निजामती सेवा ऐन जारी गर्न कर्मचारीको दबाब, संयुक्त ट्रेड युनियन सञ्जालको ११ बुँदे ज्ञापनपत्र | Khabarhub Khabarhub

निजामती सेवा ऐन जारी गर्न कर्मचारीको दबाब, संयुक्त ट्रेड युनियन सञ्जालको ११ बुँदे ज्ञापनपत्र


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

पोखरा– संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीहरूको छाता संगठन संयुक्त ट्रेड युनियन सञ्जालले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । 

प्रदेश तहका ट्रेड युनियन संगठनले प्रमुख सचिव रघुराम विष्ट र जिल्ला तहका संगठनले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् संघीय सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा ऐन निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल समस्या समाधान गर्न संसद् तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउने राज्यको उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण छ । 

तर संघीय राज्य व्यवस्था लागु भएको एक दशकभन्दा बढी भइसक्दासमेत संघीय निजामती सेवा ऐन जारी नभएर मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको उल्लेख गरिएको छ ।

संघीय निजामती सेवा ऐनको विधेयक २०८० सालको भदौमा मन्त्रिपरिषदबाट निर्णय भई फागुन महिनामा मात्र संघीय संसदमा पेश भएको र त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिमा भदौ २०८१ मा छलफल सुरु भएको उल्लेख गरिएको छ । 

तर समितिको उप–समितिले पटक–पटक उठाइएका मुद्दा बेवास्ता गरी मागहरू समावेश नगरी प्रतिवेदन पेस गर्नु दुखद् भएको जनाइएको छ । यसले सरकार र संसद् ऐनप्रति गम्भीर छैनन् भन्ने आशंका उब्जिएको जनाइएको छ ।

ज्ञापनपत्रमा अघिल्ला सहमति र अदालतका निर्देशनहरूलाई संश्लेषण गर्दै संघीय निजामती सेवा ऐनमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने ११ बुँदे मागहरू पनि उल्लेख छन् । 

निजामती कर्मचारीको परिभाषामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई समेटिनुपर्ने माग गरिएको छ । 

शाखा अधिकृत वा आठौँ तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको सदस्य हुन पाउने गरी राष्ट्रियस्तरमा सामूहिक सौदाबाजीसहितको ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने भनिएको छ । तेस्रो मागमा पदपूर्तिको प्रणालीमा स्पष्ट अनुपात निर्धारण गर्न माग गरिएको छ । 

रापअनं द्वितीय श्रेणी वा सहायक चौथो तहमा पदपूर्ति गर्दा खुला ७० प्रतिशत, अन्तर तह २० प्रतिशत र बढुवा १० प्रतिशत हुनु पर्ने; रा.प.तृतीय श्रेणीमा खुला ५०, बढुवा ४०, अन्तर तह १० प्रतिशत हुनु पर्ने र द्वितीय श्रेणीको लागि खुला १०, आन्तरिक १० र बढुवा ८० प्रतिशत व्यवस्था माग गरिएको छ । 

साथै योग्यता पुगेका सहायकस्तर र अनंकित श्रेणीका कर्मचारीहरूलाई पनि द्वितीय श्रेणीको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।

कुनै पनि पदमा पाँच वर्ष सेवा गरेका कर्मचारीलाई एक तह वृद्धि र १० वर्ष वा सोभन्दा बढी सेवा गरेका, कार्यसम्पादन मूल्यांकनमा कम्तीमा ९० प्रतिशत अंक प्राप्त गरेका कर्मचारीलाई दुई तह वृद्धि गरी तह मिलान गरिनुपर्ने जनाइएको छ । प्राविधिक सेवामा बढुवाको आधार शैक्षिक योग्यता वा तोकिएको तालिम हुनुपर्ने माग गरिएको छ ।

संघीय ऐन जारी भएपछि समायोजन भएका कर्मचारीलाई एक पटक फेरि छनोटको अवसर दिनुपर्ने भनिएको छ। छैटौँ बुँदामा सरुवा प्रणालीलाई पूर्वानुमान योग्य र चक्रीय बनाई प्रदेश तथा स्थानीय तहको सहमतिमा अन्तर तह सरुवा गर्न सक्ने व्यवस्था हुनुपर्ने भनिएको छ ।

खुला वा आन्तरिक प्रतिस्पर्धाबाट तह परिवर्तन गर्ने कर्मचारीको सेवा निरन्तरता कायम राखी निवृत्तिभरणको हक सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ । 

आठौँ बुँदामा करार सेवामा कार्यरत कर्मचारीहरूलाई एक पटक सीमित प्रतिस्पर्धाबाट स्थायी गराउने र सम्भव नभएमा स्थायी सरह उपदान दिएर अवकाश दिने तथा अस्थायी नियुक्तिमा लोकसेवा आयोगको सूची प्रयोग गर्नुपर्ने भनिएको छ ।

२०७६ सालमा नियुक्त भई दोहोरो सहमतिमा स्थानीय तहमा खटाइएका कर्मचारीहरूलाई स्थायी रूपमा सोही तहमा पदस्थापन गर्नुपर्ने माग गरिएको छ । दसौं बुँदामा स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवाभित्र समावेश गरी विशिष्टीकृत सेवाको रूपमा विकास गर्नुपर्ने भनिएको छ । 

अन्तिम ११औँ बुँदामा भने विशिष्ट श्रेणीमा सृजना हुने अतिरिक्त सचिव पदको सेवा अवधि तोकिने व्यवस्था संघीय निजामती सेवा ऐनमार्फत गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा यदि मागहरू तत्काल सम्बोधन नगरिएमा संयुक्त ट्रेड युनियन सञ्जाल थप चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ । साथै त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी संसद् र सरकार आफैँले वहन गर्नुपर्ने स्पष्ट पारिएको छ।

संघीय निजामती सेवा ऐनको आवश्यकता र राष्ट्रसेवक कर्मचारीहरूको चासोलाई गम्भीरतापूर्वक लिई संसद् र सरकारले छिटो निर्णय गर्ने वातावरण निर्माण गर्नु पर्ने मागसहित उक्त ज्ञापनपत्र हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ०४ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक