ स्तम्भ ‘फिफ्थ कोलम’ (गद्दार) लाई जासुसीका लागि इजरायलले खुबै उपयोग गरिरहेको देखिन्छ ।
वरिष्ठ सैन्य कमाण्डरको हत्याका कारण इरानी सेना र रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) यतिखेर कमजोर भइसकेको हुनसक्छ । यस्तोमा ‘रिग्रुपिङ’ का लागि इरानलाई केही समय लाग्नसक्छ । विडम्बना ! इरानसँग समय छैन ।
गाजामा हमास, सिरियामा असद, लेबनानमा हेज्बोल्लाहको पतन र यमनमा हाउथीको अधोगतिका कारण आम इरानी र इरानी नेतृत्वको ‘मोराल’ पनि यतिखेर घटेको हुनसक्छ । युद्ध लड्नु टाढाको कुरा ! इजरायलले पूरै इरानभर वायु श्रेष्ठता (एअर सुपेरियोरिटी) हासिल गरेको दाबी गरेको छ ।
आफ्नो आकाशमा प्रत्यक्ष रूपमा अमेरिकी वायुसेना परिचालन भए इरानका लागि धेरै कठिन हुनेछ । ‘एअर कभर’ नभइ युद्ध लड्दा के हुन्छ भन्ने इराकमा अमेरिकाले सन् १९९१ मा कारवाही गरेपछि निम्तिएको ‘हाइवे अफ डेथ’ अर्थात् मृत्युको राजमार्गको उदाहरणले प्रस्ट्याउँछ ।

इजरायल र त्यहाँको उग्रदक्षिणपन्थी नेतृत्व इरानविरुद्ध जुनसुकै हालतमा युद्ध चाहन्छ । सत्तामा रहिरहन नेतन्याहूलाई व्यक्तिगत कारणले इरानविरुद्ध युद्ध चाहिएको छ । उनी भ्रष्टाचार लगायतका काण्डमा मुछिएका छन् । उनको सरकारका उग्र घटक पनि युद्धोन्मादी छन् । उनको राजनीतिक नेतृत्वमा इजरायली सेनाले गजबको युद्धकला देखाएको छ । उसलाई जासुसी, सैन्य, आर्थिक / कूटनीतिक केहीको पनि फिक्री छैन ।
अमेरिकाले जुनसुकै हालतमा आफ्नो साथ दिन्छ भन्ने इजरायललाई लागेको छ । इजरायललाई अमेरिकासँगै युरोपेली देशहरूको पनि साथ छ । अरब देशहरूले पनि मौन बसेर इजरायललाई नै साथ दिइरहेका छन् ।
इजरायली सेनाले गाजामा गरिरहेको नरसंहार र मानवताविरोधी अपराधको पक्ष लिन सकिन्न । तर, युद्ध सञ्चालनका आधारमा इजरायली सेनाले प्रभावकारी र कतिपय अवस्थामा आश्चर्यजनक कारवाही सञ्चालन गरेको छ । इजरायली सेनाले हिजबुल्लाहका राजनीतिक एवम् सैन्य नेतृत्व र आम कार्यकर्ता तथा लडाकुलाई निशाना बनाउँदै पेजर पड्काएर गरेको कारवाही साँच्चै नै आश्चर्यलाग्दो हो ।
इजरायली समाज परम्परागत रूपमा दक्षिणपन्थतर्फ झुकाव राख्छ । यो देशका नागरिकले पछिल्लो पटक सन् २०२३ अक्टोबर ७ यता ‘अप्रत्यक्ष युद्ध’ भोगिरहेका छन् । ‘अप्रत्यक्ष युद्ध’ भन्नुको अर्थ इजरायलले आफ्ना दुश्मनविरुद्ध एकोहोरो कारवाही गरिरहेको छ भने इजरायली नागरिकले युद्धको प्रत्यक्ष अनुभव गरेका छैनन् । दुश्मनले इजरायलमा गम्भीर क्षति निम्त्याउनेगरी कुनै ठूलो आक्रमण गर्न सकेका छैनन् ।
शायद यी देशका नागरिक दैनिक बज्ने साइरन र कहिलेकहीँ खस्ने क्षेप्यास्त्रसँग अभ्यस्त पनि भइसकेका होलान् । तैपनि त्यहाँका केही युद्धविरोधी शक्तिहरू पक्कै छन् । तर, अहिले मुलुक युद्धको अवस्थामा रहेकाले उनीहरूको आवाज दबिने निश्चित छ ।
युद्धका बेला इजरायलका सबै राजनीतिक दलहरू सरकारको समर्थनमा उत्रिनेछन् । उसको जासुसी र प्रचार संयन्त्र पनि बलियो छ । नेतान्याहूलाई अमेरिकी नेतृत्वले पनि साथ दिएको छ ।
ट्रम्प वा पर्दापछाडिको अमेरिकी नेतृत्वले कुनै पूर्वतयारी बेगर अमेरिकालाई इरानमा जारी युद्धमा होम्ने निर्णय गरेजस्तो देखिन्छ । अरू बेला जनता वा मतदातालाई कुनै युद्ध बेच्नका लागि एउटा माहोल बनाइन्थ्यो वा चोम्स्की र हर्मनले भनेजस्तो कनसेन्टको उत्पादन गरिन्थ्यो । अहिले त्यसो पनि गरिएको छैन । अहिले आक्रमण गरिसकेर बल्ल कनसेन्ट उत्पादन गर्न खोजिएको छ ।

इराक र अफगानिस्तानमा असफलता देखेको अमेरिकी जनताको ठूलो सङ्ख्या युद्ध चाहँदैन । ट्रम्पकै समर्थकको एउटा प्रभावशाली खेमा इरानविरुद्ध युद्धको विपक्षमा छ । खासगरी स्टीभ ब्यानन, टकर कार्लसन, मार्जरी टेलर ग्रिन र चार्ली कर्कजस्ता दक्षिणपन्थी प्रतिनिधि एवम् अभियन्ता इरानविरुद्ध युद्धको विपक्षमा रहेको ठानिन्छ ।
अमेरिकी जनमानस विभिन्न आर्थिक सामाजिक कारण अस्थिरता उन्मुख छ । अमेरिकी समाजिक बहस वित्तीय स्थायित्व, सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका विषयमा सीमित हुन पुगेको छ । त्यसमाथि डेमोक्र्याट–रिपब्लिकन, काला–गोरा, गर्भपतन पक्षधर–विरोधी, आप्रवासी–नागरिक, बन्दुक बोक्ने–नबोक्ने यी र यस्तै खेमामा विभाजित छ । ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै गएको छ भने सरकारले पनि विरोधीलाई तह लगाउन अभूतपूर्व र अझ खतरनाक कदम चाल्ने देखिन्छ ।
अमेरिकी सेनाको निकट विगत सुखद छैन । दोस्रो विश्वयुद्धयता अमेरिकाले लडेका प्रायः सबै युद्ध ‘सामरिक जीत’ तर ‘रणनीतिक हार’ मा परिणत भएका छन् । अझ हालैका दशकमा अमेरिका वा अमेरिकी नेतृत्वमा सञ्चालित जमिन कब्जा गरी सैन्य कारवाही सञ्चालन गर्ने नीति पूर्णतः असफल सिद्ध भएका छन् ।
इरानकै छिमेकमा अफगानिस्तान र इराक असफल अमेरिकी सैन्य अभियानको ज्वलन्त उदाहरण छन् । तर, उसको युद्धकार्य गर्ने क्षमता अरूभन्दा विशिष्ट छ । अमेरिकी सेना अझैपनि सबैभन्दा शक्तिशाली, सबैभन्दा अत्याधुनिक, सबैभन्दा प्रभावकारी, सबैभन्दा तेज र सबैभन्दा उत्कृष्ट छ । यो सेनाले विश्वको जुनसुकै ठाउँमा पनि सैनिक कारवाही सञ्चालन गर्न सक्छ ।
इजरायलले आफ्नो कारवाहीको प्रमुख उद्देश्य इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने रहेको जनाएको छ । कहीँ कतै समाचारमा आएअनुसार सैन्य कारवाहीको बलमा इजरायलले इरानमा सत्ता परिवर्तनको उद्देश्य राखेको पनि बताइएको छ ।
यस्तो अवस्थामा अमेरिकाले इजरायललाई भूमिगत रूपमा इरानले सञ्चालन गर्दै आएको आणविक भट्टी ध्वस्त पार्न ‘बङ्कर बस्टर’ बम उपलब्ध गराउने सम्भावना उच्च छ । यदि अमेरिकाले इजरायललाई हतियारमात्रै दिएर आफ्नो भूमिका सीमित राखे त्यसले निम्त्याउने क्षेत्रीय युद्धको जोखिम तुलनात्मक रूपमा कम हुनेछ ।
अमेरिका र इजरायल मिलेर सारा बल प्रयोग गरी इरानको सर्वोच्च राजनीतिक नेतृत्वलाई समाप्त पार्न पनि सक्छन् । यसो भएमा इरानमा शक्ति शून्यता उत्पन्न हुनेछ । यसले इरानमा उग्रवादी विचारधारा राख्ने नयाँ नयाँ शक्तिहरू देखापर्ने सम्भावना रहन्छ । त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर पूरै मध्यपूर्वमा र एक हदसम्म मध्य र दक्षिण एशियामा पर्नेछ ।

हामीले इराक र अफगानिस्तानमा अमेरिकाले सञ्चालन गरेको असफल सैन्य कारवाहीको उदाहरण बिर्सिनु हुँदैन । अमेरिकाले इरानी भूमिमै सैनिक उतारेको खण्डमा भने यो युद्धको क्षेत्रीय प्रभाव मध्यपूर्वमात्रै नभइ, मध्य तथा दक्षिण एशिया र विश्वमै पर्ने निश्चित छ । यस्तो भएमा लामो समयसम्म इरानमा छापामार युद्ध निरन्तर भइरहने हुन्छ । यसबाट उत्पन्न हुने आर्थिक सङ्कट, द्वन्द्व ‘स्पिलओभर’ अर्थात् विस्तार भएर अरू मुलुकमा फैलिने र शरणार्थी सङ्कट निम्तिने जोखिम देखिन्छ । अमेरिकाले इरानी भूमिमा सैनिक उतारेमा अमेरिकी सैनिक इतिहासमा अर्को एउटा ‘ट्याक्टिकल विन बट स्ट्राटेजिक डिफिट’ को निरन्तरता हुनेमा दुईमत छैन ।
सैन्य कारवाहीमा प्रत्यक्ष संलग्न भएर अमेरिकाले आक्रमण गरेको अवस्थामा इरानले के–कस्तो सैन्य प्रतिक्रिया जनाउँछ भन्ने कुराले पनि यसको निर्धारण हुनेछ । इजरायलले बारम्बार आक्रमण गरेपनि इरानले हालसम्म मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामा आक्रमण गरेर जवाफ दिएको छैन ।
यसअघि इजरायलले आक्रमण गर्दा इरानले इराक, सिरियाजस्ता मुलुकमा रहेका अमेरिकी सैन्य संरचनामा पनि आक्रमण गर्दै आएको थियो । तर, यसपटक इरानले त्यसो गरेको छैन । इजरायली आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भए इरानले सिरिया र इराकमात्रै नभइ मध्यपूर्वका अन्य मुलुकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी समेत आक्रमण गर्न सक्नेछ ।
उदाहरणका लागि पछिल्लो युद्धमा अमेरिका सहभागी भए इरानले आफ्नो मुलुकको सीमासँग नजिकै रहेका कतार, यूएई वा साउदी अरबमा अवस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गरी क्षेप्यास्त्र वा ड्रोन आक्रमण गर्ने सम्भावना छ । यसो भएमा यो युद्धले क्षेत्रीय रूप लिने निश्चित छ । युद्धले क्षेत्रीय रुप लिएको खण्डमा मध्यपूर्वका ठूला शहर र त्यहाँ रहेका तेल वा ग्यास उत्पादन केन्द्रमा क्षति पुग्ने सम्भावना रहन्छ ।
यसो हुँदा होर्मुजको खाडी पनि केही समयका लागि बन्द हुनसक्छ । होर्मुजको खाडीबाट अतिविशाल परिमाणमा तेल र प्राकृतिक ग्यासको निर्यात हुने गर्छ । यसो भएमा विश्वभर तेल र ग्यासको संकट र त्यसको परिणामस्वरुप आर्थिक संकट उत्पन्न हुनेछ । त्यसबाहेक इरानले हिन्द महासागरमा रहेको अमेरिकी सैन्य आधार डिएगो गार्सियामा पनि क्षेप्यास्त्र आक्रमण गर्न सक्नेछ । तर, इरानले डिएगो गार्सियामा क्षेप्यास्त्र वा ड्रोन प्रहार गर्ने क्षमतामा भने शङ्का रहेको बताइन्छ ।
यो युद्धमा क्षेत्रीय शक्तिले कुन देशको पक्ष लिन्छन् भन्ने थाहा पाउन पनि उत्तिकै रोचक हुनेछ । यो युद्धमा साउदी अरब, कतार, यूएईजस्ता मध्यपूर्वका सुन्नी मुलुकहरूले अमेरिकी सेनालाई आफ्नो भूमि, समुद्र वा हवाइ आकाश प्रयोग गर्न दिने सम्भावना देखिन्छ । यी मुलुकहरू लामो समयदेखि इरानको शिया थेओक्रेसीका कट्टर दुश्मन हुन् । तर, यी मुलुकहरू क्षेत्रीय द्वन्द्व चाहँदैनन् । कुबेरको अलकापुरीजस्ता धनी ती देशले क्षेत्रीय द्वन्द्वको नराम्रो असर खेप्नुपर्ने हुनसक्छ । ती मुलुकहरूले कुन हदसम्म अमेरिकालाई साथ दिन्छन् भन्ने अर्को पनि अनुत्तरित प्रश्न छ ।

यसमा चीन र रूसको भूमिका पनि रोचक हुनेछ । चीन र रूस दुबै मुलुकले इरानसँग रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन् । इरान बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनका लागि महत्वपूर्ण साझेदार हो । युक्रेनमा जारी युद्धमा पनि इरानले रूसलाई सैन्य सहयोग गरेको छ । यस्तो अवस्थामा यी दुई मुलुकको भूमिका निकै रोचक हुनेछ ।
रूस-युक्रेनमा जारी युद्धमा फसेको छ । यस्तो अवस्थामा उसले इरानलाई गर्ने सहयोग सीमित हुनसक्छ । रूसले मध्यस्थता गर्न पनि अग्रसरता देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तामा रूसले मध्यस्थता गर्नेबारे कुराकानी भएको जनाइएको छ । तर, युक्रेनमा आक्रमण गरेर विश्वसनीयता गुमाएको रूसको मध्यस्थता सर्वस्वीकार्य नहुन पनि सक्छ ।
चीन आफैँ यो युद्धमा फाल हाल्ने सम्भावना देखिँदैन । बरु द्वन्द्व लम्बिएको खण्डमा चीनले इरानलाई अप्रत्यक्ष सहयोग भने गर्नसक्छ । उदाहरणका लागि आफूले उत्पादन गरेका हतियार प्रदान गरेर चीनले इरानको सहयोग गर्नसक्छ । वा, इरान र इरानको परम्परागत मित्रराष्ट्र एवम् चीनको निकटस्थ मुलुक उत्तर कोरियाबीच हतियार आदान–प्रदानमा चीनले सहजीकरण गर्नसक्छ ।
ताइवानलाई आफ्नो शासन मातहत ल्याउने तयारीमा रहेको चीनका लागि आफ्नो हतियार परीक्षण गर्नु अत्यन्त महत्वपूर्ण छ । यसका लागि यो युद्ध चीनका लागि प्रयोगशाला बन्न सक्छ ।
पक्कै पनि माथि भनिएको सबै कुरा सम्भावनामा आधारित छन् । अमेरिकाको सर्वोच्च पदमा रहेका राष्ट्रपति ट्रम्प स्थिर मनस्थितीका विश्वसनीय राजनेता होइनन् । उनले इरानसँग सम्झौता गरेँ अब आक्रमण गर्दिनँ पनि भन्न सक्छन् । अथवा, इरानी भूमिमा तत्कालै दशौँ हजार अमेरिकी सैनिक परिचालन गर्छु भनेर पनि घोषणा गर्नसक्छन् । यसका लागि ट्रम्प के चाहन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । ट्रम्पले इरानसँग सम्झौता चाहेको बताएका छन् । तर, उनको भनाइको विश्वसनीयमा प्रश्न गर्ने ठाउँ पनि छ ।
जानकारहरू सन् २०२० को शुरुवातमा इराकको राजधानी बगदादमा सर्वोच्च सैन्य नेता कसिम सुलेमानीको हत्या गर्ने निर्णय गर्दा नै उनी इरानसँग युद्धका लागि मानसिक रूपमा तयार थिए भन्छन् । त्यसबाहेक ट्रम्पलाई रिपब्लिकन पार्टीमा समर्थन गर्ने शक्तिशाली यहूदी प्रभाव समूहहरूले पनि इरानसँग युद्ध लड्न उचालिरहेको बताइन्छ । अर्को कुरा इरानमाथि आक्रमण गर्न इजरायललाई अमेरिकाले नै अनुमति दिएको भन्ने कुरा सार्वजनिक भएको छ । आवश्यक परे अमेरिकालाई पनि युद्धमा संलग्न गर्ने तयारीस्वरुप इजरायललाई ट्रम्पले यस्तो अनुमति दिएको विश्वास गरिन्छ ।
अर्कोतर्फ, इजरायल यो युद्ध जतिसक्दो लम्बियोस् भन्ने चाहन्छ । सबै कुराको निर्धारण यो युद्धको लक्ष्य के हो भन्ने कुराले गर्नेछ । इजरायलले यो युद्धको उद्देश्य बारम्बार परिवर्तन गरिरहने देखिन्छ । उदाहरणका लागि गाजा क्षेत्रमा हमास सखाप भएपनि इजरायलको आक्रमण रोकिएको छैन । इजरायलमा हमासविरुद्ध आक्रमण भनेर गाजाको आम नरसंहारको प्रचार भइरहेको छ।
इजरायली आक्रमणको उद्देश्य इरानको आणविक कार्यक्रम ध्वस्त पार्नु मात्रै हो कि इरानको सत्ता परिवर्तन गर्नु पनि हो ? ध्वस्त भएपछि पनि नयाँ पाठ सिकेर इरानले फेरि हाकाहाकी वा चोर बाटोबाट आणविक बम बनाउने कार्यक्रमलाई निरन्तरता दिँदैन भन्ने कसले ग्यारेन्टी गर्छ ? इरानमा सत्ता परिवर्तन भए त्यसबाट उत्पन्न हुने शक्ति शून्यताको जिम्मेवारी कसले लिन्छ ? वा; अमेरिकाले इरानमा सैनिक उतारेको खण्डमा त्यसबाट उत्पन्न हुने अस्थिरताको दोषी को हुन्छ ? यी प्रश्नहरूको जवाफ खोज्न केही समय कुर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया