काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए। उनी माघ २ गते ६० लाख धरौटीमा काठमाडौं जिल्ला अदालतबाट छुटेका हुन् । गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । अब उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुगेको छ ।
आइतबार बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पूरक मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेटवर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो ।
रवि र छविका साझेदार एवम् सुप्रिमका सञ्चालक गितेन्द्रबाबुर राई (जीबी), सप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा ०८१ वैशाख ३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो ।
कात्तिक ३ गते पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचल गरेको आरोपमा प्रहरीले पार्टी कार्यालय चःमतीबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेलाई संगठनिक अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको थियो । जिल्ला अदालत रुपन्देहीबाट रवि पोखरामै हुँदा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि बयानका लागि रुपन्देही लगिएको थियो ।
सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सुप्रिम सहकारीको पनि रकम अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा लगेको निष्कर्ष निकालेको थियो ।
जसका लागि एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
२ करोड रविको नाममा, १४ करोड गोर्खा मिडियामा
संसदीय समितिको प्रतिवेदन र विभिन्न तथ्यलाई आधार मान्दा सुप्रिम बुटवलबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको छ। उक्त रकममध्ये २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत गरेर चलानी भएको छ ।
तर, यसका व्याजको हिसाब गर्न र अन्य कुरा मिलाउन बाँकी रहेकाले तलमाथि हुन सक्ने देखिन्छ । सुप्रिम सहकारीको प्रतिवेदन हेर्दा २०७७ चैतमा गोर्खा मिडिया नेटवर्कको खातामा रविकै नाममा जम्मा भएको छ । उक्त खाता गोबल आईएमई बैंकको हो । रविको नाममा गएको दुई करोडमध्ये ४ लाख रुपैयाँ बैंकले सेवा शुल्कका रुपमा कटाएको छ ।
यो रकम जम्मा गर्ने सागर केसी र रोशनी गुरुङ हुन् । रोशनी सुप्रिमको लेखा शाखामा काम गर्थिन् भने सागर व्यवस्थापक थिए । उनीहरूले संसदीय समितिको बयानमा रविकै नाममा रकम जम्मा गरेको बताएका थिए ।
यति मात्रै होइन, रास्वपा कोषाध्यक्ष विपिनकुमार आचार्यको नाममा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको देखिन्छ । अभियोगपत्रमा विपिनको नामबाट ०७८ पुसमा १ करोड ५६ लाख १५ हजार गोर्खा मिडिया नेटवर्कको खातामा पुगेको छ । आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सन कम्पनीमा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको छ ।
सहकारीको प्रतिवेदनअनुसार २०७७ कात्तिकमा सुप्रिम सहकारीबाट प्रोडक्सनको नाममा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । विपिनको नाममा जम्मा भएको रकमबारे अदालतमा लगिएको अभियोग पत्रमा पनि स्पष्ट लेखिएको छ ।
गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिका नामबाट सुप्रिमको रकम अवैध रुपमा गएको देखिएको छ । छविलाल जोशी, कुमार रम्तेल भूपेन्द्रबहादुर राई, विपिनकुमार आचार्य, रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका नाममा सहकारीबाट रकम गएको समितिको प्रतिवेदनमा छ । उक्त सहकारीबाट करिब २ हजार बचतकर्ताको ८६ करोड १८ लाख २३ हजारभन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।
सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दाबढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको छ । यसमा २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा चेक काटेर ऋण लगिएको थियो। यो कुरा सुप्रिमकी तत्कालीन लेखापाल रोशनीले संसदीय समितिको बयानमा भनिसकेकी छन् । संसदीय समितिले लिएको बयानमा गुरुङले रवि र जीबीका मान्छेले चेक काट्न लगाएको बताएकी थिइन् ।
गुरुङले लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिँदै सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले त्यसो गरेको बताएकी थिइन् ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा यो बयान समेटिएको छ ।
समितिको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनीले आफूले नै रविका नाममा सहकारीमा खाता खोलिदिएको बयान पनि दिएकी थिइन् ।
‘मलाई व्यवस्थापकले रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, निर्देशनअनुसार खाता खोलेको थिएँ । उक्त खतावाला को थिए मलाई थाहा भएन’, उनले भनेकी छन्, ‘यस विषयमा समाचारमा रोशनी गुरुङले पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरूले लिङ्क पठाउन थालेपछि के भएको भन्ने मलाई लाग्यो । संस्थामा व्यवस्थापक सागर केसीले भनेअनुसार सबै काम गर्थ्यौँ ।’
कस्तो सहकारी हो सुप्रिम ?
सुप्रिम सहकारी बचत तथा ऋणसँग सम्बन्धित सहकारी हो । रुपन्देहीको बुटवलमा आर्थिक वर्ष २०५७/०५८ मा दर्ता भएको यो सहकारी मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन भएर सुप्रिय बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
वि.सं. २०५७ मा सहकारी स्थापना हुँदा अध्यक्ष स्वर्गीय राजु गुरुङ, उपाध्यक्ष माया गुरुङ, सचिव ओमप्रकाश गुरुङ तथा सदस्यहरू धनबहादुर गुरुङ, अकबहादुर गुरुङ, पौबहादुर गुरुङ, फत्तबहादुर गुरुङ थिए। तर, अध्यक्ष राजु गुरुङको दुर्घटनामा मृत्यु भएपछि संस्थाका उपाध्यक्ष माया गुरुङ अध्यक्ष बनिन् । सहकारी अद्यावधिक भए पनि कारोबार खासै थिएन । कारण पारिवारिक नाताका मान्छे समितिमा आएपछि आफूखुसी चलेको थियो ।
त्यसपछि देशभर सहकारी संस्थाको नेटवर्क बनाएर बचतकर्ताको रकम हिनामिना गरिरहेका जीबीको प्रवेश भएको थियो । २०७२ मा राई समूह प्रवेश गरेसँगै सहकारीको नाम पनि फेरेर सुप्रिम राखिएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका पूर्वपदाधिकारी तथा संरक्षक जीबी राई र दीपेशकुमार पुनले उक्त सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका हुन् । त्यहीअनुसार २०७२ मा साधारण सभा गरी सहकारीको अध्यक्षमा जीबी चयन भए ।
ओमप्रकाश गुरुङ उपाध्यक्ष हुँदा जीबी समूहका राजु बराल सचिव र दीपेशकुमार कोषाध्यक्ष बने । पुन माओवादीका युवा नेता तथा पूर्वउपराष्ट्रपति नन्द्रबहादुर पुन पुत्र हुन् । यस्तै जीबीका दाजु देवेन्द्रबाबु राई र भूपेन्द्र राई सदस्य बने । नयाँ सञ्चालक समितिसँगै सहकारीको नाम पनि फेरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था भएको थियो ।
यता सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने भन्दै २०७६ मा रुपन्देहीकै जय अम्बे बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण भयो ।
२०७६ मा एकीकरणपछि सहकारीको अध्यक्ष छाडेर जीबी सल्लाहकार बने भने ओमप्रकाश गुरुङ अध्यक्ष भए।
उपाध्यक्ष सचिव दीपेशकुमार पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ, सदस्यहरूमा देवेन्द्रबाबु राई, भूपेन्द्रबाबु राई दिनेश रोका, बुद्धि गुरुङ र मझर मोहम्मद र लेखा समितिमा संयोजक भवार सदस्य पौबहादुर गुरुङ र इन्दिरा बस्याल चयन भए कार्यक्षेत्र विस्तारसहित एकीकरणसँगै सहकारीले २०७८ मा भैरहवा र कपिलवस्तुको जितपुरमा सेवा केन्द्र विस्तार गर्यो ।
त्यसबेला डीबी राई कार्यकारी अध्यक्ष र सहकारीको व्यवस्थापक सागर केसी थिए। सहकारीमा पसेर विभिन्न प्रलोभनमा सर्वसाधारणबाट बचत संकलन गरी ठगी गर्ने उक्त समूह योजनाबद्ध रूपमा लागेको देखिएको प्रतिवेदनमा उल्लेख छ । हुन पनि राई र गुरुङको टोलीले अन्य दर्जनभन्दा बढी सहकारीका हात हालेका थिए ।
यस्तो छ कारोबार
सुप्रिम तथा ऋण सहकारी संस्थाको वासलातको विवरण अनुसार ऋण रकम ६९९,४४,८४,१३१, ६९ मध्ये मुद्दती निक्षेप बापत ऋण १।२४ प्रतिशत, हायर पर्चेज कर्जा ३.०३ प्रतिशत हानि बापत ८१.२४ प्रतिशत, सुप्रिम व्यापार ऋणतर्फ ०.२० प्रतिशत, ट्रेडिङ १२.९० प्रतिशत र अन्य ऋण १.२० प्रतिशत छ ।
सम्पत्ति र दायित्व व्यवस्थापनका मूलभूत पक्षहरूलाई ध्यान नदिई बचत रकम परिचालन गर्दा सम्पत्ति र दाबीबीचमा असन्तुलन रहेको समितिको ठहर छ ।
सुप्रिम सहकारीमा जम्मा कर्जा १ अर्ब ९४ करोड ४२ लाख ८४ हजार १३१। ६१ छ । जसमा ऋण नोक्सानी व्यवस्था जम्मा १ अर्ब ३४ करोड ८९ लाख १६ हजार १०६ छ । जुन कर्जा र जोखिमको अनुपात विशेषण गर्दा १.२५ प्रतिशत मात्र रहेको छ ।
संस्थाले कूल निक्षेप रकमको कम्तीमा १० प्रतिशत तरलता राख्नु पर्नेमा त्यसको उल्लंघन गरी ०.१६७ प्रतिशत मात्रै राखेको देखिन्छ ।
प्रतिक्रिया