चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ | Khabarhub Khabarhub

चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी नदी पहिले पूर्वामिमुखी भएर बग्दथिन् । प्राचीन कालको आवागमनको साधनमा प्रमुख पनि नदी र डुङ्गा नै हुन् । मोरङ जिल्लाको कोशी किनारको चतरालाई मोरङमा चतरागद्दी भनिन्छ । आजकल त्यहाँ औलिया बाबाको मठ र गद्दी भएकाले नै गद्दी भनिएको हो भन्ने कसैको अनुमान छ । तर औलिया बाबालाई दिएको गुठ आदि नै मकवानी सेनहरूले दिएका हुन् । अर्को कुरा वर्तमान चतरा साविकको चतरा होइन र त्यहाँ भएका पुरातत्वका सामग्री अन्तबाट सारिएका हुन् ।

(मातृका प्रसाद कोइराला, ‘मकवानपुरको सेनवंश,’ प्राचीन नेपाल, सङ्ख्या ४, श्रावण २०२५, पेज १६)

आर्थिक स्रोतको अभावमा औलिया मठ व्यवस्थित छैन । सङ्घीय सरकारको पर्यटन विभागबाट औलिया मठभित्र वाक–वे, पार्किङ, धुनी, विवाह मण्डप, शौचालय र गेट निर्माणका लागि २ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन भयो । तर स्थानीय कामप्रति सन्तुष्ट छैनन् । औलिया मठ चतरागद्दीको इतिहासमा पहिलो पटक राज्यको ठूलो लगानी पनि सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित खारखोलामा रहेको चतरा मालमेनेजरी गुठीअन्तर्गतको जग्गा, उपभोगविहीन अवस्थामा

चतरा माल मेनेजरी गुठी (औलिया गुठी) को नाममा रहेको झण्डै १५–१६ सय बिघा जग्गा सुनसरी, सप्तरी, उदयपुर मोरङ, सिरहा, बारालगायतका स्थानमा रहेको तथ्य छ । त्यसको सबै आयआम्दानी गुठी संस्थानको स्वामित्वमा छ ।

प्रजातन्त्र आएपछि ०४६ सालदेखि यता सम्बन्धित भूमिसुधार मन्त्रीको मातहतमा रहने भएकाले मन्त्रीले आफ्ना नातेदारलाई गुठीको अध्यक्ष नियुक्त गरेको आरोप लाग्दै आएको छ । अहिले ती सबै जग्गा मोहीका नाउँमा दर्ता भए । मालपोत मात्र २५ रुपैयाँ देखि ३० रुपैयाँ’ बिघाका हिसाबले तिर्नुपर्ने हुँदा गुठीको आम्दानीको स्रोत घटेको छ ।

औलिया मठका पूर्वमहन्त मुकुन्द भारती गुठी संस्थानमा सबै लगत रहेको बताउँछन् । सरकार र गुठी संस्थानले जग्गाको खोजी र सदुपयोग गर्न सकेको छैन । सबै जग्गा मोहीका नाममा दर्ता गरिदिए पछि आम्दानीको स्रोत मालपोत मात्र हो । सम्बन्धित जिल्लाका मालपोतल कार्यालयले गुठी संस्थानलाई दिन्छ र गुठी संस्थानले पूजा–खर्च शीर्षकमा केही रकम विनियोजन गर्ने गरेको छ ।

औलिया मठको नजिकै झण्डै तीन किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको साविक तित्रीखेत मौजाअन्तर्गत पर्ने जग्गासमेत स्थानीय सामुदायिक वनले आफ्नो क्षेत्राधिकारमा पारेको दाबी गर्दै आएको छ । नजिकैको भौतिक सम्पत्तिबाटसमेत औलिया गुठीले आम्दानी लिन सकेको छैन ।

प्रचार प्रसार र सरकारले प्रवर्द्धन गर्न नसक्दा मन्दिरमा भक्तजनको सङ्ख्यासमेत बर्सेनि घट्दै गइरहेको छ । गुठी संस्थानले मठमा वार्षिक १७ वटा पूजापर्व चलाउँछ । तर ती पर्वमा भक्तजनलाई भित्र्याउन स्थानीय तह र निकायहरू सक्रिय छैनन् । वि.सं. १८२१ सालमा हालको चतरामा स्थापना गरिएको मठ ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ ।

धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्रमा मठमन्दिरको उल्लेखीय सङ्ख्या छन् । पुराना मठमन्दिरहरूलाई बेवास्ता गरिएको स्थानीयको आरोप छ । पुराना र ऐतिहासिक सम्पदाको संरक्षण गर्न सरकार नै उदासीन छ । औलिया मठजस्तो ऐतिहासिक र पुरातात्विक मठमन्दिरको जगेर्नाप्रति सरकारले तदारुकता नदेखाएको भन्दै स्थानीय असन्तुष्ट देखिन्छन् । स्थानीय सूर्यविक्रम शाहीले गुठी संस्थान र राज्यले गरेको लगानीमा भएको काम पनि सन्तोषजनक नभएको गुनासो गरे ।

औलिया बाबाको मन्दिर हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीले प्रार्थना गर्ने मन्दिर मानिन्छ । तर मुस्लिम धर्मावलम्बीको यहाँ कुनै पनि आकर्षण देखिन्न । तत्कालीन अवस्थामा यस क्षेत्रमा औलो लाग्ने हुँदा सो रोग निवारण गर्ने बाबाका रुपमा हिन्दूहरुले औलिया बाबाका रुपमा पुज्ने गर्दथे । मुस्लिमहरूले अल्लाहका रुपमा च्यादर चढाउने गरेको सुनिन्छ । तर यहाँ पुग्ने दुवै धर्मावलम्बीलाई कुनै प्रकारले पनि आकर्षण गर्न प्रचार प्रसार गरिएको देखिँदैन ।

सङ्घीय सरकारको पर्यटन विभागद्वारा औलिया मठ परिसरमा लगाइएको टायल्स ।

गद्दीदेखि मूर्तिसम्म खण्डित

चतरा माल मेनेजरी गुठीअन्तर्गत औलिया बाबा मठ परिसरमा रहेका प्राचीन मठ मन्दिरका मूर्ति, संरचना खण्डित र गद्दी जीर्ण अवस्थामा छ ।

चतरास्थित २ सय ६० वर्षभन्दा पुरानो औलिया बाबा मठका संरचना जीर्णोद्धार नहुँदा खण्डित अवस्थामा पुगेको महन्त विनायक पुरी बताउँछन् । महन्त पुरीका अनुसार औलिया बाबाको मूर्तिदेखि मठका शिवलिङ्ग खण्डित अवस्थामा छन् ।

‘वैदिक विधि, पद्धति र शास्त्रअनुसार खण्डित मूर्ति पूजन नहुने भएकाले जीर्णोद्धारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको छ,’ महन्त पुरीले भने,’ गुठी संस्थानका पदाधिकारी र कर्मचारीले समेत अनुगमन, निरीक्षण गरिसक्नु भएको छ ।’

महन्त पुरीले जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालयमार्फत् गुठी संस्थानमा मठ, मन्दिर र धार्मिक संरचनाको जीर्णोद्धारका लागि सिफारिस माग गरिएको बताए ।

औलिया मठमा रहेको खण्डित मूर्ति अवलोकन गर्दै गुठी संस्थानका कर्मचारी (बायाँ) र, महन्त विनायक पुरी

‘वराहक्षेत्र नगरपालिका–१ स्थित चतरा मालमेनेजरी गुठीअन्तर्गत प्राचीन ऐतिहासिक श्री सिद्धतपोस्थली श्री औलिया बाबा मठ परिसरमा रहेका ऐतिहासिक पुरातात्विक र धार्मिक महत्वका मूर्ति, संरचना खण्डित र जीर्ण अवस्थामा रहेको हुँदा वैदिक विधि, पद्धति र शास्त्रसम्मत् खण्डित मूर्ति पूजन नहुने भएकाले गुठी संस्थानबाट पूनर्निर्माण र नवनिर्माण गर्ने प्रयोजनका लागि तहाँ कार्यालयबाट सिफारिस गरिदिन अनुरोध छ ।’ महन्तद्वारा लिखित पत्रमा भनिएको छ ।

महन्त पुरीले शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरद्वारा निर्मित अष्टभूजा श्री भैरवको मूर्ति, जीर्ण औलिया बाबाको गद्दी जीर्णोद्धारका लागि पत्राचार गरिएको जानकारी दिए ।

गुठीका कर्मचारीको तलब कति ?

चतरा मालमेनेजरी गुठीअन्तर्गत बराहक्षेत्र अस्थान (मन्दिर क्षेत्र) र औलिया बाबा मठ पर्छन् । गुठी संस्थानले विगतमा दुई वटा व्यवस्थापन समिति निर्माण गरिदिएको थियो ।

वराहक्षेत्र अस्थान हेर्ने गरी र चतरास्थित औलिया मठ व्यवस्थापन गर्ने गरी । यी दुईबीच विवाद थियो । चतरास्थित औलिया बाबा गुठी व्यवस्थापन समितिको पुनर्गठन गर्ने समय गुज्रिसकेको छ । त्यहाँ उक्त समिति गठन हुन सकेन । हाल वराहक्षेत्र मन्दिर क्षेत्रमा ‘वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति’ छ ।

यो व्यवस्थापन समितिले बराहक्षेत्र अस्थान र औलिया मठ गरी दुवै क्षेत्रको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर औलिया मठमा भने अपेक्षित रुपमा व्यवस्थापन समितिले रकम विनियोजन गर्ने लगायतको काम नगरेको गुनासो छ ।

बराहक्षेत्र मन्दिर र औलिया मठ गरी गुठीले नियुक्त गरेका १३ जना कर्मचारी छन् । यी कर्मचारीमा महन्तदेखि पुजारी, रकमी, खान्गीदारसम्म छन् । दुवै स्थानका महन्त बाल ब्रह्मचारी नागा बाबा विनायक पुरी हुन् । उनलाई गुठी संस्थानले मासिक चार हजार रुपैयाँ पारिश्रमिक तोकिदिएको छ ।

औलिया मठ चतरातर्फका ठूलो पुजारी र सानो पुजारीले जनही मासिक तीन हजार दुई सय रुपैयाँ पारिश्रमिक बुझ्छन् । भण्डारी, अर्दली र सुसारेलाई जनही तीन हजार रुपैयाँ मासिक प्रदान गरिन्छ ।

वराहक्षेत्र अस्थानतर्फ ठूलो पुजारीले चार हजार रुपैयाँ मासिक पारिश्रमिक लिन्छन् । सानो पुजारीको मासिक तलब तीन हजार दुई सय रुपैयाँ छ । एक सुसारे, दुई बाजेदार र दुई अर्दलीले मासिक तीन हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

गुठी संस्थानले वराहक्षेत्र र चतरा मठका लागि नित्य पूजा र भोगका लागि बजेट विनियोजन गरेको छ । नित्य पूजाका लागि मासिक ६ हजार रुपैयाँ र नित्य भोगका लागि मासिक चार हजार पाँच सय रुपैयाँ विनियोजन गरेको छ ।

यी मठ मन्दिरमा वार्षिक १७ वटा पूजा चलाउने गरिएको छ । यी सबै पूजापर्वका लागि पाँच सय रुपैयाँदेखि तीन हजार पाँच सय रुपैयाँ तोकिदिएको छ । बडादशैं पर्वका लागि भने गुठी संस्थानले वार्षिक २० हजार रुपैयाँ विनियोजन गर्ने गरको छ ।

बर्सेनि चल्छ पर्व, आम्दानीभन्दा धेरै खर्च

चतराधाममा वि. सं. १८२१ मा गद्दीको स्थापना भएपछि बर्सेनि निशान यात्रा वराहक्षेत्र मन्दिर पुर्‍याउने गरिएको छ । जनश्रूति र धार्मिक मान्यताअनुसार वराह भगवानका उपासकका रुपमा रहेका महामुनि औलिया बाबाले निशान यात्राको सुरुवात गरेका थिए ।

प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ । सप्तकन्यासहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गर्ने गर्छ ।

निशान यात्रामा सहभागी साधुसन्त

गुठी संस्थानले यस्ता महत्त्वपूर्ण पर्व चलाउन समयअनुसार बजेट विनियोजन नगरेको महन्त पुरी बताउँछन् । निशान यात्राजस्तो एउटै पर्व चलाउन लाखौं रुपैयाँ खर्च हुन्छ । साधुसन्त दक्षिणा र भरणपोषणका लागि गुठीले तोकेको रकमले काम गर्न सक्ने अवस्था नरहेको महन्त पुरी बताउँछन् ।

‘गुठीका जग्गा र सम्पत्ति खोजी गर्न म आफैं लागि परेको छु, स्रोत भेटेपछि मात्रै यहाँका नियमित पर्व चलाउन सकिन्छ,’ महन्त पुरी भन्छन्, ‘भक्तजनको समेत उतिधेरै आगमन नभएकाले दानदक्षिणालाई स्रोतका रुपमा लिन सकिएको छैन ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ४२ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र