अस्पतालको बेडमा रोशनको रोष– ‘राष्ट्रिय सम्पत्ति सिध्याउनेलाई नछाडौँ’ | Khabarhub Khabarhub

अस्पतालको बेडमा रोशनको रोष– ‘राष्ट्रिय सम्पत्ति सिध्याउनेलाई नछाडौँ’




काठमाडौं– काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । २३ गते जेन–जी आन्दोलनमा सहभागी रोशनको दायाँ खुट्टाको घुँडाभन्दा माथि एक गोली लागेको छ । गोली अगाडिबाट पसेर पछाडिबाट निस्किएको छ । अगाडि एक टाँका लगाइएको छ भने गोली बाहिर निस्किएको ठाउँमा १० टाँका लगाइएको

अस्पतालमा उपचार गराइरहँदा पनि उनी समाचार हेर्न छोडिरहेका छैनन् । जेन–जीले गोली खाने तर अरुले जस लिइरहेको देख्दा उनलाई नरमाइलो लागिरहेको छ । खबरहबसँग उनी प्रश्न गर्छन्, ‘गोली खाने हामी जस लिने अरुले लिने चेष्टा गरिरहेका छन् । हामी जो वास्तविक जेन–जी थियौँ । कसैले ढुङ्गा पनि हानेको थिएन । कसरी हामीमाथि गोली बर्साइयो ?

‘दङगाफसादमा उक्साउने, प्रहरीलाई ढुङगा हान्न लगाउने अरु थिए । विद्यार्थीहरूलाई टाउको र छातीमा छानी–छानी गोली हान्ने ? त्यो मान्छेको यथाशीघ्र छानविन हुनुपर्छ । गोली चलाउन आदेश दिने मान्छे सबैभन्दा पहिले अनुसन्धानको दायरामा ल्याइनुपर्यो’

उनी थप भन्छन्, ‘अर्को भोलिपल्ट जो जनधनको क्षतिमा लागे । जसले सार्वजनिक सम्पत्तिको सर्वनाश गरे उनीहरूलाई कारवाही गर्नुपर्छ । लुटपाट मच्चाउनेहरु पनि कसैलाई बाँकी नराखेर कारवाही गरिनुपर्छ । जेन–जी चोरहरू भनेर गलत सन्देश गयो ।’

रोशन घरका एक्लो सन्तान हुन् । भर्खरै बीबीएस सकेका उनी सुनौलो भविष्य निर्माणमा लाग्ने समय भएको छ । जताततै भ्रष्टाचारले आकुलव्याकुल संरचना र नातावादले आक्रान्त उनी आन्दोलनमा सहभागी नभई मनले मानेन । 

उनी र साथीहरुसहितको टिम करिब १२ बजे नयाँ बानेश्वर युवापुस्तामाझ होस्टेमा हैंसे गर्न पुगेका थिए । जेन–जी जहाँबाट जसरी सकिन्छ सहभागी हुने भनेर आह्वान गरिएको थियो । त्यसैअनुरूप उनीहरु गएका थिए । 

साढे दुई बजेसम्म केही भएको थिएन । सरकार विरुद्ध नारा लगाए, चिच्यायौ । सार्वजनिक सम्पत्तिमाथि कुनै तोडफोड भएको थिएन । संसद् भवनको अगाडि साथीहरू थिए । उनीहरु दोस्रो घेरामा बसेर नारा लगाइरहेका थिए । 

साथी पसल खोल्नुपर्ने भएकाले उनी त्यहाँबाट ३ बजे निस्किए । साथीहरू नयाँ बानेश्वर चोकबाट बिजुली बजारतिर लागे । उनीहरूलाई असन पुग्नुपर्ने थियो । तर रोशन शंखमूलमा बस्ने भएकाले नयाँ बानेश्वर चोकबाट दक्षिणतिर लागे । 

त्यतिबेला चोकको माहोल असाध्यै अशान्त हुँदै गइरहेको थियो । फेरि चोकको फुटपाथमा उभिएर उनले प्रदर्शन हेर्न थाले । एक्कासि गोली कताबाट आयो ? पड्किएको आवाज पनि आएन । 

एम्बुलेन्समा चढ्ने बित्तिकै घरमा फोन गरेर गोली लागेको सुनाएका थिए । आमाबुवा आत्तिनुहोला भनेर दाइलाई फोन गरेँ । असन फर्किएको साथीलाई पनि फोन गरेँ । 

खुट्टामा प्याट्ट गरेको आवाजले उनले छिटो–छिटो हातले छामे । ह्वालह्वाल्ती रगत बग्न थालेपछि आफू आत्तिएको उनी सुनाउँछन् ।

भन्छन्, ‘रगत देखेपछि अत्तालिन थालेँ । फुटपाथबाट किनारा लागेर गोली लाग्यो भनेँ । यस्तो जटिल अवस्थामा अब भन्नै पर्यो । गोली अगाडिबाट छेडेर पछाडीबाट निस्किएको छ । पछाडीबाट निस्कँदा ठूलो प्वाल पर्ने रहेछ ।’

‘म भन्दा अगाडि दुई जना गोलीले ढलिसकेका थिए । म उनीहरु ढलेको हेरिरहेको थिएँ । अचानक म आफैँलाई लाग्यो’ उनी भन्छन्, ‘उनीहरूसँगै एम्बुलेन्समा हालेर प्रदर्शनकारी साथीहरूले ट्रमा सेन्टर ल्याइपुर्याँए । एम्बुलेन्समा आफैँ चढ्न सकेको थिएँ । तरपनि मनमा चिसो पस्यो, गोली पो लाग्यो भन्ने कुराले । अस्पताल पुगेपछि अलि मन शान्त भयो ।’

पहिलो दिनको आन्दोलन सफल भएको र दोस्रो दिनको आन्दोलनमा घुसपैठ भएको उनको बुझाइ छ । 

‘विभिन्न राजनीतिक दलका अराजक तत्त्वहरूको प्रवेश भयो । हाम्रो गुनासो सरकारसँग मात्रै हो । हाम्रो विरोध सरकार विरुद्ध र त्यसमाथि पनि भ्रष्टाचार विरुद्ध हो । भएजति सार्वजनिक सम्पत्तिमा आगो लगाउने हामी होइन । हाम्रो नाममा अन्य व्यक्तिहरूले विध्वंश मच्चाए’ उनले भने । 

अन्त्यमा रोशनले जेजस्तो भएपनि चुनावमा युवाहरूले आफ्नो मत सही व्यक्तिलाई हाल्न अनुरोध गरेका छन् । 

उनले भनेका छन्, ‘आन्दोलनको सार्थकता भनेको नयाँ नेतृत्व हो । यस आन्दोलनको नाममा नयाँ राजनीतिक दलहरूले फाइदा लिन खोजेका छन् । यी हाल भएका नयाँ दलहरुलाई बलियो बनाउन जेन–जीले आन्दोलन गरेको होइन । यदि हामीले भनेको जस्तो नभएमा फेरि आन्दोलन हुनेछ । एकपटक गोली खाइसकियो । अब हामी पछाडि फर्किदैनौँ ।’

डाक्टरले एघार टाँका लगाएको घाउ सन्चो हुन समय लाग्ने भएकाले शारीरिक र मानसिक रुपमा बलियो र शान्त बनेर बस्न भनेको उनले सुनाए ।

 ‘गोली वारपार भएको ठाउँमा रगत जम्ने रहेछ । छिरेको ठाउँमा एक टाँका लगाएको छ । निस्केको ठाउँमा १० टाँका लगाएको छ । त्यसकारण निको हुन अलिक समय लाग्ने डाक्टरले भन्नुभएको छ’ उनले भने । 

अस्पतालको खाना नमिठो भएर रोशनले खाना बाहिरबाट मगाएर खाएका छन् । सरकारले आन्दोलनमा घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ । 
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ३७ बजे

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो, भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै