पूर्वराजाबारेको टिप्पणीले बाबुराममाथि खनिए राजावादी | Khabarhub Khabarhub

पूर्वराजाबारेको टिप्पणीले बाबुराममाथि खनिए राजावादी

सम्झाए–द्वन्द्वकालमै राजासँग मिल्न गरेको प्रस्ताव


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएको एक दशक पुग्नैलाग्दा नेपालमा राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।

७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई लक्षित गरेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक टेलिभिजनलाई प्रतिक्रिया दिएपछि राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू आक्रोशित बनेका हुन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका भट्टराईले आगामी निर्वाचनसम्म राजनीतिक दलहरूले जनतासामु विकल्प दिन नसके पूर्वराजा ज्ञानेन्द्रजस्ता प्रतिगामी शक्ति सल्बलाउने बताए । उनले त्यसो भएमा जनताको धार्मिक आस्थामाथि दोहन गर्दै बाह्य शक्तिले चलखेल गरेर व्यवस्था उल्टिन सक्ने खतरा औँल्याएका थिए ।

‘०८४ सम्म हामीले विकल्प दिन सकेनौँ भने ज्ञानेन्द्रजस्ता प्रतिगामी शक्तिहरू सल्बलाउने, त्यस्तालाई अगाडि सारेर जनताको धार्मिक आस्थाको दोहन गरेर बाह्य शक्तिले चलखेल गर्ने र यो व्यवस्था फेरि उल्टिने खतरा पनि हुन सक्छ,’ उनले भनेका थिए, ‘त्यसैले अबको दुईतीन वर्षमा हामीले मिहिनेत गरेरै विकल्प दिनुपर्छ । भित्री र बाहिरी प्रतिगामी शक्ति आउन नसकुन् भन्नेमा हामी सचेत छौँ ।’

राजतन्त्र अन्त्यका लागि मुख्य मानिनेमध्येको एक तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध गरेको सशस्त्र द्वन्द्वमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका भट्टराईको पछिल्लो अभिव्यक्तिप्रति राजतन्त्रको वकालत गरिरहेका दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालका नेताहरू क्रुद्ध देखिन्छन् ।

भट्टराईप्रति ती दुवै दलका शीर्ष नेताहरू सामाजिक सञ्जालमार्फत् आक्रोश पोखिरहेका छन् । यसरी आक्रोश पोख्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रदेखि पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्तिलाई ‘तुच्छ टिप्पणी’को संज्ञा दिएका छन् । नेता डा. लोहनीले देश भट्टराईको बिर्ता नभएको टिप्पणी गरेका छन् । यस्तै राप्रपा नेपालका अध्यक्ष थापाले संविधानले दिएको अधिकार कुण्ठित गर्ने अधिकार भट्टराईलाई नभएको प्रतिक्रिया दिएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले फेसबुकमा दुई मिनेटको भिडियो सन्देश जारी गर्दै ‘वाहियात’ शीर्षक राखेर प्रश्न गरेका छन्, ‘बाबुराम भट्टराईजी, ०६४ सालमा संविधान सभाको पहिलो चुनावअगाडि राजालाई के प्रस्ताव पठाउनुभएको थियो, सम्झिनोस् त ! तपाईंले प्रस्ताव गरेअनुसार कांग्रेस-एमालेलाई पाखा लगाउँदै माओवादीसँग मिलेर सत्ता कब्जा गर्न राजा तयार भएको भए, राजसंस्था स्वीकार्य ? अन्यथा तपाईं घनघोर गणतन्त्रवादी ?’

भट्टराईले पूर्वराजा ज्ञानेन्द्रको फागुन ७ को विज्ञप्तिपछि दिएको अभिव्यक्तिलाई ‘तुच्छ’ टिप्पणीमाथि आफ्नो संक्षिप्त टिप्पणी लेख्दै भिडियोमा भनेका छन्– बाबुरामजी तपाईं र मेरो दोहोरी बेलाबेलामा चलिरहन्छ । भर्खरै मैले तपाईंले राजाले फागुन ७ गते दिएको वक्तव्यबारे गरेको टिप्पणी, जसलाई म तुच्छ टिप्पणी भन्न चाहन्छु । त्यस्तो तुच्छ टिप्पणीहरू बेलाबेला तपाईंले गरिराख्नुहुन्छ ।

