चिसोबाट दमरोगीलाई कसरी बचाउने ? « Khabarhub

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । 

चिकित्सकका अनुसार दमरोगको मुख्य कारण चुरोट, बिँडी सेवन गर्नु हो । नियमित औषधि र उचित औषधि र परामर्शको कमीले यसलाई बढावा दिइरहेको छ । 

दमको समस्या चिसो मौसममा अझ बल्झिने गरेको पाइएको छ । यो वर्षेनीको समस्या हो । यसपाली पनि चिसो बढेसंगै दम, निमोनिया, रुघाखोकी लगायतका बिरामीहरु बढ्न थालेको चिकित्सक बताउँछन् । 

चिसो बढेसंगै दैनिक आउने सबै बिरामीमध्ये २५ प्रतिशत बिरामीमा श्वासप्रश्वासको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ । चिसो मौसममा दम बढ्नुको कारण के हो ? दमप्रति सचेतना तथा उपचारको अवस्था के छ ? बच्न के गर्ने ? भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत श्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महतसंग गरिएको कुराकानी 

चिसोमा दम बढ्नुको कारण के हो ? 

मुख्य कारण त चिसो नै हो । त्यो बाहेक चिसो मौसममा न्यानो बनाउनका लागि आगो बाल्ने गर्दा बाहिरको वातावरणमा पनि धुवाँधुलोका कारण प्रदूषण बढ्ने, मौसम सुख्खा हुने हुँदा  दम लगायत श्वासप्रश्वास सम्बन्धी रोगहरू बढ्ने गर्दछन् । 

दमको प्रकार र जोखिमको अवस्था के छ ?  

दम मुख्यतया दुई प्रकारको हुन्छ– आस्मा दम र सिओपिडी दम । आस्मा प्रायजसो कम उमेरका मान्छेमा देखिन्छ भने सिओपिडी ६० वर्षमाथिका व्यक्तिमा । धुवाँधुलोयुक्त कार्यस्थल, धूम्रपान गर्ने मान्छेहरुमा यो समस्या धेरै देखिने गर्दछ । 

त्यस्तै आस्मा दम सानो उमेरमा क्षयरोग, कुपोषण र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा प्राय देखिने गर्दछ । त्यस्ता बिरामीहरुमा चिसो मौसममा दमको जोखिम अझ धेरै हुने गर्दछ । 

दमप्रति सचेतना कस्तो छ ? 

पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण सचेतनाको अभाव त छैन । तर उपचारमा लापरबाही गर्ने क्रम भने बढ्दो छ । जस्तै चेकजाँच नगरी आफैँ मेडिकलबाट औषधी किनेर खाने, सामान्य रुघाखोकी हो आफँै निको हुन्छ भनेर बस्ने गर्दछन् । 

जसले गर्दा रुघाखोकी बढ्दै गएर निमोनियाँ हुँदै दमसम्म पुग्ने र समयमै उपचार नगरे ज्यानै जाने जोखिम पनि रहन्छ । 

दमका बिरामीको खानपान कस्तो हुुनुपर्छ ? 

दममा खानेकुरा खासै बार्नु पर्दैन । यसमा बाहिरी वातारणले नै प्रभाव पार्ने भएकाले पहिलेदेखि नै दमको समस्या भएका बिरामीहरुले चिसोको संक्रमणबाट जोगिने गर्नुपर्छ । 

त्यस्तै घरमा कसैलाई रुघाखोकी लागेको छ भने मास्क लगाउने, दुरी कायम गरेर बस्ने, दुरी कायम गर्ने, मुटु र किड्नीको समस्या भएका बिरामीहरुले दमबिरुद्धको खोपहरु लगाउने लगायतका कुरामा ध्यान दिनुपदर्छ । 

खानपानको कुरा गर्नुपर्दा यो चिज खानु हुँदैन बार्नैपर्छ भन्ने केही छैन । चिसो खालका खानेकुरा, जंकफुड र आफूलाई कुनै खानाले समस्या निम्त्याउँछ भने त्यस्ता खानेकुराहरु नखानु नै राम्रो हुन्छ । 

त्यो बाहेक हामीले दैनिक खाने प्राकृतिक खाना, फलफूल तथा हरियो साग तरकारी खान सकिन्छ । 

दमबाट बच्न के गर्ने ? 

दमबाट जोगिनको लागि सबैभन्दा पहिले त वातावरणबाटै सुरु गर्नुपर्छ । विशेष गरेर काठमाडौं जस्तो उपत्यकाहरुमा प्रदूषण थिग्रिएर बस्ने गर्दछ । 

चिसो मौसममा पानी पनि कम पर्ने र हावा पनि नचल्ने भएकाले प्रदूषण जमिनको सतहसम्म आएर बसेको हुनाले बिहान मर्निङ वाकमा हिँड्दा त्यसको प्रत्यक्ष असर पर्दछ । 

त्यसैले सकसम्म मर्निङ वाकमा ननिस्कने, निस्किहाले पनि मास्क लगाउने गर्नुपर्दछ । त्यस्तै झ्याल ढोका बन्द गरेर हिटर बाल्ने, बाथरुममा ग्यास गिजर चलाएर नुहाउने गर्नु हुँदैन । 

त्यसबाट उत्पन्न हुने कार्बन मनोअक्साइडको गन्ध नहुने तर त्यसले भित्रभित्रै असर गरेर अक्सिजनको मात्रा कम गराउन सक्छ र मान्छे बेहोस हुने सम्भावना धेरै हुन्छ । त्यस्तो अवस्थामा घरमा कोही नहुँदा मानिसको मृत्यु पनि हुनसक्छ । 

त्यस्तै घरभित्रै आगो बाल्ने धुवाँ बनाउने गर्नु हुँदैन । जसले स्वस्थ मानिसलाई असर गर्छ भने पहिलेदेखि दमको समस्या भएका बिरामीलाई झन धेरै असर गर्दछ । 

दम लगायत श्वासप्रश्वासजन्य समस्याहरूबाट बच्नका लागि निमोकोकल, इन्फ्लुएन्जा लगायत विभिन्न खोप पनि प्रभावकारी नै मानिने भएकाले बालबालिका र जोखिममा रहेका व्यक्तिहरू तथा ६५ वर्ष माथिका सबैले लगाउनु राम्रो मानिन्छ । यसले दम हुनबाट बचाउने त होइन तर जोखिम भने कम गर्छ । 

रुघाखोकी लागेको लामो समयसम्म पनि निको भएन, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सास फुल्ने, थकाई लाने जस्ता लक्षणहरू देखिएका छन् भने जतिसक्दो चाँडो अस्पताल जानुपर्छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ०० बजे

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै