काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक आचार्य ‘काकु’को ठूलो पर्दामा काम गर्ने इच्छा सतहमा आएको हो । त्यसअघि उनको ठूलो पर्दामा कम गर्ने योजना-इच्छालाई सार्वजनिक रुपमा गति लिएको थिएन ।
दीपकलाई कलाकार भन्दा पनि पर्दापछाडि नै रहेर फिल्ममा काम गर्ने इच्छा भएको देखिन्छ । उनको यो इच्छा दर्शकले त्यसबेला थाहा पाए जब उनी ‘सक्किगोनि’ टिमले बनाउन लागेको फिल्म ‘लाज शरणम्’बाट बाहिरिए ।
०८१ साउनमा फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा भयो । यो कार्यक्रम कमलपोखरीस्थित एक फिल्म हलमा राखिएको थियो । तर, ‘सक्किगोनि’ टिममै प्रमुख सदस्य दीपक अनुपस्थित रहे । उनी यस सिरियलका कलाकारमा मात्रै थिएनन् क्रिएटिम टिमको दुई सदस्य मध्ये एक पनि थिए ।
केही समयपछि कुरा खुल्यो कि, ‘फिल्मको लेखकमा आफ्नो नाम नराखेपछि उनी टिमसँग रुष्ट बनेका हुन् ।’
उनले सिरियल पनि छाडे । ‘लाज शरणम्’ छायाङ्कन भइरहेका बेला आफैँ ‘परान’ निर्देशन गर्ने घोषणा गरे । अर्थात्, ‘सक्किगोनि’ टिमसँग सम्बन्ध यथास्थितिमा रहेको भए उनले यति छिटै ‘परान’ बनाउने सम्भावना न्यून थियो ।
जे भयो दीपकका लागि राम्रै भयो । उनले ‘परान’ गत कात्तिक १४ बाट प्रदर्शनमा ल्याए । यो फिल्मले १८ करोडभन्दा बढी व्यापारसाथ प्रदर्शनरत छ । यसले शनिबार प्रदर्शनको ५१ दिनसमेत पूरा गरेको छ ।
अहिलको अवस्थामा ‘परान’ यस वर्षको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो ।

तोडे यी निर्देशकको रेकर्ड
नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यही फिल्मबाट सरोज पौडेलले निर्देशनमा डेब्यू गरेका थिए ।
फिल्मको व्यापारमा निर्देशक पौडेललाई उछिन्न नसके पनि दीपकले उपेन्द्र सुब्बालाई भने पछाडि छाडे । उपेन्द्रको डेब्यू निर्देशन रहेको फिल्म ‘जारी’ले १७ करोड ४८ लाख ग्रस कलेक्सन गरेको थियो ।
चलचित्र विकास बोर्ड स्रोत अनुसार ‘परान’ले गत शुक्रबारसम्म १८ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो अवस्थामा ‘परान’ सर्वाधिक व्यापार गर्ने चौथो नेपाली हो।
यो डेब्यूलाई मात्र नभएर नियमित निर्देशकका लागि पनि लागि नोटिस हुने सफलता हो ।
‘परान’को ग्रस कलेक्सन ‘छक्का पञ्जा ४’को भन्दा बढी हो । ‘छक्का पञ्जा’ सिक्वेलबाट सबैभन्दा बढी ग्रस कलेक्सन गरेको ‘छक्का पञ्जा ४’को ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।
त्यस्तै, दीपकले फिल्म ‘ऊनको स्वीटर’को रकेर्ड पनि तोडेका छन् । ‘ऊनको स्वीटर’ यस वर्ष प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म हो । साथै, ‘परान’ प्रदर्शनमा आउनुअघि यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने डेब्यू निर्देशकको फिल्म ‘ऊनको स्वीटर’ थियो ।
‘ऊनको स्वीटर’बाट नवीन चौहानले निर्देशनमा डेब्यू गरेका थिए । यसको व्यापार साढे ११ करोड हाराहारी छ । डेब्यू निर्देशक नवीनलाई पनि दीपकले पछि पारेका छन् ।
‘परान’ले सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’को यो वर्ष सबैभन्दा बढी व्यापार फिल्मको कीर्तिमान तोडेको छ। ‘जेरी अन टप’को व्यापार साढे १२ करोडभन्दा केहीमाथि छ ।
दीपकले ग्रस कलेक्सनको विषयमा विराज भट्ट, रामबाबु गुरुङ र सरोज पौडेलबाहेकका सबै निर्देशकलाई पछि पारेका छन् । विराजको निर्देशित फिल्म ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र रामबाबु निर्देशित फिल्म ‘कबड्डी ४’ले २१ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ ।













प्रतिक्रिया