मिश्रले ०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको ठीक अगाडि सुत्र प्रयोग गरेर माओवादी र राजा मिलेर सत्ता लिने र माओवादीले कुनै न कुनै किसिमको राजसंस्था स्वीकार्न तयार रहेको प्रस्ताव पठाएको भट्टराईमाथि गम्भीर आरोपसमेत लगाएका छन् । उनले तत्कालीन समयमा नेपाली कांग्रेस र नेकपा एमालेलाई पाखा लगाउनेबारे ज्ञानेन्द्रसँग संवाद गरेको हो कि होइन भनेर प्रश्नसमेत गरेका छन् ।

मिश्रले दोस्रो चरणको संवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत राखेर पुरानै सुत्रमार्फत् भट्टराईले ज्ञानेन्द्र शाहसमक्ष सत्ता कब्जाका लागि प्रस्ताव गरेकोसमेत दाबी गरेका छन् । उनले त्यही समय आसपास भट्टराईले टेलिभिजन अन्तर्वार्तामा ‘सांस्कृतिक राजा’का बारेमा बोलेको समेत स्मरण गराउन खोजेका छन् ।

नेता मिश्रले पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रसँगको संवादका लागि प्रयोग गरेका सुत्र अहिले पनि जिवितै रहेका भन्दै भिडियोमा बोलेका छन्, ‘यस्ता किसिमको काम तपाईं प्रधानमन्त्री भइसकेको मान्छेले नगर्दा राम्रो । अहिले राजाबाट
जुन किसिमले कसैलाई पनि निषेध नगरी सबै मिलेर देश बनाऔँ भन्ने भाव व्यक्त भएको छ । त्यो भावमा तपाईंजस्तो मान्छेले समर्थन जनाउनुपर्ने हो । किन भने तपाईंहरूले चाहेको दिशामा यो देश गएको छैन नि ।’

राप्रपा नेपालका अध्यक्ष थापाले फेसबुकमार्फत् वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गर्दा पूर्वराजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने भट्टराईको विचार निरंकुश र फासिष्ट भएको टिप्पणी गरेका छन् ।

‘जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुरामजीलाई कसले दियो ?,’ थापाले प्रश्न गरेका छन्, ‘वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेका कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ ।’

पूर्वउपप्रधानमन्त्री थापाले पूर्वप्रधानमन्त्री भट्टराईलाई आफ्नो सहपाठी भन्दै नागरिकका रूपमा रहेका ज्ञानेन्द्रलाई देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार संविधानले दिएको स्मरण गराएका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले पनि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले जस्तै भट्टराईले २०६० को हापुरे (दाङ) वार्ताका क्रम र पहिलो संविधान सभा निर्वाचनअघि तत्कालीन राजसंस्थासँग सहकार्य गर्न आफूमार्फत् प्रस्ताव गरेको स्मरण गरेका छन् ।

‘स्वयम् बाबुरामजीले २०६० सालमा हापुरे वार्ताका क्रममा मात्र होइन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत् प्रस्ताव गर्नुभएको अहिले सम्झना आइरहेको छ,’ उनले भनेका छन् ।

राप्रपाका नेता डा. लोहनीले पनि पूर्वराजाको अभिव्यक्तिलाई लिएर धेरै नरिसाउन सुझाव दिएका छन् । ‘मित्र बाबुराम भटराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईंलाई धेरै रिस उठेछ । तपाईं धेरै नरिसाउनुस्,’ उनले फेसबुकमार्फत् भनेका छन्, ‘मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ ।’

पूर्वअर्थमन्त्री लोहनीले पूर्वप्रधानमन्त्री भट्टराईलाई नेपाल कसैको बिर्ता नभएको पनि स्मरण गराएका छन् । ‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु, सहयोग गर्नुस् भन्न नपाइने ?,’ लोहनीको प्रश्न छ, ‘के यो देश तपाईंको बिर्ता हो ? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ ?’

अरू सबै बेठीक, आफू मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फाँसिस्ट कित्तामा पुग्ने भन्दै लोहनीलाई भट्टराईलाई त्यस्तो यात्रामा नलाग्न पनि सुझाएएका छन् । ‘तपाईंको नयाँ पार्टीलाई शुभकामना,’ नेसपाका नवनिर्वाचित अध्यक्ष भट्टराईलाई लोहनीले भनेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ३ : ५२ बजे

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण

यसरी बन्दैछ ४०० केभी लप्सीफेदी सबस्टेसन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका– ३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक