काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ । विशेषगरी दशैँलाई झन् राम्रो प्राइम डेट मान्ने गरेको उदाहरण छ ।
यो कुराले यस वर्षको दशैँमा पनि निरन्तरता पाएको छ । यस पटकको दशैँमा चारफिल्म बक्स अफिस भिड्न तमतयार छन् ।
‘फेस्टिभ मुडमा रहेका दर्शक हलमा आइपुग्ने’ भाष्य वा मान्यतालाई टेकेर दशैँमा फिल्म प्रदर्शनमा ल्याउन मेकरहरूले हनाथाप गरेको पाइन्छ ।
यो रिलिज डेटका लागि मेकरहरू एकअर्काले ‘साइबर आक्रमण’ र ‘फेसबुकमा गालीगलौज’सम्म गरेको उदाहरण छ । अर्थात्, उनीहरूलाई यो डेट निकै प्रिय छ । यसका लागि उनीहरू जुनसुकै तहमा उत्रिन तयार देखिन्छन् । उनीहरूको गतिविधिले त्यही भन्छ । यो सबैको हकमा लागु नहुन सक्छ, तर बढीभन्दा बढीमा यही देखिन्छ ।
साँच्चिकै, दशैँ रिलिज डेट फिल्मको व्यापारका लागि फाइदाजक हो त ?
अनौपचारिक कुराकानीमा अधिकांश मेकरहरू भन्ने गर्छन्, ‘दशैँमा जस्तै फिल्म आए पनि त्यसको व्यापार ठीक ठाक हुन्छ । विगत हेर्दा त्यही देखिन्छ । त्यही भएर यो मितिमा सबैको आँखा लागेको हो ।’
दर्शकमा पनि, ‘दशैँको बिदा छ । रमाइलो चाडमा फिल्म हेरौँ’ भन्ने मनस्थिति भएको पाइन्छ ।
दर्शकको यही मानसिकतालाई मेकरहरूले क्यास गर्न खोजेका हुन् । यही दाउमा फिल्मको लगानी डुब्ने जोखिमलाई न्यूनीकरण गर्न उनीहरू हरसम्भव प्रयासरत देखिन्छन् ।
तर, रोचक कुरा– अहिलेसम्म् चलचित्र विकास बोर्डका अनुसार १५ करोडमाथि ग्रस कलेक्सन गर्ने आठवटा फिल्म छन् । तीमध्ये मेकहरूको प्रिय रिलिज डेट बनेको दशैँमा प्रदर्शनमा आएका दुई मात्रै छन् ।
ती गत वर्ष प्रदर्शनमा आएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ हुन् ।
राम्रो कन्टेन्ट भएको फिल्म जुनै मितिमा पनि राम्रो व्यापार गर्न सक्छ भन्ने गतिलो उदाहरण हो ।
यसले यी प्रश्न उठाउने स्थान पनि दिन्छ । कमजोर कन्टेन्ट भएर त दशैँ नै रोजिएको होइन ? नभए किन दशैँ नै ? अरु समयमा आउँदा के फरक पर्छ ?
खैर, अहिले हामी दशैँ रिलिज डेटको संघारमा छौँ । यो अवस्थामा फिल्म क्षेत्रमा दुई कुराको प्रभाव प्रत्यक्ष देखिन्छ । पहिलो यही दशैँ रिलिज डेट र दोस्रो जेन–जी आन्दोलनले देशमा विकसित घटनाक्रम ।
दशैँको रिलिज डेट नजिकिएसँगै फिल्महरूको ट्रेलर सार्वजनिक र अन्य प्रचारको काम तीव्र छ ।
जेन–जी आन्दोलनका कारण असोज, कात्तिक र फागुनको रिलिज डेट प्रभावित भइसकेका छन् ।

दशैँका फिल्मको प्रचार तीव्र
यो दशैँमा प्रतिस्पर्धा गर्न लागेका फिल्महरू हुन्– ‘बलिदान’, ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु’ ।
यी तीन फिल्मले पहिला नै फूलपाती अर्थात् असोज १३ गतेलाई प्रदर्शन मिति तोकेका थिए । जेन–जी आन्दोलनले प्रभावित भएर ‘अभिमन्यु’ भदौ २३ बाट फूलपातीमा पुगेको हो ।
अहिले यी चारै फिल्मको फिल्म प्रचारको क्रममा छन् ।
‘अभिमन्यु’को ट्रेलर तीन साताअघि नै सार्वजनिक भएको हो । अहिलो यो फिल्म निर्माण पक्षले प्रचारका लागि विभिन्न पोस्टर सार्वजनिक गरिरहेको छ ।
फिल्म ‘माइतीघर’को ट्रेलर बिहीबार सार्वजनिक भयो । ‘बलिदान’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।
‘बलिदान’को शीर्ष गीत गत मंगलबार सार्वजनिक भएको थियो ।
फिल्म ‘हरिबहादुर जुत्ता’को ट्रेलर भने सार्वजनिक भएको छैन । केही दिनमै सार्वजनिक तयारी रहेको निर्माता मोहितवंश आचार्यले बताए ।
यी फिल्मको प्रचारमा पनि प्रतिस्पर्धा जस्तै देखिन्छ । एक फिल्मको प्रचार सामाग्री निस्किए लगत्तै वा भोलिपल्ट अर्को फिल्मको प्रचार सामाग्री सार्वजनिक हुन्छ ।
यो संयोग हो कि नियत उनीहरू जै जानुन् !
तर, यी फिल्मको प्रचार सामाग्रीले आन्दोलनको कारण एक साता ठप्प बनेको फिल्म क्षेत्र चलायमान भने देखिएको छ ।
दशैँको चापमा प्रकाश सपुत

दशैँमा बक्स अफिस भिडन्तले गायक एवम् नायक प्रकाश सपुतलाई दबाबमा पारेको छ ।
उनको अभिनय रहेका दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउने भएपछि उनी दबाबमा देखिएका हुन् ।
उनका लागि दुवै फिल्म उत्तिकै महत्त्वका छन् । ‘माइतीघर’को ट्रेलर रिलिज कार्यक्रममा उनले भने– मेरा लागि ‘हरिबहादुरको जुत्ता’ छोरो र ‘माइतीघर’ छोरी हो ।
एक त चार फिल्म जुधेकाले प्रचारमा उनमा स्वभाविक प्रेसर छ । दोस्रो– आफ्नै दुई फिल्म जुधेका छन् ।
उनी दुवै फिल्मले लागि प्रचार हिँडाउने प्रोफाइल भएका कलाकार हुन् ।
यस अवस्थामा उनीलाई आइलागेको नैतिक संकट हो, ‘एकै मितिमा आएका दुई फिल्म हेर्न दर्शकलाई आग्रह गर्नू ।’
जस्तो अभिव्यक्ति दिए पनि प्रकाश एक फिल्मबाट अलिक बढी आशावादी पक्कै होलान् !
‘हरिबहादुरको जुत्ता’को प्रचार सामाग्री हेर्दा उनी सहायक भूमिकामा रहेका जस्तो देखिन्छ ।
उनले चाहेर पनि दर्शकलाई, ‘यो फिल्मबाट बढी आशावादी छु, हेरिदिनू’ भनेर आग्रह गर्ने अवस्था बनेको छैन ।
खैर, एक कलाकारको दुई फिल्म एकसाथ प्रदर्शनमा आउनु दबाब मात्रै होइन, व्यस्तताको संकेत पनि हो ।
त्यहीमाथि प्रकाशले ‘करिअर ओरालो लाग्यो’ भनेर टिप्पणी खेपेको धेरै भएको छैन ।
बिथोलियो क्यारेन्डर
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका कारण फिल्म त्यसयता लगातार ६ दिन हल बन्द भए, जसले रिलिज क्यालेन्डर बिथोलिएको छ ।
हल बन्द भएकै कारण फिल्म ‘अभिमन्यु’ भदौ २७ मा प्रदर्शनमा आउन सकेन ।
त्यहीकारण यो फिल्म असोज १३ अर्थात् फूलपातीलाई सरेको छ । जसले फूलपातीमा चार फिल्म एकसाथ प्रदर्शनमा आउने अवस्था बनेको छ । त्यहीकारण दशैँको प्राइम डेटलाई चाप परेको छ ।
एकै पटक चार फिल्म प्रदर्शनमा आउनु नेपालको हकमा दुर्लभ घटना हो ।
‘असोज ३’ रिलिज डेट पनि जेन–जी आन्दोलको प्रभावबाट बच्न सकेन । यो डेटमा ‘जारी २’ प्रदर्शनमा आउने घोषणा भएको थियो ।

अहिले ‘जारी २’ कात्तिक २१ लाई तोकिएको छ । यो मितिमा फिल्म ‘मनबिना धन’ सोलो रिलिजमा आउने दाउमा थियो । अब ‘जारी २’सँग प्रतिस्पर्धा हुने भएको छ ।
जेन–जी आन्दोलनलगत्तै प्रभावित भएका यी केही रिलिज डेट हुन् । यसको असर फागुनमा पनि पर्ने देखिन्छ ।
जेन–जी आन्दोलनका कारण सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ । यो सरकारले फागुन २१ मा आमनिर्वाचन गराउने घोषणा गरेको छ ।
चुनावका कारण केही फिल्मको प्रदर्शन मिति हेरफेर हुने देखिन्छ ।
अहिलको अवस्थामा चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा’ले फागुन १५ लाई प्रदर्शन मिति तोकेको छ । यो चुनावभन्दा ६ दिनअघिको रिलिज डेट हो ।
चुनावी प्रचार र मौन अवधिलगायतको चेपुवामा यसको रिलिज डेट पर्ने भएको छ ।
यसका साथै, चुनावी परिणामको महोलले सिर्जना हुने हुँदा रिलिज डेट फागनु २२ पनि प्रभावित हुने देखिन्छ । सुखद कुरो– यो रिलिज डेटमा कसैले फिल्म हालेका थिएनन् ।
चुनावले प्रभावित हुन सक्ने अर्को रिलिज डेट फागुन १ हो । फागुन २ गते शनिबार, ३ गते महाशिवरात्रिको सार्वजनिक बिदा, ४ र ५ छोडेर ६ र ७ गते सार्वजनिक बिदा छ ।
लगातारको बिदाबीच फागुन १ लाई चार फिल्म ‘कल्ली’, ‘लालीबजार’, ‘जहाजैमा’ र ‘डबल ट्रिपल’ले प्रदर्शन मिति तोकिएका थिए ।
‘जहाजैमा’ र ‘डबल ट्रिपल’ यो मितिमा आन्तरिक कारणले नआउने चर्चा छ ।
त्यहीकारण उक्त मितिमा ‘कल्ली’ र ‘लालीबजार’ले मात्रै बक्स अफिस भिडन्त गर्ने देखिन्छ ।
फागुन १ मा चुनावी माहोल सुरु भइसक्ने हुनाले यो रिलिज डेट प्रभावित हुने सम्भावना उच्च छ । तर, निर्माण पक्षले अहिले नै केही बोलिसकेको छैन ।
प्रतिक्रिया