हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र प्रकाशको पर्व, उज्यालो, उत्प्रेरणा र उर्जाको उत्कर्ष , संस्कार सभ्यता र संस्कृतिको संगमका रुपमा परिचित यो उत्सवलाई पंक्तिकारले प्रष्ट्याउन खोजेको छ। प्रकृति नै समष्ट सृष्टिको आधार हो भन्ने मूल मान्यताअनुसार पञ्चतत्वको पूजासँगै देवी देवताहरूको प्रकृतिसँग सम्बन्ध जस्तै इन्द्रलाई वर्षा, वायुदेवलाई हावा, सूर्यलाई प्रकाश र शक्ति, चन्द्रलाई शीतलता आदिका प्रतीक मानेर पूजा गरिन्छ।
वनस्पति र वृक्ष पूजाका रुपमा पीपल, तुलसी, वटवृक्ष जस्ता बोटवृक्षलाई देवत्व दिइन्छ। नदी, पहाड र भूमि पूजाका रुपमा गंगा, यमुना, काली, कोशीजस्ता नदीहरूलाई देवी मानेर पूजा गरिन्छ। हिमालयलाई भगवान शिवको निवास मानिन्छ। पशुपंक्षीलाई पवित्र मान्ने परम्परा अनुरुप गाईलाई आमा, नागलाई शिवको प्रतीक, गिद्धलाई विष्णुको वाहन, हात्तीलाई गणेशको प्रतीक मानेर पूजिन्छ।
ऋतु र पर्वहरू प्रकृतिसँग जोडिएका विशेष चाडहरु दशैं, तिहार, छठ, तीज, माघे संक्रान्ति, होली जस्ता पर्वहरू सिजन, खेती र प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्दछन । त्यसैले हिन्दु सनातनी परम्पराका रुपमा केवल मूर्तिपूजामा सीमित छैन, समग्र प्रकृति नै ईश्वरको रूप हो भन्न सकिन्छ ।
नेपालमा मनाइने चाडपर्व, जात्रा र उत्सवहरू केवल आनन्दका अवसर मात्र होइनन्- ती हाम्रो इतिहास, धर्म, संस्कृति र प्रकृतिसँगको गहिरो सम्बन्धका सजीव प्रतीक पनि हुन । दशैं, तिहार, होलीदेखि वसन्त पञ्चमीसम्म हरेक पर्वले प्रकृति र मानवबीचको सामीप्यता झल्काउँछ। विशेषतः तिहार, जसलाई ‘प्रकृतिपूजाको पर्व’ पनि भनिन्छ, ऋतु परिवर्तनको सन्देश ल्याउने मात्र होइन, जीवन, प्रेम र सहअस्तित्वको उत्सव हो । जीवेम शरदः शतम् अर्थात् सयौं शरद बाँच्ने शुभकामनासँगै यो पर्वले प्रकाश, सौहार्द र समृद्धिको प्रतीकका रूपमा नेपाली मनमा उज्यालो ल्याउँछ।
पूर्वीय दर्शन र सनातन परम्परामा प्रकृति पूजा मात्र श्रद्धा होइन, यो जीवनदर्शन हो । पृथ्वीलाई “माता” मान्ने, वृक्षलाई “देवता” ठान्ने, जललाई “गङ्गा” र पशु–पक्षीलाई “जीवात्मा”को रूपमा सम्मान गर्ने हाम्रो संस्कृति मानव र प्रकृतिबीचको सन्तुलनमा आधारित छ।
तिहारका दिन काग, कुकुर, गाई र गोरूको पूजा गरिन्छ- यसले जनावरप्रतिको सहानुभूति र सहअस्तित्वको मूल्य उजागर गर्छ । घर–घरमा जगतका पाँच तत्व- पृथ्वी, जल, अग्नि, वायु र आकाशको स्मरण गर्दै दीप प्रज्वलन गरिन्छ, जसले नकारात्मक शक्तिलाई हटाएर सकारात्मक ऊर्जाको स्वागत गर्ने प्रतीकात्मक अर्थ बोकेको हुन्छ।
यसरी हेर्दा, नेपाली पर्वहरू केवल परम्परा होइनन,ती वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र सामाजिक एकताको पाठ हुन् । यज्ञ–होमदेखि वृक्षपूजा र जलस्रोतको आदरसम्मका अभ्यासहरूले दिगो जीवनशैलीको सन्देश दिन्छन । पूर्वीय संस्कृति वास्तवमै प्रकृति संरक्षणको मूलधार हो, जसले हामीलाई ‘संयममा सौन्दर्य छ, सन्तुलनमा स्थायित्व छ’ भन्ने शिक्षामा बाँध्छ। तिहार जस्ता पर्वहरूले हामीलाई सम्झाउँछन्- मानव र प्रकृति एउटै श्रृङ्खलाका दुईधागा हुन, जसको मिलनले नै जीवनको ज्योति जन्मिन्छ।
तिहारमा प्रकृतिपूजाको अद्भूत परम्परा
नेपालको संस्कृति र प्रकृति सधैं एक आपसमा मालाका फुलहरु झै गाँसिएका छन। तिहार, दीपावलीको रूपमा परिचित यो पर्व, केवल उज्यालो र मिठाइको उत्सव होइन-यो मानव र प्रकृतिबीचको सन्तुलन, प्रेम र सहअस्तित्वको गहिरो सन्देश बोकेको पर्व हो ।
तिहार हिन्दू धर्मावलम्बीहरूको जीवनमा उत्सव, आनन्द र आपसी स्नेहको प्रतीक पर्व हो । दशैंपछि आउने यो दोस्रो ठूलो पर्व कात्तिक कृष्ण त्रयोदशीका दिन ‘काग तिहार’ बाट सुरु भई शुक्ल द्वितीयाको ‘भाइटीका’ सम्म पाँच दिन मनाइन्छ, त्यसैले यसलाई ‘यमपञ्चक’ पनि भनिन्छ ।

यस पर्वमा घरघरमा दीपावलीको झिलिमिली, परिवारजनको भेटघाट, दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, र जनावरहरूप्रतिको श्रद्धा मिसिएको हुन्छ । यसले केवल धार्मिक आस्था मात्र होइन, प्रकृति, परिवार र प्रेमको उत्सव पनि बोकेको हुन्छ । नेपालमा विशेष रूपमा मनाइने यो पर्व विश्वभरका नेपाली समुदायले पनि समान उत्साहका साथ मनाउँछन् ।
तिहारको पहिलो दिन कागपूजा गरेर हामीले प्रकृतिको सन्देशवाहकप्रति सम्मान व्यक्त गर्छौं । कागलाई यमराजको दूत मानिन्छ, जसले शुभ–अशुभ सन्देश पुर्याउने विश्वास गरिन्छ। बिहानै उठेर मानिसहरू कागका लागि अन्न र मिठाई राख्छन, ताकि वर्षभर सुख–शान्ति रहोस् । चलाख र सर्वभक्षी कागले वातावरण सन्तुलनमा महत्वपूर्ण योगदान दिन्छ—जसले कीरा–फट्यांग्रा खाइदिन्छ र अन्नबालीको रक्षा गर्छ । त्यसैले हाम्रो संस्कृतिमा काकगवेषणा, काकन्याय, काकबलि जस्ता शब्दहरूले कागको बुद्धि र न्यायप्रतिको आस्था प्रकट गर्छन् ।
तिहारको दोस्रो दिन कुकुरतिहार मनाइन्छ, जसलाई निष्ठा, सुरक्षा र मित्रताको प्रतीकको रूपमापूजा गरिन्छ । कुकुरलाई यमराजको प्रिय भक्त र सन्देशवाहक मानिन्छ । यस दिन कुकुरलाई फूलमाला लगाइन्छ, मीठो खाना खुवाइन्छ, र उसको निष्ठा प्रति आभार व्यक्त गरिन्छ। कुकुर केवल घरको रक्षक होइन, अपराध पत्ता लगाउने, अध्ययन–अनुसन्धानमा सहयोग पुर्याउने र प्राकृतिक प्रकोपको चेतावनी दिने सचेत साथी पनि हो । कुकुरलाई भैरवको वाहनका रूपमा पनि श्रद्धा गरिन्छ। कुकुर पूजा गरेर मानिसले निष्ठा, सतर्कता र सुरक्षाको ऊर्जा आत्मसात् गर्छन् ।
तिहारका यी दिन प्रकृतिप्रति आस्था र कृतज्ञताको प्रतीक हो । काग र कुकुरजस्ता जीवको पूजा केवल धार्मिक अनुष्ठान होइन, प्रकृतिसँगको सहजीवन र संरक्षणको सन्देश हो । हाम्रो संस्कृति नै प्रकृति संरक्षणको मूर्त प्रतीक हो, जसले दिगो विकास र पारिस्थितिक सन्तुलनको बाटो देखाउँछ। तिहारले हामीलाई सम्झाउँछ कि प्रकृतिको सम्मान नै मानव अस्तित्वको वास्तविक उज्यालो हो ।
तिहार केवल उज्यालो र रंगीन दीपावलीको पर्व मात्रै होइन, यो प्रकृति, पशु, देवत्व र मानवबीचको गहिरो सम्बन्ध उजागर गर्ने आध्यात्मिक उत्सव हो । तिहारको तेस्रो दिन ‘गाईपूजा’ र ‘लक्ष्मीपूजा’ गरिन्छ । हिन्दू दर्शनमा गाईलाई ‘गौमाता’ र लक्ष्मीको प्रतीक मानिन्छ । बिहान गाईलाई रंगीचंगी माला, टीका, तेल र अक्षताले सजाइन्छ । बेलुका भने घर, आँगन र व्यापारिक स्थलहरू दीप, फूल, माला र रंगोलीले उज्यालो बनाइन्छ ।
अन्धकारमय कार्तिक कृष्ण औंसीको रातमा उज्यालोको आह्वान गर्दै लक्ष्मीको स्वागत गरिन्छ । यो केवल धन र समृद्धिको प्रतीक होइन, अन्धकारमाथि प्रकाश, अविद्यामाथि चेतना, र अशान्तिमाथि आत्मशान्तिको विजयको सन्देश पनि हो ।

गाई हिन्दू संस्कृतिमा पवित्रता र सम्पन्नताको प्रतीक हो । गाईको गोबरले घर लिपपोत गर्ने र गहुँत छर्केर पवित्रता कायम गर्ने चलन आज पनि प्रचलित छ । गाईलाई लक्ष्मीको प्रतिरूप मानेर सोही दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान रामचन्द्रको अयोध्या फर्कने खुसीयालीका रूपमा दीपावली मनाउने परम्परा र यमराजले आफ्नी बहिनी यमुनाकहाँ बसेका पाँच दिनको कथा, दुवैमा जीवन र मृत्युबीचको सन्तुलन, उज्यालो र अन्धकारबीचको संगम झल्किन्छ । यसदिन बत्ती बाल्दै ‘तमसोमा ज्योतिर्गमय’अर्थात् अन्धकारबाट प्रकाशतर्फ जाने, मन र आत्मालाई शुद्ध पार्ने सन्देशलाई व्यवहारमा उतारिन्छ । यही रातलाई सुखरात्रि भनिन्छ, जसले वर्षभरि समृद्धि र शुभ फल ल्याओस् भन्ने कामना गरिन्छ।
चौथो दिनमा ‘गोरूपूजा’, ‘गोवर्धनपूजा’ र ‘म्हपूजा’ गरिन्छ । पालनहारी गोरुलाई कृषिको मुख्य सहायक मानिन्छ, जसले माटोसँगको मानव सम्बन्धलाई जोडेको छ । यही दिन नेवार समुदायले आत्म–पूजाको प्रतीकका रूपमा ‘म्हपूजा’ गर्छन्, जसले आत्मबल, आत्मसम्मान र जीवनप्रतिको कृतज्ञता प्रकट गर्छ । तिहारका यी विविध रूपहरूले मानिस र प्रकृतिबीचको सहअस्तित्व, श्रम र आस्था, आत्मा र सम्पदा-सबैलाई एकै सूत्रमा बाँध्ने सन्देश दिन्छ । यो पर्वले हामीलाई सम्झाउँछ—उज्यालो केवल दियोको होइन, चेतनाको पनि हो; र पूजा केवल देवताको होइन, सम्पूर्ण सृष्टिको सम्मान हो ।
तिहारको पाँचौं दिन, जसलाई भाइटीका भनिन्छ । नेपाली समाजमा हार्दिकता, स्नेह र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मानिन्छ। यो दिन दिदीबहिनीले दाजुभाइको दीर्घायू, आरोग्य र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइ दिन्छन् । सप्तरंगी टिका–पहेंलो, सेतो, रातो, हरियो, निलो, सुन्तला र कालो–रङले जीवनका विविधता, भावनाका गहिराइ र सम्बन्धको स्थायित्व जनाउँछ। यस दिन दिदीले दाजुलाई, र भाइले दिदीलाई स्नेहपूर्वक पूजाआजा गर्दै मिष्ठान्न, फलफूल र दक्षिणा आदानप्रदान गर्छन् । यो पर्वले केवल रगतको नातामात्र होइन, माया, सम्मान र भावनात्मक सम्बन्धलाई पनि नवीनतम ऊर्जा प्रदान गर्छ ।
पौराणिक कथाअनुसार, सूर्यपुत्र यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पृथ्वीमा आएका थिए । यमुनाले दाजुलाई विधिपूर्वक पूजा गरी दीर्घायु र अमर कीर्तिको कामना गरिन् । दिदीको श्रद्धा र प्रेमबाट प्रसन्न भएर यमराजले यमुनालाई वरदान दिए–“हरेक वर्ष आजकै दिन दिदी–भाइबीचको प्रेम सदा अटल रहोस् ।” यही क्षणदेखि भाइटीकाको परम्परा सुरु भएको मानिन्छ। त्यसैले यस दिनलाई यमपञ्चकको पाँचौं दिनका रूपमा विशेष मानिन्छ, जसमा दिदीबहिनी र दाजुभाइबीचको अटुट स्नेह र बन्धनलाई पुनर्जीवित गरिन्छ।
भाइटीकाको बिहान घरमा कलश, गणेश र यमराजको पूजा गरी दियो बालिन्छ, बिमिरो, ओखर, दूबो, मखमली र सयपत्रीको माला प्रयोग गरिन्छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ कहिल्यै फिक्का हुँदैन, र दूबो सधैं हरियो रहन्छ—यी तिनै वस्तुले सम्बन्धको स्थायित्व र अमरता जनाउँछन् । दिदीबहिनीले सप्तरंगी टीका लगाइदिँदा निधारमा मात्र रंग होइन, भावनाको सात रंग मिसिन्छ जस्तै मायाको रातोपन, विश्वासको सेतो, हर्षको पहेंलो, जीवनको हरियो, शान्तिको निलो, आत्मीयताको सुन्तला र समयको कालो ।
भाइटीका केवल पर्व होइन, यो स्नेहको तीर्थ हो-जहाँ परिवारको माया, परम्पराको सुगन्ध र नेपालीपनको आत्मा एकैसाथ धड्किन्छ। तिहारका यी पाँच दिनले जीवनका विभिन्न रूपप्रतिको कृतज्ञता र सम्मान व्यक्त गर्छन । काग सन्देशवाहकको प्रतीक हो, कुकुर निष्ठा र सुरक्षाको, गाई समृद्धि र पवित्रताको, गोवर्धन पूजा भूमिप्रेम र कृषिप्रतिको श्रद्धा, भाइटीका दिदीबहिनी र दाजुभाइबीचको अमर प्रेमको प्रतीक हो । तिहार वास्तवमै प्रकृतिपूजक पर्व हो- जहाँ जीवजन्तु, जल, माटो, मानवीय सम्बन्ध र उज्यालो सबैको सम्मान गर्ने गरिन्छ ।
सामाजिक एकता र सांस्कृतिक आत्मीयताको प्रतीक
तिहार दीप र फूलहरूको पर्व सँगै यो नेपाली समाजको आत्मा र आत्मीयताको उत्सव हो । पाँच दिनसम्म मनाइने यो पर्वले परिवार, समुदाय र सम्पूर्ण समाजलाई एक सूत्रमा बाँध्ने अनुपम सन्देश दिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने संस्कारले पारिवारिक माया, स्नेह र विश्वासको अमूल्य बन्धनलाई अझ प्रगाढ बनाउँछ। कृषकले सुनौलो फसल घर ल्याउँदा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै लक्ष्मीपूजा गर्ने परम्पराले हाम्रो कृषि–आधारित जीवनशैलीमा श्रद्धा र सम्मान झल्काउँछ। दशैंपछि आउने तिहारले देवी दुर्गाका रूपहरूको आराधनाद्वारा शक्ति, सम्पन्नता र सामूहिक कल्याणको प्रतीक प्रस्तुत गर्छ। देउसी–भैलोका स्वरहरू गल्ली–गल्लीमा गुञ्जिनु, ‘देव श्री राम’ भन्ने आशीर्वादात्मक गीतहरूमा एकता र हर्षको झल्को पाउन सकिन्छ-यही हाम्रो सांस्कृतिक धरोहरको सुगन्ध हो ।

तिहारले केवल मानवीय सम्बन्ध मात्र होइन, प्रकृतिप्रतिको संवेदना पनि जगाउँछ। कुकुर, गाई गोरु र कागको पूजाद्वारा जीवजन्तुप्रतिको स्नेह र सह–अस्तित्वको सन्देश फैलाइन्छ, जसले पारिस्थितिकीय सन्तुलन र जैविक विविधताको महत्व स्मरण गराउँछ। दीप र रंगीन बत्तीहरूले अन्धकार हटाएर उज्यालो मात्र फैलाउँदैनन्, हाम्रो मनमा पनि आशा, सद्भाव र नयाँ ऊर्जा जगाउँछन् ।
अन्तमा, आजको व्यस्त र भौतिकतावादी जीवनशैलीबीच तिहारले हामीलाई हाम्रो जरा र परम्परासँग पुनः जोड्ने अवसर प्रदान गरोस् । यो पर्वले प्रकृति सन्तुलन, सामूहिक एकता, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै नयाँ पुस्तालाई आफ्नै संस्कार र मूल्यप्रति गौरव गर्न प्रेरित बनाओस। तिहार साँच्चिकै उज्यालो बनेर आओस, जसले हरेक नेपाली हृदयमा माया, एकता र सद्भावको दियो बालेर, समाजलाई अघि बढाओस् । सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना !
(लेखक मलाशी वन, वातावरण, विपद् र विकाससँगै समसामयिक सामाजिक विषयमा कलम चलाउँछन ।)
प्रतिक्रिया