धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर « Khabarhub

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ ।

वडाभित्र उल्लेख्य सङ्ख्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दिगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो ।

स्थानीय संस्कार, संस्कृति र पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम भइरहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार वडाभित्र रहेको भोजपुरकै प्रसिद्ध सिद्वकाली मन्दिर, बज्रयोगिनी मन्दिर, कैलाश डाँडा, पेमा छ्योलिङ बौद्ध गुम्बा तथा हिमालय महायानी विश्व शान्ति बौद्ध गुम्बालगायतका धार्मिक स्थलको संरक्षण तथा विकासका लागि वडाले आन्तरिक बजेट विनियोजन गरी आवश्यक सहयोग गर्दै आएको छ ।

सदरमुकामसँग प्रत्यक्ष जोडिएको वडा भएकाले यहाँका धार्मिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

‘हाम्रो वडामा धेरै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन्,’ वडाध्यक्ष तामाङले भने, ‘यी सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो । वडाको क्षमताअनुसार बजेट व्यवस्थापन गरेर क्रमशः आवश्यक पूर्वाधार निर्माण र संरक्षणको काम गरिरहेका छौँ ।’

त्यससँगै स्थानीय परम्परा र संस्कृति जगेर्नाका लागि बस्नेत समुदायको देवालीथान संरक्षण, भोजन कृतनस्थल निर्माण, शेर्पा तथा तामाङ समुदायका लागि समाधिस्थल संरक्षणलगायतका कार्यसमेत सम्पन्न गरिएको छ । सबै जातजाति र समुदायको अपनत्व हुने गरी वडास्तरबाट सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन भइरहेको वडाध्यक्ष तामाङले बताए ।

वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणसँगै प्रचारप्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ । यी सम्पदाको व्यवस्थित संरक्षण र प्रवर्द्धनसँगै धार्मिक पर्यटनको विकास हुने र त्यसले स्थानीय रोजगारी तथा आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा वडाले लिएको छ ।

स्थानीय मेला, पर्व, धार्मिक कार्यक्रम तथा सञ्चारमाध्यममार्फत ती क्षेत्रको पहिचान बढाउने प्रयास भइरहेको छ । यसले आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन भई स्थानीय व्यापार, होटल व्यवसाय तथा साना उद्यममा सकारात्मक प्रभाव पर्ने वडाको भनाइ छ ।

स्थानीयवासीले पनि धार्मिक सम्पदाको संरक्षणमा सक्रिय सहभागिता जनाइरहेका छन् । संरक्षणका कार्यमा श्रमदान, आर्थिक सहयोग तथा सामुदायिक निगरानी बढ्दै गएको स्थानीयको भनाइ छ । यसरी समुदाय र स्थानीय सरकारको सहकार्यमा अघि बढाइएका संरक्षणका प्रयासले काफ्लेलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने विश्वास लिइएको छ । (रासस)

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ३७ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश