शिक्षकलाई यातायात मजदूरको प्रश्न– भूइँमान्छेको पेटमा लात्ती किन हानेको ? | Khabarhub Khabarhub

शिक्षकलाई यातायात मजदूरको प्रश्न– भूइँमान्छेको पेटमा लात्ती किन हानेको ?


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

आन्दोलनको बीसौं दिन सधैँ झैँ शिक्षकहरू पुरै सडक अवरुद्ध गरेर बसेका थिए । उनीहरूले प्रदर्शन क्रममा लगाएको नारा सापट लिने हो भने यस्तो छ-आन्दोलनको बीस दिन भइसक्यो, विद्यार्थी बोर्डिङले लै सक्यो’ । 

तर सोमबार उनीहरूको नाराभन्दा फरक दृश्य देखियो ।  सरकारी स्कुलको चिन्ता गर्ने एक जना अभिभावक तिनै शिक्षकको दुर्व्यवहार खेप्न बाध्य भए ।

यो दृश्यले नारा एकातिर, प्रवृत्ति अर्कातिर देखियो । आफूलाई ललितपुर गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयको अभिभावक बताउने एक व्यक्तिले भीडमै आएर आन्दोलन नगर्न आग्रह गरे । त्यो अनुरोध शिक्षकहरूलाई पाच्य भएन । 

उनीहरूले ती व्यक्तिमाथि ठेलठाल मात्र गरेनन् आन्दोलन भड्काउन आएको भिजिलान्ते भनेर हात नै छोडे ।  

शुरु शुरुमा शिक्षक आन्दोलनले शिष्टताको धेरैले बयान गरेका हुन् । प्रदर्शन शान्त, सौम्य थियो । 

तर प्रधानमन्त्री, मन्त्री, नेता जन्माएको सगौरव नारा लगाउने शिक्षकहरू नपढाएको दिनको पारिश्रमिक नलिने घोषणा गरेको सुन्न पाइएको छैन । एउटा अभिभावकले आफ्नो सन्तान शिक्षकलाई जिम्मा लगाउँदा कति सपना देखेको हुन्छ भन्ने सत्यबाट उनीहरू पक्कै विमुख छैनन् । 

तथ्यांकले के भन्छ भने महँगो भनिने निजी विद्यालयभन्दा सरकारी स्कुलका विद्यार्थीको प्रत्येक टाउकोमा देशको लगानी बढी छ । शिक्षकहरूको तलबमानमा आकाश जमिनको फरक छ । उनीहरू आफ्नो वर्गीय हितको विषयमा माग राख्न स्वतन्त्र छन् नै । यसो भन्दैमा अभिभावकका गुनासो नजरअन्दाज गर्ने अधिकार उनीहरूमा छैन । ती अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थिति साम्य त भयो, तर उनले उठाएको प्रश्नको  उत्तर कसले दिने ?

अब लागौँ अर्को प्रसंगमा । शिक्षकले आफ्नो आन्दोलनको शैलीमा जति नै गर्व गरे पनि आफ्नो सन्तानका लागि रोजीरोटीमा दौडिएका धेरै मजदुरहरूको बिचल्ली भएको छ । एम्बुलेन्स समयमै अस्पताल पुग्न पाएको छैन ।

सेवाग्राहीहरूले सेवा पाएका छैनन् । विद्यार्थी समयमै स्कुल पुग्न पाएका छैनन् । एकातिर हिँडेका यात्रु अर्कातिर मोडिएका छन् । राजधानीको मूल सडकमै प्रदर्शन भएपछि खासगरी यातायात मजदुरको रोजीरोटी खोसिएको छ । 

ऋण लिएर किनिएका गाडी गुड्न नपाउँदा आर्थिक भार बढेको छ । भीडभाडले व्यापारमा पनि उत्तिकै असर पारेको छ । यातायात मजदुर त नियमितको प्रदर्शनले आफूहरूको चुलो प्रभावित भएको गुनासो गर्छन् ।  

यात्रु कुरिरहेका ट्याम्पो चालक रामप्रसाद गौतम आक्रोशमा देखिन्थे । उनी चर्को आवाजमा भन्दै थिए ‘शिक्षकले के पढाएका छन् ? विद्यार्थी जति सबै विदेश जान्छन् । हिजो मात्रै एउटा बालकलाई कखरामा कति अक्षर हुन्छन् भनेर सोधेको ३२ वटा भन्छ । यही हो शिक्षकले पढाएको ? सडकमा हल्लिएर खाएर पुगेको छ भने किन पढाउनु ? हामीलाई दिनको ४ हजार ४ सय नकमाए साहुले तलब नै दिँदैनन् । भुँईमान्छेको पेटमा लात हानेर आफ्नो माग राख्नु कत्तिको जायज तपाई नै भन्नुस् अब ।’

अनामनगर हुँदै ट्याम्पो चलाउने भीम कुमाल आन्दोलनले गर्दा आफूलाई समस्या परेको गुनासो गर्न शिक्षकको आन्दोलनमै पुगेको बताउँछन् ।

दिउँसो आन्दोलन गर्दा प्रभाव अलि कम भएको बताउँदै उनले भने ‘शिक्षकले शिक्षा सुधारको माग राख्न सक्छन्, तर त्यसको मूल्य हामीजस्ता मजदुरले तिर्नुपर्ने अवस्था हुनु न्यायसंगत होइन । म त आज बिहानै आन्दोलनमै पुगेर कार्यालय समयमा चाहिँ आन्दोलन नगरिदिन आग्रह गरेर आएको छु । हेरौँ शिक्षकको बौद्धिकता कति रहेछ ।’

अर्का टेम्पो चाल विनोद दाहालको गुनासो पनि उस्तै छ । शिक्षक आन्दोलनले गर्दा पुग्नुपर्ने ठाउँमा गाडी गुडाउनै नपाउँदा उनी आजित देखिन्छन् । ‘जुन पायो त्यही बाटो हिँड्न पनि दिँदैनन्, जामको समस्या नि उस्तै, तनाव नै तनाव भइरहेको छ । व्यवसायमै असर परिरहेको छ । भनेको समयमा ठाउँमा पुग्न नपाएपछि यात्रुको किचकिच उत्तिकै छ । भाडा पनि दिँदैनन् । हाम्रो समस्या कसले सुनिदिने र ।’

विगत २५ वर्ष देखि सवारी चालकको रूपमा काम गर्दै आएका दिनेश श्रेष्ठ मुख्य सडक ठप्प हुँदा साँघुरा गल्लीमा दुईतर्फी सवारी चलाउन समस्या भएको बताउँछन् । 

यही कारण यात्रुको संख्यामा गिरावट आएको जिकिर गर्दै उनले भने ‘अब त यात्रु पनि गाडी बानेश्वर जान्छ भनेर सोध्नै छाडिसके । गाडी चढ्दा ढिला हुन्छ भनेर यात्रु हिँडेर जाने रहेछन् । यात्रु नभएपछि बसपार्क मै गाडी भरिन समय लाग्छ । अरुबेला ४ टिप गर्नेले ३ टिप पनि भ्याउन मुस्किल छ । यस्तो भएपछि हाम्रो व्यापार चौपट भएन ?’

नगरक्षेत्रमा सवारी चलाउँदै आएका भक्तपुरका जीवन श्रेष्ठ शिक्षक आन्दोलनका कारण सिर्जना भएको ट्राफिक जामले यातायात मजदुरलाई मात्रै नभई आम नागरिकलाई समेत समस्या भएको बताउँछन् । 

जामले अस्पताल धाउने बिरामी देखी ज्यालादारी गर्ने मजदुरसम्मलाई समस्या परेको उनको तर्क छ । श्रेष्ठ शिक्षकसँग मात्र नभई सिंगो राज्यसत्ता सँग नै रुष्ट देखिन्छन् । ‘सरकार गतिलो भइदिएको भए शिक्षक पनि घर जान्थे, हामीले पनि मजाले गरेर खान पाउँथ्यौँ ।

शिक्षक आन्दोलनको समाधान खोज्न तालुकदार चनाखो नबन्ने हो भने शिक्षण संस्था मात्र नभई यातायात र अन्य दैनिक सेवा प्रवाहमा समेत दीर्घकालीन असर नपर्ला भन्न सकिन्न ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : २७ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा