काठमाडौं – एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु आम मध्यम वर्गीय किशोरको बाध्यता हो ।
सहर पसेपछि उसका संघर्षका दिन सुरु हुन्छ । सहरले उसलाई प्रयोगात्मक शिक्षा दिन्छ । आर्थिक हैसियत, अस्तित्वको खोजी र जीवन संघर्षलगायत उसलाई सहरले सिकाउँछ वा महसुस गराउँछ।
सोलुखुम्बुको गाउँबाट वि.सं. ०७२ सालमा कैलाश कार्की पनि उच्च शिक्षाको बाहानामा सहर छिरे । पति वियोगमा आलो पीडामा रहेकी आमालाई एक्लै घरमा छाडेर आँगन शून्य बनाएर उनी काठमाडौं हिँडे ।
आमालाई त्यो परिस्थितिमा एक्लै छाड्न उनलाई मन थिएन । भविष्यका लागि घर छाड्नुको विकल्प पनि त उनीसँग थिएन ।
उनी भन्छन्, ‘मेरो जीवनको एकदमै कठिन समय हो त्यो । आमालाई एक्लै छोडेर हिँडेको दृश्य मेरो दिमागमा ताजा छ । सुत्ने बेला कहिलेकाहीँ त्यो दृश्य सम्झना आउँदा मन भारी भएर आउँछ ।’
अहिले परिस्थिति फेरिएको छ !
कैलाशले यही सहरमा संघर्ष गरेर चर्चित कलाकारको प्रोफाइल बनाएका छन् । आम नेपालीको सपनाको देश अमेरिकामा उनी कलाकार भएर पुगेका छन् । अन्य देशमा पनि उनी प्रस्तुति दिन गइरहेका हुन्छन् ।

कैलाश आमासँगै भक्तपुरमा बस्छन् । कार्यक्रमका लागि आफूलाई विदेश बिदा गर्ने बेला रातो टिका लगाइदिँदा आमाको अनुहारमा बेग्लै चमक पाउँछन् ।
यो कुरालाई उनी सोलुखुम्बुबाट घर छोड्दाको घटनासँग जोड्छन् । भन्छन्, ‘गाउँबाट काठमाडौं छिर्दा आमा र म दुवैले आँसु रोक्न मन गाँठो पारेका थियौं । आज म देश छोडेर विदेश जाँदा आमाको मुखमा हाँसो देख्छु । यो कलाकारिताले दिएको हो । अझ भनौं मेरो आमाको मुहारमा कलाकारिताले हाँसो फर्काएको छ ।’
अनि आफ्नो कलाकारितामा गर्व लाग्ने क्षण नि ? यस प्रश्नको विशेष जवाफ पनि उनीसँग छ । अझ भनौं किस्सा छ ।
उनले सुन्दै हुर्किएको गायक प्रमोद खरेल एक हुन् । कैशाल सोलुखुम्बुमा हुँदै प्रमोद स्टार गायक भइसकेका थिए । उनी भन्छन्, ‘दाइ–काकाहरुको वाकमेनमा उहाँका गीत सुनेको हो ।’
टेलिभिजन कार्यक्रममा ‘कमेडी क्लव विथ च्याम्पियन’मा कैलाश ‘भिकारी’को चरित्रबाट दर्शकलाई हसाउँथे । एक एपिसोडमा प्रमोद अतिथि बनेर आएका थिए ।
प्रमोदले कैलाशकै अगाडि ‘भिखारी’को क्यारिकेचर गरे । अर्थात्, कैलाशले जन्माएको ‘भिखारी’को क्यारेक्टरको प्रमोदले नक्कल गरेका थिए । उनी भन्छन्, ‘मैले स्टार मानेका कलाकारलाई पनि मन पर्ने गरी कला देखाएको रहेछु । यो मेरो कमेडी यात्रामा स्मरण भइरहने र गर्व लाग्ने घटना हो ।’
अन्य केही विशेष ?
उनी भन्छन्, ‘छन् नि ! हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ जस्तो आदरणीय कलाकारको अगाडि प्रस्तुति दिन पाएको छु । उहाँहरुले राम्रो छ भनेर प्रतिक्रिया दिनुहुन्छ । एक कलाकारका लागि यो जति गर्वको कुरा के हुन्छ ?’
०००
नाम : कैलाश कार्की
जन्म मिति : वि.सं २०५६
जन्म स्थान : खोलुखुम्बु, दुधकुण्ड गाउँपालिका, तिङ्ग्ला
सहरमा जन्मिएको भए कैलाश इन्टरनेटको पुस्ताका हुन् । तर, सोलुखुम्बुको ग्रामीण परिवेशमा हुर्किएकाले इन्टरनेटको सुख भोग गर्न उनले मध्य किशोरावस्था काट्नुपर्यो ।

यतिसम्म कि उनले ‘वाकमेन’को पनि अनुभव लिन पाए । भन्छन्, ‘आफ्नो त थिएन, दाइ-काकाहरुले मागेर, राखेको ठाउँबाट झिकेर सुनिन्थ्यो ।’
गाउँमा मोटरबाटो आएको क्षण उनले देख्न पाए । अहिले ‘फुर्सद भएका नेपाली डोजर हेर्छन्’ भन्ने मिम सामाजिक सञ्जालमा चर्चित छ । यो मिमलाई उनी रिलेट गर्न सक्छन् ।
भन्छन्, ‘म ६-७ मा पढ्दा गाउँमा बाटो आएको हो । निकै रमाइलो मानेर डोजर हेरियो ।’
पढाइको विषयमा कैलाश आफूलाई उत्कृष्ट मान्दैनन् । तथापि आफू पहिलो, दोस्रो वा तेस्रो भइरहने विद्यार्थी रहेको बताउँछन् ।
भन्छन्, ‘म जान्ने भएर उत्कृष्ट तीनमा परेको होइन । अरु नजान्ने भएर हो ।’
बुवा रिटायर्ड आर्मी र आमा गृहणी । एक दाइ र दिदीपछिका उनी कान्छो सन्तान ।
उतारचढाव बिना नै उनको बाल्यकाल बित्यो । कैलाश किशोरावस्था प्रवेश गर्ने बित्तिकै उनको परिवारलाई झट्का लाग्यो- बुवाको असामयिक निधन भयो ।
बुवाको निधन भएपछि कैलाश र आमा मात्रै घरमा भए । दाइ र दिदीले उच्च शिक्षाका लागि घर छाडिसकेका थिए ।
पति वियोगमा रहेकी आमालाई छाडेर कैलाश एलएलसी पास गरेपछि उच्च शिक्षाको लागि काठमाडौं आए ।
त्यो उनको जीवनको कठिन क्षण हो । उनी भन्छन्, ‘बुवाको अनुपस्थितिमा आमालाई एक्लै घरमा छाडेर हिँड्दा साह्रै नरमाइलो लागेको थियो ।’
कोरियाबाट दुई पटक अस्वीकार
एसएलसीमा पहिलो डिभिजन पास गरेकाले कैलाश साइन्स पढ्न आएका हुन् ।
काठमाडौंमा सानीआमा (आमाको बहिनी) भएकाले बस्नका लागि उनलाई समस्या भएन ।
उनी भन्छन्, ‘काठमाडौं आएर मैले बस्न र खानाको लागि चाहिँ संघर्ष गर्नुपरेन । सुरुवाती दिनमा सानीमाको संरक्षण पाइयो । म आए लगत्तै दाइ दक्षिण कोरिया गएकाले सहज भयो ।’
साइन्स पढ्न आएका कैलाश मानविकी संकायमा भर्ना भए । कारण रोचक छ ।

उनी सुनाउँछन्, ‘काठमाडौं आउँदा गाडीबाट बाटोमा मैले कलेजहरुको विज्ञापन देखेँ । त्यहाँ मानविकी संकाय पनि देखेँ । अनि मलाई त्यो पढ्न मन लाग्यो ।’
स्कुलको टाठो बाठो विद्यार्थीमा गनिने भए पनि उनलाई प्लसटूका कुन-कुन संकायमा पढाइ हुन्छ थाहा रहेनछ ।
भन्छन्, ‘म गाउँमै मात्र सीमित थिए । स्कुल पढ्ने बेलासम्म म घरबाट टाढा गएकै होइन । इन्टरनेटको पहुँच थिएन । त्यही भएर मलाई प्लस टूमा के-के संकायमा पढाइ हुन्छ थाहा भएन, सायद । मानविकी संकाय नौलो लागेकै कारण पढेको हुँ ।’
मानविकी पढेकाले कैलाशले घरबाट लोकसेवामा प्रतिस्पर्धा गर्न सल्लाह पाए । उनी लोकसेवा तयारी कक्षा पनि गए, तर उमेर सानो भएकाले पढ्न पाएनन् ।
उनी भन्छन्, ‘तयारी कक्षाका लागि गएको थिएँ । उमेर सानो छ, पछि आउनु भन्नुभयो । पछि गइनँ ।’
पछि लोकसेवाको कक्षामा लिन नजानुको पनि कारण छ । त्यो हो– दक्षिण कोरियाको तयारी ।
ईपीएसबाट कैलाशका दाइ कोरिया गएका थिए । त्यहाँ राम्रो आम्दानी हुने भएकाले कैलाशलाई पनि ‘दाइ’ले कोरियन भाषा पढेर ईपीएसमा प्रतिस्पर्धा गर्न सल्लाह दिएका थिए ।
कैलाशले मिहिनेत गरे, पढे । दुई पटक प्रयास पनि गरे । तर, ईपीएस प्रतिस्पर्धामा उनी सफल भएनन् ।
भन्छन्, ‘जिलोज्यान दिएर पढेको हो । भाग्यले साथ दिएन । अहिले लाग्छ– मेरो यात्रा नै अर्को क्षेत्रमा लेखिएको रहेछ । त्यता के हुन्थ्यो ।’
कमेडीमा चासो
काठमाडौं आउँदासम्म कैलाशलाई कलाकार बन्ने रुचि थिएन । उनलाई यस क्षेत्रप्रति चासो पनि थिएन ।
तर, काठमाडौं आएसँगै उनी इन्टरनेटको पहुँचमा भए । त्यसपछि केमेडी भिडियोहरुले उनलाई आकर्षित गर्यो ।
जुनबेला अहिलेका स्थापित केमेडियन सुमन कार्की संघर्षरत कलाकार थिए । उनी ‘रेडियो अडियो’मा हाँस्य कार्यक्रम चलाउथे ।
ऋषि धमलाको क्यारिकेचरले उनी युट्युबमा चर्चित नै थिए । उनले फेसबुकमा म्यासेज गरेर सुमनलाई भेटे । सुमनलाई भेट्नुको कारण थियो- रेडियोमा जागिर ।

उनी भन्छन्, ‘धेरै पटक म्यासेज गरेपछि सुमन दाइले रिप्लाई गर्नुभएको थियो । म पत्रकारिता पढेकाले काम मिलाइदिन उहाँलाई मेसेज गरेको थिएँ । भेट पनि भयो तर, मलाई केही अनुभव नभएकाले काम चाहिँ पाइनँ ।’
त्यस समय आफ्नो कमेडियन बन्ने इच्छा सुमनलाई सेयर गर्न समेत भ्याएको कैलाश बताउँछन् ।
तर, ‘दाइले ईपीएसमा प्रतिस्पर्धा’ गर्न सुझाव दिएपछि भने कैलाश कलाकार भन्ने सपना थाति राखेरै कोरियन भाषा पढे ।
उनी थप्छन्, ‘पहिला पाँच वर्ष कोरियामा काम गरेर आर्थिक रुपमा बलियो भएपछि कलाकारिता प्रयास गर्नू । उमेर पनि त सानै छ भनेर दाइले सल्लाह दिएपछि म कोरिया जाने निर्णयमा पुगेको थिएँ । फर्किएर चाहिँ कलाकारिता नै गर्ने सोच थियो ।’
तर, कोरिया जान नपाएपछि उनी कमेडीमै लाग्न थाले ।
कमेडी च्याम्पियनमा प्रतिस्पर्धा
दोस्रो पटक ईपीएसमा असफल भएपछि भने कैलाशको कलाकारिता यात्रा सुरु भयो । तर, कमेडीमा पनि उनलाई पहिलो गाँसमा ढुङ्गा लाग्यो ।
उनी भन्छन्, ‘स्ट्यान्डअप केमेडीको लहर थियो । नेपग्याज र केमेडी सर्कलमा स्टान्डअप केमेडीका लागि अडिसन दिएँ । दुवैमा नराम्ररी फ्यालिएँ ।’
कमेडी गर्छु भन्ने हिम्मत चाहिँ कसरी आयो ?
कैलाश भन्छन्, ‘म मुक्तक लेख्थेँ । त्यही भएर जोक्स लेख्न सक्छु भन्ने आँट थियो ।’
यसरी कैलाश कमेडी गर्ने सोचले भौतारिरहँदा टेलिभिजन रियालिटी शो ‘केमेडी च्याम्पियन सिजन १’ घोषण भयो । यो ०७६ सालको कुरा हो ।
कैलाश डिजिटल अडिसनमा पास भए । फिजिकल अडिसनमा जाँदा भने उनको मनोबल कमजोर बन्यो ।
कारण– उनले केमेडीमा धुरन्धर मान्नेहरु प्रतिस्पर्धीका रुपमा आएका थिए ।
उनी भन्छन्, ‘सुमन दाइ र सज्जन श्रेष्ठ दाइहरु कमेडीमा एक हिसाबले जमिसक्नु भएको थियो । उहाँहरुलाई पछि पार्न सक्छु भन्ने कुनै हिसाबले लागेको थिएन ।’
कैलाशको सिजन १ को प्रतिस्पर्धा ‘टप १५’ बाट अघि बढ्न सकेन ।

तर, कमेडीमै केही गर्ने इच्छा भएकाले कैलाश दोस्रो सिजनमा पनि सहभागी भए ।
उनी भन्छन्, ‘पहिलो सिजन मेरो लागि सिकाइ भयो । त्यो सिकाइले दोस्रो सिजनमा पनि प्रतिस्पर्धा गर्ने सोच भयो । यस शोको दर्शक धेरै भएकाले पनि मलाई दोस्रो पटक पनि प्रतिस्पर्धा गर्ने सोच आएको थियो ।’
दोस्रो सिजनमा कैलाश ‘टप ६’ सम्म पुगे । नभन्दै यो पटक उनी धेरै दर्शकमाझ परिचित भए ।
उनी भन्छन्, ‘दोस्रो प्रयासले मलाई यो पनि कलाकार हो है भनेर दर्शकमाझ चिनायो जस्तो लाग्छ ।’
टेलिभिजन शो
कमेडी च्याम्पियनको दोस्रो सिजनपछि कैलाश टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा देखा पर्न लागे ।
यो टेलिभिजन शोका र कमेडी च्याम्पियनका दुवैका निर्देशक विशाल भण्डारी हुन् । च्याम्पियनका प्रतिस्पर्धीलाई नै लिएर विशालले टेलिभिजन कार्यक्रम सञ्चालन गरेका हुन् ।
त्यो हुँदा कैलाश टेलिभिजन शोमा छुट्ने कुरै भएन । किनकि उनी दोस्रो सिजनमा सम्भावना देखाएका प्रतिस्पर्धी थिए ।
कैलाशलाई टेलिभिजन शोले थप दर्शकमाझ पुर्यायो । उनले त्यस शोमा निर्वाह गर्ने भिखारीको क्यारेक्टर हिट बन्यो ।
यतिसम्म गायक प्रमोद खेरल अतिथि बनेर शोमा जाँदा उनले भिखारी क्यारेक्टरको क्यारिकेचर गरेका थिए ।
कैलाश भन्छन्, ‘यो मेरो कलाकारिता यात्राको नबिर्सने क्षण हो ।’

‘परिवारले गर्व गर्नुहुन्छ’
कैलाश हाँस्य कलाकारका रुपमा प्रस्तुती दिन १६ वटा देश पुगेका छन् ।
शोका लागि नै यही साता उनी क्यान्डामा उड्दै छन् । अर्थात्, उनले कलाकारको रुपमा भ्रमण गरेको देशको संख्या १७ पुग्दैछ ।
उनको पहिलो विदेश भ्रमण अस्ट्रेलिया हो । दोस्रो अमेरिका । त्यसपछि उनी युरोपका १४ वटा देशको भ्रमणमा गए ।
उनी भन्छन्, ‘मैले पहिलो पटक अन्तर्राष्ट्रिय विमान चढेको कलाकार भएरै हो । मैले फेरि विकसित भनिएकै देशबाट भ्रमण गर्न पाएँ ।’
कलाकार बनेपछि आर्थिक हैसियत सुधार भएको कैलाश बताउँछन् । अहिले उनी आमासँगै भक्तपुरको आफ्नै घरमा बस्छन् ।
भन्छन्, ‘मैले त कमाएर घर बनाएको होइन । दाइले बनाउनुभयो । जे होस् अहिले आमासँग बस्न पाएको छु ।’
विदेश शोका लागि घरबाट निस्कँदा आमाले मुस्कानसहित बिदा गर्दा कैलाशालाई खुशी लाग्छ ।
उनी भन्छन्, ‘म विदेश जाँदा हामाको अनुहारमा हाँसो देख्छु । उहाँको हाँसोमा गर्व देख्छु ।’
कहिलेकाही विलौना गर्दा आमाले ‘तेरो प्रगतिमा खुसी छु’ भन्ने गरेको कैशाल सेयर गर्छन् ।
आर्थिक प्रगगि अझै गर्न बाँकी रहेको कैलाशलाई महसुस हुन्छ । उनी आशावादी छन्, ‘मिहिनेत गर्दै छु । थोरै नाम कमाएको छु । अब कमाउने उमेर हो । एक दिन अवश्य आर्थिक प्रगति हुन्छ भन्ने विश्वास छ ।’
‘दाइ’ को भनाइ के छ नि ?
कैलाश भन्छन्, ‘मैले मेरो कामबाट उहाँलाई गर्व गराउन सकेको छु जस्तो लाग्छ । उहाँ पनि भन्नुहुन्छ– हामीले नदेखेको ठाउँ तैँले कलाकार बनेर हेर्न पाएको छस् । तेरो पछाडि म छु– बाँकी कसरी अझै प्रगति गर्ने त्यो सोच्नू । भन्नुहुन्छ ।’
०००

कैलाश अहिले टेलिभिजन शो ‘कमेडी नाइट्स विथ च्याम्पिय’मा आबद्ध छन् ।
अहिले उनी ‘जँड्याहा’को नक्कल गरेर दर्शक हसाउँदै आएका छन् । उनी उक्त शोको रुचाइएका कलाकार हुन् ।
युवा पुस्ताको स्थापित कलाकारमा उनले आफूलाई उभ्याएका छन् ।
अहिले उनी आफ्नो निर्देशनमा ‘फन्टुस शो’ नामक हास्य कार्यक्रम ल्याउने तयारीमा छन् । यसको टिजर सार्वजनिक भइसकेको छ ।
भविष्यको योजनाबारे उनी भन्छन्, ‘यही क्षेत्रमा भविष्य देखेको छु । निर्देशनमा हात हालेको छु । अब के हुन्छ त्यो तपाईंहरु र दर्शकलाई थाहा भइहाल्छ ।’
प्रतिक्रिया