सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी  | Khabarhub Khabarhub

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ ।  पौष्टिक आहार नखानु, जीवनशैलीमा ध्यान नदिनु, ढिलो विवाह गर्नु लगायतका कारण धेरै दम्पतीहरूमा निःसन्तानपनको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । 

तथ्यांक अनुसार विश्वभर १५ प्रतिशत दम्पतीमा निःसन्तानपनको समस्या रहेको छ । त्यस्ता दम्पतीहरूले आइभीएफ प्रविधिको प्रयोग गरेर सन्तान सुख प्राप्त गरिरहेका छन् । त्यसैको आडमा खोलिएका आइभीएफ क्लिनिक अर्थात् इन् भिट्रो फर्टीलाइजेशन क्लिनिकहरूमा डिम्बको अवैध कारोबार हुने गरेको पाइएको छ । 

गत साता मात्रै काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोष्टिक क्लिनिक र महाराजगञ्जस्थित एञ्जल फर्टिलिटी क्लिनकमा १८ वर्षमुनिका २ जना किशोरीहरूबाट डिम्ब संकलन गरी १८ लाखसम्ममा ग्राहकलाई बेचेको घटना सार्वजनिक भयो ।

१० दिनसम्म लगातार सुई लगाएर एकदमै जोखिमपूर्ण तरिकाले किशोरीहरूबाट डिम्ब निकालिएको र सो बापत  किशोरीहरूलाई १० देखि १५ हजार रुपैयाँ दिएर डिम्ब ग्रहण गर्नेसँग १८ देखि २० लाखसम्म असुलेको पाइएको प्रहरीले बताएको छ । 

उक्त घटनामा क्लिनिकका सञ्चालकहरु डा. स्वस्ति शर्मा र डा. मलिनी चौधरी सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्रणमा लिई सोधपुछ गरेर गत आइतबार नै रिहा गरिसकेको छ । तर घटना गम्भीर प्रकृतिको भएकाले अनुसन्धान जारी रहेको सीआईबी प्रवक्ता युवराज खड्काले बताए । 

उनका अनुसार डिम्बको कारोबार गर्न पाइने नपाइने विषयमा स्पष्ट कानुन नभएकाले प्रहरीले बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार यो मुद्दाको अनुसन्धान गरिरहेको छ । 

यो घटनाले नेपालमा सञ्चालित आइभीएफ सेवा प्रदायक संस्थाहरूमा हुने कृत्रिम गर्भाधान, पुरुषको शुक्रकीट र महिलाको डिम्ब संकलन तथा भण्डारणमाथि नै प्रश्न उठाएको छ । यस सम्बन्धी प्रस्ट कानुन र मापदण्ड नबन्दा विकृति बढेको तर यो आजको आवश्यकता भएको स्वास्थ्यविद्को भनाई छ । 

पाठेघर जस्तो अमूल्य वस्तुको मूल्य तोकेर किशोरीहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको विषयमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । 

कति छन् नेपालमा आइभीएफ सेन्टर ?  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ र उपत्यका बाहिर ९ गरी देशभर २५ वटा दर्ता भएका छन् । बाँकी १० देखि १२ वटाले सञ्चालनको अनुमति मागेको मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीले जानकारी दिए । बाँकी अनुमति बिना सञ्चालन भइरहेका आइभीएफ सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन आव्हान गरिएको उनले बताए । 

दर्ता बिनै मापदण्डविपरित सञ्चालन भइरहेका सेन्टरहरूको अनुगमन तथा नियमन गर्ने काम भइरहेको केसी बताउँछन् । सूचना अधिकारी केसीका अनुसार अहिले बाहिर आएको होप फर्टिलिटीको मुद्दाका विषयमा अनुसन्धान गर्न मन्त्रालयले एउटा समिति बनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसी

शुक्राणु र डिम्ब संकलनसम्बन्धी कानुनमा के छ ?

जनस्वास्थ्य नियमावली २०७७ को दफा (७) को (२४) मा विशिष्टीकृत सेवाका रूपमा टेष्टट्युब बेबी वा आइभीएफको मापदण्ड बनाइएको छ । जसमा सेन्टर सञ्चालनका लागि चाहिने आवश्यक मापदण्डहरू पनि निर्धारण गरिएको छ । 

तर पुरुषको शुक्रकीट र महिलाको डिम्ब दानबारे केही पनि उल्लेख गरिएको छैन । अहिलेसम्म जति पनि आइभीएफ प्रविधिबाट सन्तान जन्माइन्छ, ती सबै सोही मापदण्डमा रहेर आइभीएफ विज्ञ चिकित्सक र आवश्यक दम्पतीबीचको सम्झौताका आधारमा जन्माइन्छ । त्यसैले यसबारेमा कानुन नबनेसम्म यो अलमलकै विषय हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. किर्तिपाल सुवेदी बताउँछन् । 

खबरहबसंग डा. सुवेदीले पुरुषको शुक्रकीट डोनर ल्याएर गर्न सकिने भनेर केही खुकुलो बनाएको भए पनि महिलाको हकमा भने केही बोलेकै छैन । पछिल्लो समय निःसन्तानपनको समस्यालाई हेर्ने हो भने नेपालमा यो आवश्यकता चाहिँ हुन थालेको उनले बताए ।

 कतिपय महिलाहरूको समय अगाडी नै अण्डाहरू कम भएर जाने, ढिलो विवाह गर्दा बच्चा बस्नै गाह्रो भइरहेका केशहरू धेरै आइरहेका र त्यस्ता महिलाका लागि केही विकल्प नै नभएको उनको भनाइ छ । 

त्यसैले यसलाई व्यवस्थित गर्न सकियो भने अण्डा उत्पादन नभएर बच्चा जन्माउन नसकेका महिलाको हकमा यो नियम ल्याउन जरुरी रहेको उनले बताए । तर स्पष्ट कानुन र मापदण्ड बनाउनुपर्ने उनको भनाई छ । 

आइभीएफका लागि धेरै अण्डाहरू निकालिन्छ कसैलाई एकै पटकमा नभएर धेरै अण्डा चाहिन्छ भने कसैलाई एउटै अण्डाले पुग्छ । बचेको अण्डा यदि कसैलाई दान गर्न सकियो भने अर्को महिलालाई पनि सन्तान प्राप्त हुन्छ । त्यसैले जसरी शुक्रकीट दान गर्न पाइन्छ त्यसरी आवश्यक नीति बनाएर डिम्ब दान गर्न दिने हो भने यस्तो अवैध कारोबार पनि रोक्न सकिने उनको भनाई छ । 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. किर्तिपाल सुवेदी

बाहिरी देशहरूमा २१ वर्ष उमेर पुगेका र एउटा दुईवटा सन्तान जन्माइसकेका आमाहरूले आपसी सहमतिमा डिम्ब दान गर्ने व्यवस्था रहेको उदाहरण दिँदै डा. सुवेदीले नेपालमा पनि विवाहित महिला र आफ्नै कम्तीमा २ वटा बच्चा र उसमा अण्डाहरूको मात्रा धेरै हुनुपर्ने यस्तै केही मापदण्ड राखेर गरियो भने डिम्ब दान गर्न सकिन्छ किनकि अण्डाहरू हजारौँको संख्यामा हुन्छ थोरै मात्रामा निकाल्दा खासै हानी गर्दैन । 

तर यसको नीति नियम हुन जरुरी छ । त्यसैले आवश्यक नीति नियम बनाएर गर्‍यो भने लिने दिने दुवैलाई फाइदा पुग्ने उनले बताए । पहिले पहिले हामी कसैले पनि कल्पना नगरेको कुरा हो यो । तर समयको परिवर्तनसँगै हामी चिकित्सकहरू हेर्दै जाँदा अण्डाकै अभाव भएर गर्भधारण गर्न नसकेका महिलाहरू पनि धेरै हुन थालेको उनले बताए । 

आफ्नो शुक्रकीट या डिम्ब भण्डारण गरेर पछि आफैले प्रयोग गर्न पाउने गरी भण्डारण गर्नेसम्मको काम पछिल्लो समय भइरहेको भए पनि अर्काको डिम्ब प्रयोग गर्नका लागि स्पष्ट कानुन नै नभएको उनले बताए । शुक्रकीटको हकमा भने दान गर्न चाहने पुरुष र ग्रहण गर्नेको सहमतिमा लेनदेनको काम भइरहेको छ । 

डिम्ब निकाल्ने प्रक्रिया र यसले जन्माएको प्रश्न 

प्राकृतिक रूपमा महिनावारी हुँदा १/२ वटा अण्डाहरू निस्किन्छ भने निकाल्नुपर्दा महिनावारी हुनेबित्तिकै औषधी दिने वा सुई लगाएर एकैचोटी धेरै अण्डा निकालिन्छ । सामान्यतया आइभीएफमा पनि त्यही गरिन्छ । 

तर आइभीएफ गर्दा जस्कोबाट निकालिएको उसैलाई प्रयोग गरिन्छ भने अहिलेको घटनामा एउटाबाट निकालेर अर्को मान्छेकोमा राखिएको छ । सुइँ लगाउने, औषधी दिने र अण्डा निकाल्दा अण्डाको संख्या घट्ने लगायतका  स्वाभाविक रूपमा हानी हुने नै भयो । त्यो भन्दा पनि यो गर्न पाउने कि नपाउने भन्ने कुरा मुख्य भएको डा. सुवेदीले बताए । 

अहिलेको अवस्थामा कानुन नै नबनेको भएर दिन मिल्दैन भन्ने कुरा एउटा पाटो भयो भने यसरी अण्डा अर्थात् डिम्ब दान गर्न थालेपछि शरीरमा अण्डाको संख्या कम भएर चाँडो महिनावारी सुक्ने, सुई तथा विभिन्न औषधीको प्रयोग गर्ने र बेहोस बनाउनुपर्ने भएकाले कुनै पनि दुर्घटना निम्तिने जोखिम रहन्छ । 

उनको अनुभवमा महिनावारी हुन थालेको एक दुई वर्षपछि अण्डा बन्न थाल्छ त्यसपछि जहिले पनि अण्डाहरू निकाल्न सकिन्छ । तर शारीरिक सम्पर्कमा नआइसकेका भर्खरका किशोरीहरूको भजाइनाबाट औजारहरूको प्रयोग गरी अण्डाहरू निकाल्दा यौनाङ्ग च्यातिन, रक्तस्राव हुने जोखिम हुन्छ । तर उमेरले खासै फरक पर्दैन त्यो भन्दा पनि मुख्य कुरा गर्नै हुँदैन भन्ने हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ४ : ५१ बजे

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी

सिरियाको दक्षिणी क्षेत्रमा जातीय द्वन्द्वको त्रास, हाल शान्ति कायम

सिरिया – सिरियाको दक्षिणी स्वैदा प्रान्तमा एक सातासम्म चलेको जातीय

ताइवानमा चिनियाँ सैन्य अतिक्रमण बढ्दै

काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ ।