गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा बैठकलगायत प्रदेशसभाको कामकारबाही अनिश्चित बनेको छ । गत भदौ २५ गतेलाई प्रदेशसभा बैठक डाँकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ मा प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए ।
सभामुख कृष्णप्रसाद धितालले पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचना पूर्ण रुपमा क्षतिग्रस्त भएकाले प्रदेशसभा सचिवालयको कार्यालय सञ्चालनमा ल्याउन नसकिएको बताए । तोडफोड र आगजनी गरिएका ठाउँमा सरसफाइको काम भइरहेको उनको भनाइ छ ।
“सभामुख, उपसभामुखको आवाससम्म मर्मतसम्भार गरेर जेनतेन बस्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “प्रदेशसभाका लागि उपयुक्त भवनको खोजी गरिरहेका छौँ, जिल्ला समन्वय समिति र कृषि मन्त्रालयको हललाई विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, टुङ्गिसकेको छैन ।”
सभामुख धितालले प्रदेशसभाको नयाँ भवन हालै शिलान्यास गरी निर्माण सुरु गरिएकाले त्यो भवन नबनेसम्म वैकल्पिक व्यवस्था गर्न लागिएको बताउनुभयो । भवनको व्यवस्था भएपछि मात्र प्रदेशसभा बैठकसहित प्रदेशसभा सचिवालयका नियमित कामकारबाही सुरु हुने उनको भनाइ छ । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित रहेको सभामुख धितालले बताए ।
प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको भवन भएकाले आगलागीले पूर्ण रुपमा क्षति पु¥याएको सभामुख धितालले बताए । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।
‘जेनजी’ प्रदर्शनका क्रममा प्रदेशसभा भवनलगायत भौतिक संरचनामा पुगेको क्षतिको मुल्याङ्कन गर्ने काम भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभासहित प्रदेश सरकार मातहतका मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवसमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने कार्य भइरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बताए।
उनका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवन तोडफोड र आगजनीमा परी क्षतिग्रस्त बनेका छन् । कार्यालय भवनहरुको सरसफाइ, रङ्गरोगन र मर्मतसम्भारको काम भइरहेको प्रवक्ता डा गुरुङले बताए ।
प्रतिक्रिया