काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन्।
मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि दिइन् ।
‘मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो। म अझै पनि एमालेकै कार्यकर्ता हुँ’, उनले भनिन् ।
राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको उल्लेख गरिन्। ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन्।
उनले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु। नेपाल चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन्।
प्रतिक्रिया