काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बारे आन्तरिक छलफल अघि बढाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्यामकुमार घिमिरेबीच भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ बारे छलफल भएको छ ।
छलफलमा गृहमन्त्री लेखकले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले विधेयकलाई ‘फुल हाउस’बाट पास गर्ने पक्षमा देखिएको ‘ब्रिफिङ’ गरेका छन् । तर, महामन्त्री थापाले त्यसमा असहमति जनाएको स्रोतको भनाइ छ ।
उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनीहरू भूमि विधेयकलाई संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने पक्षमा छन् ।
गत असार २५ गते महामन्त्री शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गगर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । प्रतिनिधि सभा बैठकमा असार २५ गते भूमिसम्बन्धी विधेयक प्रस्तुत गरेर पारित गर्ने कार्यसूची थियो ।
कांग्रेसको असहमतिबिच सभामुख देवराज घिमिरेले भूमिसम्बन्धी विधेयकलाई सम्भावित कार्यसूचीमा राखेका थिए । तर, कांग्रेसको साथ नपाउने सम्भावना देखिएपछि उनले कार्यसूचीबाट हटाउनु परेको थियो ।
प्रतिक्रिया