भीम उदासको म्यानमार अनुभव- ‘पात्रो नपाउँदा धेरै नेपालीले धर्म परिवर्तन गरेका छन्’ | Khabarhub Khabarhub

भीम उदासको म्यानमार अनुभव- ‘पात्रो नपाउँदा धेरै नेपालीले धर्म परिवर्तन गरेका छन्’

नेपालीले लगेको इस्कुस बन्यो- ‘गोर्खा दी’



भोजपुरको टक्सार बजारमा भीम उदास जन्मिए । टक्सार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि विक्रम संवत १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहले टक्सार खानी अड्डा स्थापना गरी एकपैसे र दुईपैसे डोली टकमारी शुरु गरिएको ठाउँ हो। उनको घर रहेको टक्सार बजारसंग दुई सय वर्षको इतिहास जोडिएको छ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय विद्योदय माध्यमिक विद्यालयबाट पूरा गरेपछि उदासले विराटनगरको महेन्द्र मोरङ कलेजमा उच्च शिक्षाको अध्ययन गरे। अध्ययन गर्ने क्रममा उनले शिक्षण, साहित्य र पत्रकारितालाई कार्यक्षेत्र बनाए। तर दशकौंको अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रको रुझानले भने उनको परिचय बद्लिएर कुटनीतिज्ञका रुपमा स्थापित हुन पुगे।

पढाइ सकेपछि केही समय कुलेखानी हाइड्रोपावरमा जागिर खाएपछि उनले संयुक्त राष्ट्रसंघमा सेवा गरे। राष्ट्रसंघको तीन दशकको सेवाबाट विश्रामसंगै हाल उनी सामाजिक काममा क्रियाशील छन्। राष्ट्रसंघको सेवामा रहँदा उनले विश्व फन्को लगाए। अफ्रिकाको भोक देखि मध्यपूर्वको अशान्ति, शक्ति राष्ट्रको टकराब, युरोप, अमेरिकादेखि नेपालको छिमेकमा रहेका दुई ठूला शक्ति राष्ट्रका गतिविधिलाई उनले नजिकबाट नियालेका छन्।

राष्ट्रसंघको जागिरबाट निवृत्त भएपछि उनलाई म्यानमारको राजदूत भएर काम गर्ने सुयोग जुर्‍यो। राष्ट्रसंघमा रहँदा र राजदूत भएर भूमिका निर्वाह गर्दाको म्यान्मारलाई उनले बेग्लाबेग्लै पाटाबाट छामेका छन्। नेपाली समुदायको बाक्लो उपस्थिति रहेको म्यान्मारमा नेपालीको प्रवेश, त्यहाँको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक अवस्थासंग नेपाली भाषी बर्मेलीले खेप्नुपरेको चुनौतीका विषयमा उदाससंग थुप्रै रोचक सन्दर्भ छन्। बर्माको सभ्यता र संस्कृतिमा नेपालीले सेतूको भूमिका निर्वाह गरेको बताउँदै भिम उदासको अनुभव उनकै बोलीमा-

सायद कर्मको खोजी गर्दै भारत पुगेका नेपाली त्यहाँबाट कर्मसँगै जोडिएर बर्मासम्म पुगेका हुन्। त्यो बेला नेपाल सामन्ती शासनबाट गुज्रिरहेको अवस्था थियो। हाम्रै गाउँठाउँमा पनि सामन्तहरूले जनतालाई दुःख दिएकै अवस्था थियो।

कतिपयको घरबास नै उठिबास बनाउने काम भयो भने कतिपयले आफ्नो गाईवस्तु लिएर धपाउँदै-धपाउँदै मान्छेहरू आसाम पुगे। त्यहाँ कोइलाखानी छ। कतिपयले त्यहाँ पनि काम गरे भने केही मणिपुर हुँदै म्यानपारसम्म पुगे।

अंग्रेजको शासन भएको अवस्थामा त्यतिबेला इन्डोबर्माको रूपमा सम्झिन्थे। त्यतिबेला म्यानमारमा काम गर्ने मान्छेहरू थिएनन्। नेपालीले आफ्नो आवादी आफैँ बनाउनुपर्छ भनेर जंगल फडानी गरेर खेतबारी बनाए। त्यसको निम्ति पैसा तिर्नु पर्दैनथ्यो।

जसले जति जंगल फडानी गरेर खेतबारी बनायो, त्यो उसकै हुन्थ्यो। तर, दर्ता भने हुँदैनथ्यो। फाँडेको जमिन व्यक्तिगत भोगचलन गर्न व्यवधान थिएन। त्यो जमिनबाट जति उत्पादन भयो, त्यसमा राजस्व तिरेपछि पुग्थ्यो। त्यस्तो सुविधा नेपालीसंगै भारतीयले पनि उपभोग गर्थे। त्यहाँ भारतीयको पनि राम्रै प्रभुत्व छ। नेपाली भने पहाड–पहाड खोज्दै गए।

म्यानमारमा मिचिना भन्ने एउटा ठाउँ छ, अहिले एउटा राज्य नै बनेको छ। त्यो मिचिनालाई सानो नेपाल नै भन्थे। धेरै नेपाली त्यहाँ बस्छन्। अहिले पनि सानो नेपाल भन्यो भने मिचिनालाई चिनिन्छ। उनीहरूले त्यहाँ खेतीपाती गर्थे, गाईवस्तु पाल्थे।

म त्यहाँ प्रजातन्त्र आइसकेपछि घुम्न जाँदा केही नेपालीले सात/आठसय विघा जग्गा आवादी गरेका रहेछन्। पहिला नेपाली गएको समयमा म्यानमारमा सुन पनि पाइन्थ्यो। दिनभरी पानीमा बालुवा छान्यो भने केही सुनका टुक्रा पाउँथे। उनीहरूले त्यसबाट गुजारा चलाउँथे।

पछि रुवी खानी फेला परेपछि ती ठाउँमा पनि नेपाली बस्न थाले। रुवी खानीलाई सरकारले आफ्नो नियन्त्रणमा ल्यायो। त्यसपछि पनि त्यो खानीमा नेपालीले काम गर्ने अवसर पाएका थिए। उनीहरूले ठेक्कामा काम गर्थे।
रुवी खानीको विषयमा थाहा पाएपछि चिनियाँहरू त्यहाँ आए। उनीहरूले पैसा लगानी गर्ने खानी किन्ने काम गर्न थाले। तर पनि धेरै व्यवसाय नेपालीको अधिनमा नै रह्यो। व्यवसाय चिनियाँले कब्जा गर्न खोजेका थिए। उनीहरूले निकै दमन गरेका थिए। तर, नेपालीले निकै प्रतिकार गरे। गोर्खा भनेर चिनिएका नेपालीसँग उनीहरूले सकेनन्। पछि छाडेर नै गए।

अहिले भने त्यो खानी नाम मात्रैको छ। कोही नेपाली खेतीपाती गर्दै त्यहाँ पुगेका थिए भने केही अंग्रेजको समयमा गोर्खा पल्टनको रूपमा रहेका थिए। बर्मामा फोर्थ गोर्खा राइफल्स क्रियाशील थियो। आङसाङ सुकीको बुवा आङ सानको नेतृत्वमा क्रान्तिको सुरुवात भयो। उनी स्वतन्त्रता हुनुपूर्व नै मारिए। त्यो बेलादेखि नै फोर्थ गोर्खा राइफल्स भनेर स्थापना भएको थियो, जुन अहिलेसम्म पनि रहेको छ।

म्यानमारमा गोर्खालाई निकै सम्मान गर्छन्। आङसाङ सुकीको समयमा ६ जनालाई भिक्टोरिया क्रस जस्तै दिइएको थियो, जसमा १ नेपाली थिए। त्यहाँ तिनीहरूको नाम सुनको अक्षरमा नै लेखिएको छ भने मूर्ति पनि बनाइएको छ।

उनीहरु नेपाललाई तीनवटा आँखाले हेर्छन्, पहिलो लुम्बिनी, दोस्रो गोर्खा र तेस्रो सगरमाथा। उनीहरूले छुट्टै इज्जत गर्छन् नेपालीलाई। म्यानमारका नेपालीले यहाँबाट जाँदा जुन संस्कृति बोकेर गएका थिए, त्यो संस्कृति अहिलेसम्म जोगाइरहेका छन्। भाषा भने अहिले हामीले जस्तो नेपाली भाषा बोल्छौं त्यो भन्दा अलि फरक पहिले बोलिने भाषा जस्तो सुनिन्छ।

नेपाल– भारत बाहेक बढी नेपाली भाषा बोल्ने, नेपाली साहित्य लेखिने कहीँ बढी भएको छ भने त्यो बर्मामा भएको छ। नेपाली साहित्यमा पनि त्यहाँका मान्छेको रूचि राम्रो देखिन्छ।

नेपाल– भारत बाहेक बढी नेपाली भाषा बोल्ने, नेपाली साहित्य लेखिने कहीँ बढी भएको छ भने त्यो बर्मामा भएको छ। नेपाली साहित्यमा पनि त्यहाँका मान्छेको रूचि राम्रो देखिन्छ।

सैनिक शासनको समयमा कुनै पनि साहित्य सामग्री बर्मा लैजान पाइँदैनथ्यो। त्यहाँ नेपाली पात्रो नै पाइँदैनथ्यो। पात्रो त बनाउन प¥यो। त्यहाँ त्यो सम्भव थिएन। नेपालबाट एउटा पात्रो कसैले लिएर गयो भने देशैभर पालैपालो हेर्ने चलन थियो। अहिले पछि भने राजदूतावासमार्फत वार्षिक रूपमा ५० वटा जति पात्रो मगाएर विभिन्न ठाउँमा बाँड्ने गरिएको छ।

तर, पछिल्लो समयमा त्यहाँका नेपालीहरू क्रिश्चियन बनिरहेका छन्। म नेपालीभाषी भएको एक ठाउँमा पुग्दा नेपालीहरू क्रिश्चियन भएको पाएँ। मैले के कारणले क्रिश्चियन भएको भनेर सोधेँ। उनीहरुले भने– ‘नेपाली पात्रो नपाएकै कारणले कहिले ब्रतबन्ध गर्ने, कहिले न्वारन गर्ने, कसरी गर्ने थाहा नभएर हामी त मजबुर भएर यसरी क्रिश्चियन हुनुपर्यो। नत्र त हामी हिन्दु नै हौं। हिन्दुबाट क्रिश्चियन हुने इच्छा नै थिएन तर, हामीसँग उपाय नै भएन।’
त्यहाँ नेपालीपन जोडिएका अरु धेरै रोचक कुरा छन्। म किनमेल गर्न बजार गएको थिएँ। त्यहाँ यहाँ पाइने इस्कुस देखेँ। उनीहरूले त्यसलाई के भन्छन् भन्ने मलाई नाम थाहा थिएन। उनीहरूले त्यसलाई ‘गोर्खा दी’ भन्ने रहेछन्।

मैले इस्कुसको नाम गोर्खा दी भएको बारेमा सोध्दा ‘हो त हाम्रा पुर्खाहरूले नेपालबाट बीउ ल्याएर रोपेका हुन्’ भनेका थिए। एउटै बिरुवाबाट कति फल्छ फल्छ। म्यानमारमा दूध, घिउ, मिठाई जस्ता कुराहरू पनि उत्पादन र प्रयोग गर्ने अभ्यास नेपालीले नै सुरु गरेका रहेछन्।

मैले इस्कुसको नाम गोर्खा दी भएको बारेमा सोध्दा ‘हो त हाम्रा पुर्खाहरूले नेपालबाट बीउ ल्याएर रोपेका हुन्’ भनेका थिए। एउटै बिरुवाबाट कति फल्छ फल्छ। म्यानमारमा दूध, घिउ, मिठाई जस्ता कुराहरू पनि उत्पादन र प्रयोग गर्ने अभ्यास नेपालीले नै सुरु गरेका रहेछन्।

त्यहाँ संस्कृत भाषामा अध्ययन हुने विद्यालयहरू छन्। जहाँ प्रथमादेखि शास्त्रीसम्मको अध्ययन हुन्छ। एउटा विद्यालयबाट वर्षमा कम्तिमा ५० जना विद्यार्थी संस्कृत पढेर निस्कन्छन् र नेपालीले बनाएको मात्रै नभएर भारतीयले बनाएको मन्दिरदेखि थाइल्याण्डको मन्दिरसम्म पुरोहितको काम गर्न पुगेको देखिन्छ।

म्यानमारमा पहिले पाँच लाख नेपाली भाषी थिए, अहिले भने त्यो संख्या घटेर दुई अढाई लाखमा झरेको छ। तर पनि म्यानमारमा नेपालीले बनाएका ३२० वटा बढी मन्दिरहरू छन्। राम मन्दिर, पशुपति मन्दिर जस्ता नाम छन् मन्दिरका। पशुपति मन्दिर त यहाँको पशुपतिनाथ जस्तै बनाइएको छ।

‘नेपाल जान नसके पनि पुर्खाको देश हो, यहीँ पशुपति बनाएर नेपालको पशुपति रूपमा हामीले पूजा गर्छौं’ भनेर उनीहरू भन्छन्।म सैनिक शासन लागिरहेको अवस्थामा एकपटक त्यहाँको एउटा मन्दिरमा पुगेको थिएँ। नेपाली आउँदैछ भनेपछि केही नेपाली भाषीहरू त्यहाँ जम्मा भएका थिए। म र मेरी श्रीमती दुई जना थियौं। ‘उहाँहरू पशुपतिको देश, हाम्रो पितृको देशबाट आउनुभएको’ भनेर हाम्रो हात समातेर उनीहरूले ढोग गरे।

‘अब हामी पशुपति त जान सक्दैनौं होला, दर्शन गर्न सक्दैनौं होला, तपाइँहरू त्यहाँबाट आउनुभएको, तपाइँहरूकै हात छोएर, तपाइँहरूकै हात दर्शन गरेर हामी पवित्र हुन्छौं’ भने उनीहरूले। त्यसो गर्दा हाम्रो आँखाबाट आँशु झर्यो।

त्यहाँका नेपालीले औपचारिक विवाहमा गुन्यू चोली, नेपाली टोपी, दौरा सुरवालसंगै खुकुरी पनि भिर्ने गर्छन्। अनि उनीहरू हरेक वर्ष अनिवार्य देउसी खेल्छन्। उनीहरूले डेढसय वर्ष अगाडि देखि जुन तरिकाबाट देउसी खेल्दै आएका छन् , त्यो तरिका परिवर्तन भएको छैन। हामी यहाँ बरु फरक आधुनिकतामा प्रवेश गरिसक्यौं तर, त्यहाँ भने पुरानै छ।

त्यहाँका नेपालीलाई आदिवासी म्यानमारका जनताको तुलनामा केही न केही विभेद भने छ। तर, भारतीय र चिनियाँको तुलनामा भने कम छ। नेपालीलाई आर्मीमा लिन्छ। तर, मेजर भन्दा माथिको तहमा भने लैजाँदैन। कोही एकदुई जना कर्नेलसम्म भएका छन्।

नेपालीलाई आदिवासी म्यानमारका जनताको तुलनामा केही न केही विभेद भने छ। तर, भारतीय र चिनियाँको तुलनामा भने कम छ। नेपालीलाई आर्मीमा लिन्छ। तर, मेजर भन्दा माथिको तहमा भने लैजाँदैन। कोही एकदुई जना कर्नेलसम्म भएका छन्।

एकपटक मेरो त्यहाँका गृहमन्त्रीसँग भेट भएको थियो। उनी आर्मीका लेफिट्नेन्ट जर्नेल थिए। उनले भने ‘हामी नेपालीलाई आर्मीमा ल्याउन चाहन्छौं तर, उनीहरू अचेल त्यति राख्दैनन’ भनेका थिए। संख्या कम हुँदै गयो भन्ने उनको गुनासो थियो।

मैले उनीलाई अप्रत्यक्ष रूपमा त्यहाँ भएको विभेदको कुरा राखेको थिएँ। उनीहरूकै बराबर क्वालिफाइड छन् भने उनीहरू त्यहाँभन्दा माथि किन जान नपाउने त ? मैले त्यस्तो कुरा राख्दा उनले टोलाएर हेरे मात्रै। पछि म त्यहाँबाट बाहिरिएर निस्कने क्रममा उसको पिएले मेरो भनाइलाई कडा बोलेको भनेर प्रतिक्रिया दिएको थियो।

नेपाल र म्यानमारबीचको आर्थिक सम्बन्ध भने अन्य देशको तुलनामा निकै कमजोर रहेको छ। म्यानमार प्राकृतिक स्रोतमा निकै धनी छ। सुन, रुवी, जेप लगायतका खनिजमा म्यानमार निकै धनी छ। त्यहाँ सैनिक शासनको कारणले द्विपक्षीय र बहुपक्षीय सम्बन्धहरू कमजोर छन्। सैनिक शासन भएको अवस्थामा आवतजावतमा नै कठिन अवस्था छ।

तर, म त्यहाँ भएको बेलामा नेपाल र म्यानमारबीचमा प्रत्यक्ष व्यवसायको सुरुवात भएको थियो। त्यहाँको आर्मीको जनरल उपराष्ट्रपति भएको अवस्था थियो। उनी सहितका विभिन्न व्यवसायी संगठनहरूबीच नेपालसँग कसरी द्विपक्षीय व्यापार गर्न सकिन्छ भन्ने छलफल भएको थियो।

अहिले हामी जुन भारतबाट ल्याइएको दाल भनेर खान्छौं, त्यो बर्माबाट आएको दाल हो। हरेक वर्ष भारतले बर्माबाट १५ देखि २० लाख टन दाल ल्याउने गर्छ। मेरो कार्यकालको समयमा त्यहाँबाट नेपालमा विभिन्न किसिमको दाल ल्याउने कोसिस भयो।

अहिले हामी जुन भारतबाट ल्याइएको दाल भनेर खान्छौं, त्यो बर्माबाट आएको दाल हो। हरेक वर्ष भारतले बर्माबाट १५ देखि २० लाख टन दाल ल्याउने गर्छ।

उद्योग वाणिज्य महासंघका त्यतिबेलाका अध्यक्षलाई धेरैपटक भने मैले। त्यहाँको उद्योग वाणिज्य महासंघ जस्तै व्यापारिक प्रतिनिधिमूलक संस्थाले नेपालको प्रतिनिधि बोलाइदिन आग्रह गरेका थिए। तर, यहाँबाट भने कोही पनि गएनन्।

मैले बरु उताबाट नेपालमा डेलिगेसन पठाउनको लागि सहजीकरण गरेँ। त्यहाँको राष्ट्रपति आउनुभन्दा दुई तीन हप्ता अगाडि १० जनाको टोली आएको थियो। पछि नेपालमा दोस्रो लगानी सम्मेलन हुँदा २६ जनाको टोली लिएर आएको थिएँ। त्यो टोलीमा मन्त्री पनि आएका थिए।

सोही लगानी सम्मेलनपश्चात म्यानमारबाट सिधै दाल ल्याउने विषयमा सो प्रतिनिधिमण्डल र यहाँका व्यवसायीबीचमा छलफल भयो। रंगुनबाट सिधै विशाखापटन, त्यहाँबाट रेलमा सिधै वीरगञ्जको सुख्खाबन्दरगाहमा ल्याउने भन्ने छलफल भयो। त्यसो गर्दा भारतमा खोल्नै परेन। त्यो वर्ष विभिन्न किसिमका झण्डै ८० हजार मेट्रिक टन दाल नेपाल आयो। दाल आउने क्रम यसरी सुरुवात भयो।

म्यानमारसँगको द्विपक्षीय व्यापारमा गर्न सकिने धेरै छ। हामीकहाँ थाइल्याण्डबाट सामुद्रीक विभिन्न वस्तुको आयात हुन्छ। जबकी म्यानमारबाट नै धेरै मात्रामा त्यस्ता वस्तु थाइल्याण्ड लगायत धेरै देशमा पुग्ने गरेको छ। त्यहाँ टिक काठ निकै धेरै पाइन्छ।

नेपालमा भने धेरै कुराको उत्पादन भएको देखिँदैन। यहाँ केही हातले बनाएका सामग्री, पश्मिना लगायतका सामग्री एकपटक म जाने क्रममा त्यहाँ भित्रिएको थियो। त्यहाँका मान्छेले नेपाली वस्तु भनेपछि निकै मन पराएका थिए। त्यहाँका नेपाली निकै धनी छन्। ती नेपालीको लगानी यहाँ भित्र्याउन सकिने सम्भावना छ। खासगरी रुवीको व्यवसाय गर्ने एउटा टोलीले गुल्मीको एउटा पहाडमा अध्ययन गरेर गएको थियो। उनीहरूले सो पहाडमा रुवी हुनसक्ने र आफूहरूको अनुभवले उत्खनन् गर्न सकिने धारणा राखेका थिए। तर, त्यहाँ काम गर्नको लागि स्थानीय र सरकार दुवैले दिँदैनन्।

‘हामीसँग यहाँ काम गरेको यत्रो अनुभव छ, हामीलाई बोलाएर गर भन्यो भने हामी नेपालको लागि खुसीसाथ गर्छौं तर, हामीलाई गर्न नै दिँदैनन्’ भन्ने उनीहरूको भनाइ छ। कतिले यहाँ लगानी गरेर डुबाएका पनि छन्। कतिपयलाई यहाँ कमाएको पैसा नेपालमा लगेर लगानी गर्दा डुब्छ, लगानी गर्न सकिँदैन भन्ने पनि परेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ५७ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा