फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट « Khabarhub

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको छ भनेर ०८१ तिहारमा प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले पुष्टि गरेको छ । फिल्ममा कन्टेन्ट भए स्टार कास्टमा ध्यान नदिँदा पनि हुन्छ भन्ने उदाहरण पनि ‘पूर्णबहादुरको सारङ्गी’ नै हो ।

यही फिल्मबाट विजय बरालले लिड नायकमा डेब्यू गरे । निर्माण कम्पनी सेभेन सिज इन्टरनेसनलको पनि यो डेब्यू फिल्म थियो । सरोज पौडेलले पनि यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका थिए । फिल्मको व्यापारको चर्चा गर्दा यो पक्षमा पनि प्रकाश पार्न जरुरी देखिन्छ ।

सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ र तेस्रो फिल्म ‘१२ गाउँ’को ग्रस कलेक्सन ‘पूर्ण बहादुरको सारङ्गी’को भन्दा ५ करोड ५५ लाखले कम छ ।

‘कबड्डी ४’ले २१ करोड ४० लाख र ‘१२ गाउँ’ले १९ करोड ९२ ग्रस कलेक्सन गरेको छ।

कस्ता फिल्ममा दर्शक छन् ?

चलचित्र विकास बोर्डका अनुसार पछिल्लो १० वर्षमा १० करोड ग्रस कलेक्सन गर्ने फिल्मको सङ्ख्या १६ छ ।

जसमा नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ पनि छ । यो १० करोड ग्रस कलेक्सन कटाउने पहिलो फिल्म पनि हो ।

यस फिल्मको व्यापारलाई अपवाद मानिन्छ । यो फिल्म २०७१ साउनमा प्रदर्शनमा आएको थियो । हलमा फिल्म लागिरहँदा फिल्मका नायक श्रीकृष्णको निधन भयो ।

‘उनलाई श्रद्धाञ्जलि दिन स्वरुप हलमा दर्शक पुगेका हुन्’ भन्ने विश्लेषणका आधारमा यसको व्यापारलाई अपवाद मानिन्छ ।

१६ मध्ये दुई फरक धारका फिल्मले १० करोड ग्रस कलेक्सन गरेका छन् । ती हुन्– ‘१२ गाउँ’ र ‘जेरी अन टप’ ।

एक्सन जनराको ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र ‘जेरी अन टप’ले १२ करोडमाथि व्यापार गरको छ ।

०८१ सालको दशैँमा ‘१२ गाउँ’ प्रदर्शनमा आउनुपूर्व ‘एक्सन जनरा’को फिल्म चल्दैन भन्ने विश्लेषण निकै चर्चामा थियो । तर, यो फिल्म अपवाद बन्यो ।

त्यस्तै, १० करोडमाथि व्यापार गर्ने एक मात्रै लभस्टोरी फ्लेबरको फिल्म ‘जेरी अन टप’ हो । ‘लभस्टोरी फिल्मले ७ करोडमाथि व्यापार गर्न मुस्किल छ’ भन्ने निर्माताहरुकै विश्लेषण सार्वजनिक मञ्चमा सुनिन्छ । तथापि, ‘जेरी अन टप’ सिक्वेल फिल्म हो ।

हिट लिस्टको सूची हेर्दा कमेडी जनरा र सामाजिक कथाकै फिल्महरुको वर्चस्व देखिन्छ । यिनै कथा दर्शकले रुचाएको पाइन्छ ।

सबैभन्दा बढी दर्शकले हरेका १३ फिल्महरु कमेडी र सामाजिक कथामै आधारित छन् ।

कमेडी फिल्ममा दीपकराज गिरी समूहले निर्माण गर्ने ‘छक्का पञ्जा’ सिरिजको वर्चस्व छ । ‘छक्का पञ्जा’का ४ सिक्वलेले १० करोडमाथि व्यापार गरेको छ । यसलाई हाँस्यरस मिसाएर सामाजिक कथाका फिल्म बनाउँदा दर्शकलाई आकर्षण गर्न सकिन्छ भन्ने कोणबाट पनि बुझ्न सकिन्छ ।

ब्याजले लम्बिएको हिट लिस्ट

१० करोडमाथि ग्रस कलेक्सन गर्ने १६ वटाको सूचीमा पाँच डेब्यू निर्देशकको फिल्म रहेको छ । ती हुन्, ‘पूर्णबहादुरको सारङ्गी’, ‘जारी’, ‘परान’, ‘ऊनको स्वीटर’ र ‘बोक्सीको घर’ ।

‘जारी’बाट उपेन्द्र सुब्बा, ‘परान’बाट दीपक आचार्य, ‘ऊनको स्वीटर’बाट नवीन चौहान र ‘बोक्सीको घर’बाट सुलक्षण भारतीले निर्देशनमा डेब्यू गरेका हुन् ।

तीन नियमित निर्देशक प्रदीप भट्टराई, विराज भट्ट र आकाश अधिकारीका तीन फिल्मले फिल्मले मात्रै १० करोड ग्रस कलेक्सन गरेका छन् ।

प्रदीपको ‘शत्रु गते’, विराजको ‘१२ गाउँ’ र आकाशको ‘कोहिनूर’ यो सूचीमा छ ।

हिटको सूचीमा सिक्वेल हाबी छन् । यो सूचीको आधा भाग सिक्वेलले ढोकेको छ, ८ वटा सिक्वेल छन् । छक्का पञ्जा सिरिजको १, २, ४ र ५ सिक्वेल यो सूचीमा समावेश छन् । कबड्डी २, ४ सहित जेरी अनटप र महाजात्रा यो सूचीमा छन् ।

माथिको तथ्याङ्कले कि डेब्यू निर्देशनको फिल्मले व्यापार गरेको छ, नभए सिक्वेलकै आडमा मेकरहरु फिल्ममा लगानी गरिरहेका छन् भन्ने देखिन्छ ।

१० करोडमाथि व्यापार गर्ने १६ फिल्मको सूचीमा ८ वटा सिक्वल पर्नुले ‘सिक्वेल ब्याज खाने भाँडो’ हो भन्ने भाष्यलाई थप बढवा दिन्छ ।

सिक्वेल बनाउने निर्देशकहरुले नै ‘ब्याज खान सिक्वेल बनाउनु भएको हो ?’ प्रश्न सामान गर्नु परिहेको अवस्था छ । पहिलोको तुलनामा सिक्वेलको कन्टेन्ट कमजोर हुने र व्यापार राम्रो हुने गरेकाले पनि मेकरहरु प्रति यो प्रश्न उठ्ने गरेको हो ।

टाढाको कुरा नगरौं, रिलिज डेट कात्तिक २१ फेरिफेरिकै कुरा गरौं । ‘जारी’को सिक्वेल ‘जारी २’ प्रचारका क्रममा निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले नै भन्नुपरेको थियो, ‘ब्याज खान सिक्वेल बनाएको होइन । जारीसँगै मिल्दो कथा फुरेकाले यो सिक्वेल बनाउनुपर्‍यो ।’

‘सिक्वेल ब्याज खान बनाइन्छ’ भन्ने लाइन भाष्य वा प्रश्नमा सीमित छैन । यो खरो आम विश्लेषणका रुपमा स्थापित हुँदै गएको छ । सोहीकारण हिट लिस्टमा सिक्वेल हाबी बन्दा यो भन्दा फरक पर्दैन कि, ‘ब्याजले हिट लिस्ट लामो भयो ।’

मेकरहरु सिक्वेल निर्माणमा केन्द्रित हुनुलाई ‘उनीहरुमा नयाँ कथाको अभाव छ’ भन्ने भाष्यलाई बल पुगेको छ । यो उनीहरुको सिर्जनामाथि अविश्वास पनि हो ।

१० करोडमाथि ग्रस कलेक्सन गर्ने फिल्मको सूचीबाट सिक्वेल हटाउने हो त्यसमा १० मात्रै फिल्म पर्छन् । यसका लागि पनि सिक्वेल बनेका फिल्मको पहिलो भाग समावेश गर्नुपर्छ ।

जो ब्याज खान माहिर छन्

यसरी ब्याज दीपकराज गिरी नै शीर्ष स्थानमा आउँछन् । उनी फिल्मको निर्देशक होइनन्, लेखक र निर्माता हुन् ।

‘छक्का पञ्जा’ समूहको नेतृत्व उनमै निहीत भएकाले यस टिमले बनाएको फिल्मलाई उनकै नामले प्रतिनिधित्व गर्छ ।

उनले ‘छक्का पञ्जा’को पाँच सिरिज प्रदर्शनमा ल्याएका छन् ।

‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ४’, ‘छक्का पञ्जा ५’ र ‘छक्का पञ्जा’ उनका १० करोड ग्रसमाथि कलेक्सन गर्ने फिल्म हुन् । सिक्वेलले नै यो समूहलाई हिट फिल्मको सूचीमा पारेको हो ।

दोस्रोमा रामबाबु गुरुङ पर्छन् । उनले ‘कबड्डी’को चौथो सिक्वेल प्रदर्शनमा ल्याइसके । यसको अर्को सिक्वेल ‘कबड्डी ५’ यही वर्ष प्रदर्शनमा ल्याउने तयारीमा उनी छन् ।

गुरुङले ‘कबड्डी’ सिरिज बाहेक ६ फिल्म निर्देशन गरेका छन् । ती सबै फिल्म फ्लप छन् । अर्थात्, उनलाई पनि हिट फिल्म दिने निर्देशकको सूचीमा सिक्वेल नै पारेको हो ।

निर्देशक पदीप भट्टराईको फिल्म ‘महाजात्रा’ले १० करोडमाथि ग्रस कलेक्स गरेको छ । यो सिक्वेल हो । तर, उनले निर्देशन गरेको ‘ननसिक्वेल’ फिल्म ‘शत्रु गते’ पनि सूचीमा छ ।

यसले हिट लिस्टमा दोहोरिने निर्देशकमा परेका अन्य भन्दा प्रदीप फरक देखिन्छन् ।

प्रदीप, रामबाबु र ‘छक्का पञ्जा’ टिममात्रै हिट लिस्टमा दोहोरिने नाम हो ।

फ्लप भएको एक हिट फिल्मको सिक्वेल

०८० को नयाँ वर्ष लक्षित गरी प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’ गत कात्तिक २१ मा हलमा लागेको थियो ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यस फिल्मको व्यापार निराशजनक नै रह्यो । ग्रस कलेक्सन मात्रै ७ करोड छुनै यो सिक्वेलले संघर्ष गरिरहेको छ ।

१० करोडमाथि ग्रस कलेक्सन गर्ने फिल्मको सिक्वेल फ्लप भएको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : ४८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको