सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव | Khabarhub Khabarhub

गण्डकीको बजेट

सिलिङभित्रकै योजना काटिएपछि गण्डकीमा कांग्रेस सांसदलाई तनाव

बागलुङका ६ संसद बैठकमै अनुपस्थित


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रदेशसभा सदस्यमा उम्मेदवार हुँदैखेरी बागलुङका दीपेन्द्रबहादुर थापाले मतदातासामु बेनी नगरपालिका र बागलुङ नगरपालिका जोड्ने पैरेनीघाटमा पक्की पुल बनाउँछु भन्ने प्रतिबद्धता जनाएका थिए । उनी पहिलो पटक निर्वाचित भएर आउँदा आर्थिक वर्ष २०७९–८० को बजेट आइसकेको थियो ।

दोस्रो कार्यकालको पहिलो वर्षमै दुई वटा सरकार फेरिए । संयोगले उनै थापा गण्डकीका पर्यटनमन्त्री समेत बने । योजना समेट्न मुख्यमन्त्रीसँग अनुरोध पनि गरे । ४० लाख रुपैयाँ राखेर बहुवर्षेमा लैजानका लागि फाइल अर्थसम्म पुग्यो । तर, त्यो फाइल त्यहीँ अड्कियो । दोस्रो वर्ष आश गरेर बसेको, तर बजेटमा छुटेछ ।

थापाले मतदातासामु अहिले नभए पनि अर्का वर्ष त जसरी पनि हुन्छ भनेर आश्वासन दिए । यस्तै आश्वासन सांसद थापाले मुख्यमन्त्रीबाट पाएका थिए । तर, जसै वार्षिक विकास पुस्तक सार्वजनिक भयो, थापा छाँगाबाट खसेजस्तै भए । ढुक्क भएर बसेको पुलको योजना त परेन नै अरु योजना पनि किताबमा छैनन् ।

उनी भन्छन्, ‘जनतालाई हुन्छ भनेर बसियो, नेतृत्वले मलाई ढाँट्यो, मैले मतदातालाई ढाँटेजस्तो भयो ।’ आफ्नै दलले सरकारको नेतृत्व गरिरहेको भएर बाहिर विरोध गर्दै हिँड्न मिल्ने अवस्था पनि छैन । उनीजस्तै कांग्रेसका धेरैजसो सांसदलाई अहिले त्यस्तै भएको छ ।

बजेटको सिद्धान्त र प्राथमिकता अनि नीति तथा कार्यक्रममा भनिएजस्तो बजेटको समन्याययिक वितरण पटक्कै नभएको कांग्रेसकै सांसदहरुको भनाइ छ । सत्तापक्षका सांसदहरुलाई मन्त्रालयपिच्छे सिलिङ दिइएको थियो । त्यही सिलिङभित्र रहेर सिफारिस गरिएका योजनासमेत नपरेपछि उनीहरु रनाहामा परेका हुन् । नीति तथा योजना आयोगले योजना बैंकको अवधारण सुनाइरहँदा यसपालि पनि योजनामा ‘चिकर्टो’ नै हाबी भयो– त्यो पनि सत्तापक्षीय सांसदकै असन्तुष्टि पोखिनेगरी ।

बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ६ जना सांसद बजेटमा विभेद भएको भन्दै शुक्रबारको प्रदेशसभा बैठकमा उपस्थित नै भएनन् । एउटा कर्मचारीले आफ्नो वडामा बग्रेल्ती योजना हाल्ने तर, आफूहरुले सिफारिस गरेका योजना एउटा पनि नपर्दा कुन मुख लिएर निर्वाचन क्षेत्र फर्कने भन्ने सांसदहरुलाई पिरलो छ ।

बागलुङबाट कांग्रेसबाट ६ जना, एमालेबाट ४ र माओवादीबाट एक जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । एमालेका सांसदले सिफारिस गरेका योजना भने कटौतीमा नपरेको उनीहरुको भनाइ छ । बागलुङबाट कांग्रेसबाट दीपेन्द्रबहादुर थापा, जीतबहादुर शेरचन, द्रोणबहादुर कुँवर, डिल्लीराम सुवेदी, चम्पादेवी खड्का र दिलमाया पौवि प्रतिनिधित्व गर्छन् । तीमध्ये खड्का र पौवि समानुपातिक हुन् । त्यसो त सुरुमै योजनाको सूची माग्दा प्रत्यक्ष र समानुपातिक सांसदबीच नै विभेद गरिएको थियो । यसको गुनासो दलको बैठक र सदनमा समेत सामानुपाति प्रणालीबाट आएका सांसदहरुले गर्दै आएका छन् ।

त्यसो त आफ्नो पहलमा परेका योजना भनेर कतिपय सांसदहरुले सामाजिक सञ्जाल रंग्याइरहेका छन् । योजना छुटेका सांसदहरुले फेसबुकमा लिस्ट राख्न त परै जाओस् निर्वाचन क्षेत्रबाट आएको फोन उठाउने हिम्मत पनि गरेका छैनन् । कांग्रेसकै एक सांसदका अनुसार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षले फोन नै गरेर योजना मागेका थिए । उनले भने, ‘म त अचम्मै परिराछु भन्या, उपाध्यक्षले योजना मागेर बस्ने हो कि नीति बनाउने हो भनेर ?’

राप्रपाका संसदीय दलका नेता प्रदेशमा सरकार भएजस्तो अनुभूति नै नभएको बताउँछन् । प्राथमिकता एकातिर थन्क्याएर अर्कोतिर योजना पार्दा प्रदेशप्रतिको असन्तुष्टि झनै बढ्दै गएको उनको भनाइ छ । दीर्घकालीन महत्व राख्ने कुनै योजना नभएको भन्दै उनले वितरणमुखी बजेटले प्रदेशको यात्रा सुखद नहुने बताए । राप्रपाकै सांसद विन्दु पौडेल गोरखा, कास्की र लमजुङमा बजेट खन्याएर समन्यायिक भनिनु हास्यास्पद रहेको बताउँछिन् ।

सांसदमात्र होइन राजनीतिक दलका नेताहरुसमेत बजेटप्रति रुष्ट छन् । प्रदेशको बजेटमाथि टिप्पणि गर्दै कांग्रेस कास्कीका सभापति भन्छन्, ‘बजेट तथा कार्यक्रममा जनता देखिएनन्, मन्त्री र कर्मचारी मात्रै देखिए । अध्ययन र अनुसन्धानले योजना निर्माणमा प्राथमिकता नपाएपछि योजना आउने पुस्ताका लागि होइन, आउने निर्वाचनका लागि बन्दोरहेछ ।’ उनले ‘प्राथमिकता बिनाको योजना, असफलताको पूर्ण तयारी हो कतै हामी त्यही बाटोमा उन्मुख त छैनौं ?’ भन्ने प्रश्न गरे ।

एमाले कास्कीका नेता दीपक पौडेलले गत वर्ष सुरु भइ आउने आर्थिक वर्षमा पनि रकम विनियोजन हुनुपर्ने ६ वटा सडकको रकम पूरै कटौती गरिएको भन्दै गुनासो गरे । उनले प्रश्न गरे, ‘१२ अर्ब रकम विनियोजन गर्ने अख्तियारी पाएका मन्त्री प्रकाशजीलाई धेरै धन्यवाद छ यस वर्ष पोखरा १९ मा लामाचैरमा २५ लाख पुरनचौरमा २५ लाख मात्र सडक निर्माणमा छुट्याउनु भएछ, यति सारो पूर्वाग्रही बन्नु पर्ने के थियो कुन्नि ?’ कतैतिर करोडौं रकम छुट्याइएर पोखरा १९ लाई विभेद गरिएकोप्रति उनले कटाक्ष गरे ।

सरकारले आगामी आवका लागि ३१ अर्ब ९८ करोड रुपैयाँको बजेट ल्याएको छ । सबैभन्दा बढी भौतिक पूर्वाधारमा, त्यसपछि खानेपानी तथा ऊर्जामा रकम विनियोजन गरिएको छ । चालु आवभन्दा १ अर्ब कम गरेर सरकारले बजेट ल्याएको हो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४० बजे

कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमै सक्नेगरी पहल गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको

‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको  चेतावनी 

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका विषयमा

त्रिवेणीमा जिप दुर्घटना हुँदा सात जना घाइते

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा

सरकारको आय-व्यय : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च

सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा

काठमाडौं- वर्तमान गठबन्धन सरकारसँग तीव्र असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका