पद्मकन्यामा दलको ‘गुण्डागर्दी’ हराएँ, २ वर्ष स्वतन्त्र बस्छु : भुवनेश्वरी | Khabarhub Khabarhub

अन्तर्वार्ता

पद्मकन्यामा दलको ‘गुण्डागर्दी’ हराएँ, २ वर्ष स्वतन्त्र बस्छु : भुवनेश्वरी

'पातली र ख्याउटी देखेर दलले पत्याएनन्'



काठमाडौं– छात्राहरूको मात्रै पठनपाठन हुने पद्मकन्या क्याम्पस देशकै चर्चितमध्ये एक शैक्षिक थलो हो । यो चर्चित शैक्षिक थलो यस पटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनावबाट झन् चर्चामा आएको छ । यहाँ स्वतन्त्र उम्मेदवार भुवनेश्वरी ऐर (भूपी) सहित स्वतन्त्र प्यानलले ठूला दललाई पछारेको छ ।

प्रमुख दलका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलाई पाखा लगाउँदै अध्यक्षसहित पदाधिकारी र सबै सदस्य पदमा भूपीको प्यानलले बाजी मारेको छ । पहिलो पटक पद्मकन्यामा स्वतन्त्र उम्मेदवारले जित्दा दलीय सिन्डिकेट पनि तोडिएको छ । ऐर ७३० मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेविसंघकी पूर्णमाया परियारले ३७९ मत पाइन् ।

सचिवमा सन्ध्या बस्याल ६ सय ९५ मतसहित विजयी भइन् । कोषाध्यक्ष संकल्पिका थापाले ६ सय ६६ मत ल्याइन् । सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भए । यहाँ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरे पनि तेस्रोमा समेटिए । विवादका कारण यहाँ चैत ७ गते मात्रै निर्वाचन भएको थियो ।

बैतडीको पाटन नगरपालिका–२ लजकुडामा ०५८ असारमा जन्मिएकी भुवनेश्वरी ऐर (भूपी) ले विद्यालय शिक्षा गाउँमै लिइन् । ०७६ सालमा काठमाडौं आएकी उनको सपना वकिल र गायिका बन्ने थियो । तर, पद्मकन्या कलेजमा व्यवस्थापन विषय पढ्न आफन्तले सुझाएपछि उनको बाटो मोडियो । डोटेली भाषामा पोख्त भूपिलाई काठमाडौंमा पसेपछि नेपाली बोल्न नजानेको भन्दै साथीले नै जिस्क्याउँथे ।

उनलाई सुरुमा काठमाडौंका मान्छेको व्यवहार पनि अप्ठ्यारो लाग्थ्यो । सुरुमा संकोच मानेकी उनी हुँदै विस्तारै घुलमिल भइन् । बुवा शिक्षित परिवारका भएकाले उनलाई काठमाडौं आउन समस्या थिएन । तर, आर्थिक अभाव थियो । उनी घरकी कान्छी छोरी हुन् । गाउँमा बुवाको मेडिकल छ ।

भलिबलकी क्षेत्रीय खेलाडी भूपी विद्यार्थीमाझ लोकप्रिय छन् । उनी कलेज आएपछि नेविसंघमा जोडिइन् । उनलाई नेविसंघले ०७९ मा टिकट दियो । १४ वर्षपछि निर्वाचनमा उनी सचिव पदमा निर्वाचित भइन् । ऐरले व्यवस्थापनमा ब्याचलर सकेकी छन् । उनी कलेजका अरु १८० जना विद्यार्थीसँगै होस्टल बसेर पढ्छिन् ।

बिहीबार स्ववियु सभापति बनेपछि खुसी साटासाटमा व्यस्त भूपीसँग शुक्रबार केही समय निकालेर कुराकानी गरेका छौँ ।

पद्मकन्यामा यहाँको स्वतन्त्र प्यानलले जितेको छ , यो नतिजा निकाल्न कतिको कठिन भयो ?

चुनौती र कठिनाइ धेरै थिए । चुनावका क्रममा हामी रोइरहेका थियौँ । फेरि चुनावमै मजाक गर्दै हाँसिरहेका पनि थियौँ । अरूले हेप्दा अझै ऊर्जा थपिन्थ्यो । मैले जस्तो सोचेको थिएँ, उस्तै टिम बनेर निर्वाचन जिन निकाल्यौँ । म पातली र ख्याउटी छु । तर राजनीतिक दलले कसैलाई पदमा लैजानुअघि ‘फिजिकल्ली’समेत हेरिँदो रहेछ । यो मेरो तीतो अनुभव हो । कतिको बलियो छ ? कतिको राम्रो छ ? शारीरिक रुपमा कतिको सुगठित छ ? यस्तो पनि हेरिने रहेछ । मैले यो फिल गरेँ।

म हेर्दा सानी र फिजिकल्ली भिड्ने तागत नभएकी हुँला तर मसँग आत्माबल बलियो थियो । नभन्दै मैले सोचे जस्तै भयो । मलाई निर्वाचनका क्रममा दुःख दिइयो, र्‍यागिङ गरियो । मेरो टिमका बहिनीहरूलाई ब्याक गराउन अनेक लोभ देखाइयो । तर उनीहरू मसँग सतिसाल भएर उभिए । उहाँहरूको तागत म हो, मेरो तागत उहाँहरू । कलियुगमा पनि सत्यको जित हुन्छ र भन्ने थियो । यो पटक सम्भव भयो । जित्छु जस्तो लागेको थिएन तर जितेँ ।

पुल्चोकका स्ववियु सभापति भन्छन्– राजनीतिकरण तोडेँ, कुनै दलमा जान्नँ

दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र रुपमा जित्नुभएको छ, यसबाट दलले के पाठ सिक्ने ?

विद्यार्थी र विद्रोह पर्यायवाची शब्द हुन् । जहाँ अन्याय हुन्छ, त्यसविरुद्ध उठ्न सक्ने र आवाज उठाउन सक्ने आवाज विद्यार्थीको हो । त्यही विद्यार्थीको विद्रोहमा जन्मिएको हौँ हामी । जहाँ अन्यायले सीमा नाघ्छ, अराजकताले सीमा नाघ्छ, त्यहाँ विद्रोही जन्मिन्छ । त्यसकै लागि हामी स्वतन्त्र उभिएका हौँ । मलाई दलको चिठी दिँदा पनि दर्ता नगरी स्वतन्त्रबाट लडेकी हुँ । विद्यार्थी विद्रोही भएपछि शक्ति कस्तो हुन्छ, त्यो पनि देखाउन मन थियो । अब हामी कलेजलाई नमुना बनाएर देखाउँछौँ ।

०७९ को निर्वाचनमा नेविसंघबाट जितेको मान्छे, अहिले कसरी र किन स्वतन्त्र हुनुभयो ?

म नेविसंघमा थिएँ । यसँ पटक म सभापतिको स्वाभाविक दाबेदार थिएँ । अघिल्लो कार्यकाल काम पनि गरेँ । मलाई विद्यार्थीले स्ववियु सचिव होइन, भूपी दिदीका रुपमा चिनेका थिए । मप्रति विद्यार्थीको आश र भरोसा थियो । त्यो कुराले मलाई अझ तान्यो । उहाँहरूको आशाकै लागि लड्नुपर्छ भन्ने सोचेँ । समस्या समाधाका लागि कुनै हालतमा लड्छु भन्ने थियो । संगठनबाटै लड्छु भन्ने सोचमा थिएँ । तर, टिकट दिन आनाकानी गरे । चरम राजनीतिकरण भयो । संगठनका लागि पद छोड्नुपर्छ भन्ने पनि सोचेँ । तर नेतृत्वबारे फर्केर हेर्दा मलाई त अन्याय भयो ।

यस्तो अराजक र गुन्डागर्दी गर्ने नेतृत्व पद्मकन्यामा आउनु भनेको झन् शैक्षिक थलो बिग्रिनु हो भन्ने भयो । विद्यार्थी संगठनमा नाममा आएकाले मुख छाड्ने, बाहिरका मान्छे बोलाएर गुन्डागर्दी गर्ने भएपछि यसविरुद्ध लडेर अघि बढ्न स्वतन्त्र टीम बनाएँ । त्यो टीम मसँग अडिग भयो । उहाँहरू पनि दादागिरीविरुद्ध लड्न निरन्तर लाग्नुभयो । हेप्दा र र्‍यागिङ गर्दा पनि सबै कुरा बिर्सेेर अगाडि बढ्यौँ । त्यसपछि नेविसंघको आधिकारिक पत्रलाई पनि त्यागेर म स्वतन्त्र समूहबाटै लड्न तयार भएँ । सहयोग पनि पाएँ । यो सहयोगप्रति नतमस्तक छु ।

कलेजमा गुन्डागर्दी हुन्छ भन्नुभयो, यो वातावरणको दोषी को हो ?

विद्यार्थी संगठनले नै बनाएको हो । त्यसमा शंका गर्ने अवस्था छैन । जब विद्यार्थी संगठन माथिबाट हावी हुन्छ, त्यसपछि समस्या हुन्छ । साना विद्यार्थीलाई पार्टीका नेताले व्यक्तिगत र संगठनात्मक स्वार्थका लागि अराजक हुन सिकाउने काम भएको छ ।

तर यहाँलाई त गगन थापाबाट सहयोग थियो भन्छन् ?

उहाँहरूको सहयोग थियो होला । तर, पद्मकन्यामा सत्य र असत्यको लडाइँ थियो । यो अस्तित्वको लडाइँमा हामीले जित्यौँ । जहिल्यै दादागिरी गर्नेको मात्रै जित हुन्छ भन्ने थियो । कलेजमा सिनेमामा देखिने हिरो र भिलेन बनाउने जस्तो चरित्र र वातावरण भएपिछ विदोह गरेका छौँ । सहयोग त सबैको थियो होला, तर हामी स्वतन्त्र उम्मेदवार हौँ । माग भएपछि हामी विद्यार्थी संगठनविरुद्ध खडा भयौँ । तर कलेजका लागि हामी सही पात्र थियौँ ।

क्याम्पसमा दलनिकट भन्दा स्वतन्त्र चाहिन्छ भन्ने हो ?

हजुर, यस्ता थुप्रै उदाहरण विद्यार्थी संगठन र स्थानीय तहमा पनि देखिएको छ । जस्तो काठमाडौं महानगरमा स्वतन्त्र मेयर बालेन साहको काम हेर्न सकिन्छ । धरानका मेयर हर्क साम्पाङले पनि गरेको देखिएको छ । गोपी हमालहरूको काम पनि राम्रो छ । मेरो कुरा जो जहाँबाट आउन्, काम भने विद्यार्थी संगठनका हुनुपर्छ भन्ने हो । व्यक्तिगत स्वार्थ र संगठनको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने मान्यता बोकेकी छु । हामी सबैको साझा हुनुपर्छ । विद्यार्थीको ठाउँमा आफूलाई राखेर हेर्ने उम्मेदवार हुनुपर्छ ।

अहिले पद्मकन्यामा कस्ता समस्या छन् ? तिनको समाधान कसरी गर्नुहुन्छ ?

समस्या धेरै छन् । विद्यार्थीको साइकोलोजी नै बिथोल्ने काम भएको छ । तालाबन्दी र नाराबाजीले भर्खरै घर र आमाबुवाको काख छाडेर आएका विद्यार्थीहरू तनावमा छन् । पद्मकन्या त खत्तम रहेछ, लेडिज कलेज भनेर पढ्न आएको अब नजाने भन्ने मनस्थिति छ । यसलाई चिर्न म सचेतना कार्यक्रम गर्ने पक्षमा छु । कलेजमा ६ हजार २ सय तीन विद्यार्थीमध्ये मात्रै १५ सय ८६ जनाले भोट गर्नु भएको छ । यति थोरै सहभागिता सोच्न सकिने कुरा होइन । चुनौती थुप्रै छन् ।

पहिला सौहार्द र विद्यार्थीमैत्री वातावरण बनाउँछु । मेटिभेसन क्लास दिने पहिलो प्रयास हुने छ । उहाँहरूका लागि हामी दिदीबहिनी छौँ भन्ने वातावरण बनाउँछु । म नेता होइन, अभिभावक बन्न चाहन्छु । उहाँहरूको आवाज सबै निकायसम्म पुर्‍याउँछु । यो वातावरण बनाएर विस्तारै अगाडि जान्छु । हाम्रो कलेजमा सबै कुरा छ, तर व्यवस्थापन भएको छैन । सुविधासम्पन्न भवन, होस्टेल, ई–लाइब्रेरी, आईटी, व्यवस्थापन सबै विषय छन् । कानुन विषय थप्न पनि पहल भइरहेको छ । फेसन डिजाइन विषय पनि राख्न सके राम्रो हुन्छ भनेर लागेका छौँ ।

अब नेविसंघकै राजनीतिमा फर्किने कि स्वतन्त्र नै रहने ?

म प्रजातान्त्रिक मान्छे हो । त्यसैमा विश्वास गर्छु । मेरो सिद्धान्त त्यही छ । विद्यार्थीमा जाँदै गर्दा मेरो कुनै सङ्गठन हुँदैन । अबको दुई वर्ष म कुनै संगठनमा रहन्न । म स्वतन्त्रपूर्वक मतको कदर गर्छु । मलाई विद्यार्थी संगठनकाले मात्रै होइन, अरू स्वतन्त्रले पनि मत दिएका छन् । उहाँहरूको विश्वासलाई गुम्न दिने छैन ।

सभापतिको कार्यकाल सकिएपछि राजनीतिमै लाग्ने कि लोकसेवातिर ?

म राजनीतिमा लागिसकेको छु । सरकारी जागिर जान्न । म सेवाभाव छ । राजनीतिमार्फत् कानुन बनाएर आफ्ना एजेन्डा स्थापित गर्ने तहसम्म पुग्ने इच्छा छ । सुदूरपश्चिम अहिले पनि महिला नेतृत्वका लागि चुनौतीपूर्ण छ । म उहाँहरूको कुरा सम्बोधन गर्ने ठाउँमा पुग्छु जस्तो लाग्छ । सरकारी सेवामा लाग्ने मनशाय छैन । तर अबको दुई वर्ष राजनीतिमा लागेर अरु गतिविधि गर्दिनँ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : २१ बजे

भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

भोजपुर– भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दक्षिण अमेरिकी विश्वकप छनोट : इक्वेडर दोस्रो स्थानमा

काठमाडौं – दक्षिण अमेरिकी राष्ट्रको विश्वकप छनोटको खेलमा इक्वेडरले भेनेजुएलालाई

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा

आज विश्व पानी दिवस : संसारमा २.५ प्रतिशतमात्र पानी पिउन योग्य

काठमाडौं – ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर