आहा ! आलिताल « Khabarhub

आहा ! आलिताल


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल–३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनको भनाइ छ ।

उनले स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको बताए । तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफैँमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने बताए । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनको भनाइ छ ।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)–जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो ।

किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उहाँलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भनिन् । तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलिताल’ भनेर चिनाउन थालेका हुन् ।

रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहेकी थिइन । उनी जीवित रहिन् । पछि शिव भगवानले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ । (रासस)

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ११ : ४१ बजे

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने