राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो « Khabarhub

राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् । 

राष्ट्रियसभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन् । 

उनले भने, ‘हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो । जसले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र दिगो विकास गर्ने, पर्यटकलाई सहज बनाउने र मुलुकको आर्थिक स्थिति बलियो बनाउने गरी काम गर्नेछ ।’

मन्त्री पाण्डेले पर्यटन ऐनलाई राम्रो बनाउनका लागि राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै भने, ‘दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउने छौँ । समितिमा लगेर छलफल गर्नेछौँ । मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सुदृढ बनाउनका लागि संशोधन गर्न तयार छौँ ।’

यो विधेयक प्रणालीलाई बलियो बनाउने दायित्व बोध गरेर ल्याइएकोसमेत मन्त्री पाण्डेले बताए । उनले थपे ‘विधेयकमाथि छलफल गर्दा हाम्रो प्रणालीलाई बलियो बनाउने दिशामा उन्मुख हुनुपर्नेछ । अर्को महत्त्वपूर्ण कुरा सुशासनको पाटो खड्कीएको छ । त्यसका लागि प्रभावकारी संरचना बनाउने र कार्यान्वयन गर्ने गरी विधेयकलाई सुदृढ बनाउने गरी काम गरौँ भन्न चाहन्छु ।’

पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्र मैत्री व्यवस्था पनि मिलाउनुपर्नेसमेत मन्त्री पाण्डेले बताएका छन् । उनले थपे, ‘निजी क्षेत्रलाई मन खोलेर लगानी गर्नसक्‍ने वातावरण बनाउने र भरोसा दिलाउने काम हामीले गर्नुपर्नेछ । यसलाई कानुनको माध्यमबाट स्थापित गर्नेछौँ । पर्यटनमैत्री वातावरण हामीले सिर्जना गर्नेछौँ ।’

मन्त्री पाण्डेले पर्यटकीय र सांस्कृतिक रूपमा सम्पन्न नेपाल दुनियाँभरको आस्थाको केन्द्रको रूपमा रहेको औँल्याउँदै भने, ‘हामीले दुनियाँभरका मानिसहरूलाई नेपाल निम्त्याउनु पर्नेछ । हाम्रा कला र सम्पदाहरू अद्वितीय छन् । भूकम्पले ढलेका पुरातात्त्विक सम्पदाहरूलाई पनि उठाएका छौँ । हाम्रा ढलेका सम्पदाहरू त्यही स्वरूपमा र कौशलमा बनेको देख्दा देशमा अरनिकोहरू पनि अहिले पनि छन् भन्ने आभास भएको छ ।’

‘पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘अहिले केही क्षेत्र मात्र पर्यटकीय क्षेत्र भएकोजस्तो भएको छ । हामीले थोरै मात्र हिमालहरूमा पर्वतारोहणको स्थिति छ । यस पटक हामीले ५७ वटा हिमालहरू खुला गरेका छौँ ।’

नेपाल पर्वतारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले बताए । त्यसैगरी अपाङ्गता भएका मानिसहरूका लागि पनि उपयोग हुने र अपाङ्गता भएका पर्यटकहरू पनि सहजरुपमा आवतजावत गर्नसक्‍ने संरचना निर्माण गर्नुपर्ने मन्त्री पाण्डेले बताए । 

क्यासिनोलाई धेरै विवादित बनाउन नहुने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसको नियमनमा हामीले ध्यान दिनुपर्नेछ । मकाउको जीडीपीको अधिकांश हिस्सा क्यासिनोले समेट्ने गरेका छौँ । त्यसकारण क्यासिनो बन्द गर्नेभन्दा पनि नियमनमा ध्यान दिनुपर्नेछ । हामीले विधेयक निर्माणका सन्दर्भमा ध्यान दिन्छौँ ।’

मन्त्री पाण्डेले पुरातात्त्विक सम्पदा जोगाउँदै विकासका नयाँ बाटाहरूको खोजी गर्नुपर्ने उल्लेख गर्दै भने, ‘सन्तुलन कायम गर्नुपर्छ । नदी जोगाउने मात्रै कि ऊर्जा उत्पादन गर्ने कि जलयात्रा बढाउनेजस्ता कामहरूमा हामीले केन्द्रित हुन आवश्यक छ । पुरातत्त्व जोगिएन भने हाम्रो सभ्यता मर्दै जान्छ । पर्यटकहरूका लागि सजिलो बनाउने र हाम्रा मौलिकता पनि जोगाउने विषयमा ध्यान दिन आवश्यक छ ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : १९ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले