राजावादीले फोटो बोकेको प्रकरण नसेलाउँदै योगी भेट्न धाउन थाले नेपाली नेता | Khabarhub Khabarhub

राजावादीले फोटो बोकेको प्रकरण नसेलाउँदै योगी भेट्न धाउन थाले नेपाली नेता


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन २५ गते काठमाडौंमा आयोजित राजावादीको प्रदर्शनका क्रममा सबैभन्दा चर्चामा आएका पात्र थिए भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूह पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा अन्तर्राष्ट्रिय विमानस्थल वरपर जम्मा भएका थिए ।

योगी र पूर्वराजा शाहको तस्बिर बोकेर समर्थकसहित उक्त भिडमा मिसिने व्यक्ति थिए प्रदीपविक्रम राणा । राणा आफैं पनि राजावादी र हिन्दुराज्यका अभियन्ता थिए । यो तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएका पूर्वराजाका समर्थकले बोकेको भेटिएपछि एकाएक भाइरल भएको थियो ।

पूर्वराजा शाहको स्वागतका क्रममा योगी आदित्यनाथको फोटोसहित सडकमा निस्किएका उनै राणा फागुन २८ मा काठमाडौंबाट भागेर गोरखपुर पुगेका थिए ।

आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि भागेर गोरखपुर आइपुगेको जानकारी उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’लाई दिएका थिए ।

त्यसबेला योगीको उक्त फोटोलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि प्रश्न उठाएका थिए । उनले ‘राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू’, भनेर यो आन्दोलन कसको निर्देशनमा भएको हो भन्ने सन्देश दिन खोजेका थिए ।

योगीको फोटो बोकेका उनै प्रदीवविक्रम भारततिरै भागेका बेला अब राजनीतिक दलका नेता र मुख्यमन्त्रीहरू नै उत्तरप्रदेशतिर धाउन थालेका छन् ।

पछिल्लो पटक बिहीबार मात्रै लखनऊस्थित योगी आदित्यनाथको सरकारी निवासमै पुगेर एकजना बहालवाला मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले भेटेका छन् ।

बिहीबार मात्रै सामाजिक सञ्जालमा सार्वजनिक केही तस्बिरले योगीलाई भेट्न लखनऊ पुग्नेमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीप्रसाद चौधरी थिए ।

एकै लर्को लागेर योगीलाई भेट्न पुग्नेमा लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा प्रदेश सांसद चन्द्रकेश गुप्ता (सीके) पनि छन् । योगीलाई भेट्न पुग्ने अर्का नेतामा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अभिषेक साह पनि छन् ।

यी सबै नेतासँग पुग्ने अर्का व्यक्ति थिए विकासकुमार ठाकुर । खासमा नेपाली कांग्रेसका कार्यकर्ता उनी अहिले मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रममा संयोजक छन् । उनलाई यस कार्यक्रमको संयोजकमा मधेशका मुख्यमन्त्री सतिश सिंहले नै गत ७ मंसिरमा नियुक्त गरेका हुन् ।

आफूलाई कट्टर हिन्दुवादी बताउने उनी नेपाल फाउण्डेसनका संस्थापकका रुपमा पनि आफूलाई चिनाउँछन् । कांग्रेस कार्यकर्ता भए पनि गठबन्धन सरकार भएकाले मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धन अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी उनलाई दिएको थियो ।

नेपालमा हिन्दु राज्य फर्काउनुपर्ने अभियानसमेत चलाउँदै आएकाले उनी आफूलाई योगीनिकटका रुपमा चिनाउँछन् । उनले यसअघि पनि पटक पटक योगीलाई भेट्दै आएका छन् । मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, जनमत र कांग्रेसका नेतालाई समेत योगीको दरबारमा लैजाने कामको संयोजन उनै हिन्दुवादी ठाकु्रले गरेको स्रोतले उल्लेख गरेको छ ।

नेपालमा हिन्दु राज्य र राजावादी अभियानले गणतन्त्रवादीहरूलाई तनाव भइरहेका खासगरी मधेशकेन्द्रित नेताहरू लर्को लागेर योगीलाई भेट्न पुगेको विषयलाई विभिन्न कोणबाट हेरिएको छ।

लर्को लागेर पुगेका नेताहरू र योगीबीच भएको कुराकानीबारे अहिलेसम्म कसैले केही खुलाएका छैनन् । यसअघि लुम्बिनीको मुख्यमन्त्री हुँदा डिल्ली चौधरीले २०८० फागुन २८ र २९ गते अन्तर्राष्ट्रिय शिखर सम्मेलन नाम दिएर दलाई लामालाई ल्याउन खोजेपछि विवाद भएको थियो ।

उत्तरी छिमेकी चीनले आपत्ति जनाएपछि त्यसबेला उक्त कार्यक्रम नै रोकिएको थियो । चीनको आपत्तिपछि दलाई लामाको सन्देश पनि पढ्न नपाउने गरी संघीय सरकारले हस्तक्षेप गरेको थियो ।

त्यसबेला नीति तथा कार्यक्रम र बजेटमै साढे ६ करोड रकम विनियोजन गर्ने समयमा पनि विपक्षी दलसहितका सांसदहरूले विरोध गरेका थिए । ९ जना अन्तर्राष्ट्रिय नोबेल पुरस्कार बिजेतालाई एकसाथ लुम्बिनीमा ल्याएर २ सयभन्दा बढी उच्च पदस्थ बोलाइएको थियो । तर दलाई लामा ल्याउने तयारीबारे थाहा भएपछि उत्तरी छिमेकी चीनको चासोका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोक्न निर्देशन दिएका थिए ।

तर त्यही बेला केन्द्र सरकारमा नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको थियो । त्यसपछि हालसम्म उक्त कार्यक्रम हुन सकेको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ०४ बजे

निजामती विधेयकमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको

प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले

काठमाडौं– नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् ।

शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम

काठमाडौं- शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने

काठमाडौं– प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२

शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन

काठमाडौं– शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२