बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली  | Khabarhub Khabarhub

बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनगढी– लामो समय विकास र सुविधाको गन्धसमेत नपाएको बिच्छ्या यतिबेला बिजुली बत्तीले झिलिमिली बनेको छ । जिल्लाकै सर्वाधिक विकट क्षेत्र थियो बिच्छ्या । साबिक २७ गाविस मध्येको एक बिच्छ्या हाल हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाको भूगोलले परिचित छ । त्यही बिच्छ्या गाउँ पञ्चायतदेखि बहुदलसम्म कुनै सुविधा र विकासले नजिक रहेन । समस्या र अभावमा बाँचिरह्यो । तर यतिबेला भने बिच्छ्या उज्यालो देखिएको छ । गाउँहरू बिजुली बत्तीले झिलिमिली बनेका छन् । 

जडीबुटी र पशुपालनको प्रचुर सम्भावनाको क्षेत्र बिच्छ्या अब बिजुली पुगेसँगै सडक पहुँच विस्तारको पर्खाइमा छ । यतीबेला हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाका ६ सय ८२ परिवारले बिजुली सुविधा पाएका छन् । त्यो उनीहरूलाई कल्पना बाहिरको विषय थियो । ६ सय ८२ परिवारका ३ हजार ८ सय ६७ जना उज्यालोसँगै जोडिएका छन् ।

बिच्छ्यामा हिमाली गाउँपालिकासँगको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाले विद्युत् निर्माण गरेको हो । २०८२ को जेष्ठसम्म बिजुली बाल्ने लक्ष्य थियो । तर संस्थाले निर्माण अवधि नसकिएको २ महिना भित्रै विद्युत् घरघर लाइन विस्तारसहित बिजुली बत्ती बालिसकेको छ । 

हिमाली गाउँपालिका २ मा पर्ने नातिखोलाबाट विद्युत् उत्पादन गरिएको छ । विद्युत् आयोजनाकै नाम नातीखोला लघु जलविद्युत् आयोजना राखिएको छ । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज्कै सम्पूर्ण लगानीमा निर्माण कार्य सकाएर बिजुली बल्न सुरु भइसकेको संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले जानकारी दिए । 

१ सय किलोवाट क्षमताको विद्युत्लाई बिच्छ्या क्षेत्रका बस्ती बाहेक छिमेकी जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका मासफुर बस्ती समेत लाभान्वित हुनेछ । विद्युत् निर्माणमा १४ करोड ५५ लाख रुपैयाँ लागत खर्च गरिएको छ । 

त्यही विद्युतबाट क्युडी गाउँका १ सय २० परिवारका लागि पनि लाइन विस्तार गरिने तयारी थालिएको स्थानीय अगुवा साजन थापाले बताएका छन् । पुस्तौदेखी अँध्यारोमा स्थानीयलाई उज्यालो पाएपछि नयाँ संसार भेटिएको खुसी व्यक्त गरेका छन् । 

पालिकासँगको सहकार्यमा निर्माण गरिएको विद्युतले दुर्गम गाउँको सपना पुरा गरेको र पालिकाको सिंगो विकासमा ठूलो योगदान पुर्‍याएको गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताएका छन् । मल्ल स्वयमले विद्युत् आयोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनका लागि उपाध्यक्ष राजकला सार्की, वडा अध्यक्ष सहित जनप्रतिनिधि बिच्छ्या पुगेका थिए । 

निर्माण कार्य गएको वर्ष मात्रै सुरु गरिएको हो । संस्थाले विद्युत् निर्माणका लागि सडक बाटो सम्भव थिएन । अहिलेसम्म पनि बिच्छ्या बाटो निर्माणको कुनै योजना छैन । बजेट माघ गरिए पनि आवश्यक बजेट नआउने हुँदा योजना अघि बढाउन पनि पालिकालाई समस्या छ । थोरै बजेटले कुनै काम नै नहुने हुँदा पालिकाले बिच्छ्या सडक पुर्‍याउन संघ र प्रदेश सरकारकै मुख हेरि बस्न बाध्य छ । 

हेलिकप्टर मार्फत निर्माणका समान र विद्युतका सामानहरू ढुवानी गरिएको थियो । सडक पहुँच नभएकै कारण खर्चिलो तरिकाले विद्युत् निर्माणको काम सक्नु परेको संस्थाले बताएको छ । हिमालीमै विद्युत् निर्माण गरेको कादुरीले बाजुराकै गौमुल गाउँपालिका १ र २ नम्बर वडालाई लक्षित हुने गरी विद्युत् आयोजना र पुल पुलेसा निर्माण गरेको थियो ।

कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थाले बिजुली बाल्ने काम सम्पन्न गरेसँगै बिच्छयाँमा ४ स्थानमा झोलुङ्गे पुल, खानेपानी योजनाका साथै विद्यालयमा चार कोठे शौचालय र खानेपानी व्यवस्थापन गर्ने योजना बनाएको छ । बिच्छयाँ बाजुराको पनि दुर्गम र पीछडिएको क्षेत्र भएकै कारण कादुरीले आफ्नो लगानी गरेको हो ।

कादुरी आउनु अघि बिच्छ्यामा तत्कालिन नेपाल सरकार र फिल्याण्ड सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना मार्फत विद्युत्, खानेपानी र संरचना विकासको काम थालिएको थियो । तर त्यो बीचमै अधुरै रह्यो । खरिद गरिएको विद्युतका पोलसमेत बीचमै चोरी भएका थिए ।

बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ । ती बस्तीमा समेत बिजुली पुर्‍याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरू बिजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् । 

राज्य लोड सेडिङमुक्त देशको कुरा गरिरहेको बेला देश भित्रकै भूगोलका स्थानीयले बिजुलीको उज्यालो कस्तो हुन्छ, तस्बिरमा समेत देख्न नपाएको अवस्था बिच्छ्या बासीका लागि थियो । भूगोलले टाढा पर्ने बिच्छ्यामा विकासका पूर्वाधार अन्य सुविधा र अवसरले पनि दुर्गम नै छ । 

हिमाली गाउँपालिका नेपाल सरकारका वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको गृह पालिका पनि हो । हाल हिमालीका ३ वटा वडा रहेको बिच्छ्यामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसंख्या बसोबास छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ३ : ४४ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा