अल्मलिए पूर्वराजा : मनमा प्रसाईं, मुखमा लिङदेन ! | Khabarhub Khabarhub

अल्मलिए पूर्वराजा : मनमा प्रसाईं, मुखमा लिङदेन !

ज्ञानेन्द्र शाहमाथि प्रश्न– अब राप्रपालाई बोक्ने कि दुर्गा प्रसाईँलाई ?


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहमा राजगद्दीमा फर्किने भोक जागेको छ । गत फागुन ६ गतेको भिडियो सन्देशमा उनले ‘राष्ट्र बचाउनका लागि सबैको साथ सहयोग’ मागेका छन्, जसले पुष्टि गर्छ, उनी फेरि राजा बन्न चाहन्छन् । नयाँ वर्षको भिडियो सन्देशमा पनि उनको सत्तामा फर्किने चाहना प्रकट भएको छ ।

तर, राजगद्दीमा फर्कने चाहना राखेका शाहले फागुनयता चालेका अपरिपक्व कदमहरु हेर्दा उनको सपना पूरा हुने भन्दा पनि फस्दै जाने जोखिम बढेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यस्तो राजनीतिज्ञ मानिन्छ, जसले विगतमा आफ्नै अदुरदर्शिताका कारण नारायणहिटी छाडेर नागार्जुन जानु परेको हो । र, अहिले पनि पूर्वराजाका कदमहरू अपरिपक्व र अस्थिर देखिन थालेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा चैत १५ गते काठमाडौंको तीनकुनेमा जुन हिंसात्मक ताण्डव मच्चियो, त्यसले ‘दुर्गा प्रसाईं’ र ‘नवराज सुवेदी’ नामका पूर्वराजाका दुईवटा कार्ड ‘ढुस’ बनेका छन् । उक्त घटनाले ज्ञानेन्द्र शाहलाई रक्षात्मक अवस्थामा पुर्‍याइदिएको छ ।

नयाँ वर्ष ०८२ को उपलक्ष्यमा पूर्वराजा शाहले अर्को भिडियो सन्देश जारी गरे, जसमा चैत १५ को घटनाप्रति दुःख व्यक्त गर्नुका साथै शान्तिपूर्ण बाटोमा हिँड्नुपर्ने बताइएको छ । शाहको यो निष्कर्षले दुर्गा प्रसाईको ‘विद्रोह’लाई स्वतः नजायज करार गरिदिएको छ । तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने सत्ताधारी दलले बताइरहेका बेला पूर्वराजाले पनि दुर्गा प्रसाईं र नवराज सुवेदीको साथ छाडिदिएका छन् ।

प्रसाईं र सुवेदीको बचाऊमा लाग्न नसकेपछि पूर्वराजाले राप्रपाका नेताहरुलाई साथ लिन खोजेका छन् । तर, राप्रपा नेताहरुले चाहिँ प्रसाई र सुवेदीसँगको साइनो के हो भनेर पूर्वराजालाई सोधेका छन् । र, पूर्वराजाले राप्रपालाई फुटाउन खोजेको हो कि भन्ने राप्रपा नेताहरुमा डर छ । यसको मतलव पूर्वराजाले राप्रपाको विश्वास पूर्णरुपमा प्राप्त नगर्न नसकेको स्थिति छ ।

संवैधानिक राजसंस्थाको कुरा गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो असफल ‘माइक्रो म्यानेजमेन्ट’ दुर्गा प्रसाईका सम्बन्धमा रह्यो । चैत पहिलो साता निर्मल निवासबाट निस्केर प्रसाईंले आफूलाई आन्दोलनको ‘जनकमाण्डर’ नै घोषणा गरे ।

त्यसअघि नै फागुन २५ मा पोखराबाट फर्केका पूर्वराजालाई एयरपोर्टमा स्वागत गर्ने क्रममा प्रसाईंले कमल थापा, राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीलाई गाली गर्दै राजाको असली विश्वासपात्र आफू मात्र रहेको दाबी गरेका थिए । तर, ज्ञानेन्द्रको नाम लिएर राप्रपाको नेतृत्वलाई लल्कार्दै ‘विद्रोह’को घोषणा गरेका प्रसाई र सुवेदीबाट स्वयम् ज्ञानेन्द्र नै बदनाम बन्ने अवस्था चैत १५ गतेको हिंसात्मक घटनाबाट उत्पन्न भयो ।

प्रसाईँ र सुवेदी बोक्नु न टोक्नु !

दुर्गा र नवराजको कार्ड असफल भएपछि बल्ल पूर्वराजा ज्ञानेन्द्रले गत शुक्रबार राप्रपाका ७ नेतालाई निर्मल निवासमा बोलाएर डिनर खुवाएका छन् । तर, त्यहाँ राप्रपा नेताहरुले दुर्गा प्रसाई र नवराज सुवेदीसँगको सम्बन्ध के हो भनेर सोध्दा ज्ञानेन्द्रले कुरा चपाएको नेताहरु बताउँछन् ।

गत शुक्रबार बिहानै पूर्वराजाले निर्मलनिवासमै खाना खानेगरी राप्रपाका ७ जना नेतालाई सचिवालयमार्फत निम्तो पठाए । शाहले निम्तो दिएपछि राप्रपाका नेताहरु उत्साहित हुँदै एकैसाथ बिहान ११ः५० मा निर्मलनिवास छिरे । त्यहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसदहरु विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही उपस्थित थिए ।

राजतन्त्र फर्काउने आन्दोलनको संयोजक पूर्वराजाले पूर्वपञ्च नवराज सुवेदीलाई र जनकमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकेको विषयमा उक्त भेटमा कुराकानी भएको स्रोतको भनाइ छ । निर्मल निवास पुगेर फर्केका राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले प्रसाईं र सुवेदीलाई आफूले कमाण्डर नबनाएको दाबी गरेका थिए ।

अहिले सकसमा परेपछि पूर्वराजालाई राप्रपा र अध्यक्ष लिङ्देनको आवश्यकता परेकाले नेताहरूलाई निर्मल निवास डाकेको नेताहरूको बुझाइ छ । ‘राजाले हाम्रो आवश्यकता महसुस गरिबक्सेको रहेछ, सांकेतिक रुपमा नवराज र दुर्गाको कमिटी आफूले बनाएको होइन भन्नुभयो,’ ‘पूर्वराजा भेट्न गएका एकनेताले खबरहबसँग भने, ‘सुवेदी र प्रसाईंको कमाण्डिङबारे मलाई थाहा छैन भन्नुभयो । राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनको भने प्रशंसा गर्नुभयो ।’

पूर्वराजा शाहले राप्रपाले गरेको आन्दोलनको प्रशंसा गरे पनि लिङ्देनलाई नै नेतृत्व गरेको आन्दोलन अगाडि बढाऊ भने भन्न नसकेको नेताहरू बताउँछन् । ‘हामीले गरेको शान्तिपूर्ण आन्दोलनमा माहोल बिर्गान दुर्गा प्रसाईं परिचालन भएको कुरा सकैले बुझेका छन्’ राप्रपाका एक शीर्ष नेता भन्छन्, ‘हाम्रो भेटघाट करिब अढाई घण्टा भएको थियो । उहाँले दुर्गा प्रसाई र नवराज सुवेदी मात्र होइन, जगमान गुरुङजीको नेतृत्व पनि आफूले बनाएको स्वीकार गर्नुभएन ।’

राप्रपा नेताहरूका अनुसार शाहले आफूले कुनै पनि व्यक्तिलाई जनकमान्डर तोक्ने काम आफूबाट नभएको पटक–पटक भनेका थिए । राप्रपाका नेता थप्छन्, ‘दुई अर्थ दिने कुरा गरेपछि हामी पनि सप्राइज्ड भइयो, हामीले त दुर्गा, नवराज र जगमान गुरुङको टिम उहाँले नै बनाएको सूचना पाएका थियौँ, तर स्वीकार गरिबक्सेन ।’

प्रसाईं निर्मल निवासबाट निस्केको फोटोसमेत आएको राप्रपा नेता शाहीले भेटमा चर्चा गरे । जवाफमा शाहले मसँग त भेट भएको छैन भनेका थिए । ‘दुर्गा प्रसाईंले पूर्वराजाका कुनै कर्मचारीसँग भेट गरेको हो कि भन्ने कुरा भयो’ राप्रपा नेता खबरहबसँग भन्छन्, ‘मैले भेट गरेको छैन, कहिले आए दुर्गा प्रसाईं भन्दै प्रतिप्रश्न गर्नुभयो ।’

पूर्वराजा शाहले राप्रपाले गरेको आन्दोलन शान्तिपूर्ण भएको भन्दै खुसी व्यक्त मात्रै गरेनन्, आन्दोलनमा प्रहरीलाई फूल दिन आग्रह गरे । उनले हिंसात्मक व्यवस्था टिकाउ नहुने समेत भन्न भ्याए ।

राप्रपाका नेता भन्छन्, ‘राजाले यस्तो गतिमा देश बन्दैन, अब कसरी अगाडि जाने राजेन्द्र, तिमीहरू के हेरेर बसेका छौँ भनेर प्रश्न गर्नुभयो । त्यसपछि राजेन्द्रजीले हामीसँग बहुमत छैन सरकार, हामीले आवाज उठाउने हो, सदनबाट उठाएका छौँ भन्ने जवाफ दिए । त्यसपछि शाहले राजा सबैको साझा संस्था हो भन्दै आन्दोलन पनि साझा हुनुपर्छ र अब हामी पृथ्वीपथमा जानुपर्छ, आयातीत सिद्धान्तले देश बन्दैन भनेका थिए ।’

पूर्वराजा शाहका साथमा नातिनी शीताष्मा पनि थिइन् । तर, कोमल शाह भने देखिइनन् । ज्ञानेन्द्र शाहले सँगै बसेर ७ जना नेतासँग खाना खाए । नेता पशुपति शमशेरले भने औषधी खानुपर्ने भएकाले खाना खाएनन् । शाहका घरमा पकाइएको खानामा तामाको तरकारी, काउली र आलुको तरकारी, साग, सिमी, कुखुराको मासु र दुई थरी दाल थियो । सेरामिक्सको थाल (झर्के थाल) मा खाना पस्किइएको थियो ।’

मुखमा ‘संवैधानिक’, व्यवहारमा ‘माइक्रो म्यानेजमेन्ट’

गत फागुनमा सक्रिय बन्ने घोषणा गरेका पूर्वराजाले नयाँ वर्षको शुभकामना सन्देशमा पृथ्वीपथको चर्चा गर्दै ‘संवैधानिक राजसंस्था’प्रति प्रतिवद्धता जनाएका छन् ।

तर, उनले ०५९ सालदेखि ०६३ सालसम्म किन संवैधानिक दायरा उल्लंघन गर्दै सक्रिय शासन चलाए ? त्यतिबेलै संवैधानिक राजसंस्थाप्रति किन प्रतिवद्धता जनाएनन् र अहिले आएर जनाउँदैछन् ? के त्यसबेला गल्ती भएको थियो भनेर पूर्वराजाले आम जनतासँग माफी माग्न सक्छन् ? होइन भने ज्ञानेन्द्र शाह संवैधानिक दायरामा बस्लान् भनेर कसरी पत्याउने ? यो संशय गणतन्त्रवादीमा मात्र होइन, स्वयं राजावादीमै छ ।

उदाहरणका लागि– दुई वर्षअघि सम्पन्न राप्रपाको महाधिवेशनलाई हेरौँ । उक्त महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले ‘माइक्रो म्यानेजमेन्ट’ गरेर कमल थापालाई हराएको आरोप छ । पूर्वराजाकै प्रत्यक्ष सहयोग र ह्विपमा राजेन्द्र लिङदेन अध्यक्ष बनेको आरोप लगाउँदै कमल थापाले राप्रपा परित्याग गरेका हुन् । पार्टीमाथि यसरी सोझो हस्तक्षेप गर्ने राजसंस्था आफूले नचाहेको कमल थापाको भनाइ थियो ।

नयाँ वर्षको सन्देशमा संवैधानिक राजसंस्थाको तर्क गरे पनि पूर्वराजाले व्यवहारमा भने सक्रिय बनेर माइक्रो म्यानेजमेन्ट गरिरहेकै छन् । राजा आफैं सक्रिय भएर सत्तामा फर्कन खोज्नु र देश बचाउन मलाई सहयोग गर्नोस् भन्नु ‘संवैधानिक राजा’को चरित्र होइन । ज्ञानेन्द्रको अहिलेको भूमिका ‘मुखमा संवैधानिक तर व्यवहारमा माइक्रो म्यानेजमेन्टकर्ता’का रुपमा देखिएको स्वयं राजावादी नेताहरु नै स्वीकार्छन् ।

किनभने, फागुन ७ मा पूर्वराजाले सक्रिय बन्ने संकेत गर्दै सहयोग मागे । अर्को महिना नबित्दै राप्रपाका ८६ वर्षीय केन्द्रीय सदस्य नवराज सुवेदीले ज्ञानेन्द्रलाई भेटेपछि राप्रपा परित्याग गरेर स्वतन्त्र बनेको घोषणा गरे । लगत्तै आफूलाई आन्दोलनको संयोजक तोके । यसरी सुवेदीले राप्रपा फुटाएर अर्को समिति बनाउनुमा पूर्वराजाको आशिर्वाद रहेको राप्रपा नेताहरुको दाबी रहँदै आएको छ ।

अदुरदर्शिताको अर्को नाम

पूर्वपञ्चहरूकै कुरा सुन्दा पूर्वराजा ज्ञानेन्द्र सुरुदेखि नै अदुरदर्शी व्यक्ति हुन् । पञ्चायतकालमा व्यापार गर्ने क्रममा अवैध कार्यहरू गरेको र भूमिगत गिरोह चलाएर विभिन्न काण्डहरु मच्चाउँदै दरबारलाई बदनाम गराएको आरोप पूर्वपञ्चहरूकै किताब पढ्दा भेटिन्छ ।

दाजु वीरेन्द्रले ०४६ सालमा बहुदलीय व्यवस्था दिएकोमा ज्ञानेन्द्रलाई मन परेको थिएन । ०५८ पछि परिबन्दले राजा हुनासाथ उनले ०४७ सालको संविधान मिच्ने कार्य गरे, जसले गर्दा कांग्रेस र एमालेसमेत गणतन्त्रमा गए । यो कदमलाई पनि ज्ञानेन्द्रको अदुरदर्शिता मान्ने गरिन्छ ।

आफ्नै अदूरदर्शी कदमका कारण राजाबाट नागरिक बन्न पुगेका पूर्वराजा अहिले फेरि राप्रपाभित्र माइक्रो म्यानेजमेन्टमा लागेर आन्दोलनको बलमा पुनःस्थापित हुन खोज्दैछन् । तर, राजसंस्था आफैंले आज्न्दोलन गरेर फर्कन खोज्नु सही नहुने कमल थापाले बताउँदै आएका छन् । नेपाली जनताको चाहनामा सबैको समहमतिमा राजसंस्था फर्कनुपर्ने भन्दै विद्रोहबाट फर्कने राजसंस्था सबैको साझा हुन नसक्ने थापाले बताउने गरेका छन् ।

तर, ज्ञानेन्द्र भने आफ्नै सक्रियतामा फर्कन खोज्दै कहिले दुर्गा प्रसाईको साथ खोज्छन् त कहिले राजेन्द्र लिङदेनको ।

यसैबीच, आइतबार निषेधाज्ञा तोड्ने राप्रपाको कार्यक्रममा कम उपस्थिति देखिएपछि राजावादीहरुको आन्दोलनमा मनोवैज्ञानिक असर परेको राजावादीहरु नै स्वीकार्छन् ।

‘कार्यकर्ताहरूलाई बबरमहलमा आएर निषेधाज्ञा तोडौं भन्ने, नेताहरुचाहिँ सिंहदरबारभित्रै सुरक्षित बस्ने ?’ राप्रपाका एक कार्यकर्ताले खबरहबसँग भने, ‘आन्दोलन शान्तिपूर्ण गर्छौं पनि भन्ने अनि निषेधाज्ञा तोड्छौं पनि भन्ने ? आइतबारको प्रदर्शनमा राप्रपा नेतृत्वको अपरिपक्वता देखियो, जसले गर्दा अब दुर्गा प्रसाईको नेतृत्वमा जस्तै राजेन्द्र लिङदेनको नेतृत्वमा पनि आन्दोलन अघि बढ्ने संकेत देखिएको छ ।’

उता, पूर्वराजाको हालत त झनै अस्थिर बनेको छ । दुर्गा प्रसाईको साथ लिने या राप्रपाको ? उनी दोधारमा परेका छन् । कमल थापालाई त पूर्वराजाले महाधिवेशनमै धोका दिएर चिढ्याइसकेका छन् ।

जगमान तीनछक्क !

नवराज सुवेदी नजरबन्दमा परेपछि अहिले राजसंस्था पुनःस्थापना समितिको संयोजकमा संस्कृतिविद् जगमान गुरुङ चयन भएका छन् । सुवेदीले म पक्राउ परें, तपाईले अध्यक्षता गरिदिनुपर्‍यो भनेपछि गुरुङ अगाडि सरेका हुन् । तर, जगमान पनि भ्रममा थिए, उनलाई पक्कै पनि पूर्वराजा ज्ञानेन्द्रको साथ छ ।

अन्ततः पूर्वराजाले नवराज सुवेदीको स्वामित्व लिन नचाहेपछि जगमानले अहिले निकटस्थहरुलाई सोध्न थालेका छन्, म कसको संयोजक ? मलाई कसले संयोजक बनाएको हो ? म कसको हुँ ?

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४९ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा