राजावादी र कम्युनिस्ट सडकमा, रास्वपा र कांग्रेस कोठामा ! | Khabarhub Khabarhub

राजावादी र कम्युनिस्ट सडकमा, रास्वपा र कांग्रेस कोठामा !

सरकारको नेतृत्व गरेको एमालेसमेत सडकमा ओर्लिँदै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको ठूलो दल नेपाली कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेलाई सरकारमा हुँदाहुँदै सडकमा उत्रनुपर्ने दबाव आइलागेको छ ।

प्रतिपक्षमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका गणतन्त्रवादी दलहरूले मोर्चाबन्दी गरेर आन्दोलनमा उत्रिने घोषणा गरेपछि दोस्रो ठूलो दल एमालेलाई पनि सडकमा उत्रन दबाब परेको हो ।

प्रतिपक्षमा रहेका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आन्दोलनका माध्यमबाट जनता सामु जाँदा आफूपछि परिने सन्त्रासमा रहेको एमालेले सरकारमा हुँदाहुँदै पनि पार्टीपंक्तिलाई सडकमा उतार्ने निर्णय गरेको हो ।

प्रतिपक्षी माओवादी र एकीकृत समाजवादीले सडकमा राजावादी र सरकार दुबैको विरोध गरिरहेका छन् । सत्तारुढ एमालेले भने राजावादीको विरोधमा सडकमा उत्रिने तयारी गरेको छ ।

मुलुकमा पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएका दल र समूहको सक्रियता बढेपछि एमालेले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालनको घोषणा गरेको हो ।

महासचिव शंकर पोखरेलले बिहीबारमात्रै सातवटै प्रदेश र ७७ जिल्लाका अध्यक्षहरूलाई ‘भर्चुअल’ बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

एमालेले ‘प्रतिगामी कुप्रयासविरूद्ध’ पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्दैछ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने पनि कार्यक्रम एमालेले तय गरेको छ ।

चैत १८ गते काठमाडौं उपत्यकासँगै कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापाबाहेकका जिल्लाहरूमा जनप्रदर्शन र जागरण सभा आयोजनाको तयारी गरेको एमालले जागरण सभा नहुने नौवटा जिल्लामा मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने पनि एमालेको तयारी छ । उसले काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने पनि जनाएको छ ।

यसअघि नै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने भन्दै फागुन २५ मा भएको राजावादीको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन माओवादी केन्द्रले चैत १५ गते काठमाडौंमा बृहत विरोध सभा गर्ने घोषणा गरिसकेको छ । १५ गतेको कार्यक्रममा माओवादीका साथै समाजवादी मोर्चामा रहेका अन्य दल पनि सहभागी हुने जनाइएको छ ।

राजावादीका पछिल्ला गतिविधिबाट झस्किएको माओवादीले समाजवादी मोर्चामा रहेका दलहरू नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)सँग मिलेर आन्दोलनमा उत्रिने घोषणा गरेको हो ।

मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले राजसंस्था पुनस्र्थापनाको प्रयास गरेको भन्दै मोर्चाले चैत २ (शनिबार) काठमाडौंमा बौद्धिक समुदायसँग अन्तरक्रिया गरेको थियो ।

मोर्चामै रहेको पूवर्पप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आन्दोलनका लागि महासचिव घनश्याम भुसालको संयोजकत्वमा केन्द्रीय आन्दोलन संयोजन कमिटी गठन गरेको छ । राजनीतिलाई सत्ताको खेल र आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन सुरुवात गरिएको उसको भनाइ छ ।

आन्दोलनलाई बेरोजगारी र कुशासनविरुद्धको क्रान्तिकारी पहलकदमीका रुपमा ब्याख्या गर्दै एकीकृत समाजवादीले यसलाई राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूबीच सहकार्य र एकताको अभियानका रुपमा पनि अर्थ्याएको छ ।

आन्दोलनको पहिलो चरणअन्तर्गत चैत्र १ गते पत्रकार सम्मेलन गरेको एकीकृत समाजवादीले चैत २ देखि ६ गतेसम्म मातहत कमिटीहरूमा छलफल गरेको छ । चैत्र ७ देखि १५ सम्मका लागि एकीकृत समाजवादीले केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिहरूसँग सम्वाद तथा सुझाव संकलन सुरु गरेको छ ।

चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाएर चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन गरिने एकीकृत समाजवादीले जनाएको छ ।

आन्दोलनकै क्रममा वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरिने, वैशाख १५ सम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन गरिने महासचिव भुसालले जानकारी दिएका छन् ।

भुसालले वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गरिने पनि बताएका छन् ।

कांग्रेसलाई हाईसञ्चो

सत्तापक्ष र प्रतिपक्षमा रहेका गणतन्त्रवादी वामपन्थी विचारधारा बोकेका तीन दलहरू राजसंस्था फर्काउने प्रयासमा रहेका राजावादीविरुद्ध सडकमा ओर्लिँदा आफूलाई नेपाली कांग्रेस भने हाइसञ्चोमा छ । उसले राजावादीका पछिल्ला गतिविधिका बारे पार्टीको औपचारिक धारणा तय गरेको छैन ।

तथापि, सभापति शेरबहादुर देउवाले चैत ५ गते बूढानीलकण्ठस्थित निवासमा पदाधिकारीको बैठक बोलाएर राजावादीका पछिल्ला गतिविधिका बारेमा अनौपचारिक छलफल भने गरेका थिए ।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले राजावादीको पछिल्लो चलखेलबारे सामान्य समीक्षा भएको प्रतिक्रिया दिएका थिए । उनले कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने पनि जानकारी दिएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन कांग्रेसले चैत १० (शनिबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

रास्वपामा मौनता

संघीय संसद्को पहिलो दलले आधिकारिक धारणा तय गर्ने तयारी गरिरहेको र दोस्रो र तेस्रो दलले सडकमै उत्रिने निर्णय गरे पनि चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने मौनता साँधेको छ ।

आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी दावी गर्ने रास्वपाले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिइरहेका राजावादीबारे साँधेको मौनता रहस्यमय रहेको चर्चा राजनीतकि वृत्तमा भइरहेको छ ।

पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माणलाई जोड दिँदै आएको रास्वपा सभापति रवि लामिछाने राजावादीको आन्दोलनबारे बोलेका छैनन् ।

शुक्रबारमात्रै लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको दुईतिहाइको सरकारका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए पनि राजावादीको आन्दोलनबारे केही टिप्पणी गरेनन् ।

आफूले बोले दुईतिहाइको सरकार हल्लिने तर्क गर्दै उनले क्रान्तिका लागि तयार रहन पनि समर्थकलाई भने । ‘गेट रेडी फर द रिभोल्युशन,’ लामिछानेले भने, ‘तपाईंहरू तयार रहनुस्, मैले चाँडै बोल्ने समय आउँदैछ ।’

सभापति लामिछानेको मौनतालाई कतिपयले राजसंस्थासँग समेत जोडिरहेका छन् । हाल क्यानडा बस्दै आएका कलाकार तथा कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठले लामिछाने र आफू अमेरिका बस्दाको संस्मरण फेसबुकमा साझा गर्दै उनलाई राजसंस्थासँग जोडेका छन् ।

‘हाम्रा मित्र रवि लामिछाने अमेरिका रहिन्जेल राजावादी कित्तामै हुनुहुन्थ्यो । हामीले मकरतन्त्रको विरोधमा राष्ट्रसंघको कार्यालय र वासिंगटन डीसीमा ज्ञानेन्द्र शाहको कदम विरुद्धमा विरोध र्‍यालीहरूको आयोजना गर्‍यौँ,’ श्रेष्ठले लेखेका छन्, ‘रविजी प्रतिकारवाला राजावादीहरूको जत्था ‘बल्टिमोर कोटरी’का निकटस्थ हुनुहुन्थ्यो । राजाराम पौडेलले खुलेरै प्रतिकार गर्नु भयो तर रविजी खुलेर आउनु भएन ।’

रास्वपाले पार्टीबाट निस्कासन गरेका महामन्त्री डा. मुकुल ढकालले पनि सभापति लामिछानेलाई राजसंस्था निकटस्थका रुपमा चित्रित गरेका छन् ।

ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।’

रास्वपाका एक केन्द्रीय सदस्यले पार्टी नेतृत्व अहिले राजावादीको आन्दोलनलाई ‘पर्ख र हेर’को नीतिमा रहेको बताउँछन् । ती नेता राजावादीको पक्षमा जन लहर राम्रो देखिए सभापति लामिछानेले राजसंस्थाको लाइन समात्न सक्नेसमेत दावी गर्छन् ।

‘रास्वपा अहिले पर्ख र हेरको रणनीतिमा छ । माहोल राम्रै बन्दै गए राजावादी बनेर आउने लाइन रवि लामछिानेले लिन सक्छन्,’ ती नेताको भनाइ छ, ‘तर, राजतन्त्रको पक्षमा लाग्न हुन्न भन्ने हामीहरूको मत पनि पार्टीमा बलियो छ ।’

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको बताउँछन् । उनले खबरहबसँग भने, ‘यो व्यवस्था प्रति हाम्रो कुनै कमेन्ट छैन । व्यवस्था ठीक छ । तर, सडकमा आउने वातावरण पनि दलहरूले नै बनाएका हुन् । यसको दोषबारे गम्भीर रुपमा समीक्षा हुनुपर्छ ।’

यो पनि-

चैते आन्दोलन : सडकमा राजावादीदेखि गणतन्त्रवादीसम्म

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ४७ बजे

निजामती विधेयकको प्रतिवेदनमाथि छलफल अघि बढाउँदै राज्य व्यवस्था समिति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको

प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले

काठमाडौं– नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् ।

शिक्षकपछि कर्मचारी पनि सडकमा उत्रिन तयार, माग पूरा गर्न दिए अल्टिमेटम

काठमाडौं- शिक्षकहरूको आन्दोलन १७ दिनदेखि जारी रहेका बेला कर्मचारीहरूले पनि

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने

काठमाडौं– प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१/०८२

शिक्षकको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा रोकिएको छैन

काठमाडौं– शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२