आशाको एकलव्य निष्ठा : घरदेशदेखि परदेशसम्म अभिनयको अम्मल | Khabarhub Khabarhub

आशाको एकलव्य निष्ठा : घरदेशदेखि परदेशसम्म अभिनयको अम्मल


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कुल पढ्दै गरेकी एक किशोरीलाई नाटकमा अभिनय गर्न मन थियो । ती किशोरीको स्कुल र छरछिमेका सांस्कृतिक कार्यक्रमका क्रममा नाटक प्रशस्तै देखाइन्थ्यो ।

उनी लजालु स्वाभावकी थिइन् । घरदेखि स्कुल ओहोरदोहोर गर्दा बाटोमा भेटिएका मान्छेको अनुहार हेर्न पनि उनलाई धक लाग्थ्यो ।

स्कुलमा शिक्षकले प्रश्न सोधिहालेको अवस्थामा उठेर जवाफ दिनका लाजले अन्तिम बेन्चमा बस्थिन् । एक दिन साथीलाई मनको कुरा सुनाइन्– मलाई नाटकमा अभिनय गर्न मन छ ।

उनको कुरा सुनेर साथी मुर्छा पर्ने गरी हाँसिन् । साथीको हाँसोमा लजाउने केटीले मञ्चमा चढेर अभिनय गर्न सक्दैन भन्ने आशंका थियो ।

पहिलाकी ती लजालु केटी अहिलेकी नायिका आशा मग्राती हुन् । माथिको किस्सा उनी स्कुल पढ्दाताकाको हो ।

०००

मोरङकी एक युवती जसलाई काठमाडौं आएर राष्ट्रिय नाचघरमा अभिनय सिक्ने अवसर जुर्‍यो ।

काठमाडौंमा न उनको परिवार थियो न नजिकका आफन्त नै थिए । उनी स्वयम् काठमाडौं यसअघि आएकी थिइनन् ।

उनले परिवारसँग काठमाडौं गएर अभिनय सिक्न अनुमति मागिन् । सिधै अस्वीकार गर्‍यो ।

परिवारले अस्वीकार गर्नुको पहिलो कारण थियो– घरदेखिको टाढा सहरमा छोरी एक्लै कसरी बस्छे भन्ने चिन्ता !

दोस्रो कारण – पुरुषवादी पुरातन समाज । वि.सं २०५४ साल अर्थात् आजभन्दा साढे दुई दशकअघिको समाजले छोरीलाई एक्लै सहर पठाउनु सामान्य विषय थिएन ।

तेस्रो- उनको उद्देश्य पुरातनवादी समाजले बुझ्ने विषय थिएन । उनी अभिनय सिक्न काठमाडौं आउने निर्णयमा अडिग थिइन् ।

अझै पनि परिवारले सन्तानलाई अभिनय क्षेत्रमा लाग्न उत्प्रेरित गरेको पाइँदैन । त्यो समयमा आशाको परिवार कसरी छोरीलाई अभिनयका लागि काठमाडौं पठाउन राजी हुन्थ्यो ?

तर, आशाले काठमाडौं गएर अभिनय सिक्ने इच्छा सहजै मार्न पनि सकिनन् । आफ्नो चेतना र ज्ञानले भ्याएसम्म परिवारलाई मनाउन हरकोशिस गरिन् ।

अन्त्यमा, आशाले आमालाई भनिन्, ‘तपाईंहरू हुँदा नै बाहिर निस्किन मलाई सहज हुन्छ । बाहिर गएर मान्छे चिनेँ भने मेरो भविष्य सहज हुन्छ । तपाईंहरू हुँदा नगरे मैले कहिले गर्ने ?’

यही भविष्यबारेको भावनात्मक कुराले आशा आमाको मन पगाल्न सफल भइन् । त्यसपछि छोरीलाई काठमाडौं पठाउन आमा नै बुवाबाट अनुमति दिलाउन लागि परिन् ।

आशा भन्छिन्– ‘आमालाई कन्भिन्स गराएपछि बुवालाई पनि उहाँले नै मनाउनुभयो । त्यसपछि अभिनय सिक्न म काठमाडाैं आएको हो ।’

आशा राष्ट्रिय नाचघरमा एक वर्षको अभिनय कक्षा लिन आएकी थिइन् । उनी नाचघरको दोस्रो ब्याचको विद्यार्थी हुन् ।

तर, काठमाडौं आउँदा पहिला ब्याचको विद्यार्थी प्रोडक्सनको नाटकको स्क्रिप्ट पनि ल्याएकी थिइन् ।

आशाले पहिलो ब्याचको नाटकमा अवसर पाउनु कारण दुईवटा थियो । पहिलो– उनी मोफसलमा नाटकमा चर्चित भइसकेकी थिइन् ।

दोस्रो– पहिला ब्याचमा महिला कलाकार नहुनु । उनी भन्छिन्– नाटक ‘श्रद्धालु वेश्या’ थियो । वेश्याको भूमिका गर्न महिला कलाकार चाहिन्थ्यो । पहिलो ब्याचमा महिला कलाकार नभएकाले मैले त्यो अवसर पाएँ ।’

यहाँबाट बुझ्न सकिन्छ– त्यो समयमा रङ्गमञ्चमा महिलाको उपस्थिति कति न्यून थियो !

तस्बिरको दाहिनेतर्फ बालकालकी आशा ।

अभिनयको रुचि

आशाको जन्म ०३३ सालमा खोटाङमा भएको हो । उनी एक वर्षकी हुँदा परिवार धरानतिर बसाइँ सर्‍यो ।

आशाले थाहा पाउँदा बुवाले ब्रिटिस आर्मीबाट अवकास लिइसकेका थिए । धरानको ब्रिटिस क्याम्पमा जागिरे थिए ।

त्यहीकारण उनी ब्रिटिस क्याम्पमै हुर्किइन् । तर पढाइ भने नेपाली स्कुलमै भएको आशा बताउँछिन् ।

क्याम्पभित्र बसेर उनले सात कक्षासम्म पढिन् । त्यसपछि उनको परिवार धरान छोडेर मोरङतिर सर्‍यो ।

ब्रिटिस क्याम्पको बसाइले नै उनलाई अभिनयमा रुचि जगाएको हो । त्यहाँको माहोल पनि त्यस्तै थियो । सांस्कृतिक कार्यक्रम भइरहने । आशाले चिनेकाहरूले नै त्यहाँ नाटक र नृत्य देखाइरहन्थे ।

अर्कोतर्फ क्याम्पमा साताको दुई दिन फिल्म हेर्न पाइने । भन्छिन्, ‘शनिबार ३–४ वटा नेपाली फिल्म र मंगलबार एक अंग्रेजी फिल्म देखाइन्थ्यो । मलाई त्यही फिल्म हेर्दा हेर्दा नाच्न र अभिनय गर्न मन लागेको हो ।’

आशालाई नाच्ने र अभिनय गर्ने खुबै रुचि थियो तर लाज बाधक थियो ।

भन्छिन्, ‘मलाई अस्वाभाविक लाज लाग्थ्यो । नाच्न र अभिनय गर्न मन छ भन्नै नसक्ने । त्यही कारण म तीव्र इच्छा भएर पनि स्टेजमा उक्लन सकिरहेको थिइनँ ।’

पहिलो नाटकमा अभिनय

०४६ सालमा पञ्चायतविरोधी जनआन्दोलन भयो । आन्दोलनपछि राजनीतिक दलका भातृसङ्गठन सांस्कृतिक कार्यक्रमबाट राजनीतिक माहोल बनाउन केन्द्रित थिए ।

आशा भन्छिन्, ‘हाम्रोतिर नेविसंघ र अनेरास्ववियू सांस्कृतिक कार्यक्रमका आयोजना गर्न प्रतिस्पर्धा नै गर्थे ।’

ती कार्यक्रम स्कुलका विद्यार्थीले नाटक र नृत्य प्रस्तुति दिन अवसर पाउँथे । आशालाई पनि अभिनय गर्न ठूलो इच्छा थियो । लाजकै कारण उनले ती कार्यक्रम सहभागी हुन सकेकी थिइनन् ।

भन्छिन्, ‘म अभिनय गर्छु भन्न सक्दिनँ थिएँ । अनि कसले मलाई मञ्चमा उकाल्ने ?’

आशा ९ मा पढ्थिन् । उनलाई नेबीसंघले आयोजना गरेको कार्यक्रमका लागि नाटकको प्रस्ताव आयो । आशाले खोजेको पनि यही थियो । भन्छिन्, ‘मलाई अभिनय गर्छु भनेर पो भन्न आँट थिएन । कसैले आएर प्रस्ताव गर्दा कि नाइँ भन्थेँ ।’

यही प्रस्तावले आशालाई पहिलो पटक मञ्चमा पुर्‍यायो । आशाको पहिलो नाटक ०४८ सालमा बेलबारीकै एक सिनेमा हलमा मञ्चन भएको थियो ।

भन्छिन्, ‘त्यो हल अहिले छैन । त्यसबेला बन्ने क्रममा थियो । त्यही म पहिलो पटक मञ्चमा उक्लिएको हो ।’

पहिलो नाटकले आशाको लाज र धकलाई केही हदसम्म न्यून गर्‍यो । अर्कोतर्फ उनको अभिनय मन पराइयो । त्यहीकारण यस्ता कार्यक्रमको नाटकमा उनी नियमित कलाकार बन्न थालिन् ।

मोफसलको व्यस्तता

पहिलो नाटक आशाका लागि अभिनयको प्रथम पाइला मात्रै बनेन, अरु नाटकका जोडिने पुलसमेत बन्यो । अन्य नाटकमा प्रस्ताव आउन थाल्यो । विस्तारै उनको ठूलो समस्या लाज पनि हराउँदै गयो ।

त्यसपछि उनी मोफसलका नाटकमा व्यस्त हुँदै गइन् ।

भन्छिन्, ‘म कार्यक्रममा हिँडेको देखेर अरु–अरुले पनि नाटकका लागि बोलाउन थाल्नुभयो । त्यसबेला इटहरीदेखि दमकसम्म पुगेर मैले नाटक गरेँ । मैले पूर्वमा नाटकमा प्रसिद्धि कमाएँ ।’

नाटकमा चर्चित भएका कारण १० मा पढ्दा नै उनले दुई भिडियो फिल्ममा केन्द्रीय कलाकार बनेर अभिनय गर्ने अवसर पाइन् ।

उनको पहिलो फिल्म हो– ‘ज्वालीमुखी’ । जसको निर्देशक किशोर सुब्बा हुन् । सुब्बा पनि पूर्वमा रङ्ग गतिविधिमा संलग्न थिए । उनको परखकै कारण आशा फिल्ममा आउन सफल भइन् ।

उक्त समयमा धरानमा ‘अनाम नाट्य जमात’ नाटकका लागि प्रख्यात थियो । अहिलेका निर्देशक नवीन सुब्बाहरूले यही संस्थामा आवद्ध भएर नाटक गर्थे ।

आशालाई पनि ‘अनाम नाट्य जमात’मा जोडिन प्रस्ताव आयो । अभिनय क्षमताकै कारण उनलाई प्रस्ताव आएको थियो ।

भन्छिन्, ‘म बेलबारीमा एउटा नाटक गर्दै थिए । अनामबाट साउन्ड सिस्टम मगाइएको रहेछ । त्यो लिएर अनामको एक सदस्य आउनुभएको थियो । उहाँले मेरो अभिनय हेरेपछि अनाममा आउन सुझाव दिनुभयो । अनि म अनाम पुगेँ।’

आशाले अहिलेका वरिष्ठ रङ्गकर्मी सुनील पोखरेल, अनुप बराल, निर्देशक नवीन सुब्बालगायतलाई त्यहीँ चिनेकी हुन् ।

भन्छिन्, ‘सुनील सर र अनुप सर अभिनय प्रशिक्षण दिन अनाम आउनुभएको थियो । त्यहीँ उहाँहरूसँग चिनजान भएको हो ।’

अनाममा तीन वर्ष आवद्ध भएर आशाले थुप्रै नाटकमा अभिनयसमेत गरेकी छन् । भन्छिन्, ‘अनामबाट मैले सडक नाटक, नाटक र वर्कसपबाट अभिनयमा केही निखारता ल्याउने अवसर पाएँ ।’

अनाममा जोडिएपछि भने उनलाई फिल्ममा अभिनय गर्ने इच्छा मर्दै गयो ।

अनाममा रङ्गकर्मीको जमघट थियो । रङ्गकर्मीहरुले फिल्मलाई ग्ल्यामर क्षेत्र भनेर हलुका रुपमा लिन्थे । यही कारण अझै पनि केही रङगकर्मी फिल्ममा अभिनय नगर्ने भेटिन्छन् ।

रङ्गकर्मीसँगको उठबसले आशालाई पनि फिल्म क्षेत्र ‘हलुका’ लाग्न थाल्यो । त्यसपछि फिल्मलाई विश्राम दिइन् ।

आशा थप्छिन्, ‘त्यो समय पनि त्यस्तै थियो । फिल्ममा अभिनय गर्न निर्देशक, निर्माता र क्यामेरा मेनलाई रिझाउनुपर्छ भन्ने हल्ला थियो । अनि फिल्ममा काम गर्न मन भएन ।’

अभिनय सिक्न काठमाडौं

आशा अनाममा ०५१ सालमा पुगेकी हुन् । अनामबाटै चयन भएर उनी ०५४ सालमा राष्ट्रिय नाचघरमा अभिनय सिक्न काठमाडौं आएकी हुन् ।

उनले काठमाडौंमा चिनेका एक व्यक्ति मात्रै थिए– रङ्गमकर्मी सुनील पोखरेल । सुरुमा आएर उनैलाई भेटिन् ।

सुनीलले काठमाडौंमा बस्न सहजीकरण गरिदिए । त्यसपछि सुरु भयो, आशाको काठमाडौं संघर्ष ।

काठमाडौंमा उनी एक्लो थिइन् । यहाँको आर्थिक पाटो आफैँले जुटाउनुपर्ने थियो । आम्दानीको स्रोत एक मात्रै थियो– नाचघरको मासिक भत्ता ४ सय ।

आशा स्मरण गछिन्, ‘यहाँ आएर जागिर गर्दै अभिनय सिक्ने भएर आएको । नाचघरमा अभिनय सिक्दा काम गर्न समय नै भएन ।’

यही कारण आशाले काठमाडौंका सुरुवाती वर्ष आर्थिक अभावसँग जुध्नुपर्‍यो ।

भन्छिन्, ‘यहाँ आएपछि नाटकका सर्कलसँग चिनजान त भयो । तर नाटक गरेको पैसा आउँदैन थियो । टिक्न निकै मुस्किल भयो । नाचघरको ४ सय भत्ताले निकै राहत दिन्थ्यो । बाँकी आमाले पठाएको सानो खर्चले चल्नुपर्ने हुन्थ्यो ।’

अनि जागिर

काठमाडौं आएर आशाले काम नपाएर खाली भने बस्नु परेन । तर, मुख्य समस्या- अभिनयबाट पारिश्रमिक आउँदैन थियो ।

अभिनयबाटै पैसा कमाउने स्थान खोज्दै जाँदा उनी बज्र होटल पुगिन् । बज्रमा बर्सेनि एक नाटक मञ्चन हुन्थ्यो । त्यहाँ अभिनय गर्ने कलाकारले पारिश्रमिकसमेत पाउँथे ।

आशा भन्छिन्, ‘त्यहाँ नाटकमा गरेपछि सबै कलाकारले बराबर पैसा पाउँछन् भन्ने साथीहरूबाट थाहा पाएको थिएँ । अनि म पनि साथीहरूसँग त्यहाँ जान थालेँ ।’

बज्र होटलको नाटकबाट आशाले पहिलो वर्ष ६ हजार पारिश्रमिक बुझिन् ।

भन्छिन्, ‘मेरो जीवनको त्यो पहिलो ठूलो कमाइ थियो । त्यो पैसाले मलाई ६ महिना काठमाडौंमा टिक्न पुग्यो । अनि अलि राम्रो ठाउँमा कोठा पनि त्यही पैसाले सरेको हो ।’

त्यस समय नाटकका कलाकारलाई अभिनयको पारिश्रमिक दिने चलनै थिएन । काठमाडौंमा पैसाबाहेक टिक्ने अवस्था थिएन । आशालाई काठमाडौंमा टिक्न जागिरको आवश्यकता थियो नै ।

नाटकमा बज्र होटल धाउने क्रममा आशाले त्यहीको पुस्तकालयमा काम पाइन् । जागिर गर्न थालिन् ।

६ महिना जागिर गरेपछि त्यहाँ टिक्न सकिनन् । कारण– उनी नाटकबाट टाढा हुन् थालिन् । भन्छिन्, ‘जागिरमा ९ देखि ५ बजेसम्म जागिरमा व्यस्त हुने भएँ । अनि नाटक नै गर्न पाइनँ ।’

आशा काठमाडौं आउनुको उद्देश्य नै अभिनयमा भविष्य बनाउने थियो । अभिनयमै नाम कमाउने थियो ।

जागिरले अभिनयबाट टाढा हुनुपर्ने अवस्था आएपछि उनको मन किन मान्थ्यो ?

जागिर छोडेर उनी पुनः अभिनयमै फर्किइन् । उनी थप्छिन्, ‘जागिरले नाटक पनि गर्न पाएको थिइनँ । त्यही बेला भारतको नेसनन स्कुल अफ ड्रामाबाट मान्छे आएर अभिनय कार्यशाला दिने भए । त्यो कार्यशालामा जोडिन जागिर छोडेँ ।’

बज्रको होटलको काम छोडेपछि आशा आर्थिक अभावले काठमाडौं टिक्न सकिनन् । मोरङ फर्किइन् ।

अभिनयको चस्को पसिसकेकाले उनी मोरङमा झन् टिक्न सकिनन् । फेरि काठमाडौं फर्किइन् । काठमाडौं फर्किएर बज्र होटलमै जागिर गर्न थालिन् । यस पटक उनले हाउस किपिङ इन्चार्जको काम पाइन् ।

भन्छिन्, ‘यो पटक चाहिँ मेरो तलब राम्रो थियो । काठमाडौंमा बस्न सहज थियो ।’

आशाले यही जागिर गर्दाको समय गुरुकुल स्थापना भएको हो । जागिरले गर्दा नै आफू गुरुकुलको विद्यार्थी बन्न नपाएको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘राम्रो तलब भएकाले जागिर छोडेर गुरुकुलको विद्यार्थी भइनँ । तर गुरुकुलमा नाटक भने गर्ने अवसर मिलेको थियो ।’

त्यही काम गरिरहेको अवस्थामा उनलाई टेलिसिरियल ‘दलन’मा प्रस्ताव आयो । दलनका निर्देशक नवीन सुब्बालाई उनले ‘अनाम नाट्य जमात’मै चिनेकी थिइन् ।

दनलको पहिलो चरणको छायाङ्कन उनले जागिर गर्दै गरिन् । दोस्रो चरणको छायाङ्कन लागि भन्ने जागिर छोड्नुपर्‍यो ।

आशा भन्छिन्, ‘रङ्गकर्मीहरुले बनाएको सिरियल राम्रो हुन्छ । अभिनयका लागि भविष्य बनाउन हो भने जागिर छोड्नुपर्छ भन्ने लाग्यो र सिरियल गर्न थालेँ ।’

दलन सिरियलमा अनुप बराल, पुस्कर गुरुङ, दिया मास्के, माओत्से गुरुङ, दयाहाङ राई लगायतको अभिनय छ । दयाहाङ उक्त सिरियल गर्दाको समयमा संघर्षरत कलाकार थिए ।

फिल्मका १३ वर्ष

अहिलका प्रख्यात निर्देशक दीपक रौनियारसँग आशाको सन् २००८ मा विवाह भएको हो । उनीहरूको भेट रङ्गमञ्चले नै गराएको हो । उनीहरूको भेट हुँदा दीपक बीबीसीको नाट्य कार्यक्रम ‘कथा मीठो सारङ्गी’को प्रोड्युसर थिए ।

विवाहपश्चात दीपक जागिर छोडेर फिल्म निर्माणमा लागे । आशा र दीपक मिलेर आदि प्रोडक्सन कम्पनी स्थापना गरे । उक्त कम्पनीबाट दीपक र आशाले सुरुमा ‘चौखठी’ नाम सर्ट फिल्म बनाएका थिए ।

यसको लेखक दीपक र आशा दुवै हुन् । आशा कलाकार र दीपक निर्देशकसमेत हुन् । यो सर्ट फिल्म कान्स फिल्म फेस्टिभलमा सहभागी भएको थियो ।

आदि प्रोडक्सनबाट बनेको पहिलो फिल्म भने ‘हाइवे’ हो । जुन सन् २०१२ बनेको हो । यसको निर्देशक दीपक रौनियार हुन् ।

आशा यस फिल्ममा कलाकारको भूमिकामा छिन् । यसलाई नेपाली ‘मास्टरपिस’ फिल्म मान्छिन् । बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो फिल्मको प्रिमियर भएको थियो ।

बर्लिन विश्वको पाँच ठूलो फिल्म फेस्टिभलमा गनिन्छ । ‘हाइवे’भन्दा अघि कुनै पनि नेपाली फिल्म यस तहका प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भएका थिएनन् ।

‘हाइवे’मा अमेरिकी प्रोड्युसरको लगानी छ । यो फिल्मको सम्पादन अमेरिकामै भएको हो । त्यही समयदेखि आशा र दीपक अमेरिका बस्दै आएका छन् ।

त्यस्तै, दीपकसँग जोडिएपछि आशाले अभिनय गरेको दोस्रो फिल्म ‘सेतो सूर्य’ हो । जसमा उनी शीर्ष भूमिकामा छन् ।

यो फिल्म भेनिस फिल्म फेस्टिभल, टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।

८ वर्षपछि राजागंज

आशा भन्छिन्, ‘एक फिल्मपछि अर्को गर्न हामीलाई केही समय लाग्छ । हामी एक फिल्म सकिएपछि अर्को लेख्न थाल्छौं । त्यो बीचको समय हामी फिल्मकै काममा हुन्छौं । रिसर्चको काम धैरै हुन्छ । त्यसैले समय लाग्छ । हामी खाली बस्ने भन्ने नै हुँदैन ।’

पहिलो फिल्म हाइवेपछि ‘सेतो सूर्य’ बन्न ४ वर्ष समय लाग्यो । त्यसको आठ वर्षपछि आशा र दीपकको अर्को फिल्म ‘राजागंज’ तयार भयो । आशा यस फिल्ममा केन्द्रीय भूमिकामा छिन् । आफू बिरामी भएकाले यो फिल्मको काम भने केही ढिलाइ भएको बताउँछिन् ।

भन्छिन्, ‘कोरोनाका कारण केही ढिलाइ भयो । बीचमा म बिरामी भएँ । त्यसैले राजागंज अलिक ढिला भएको हो ।’

अहिले आशा र दीपक दुवै अमेरिकामा बस्छन् । दीपक अमेरिकामै फिल्मसम्बन्धी अध्ययपन गराउँछन् । गहन सामाजिक मुद्दामा फिल्म बनाउन यो जोडी केन्द्रित छ ।

उनीहरूको फिल्मले अन्तर्राष्ट्रिय चर्चा बटुल्ने गर्छ । समीक्षकबाट तारिफ मिल्ने यस्ता फिल्मकी नायिकाका रुपमा आशा स्थापित छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : २२ बजे

आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत

आज २०८१ साल चैत १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत

समाजवादी मोर्चाको प्रदर्शन प्रतिगमन विरुद्धकाे सकारात्मक पहल हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले