‘कहिले काहीँ बिर्सिएर आकाश खोज्दै हिँड्छु, भत्किएको मेरो पुरानो त्यो घर खोज्दै हिँड्छु,’यो नारायण गोपालले गाएको नोर्देन रुम्बाको अत्यन्त लोकप्रिय गीतको यो एउटा अंश। यसै गीतको शाब्दिक अर्थ गाजामा घर फर्कनेको जीवनसँग ठ्याक्कै मिलेको छ, यत्तिखेर। गाजामा शान्ति छाएको केही दिन भयो। बन्दी फिर्ता हुनेक्रममा छन्। इजरायलले जेलमा राखेका प्यालेस्टाइनीलाई पनि छाडेको छ। हो, युद्ध विरामले खुसी ल्याएको छ। तर, यसको मतलब यो होइन कि गाजा अहिले पूर्ण रूपमा ठिक छ। एकातर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्ध विराम अघि अर्को आक्रमणको चेतावनी दिइसकेका छन्। अर्कोतर्फ यो युद्धले नमेटिने अनेकौँ घाउ थोपरेको छ।
सार्वजनिक भएको तथ्यांक अनुसार यो युद्धमा ४६ हजार भन्दा बढीको ज्यान गएको छ। भौतिक संरचना नास भएका छन्। बाँचेकाको पनि त जीवन सहज छैन। गाजामा रहेको युद्धको घाउ पुरिन कत्ति वर्ष लाग्ने हो ठेगान छैन। ७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो। इजरायलले प्रत्याक्रमण स्वरूप हवाई आक्रमण सुरु गर्दा हमासले यत्ति धेरै क्षतिको आङ्कलन समेत गरेको छैन। १६ महिना पछिको अवस्था दुवै पक्ष गर्दा ५० हजारको नजिक मानिसले ज्यान गुमाउनु कम्ती दुखद होइन। गल्ती कसको हो भन्ने विषय गौण हो। मुख्य विषय यस युद्धले ल्याएको दुखद अवस्था हो। नेतान्याहुकै आत्मविश्वास अनुसार हमास फेरी उठ्ने छैन। यस कारण फेरि अर्को युद्धको सम्भावना केही वर्ष या केही दशकका लागि व्यवहारिक देखिँदैन।
यो लामो युद्धले लगाएको घाउका डोब गाजामा लामो समय रहने छन्। याया सिनवार लगायत केही शीर्ष नेता हमासले गुमायो। त्यत्ति मात्र होइन ४६ हजार भन्दा बढीको ज्यान गएको छ। भौतिक संरचना नास भएका छन्।
समुद्रको छेउमा लास गाडिएका छन्। सोमबारदेखि शव उत्खननका काम भएका छन्। अझै हजारौँ शव रहेको जनाइएको छ। ९० प्रतिशत घर बस्न लायक पनि नहुन सक्छन्। गाजाको उत्तरी भेगको अवस्था त अझ खराब छ। शव व्यवस्थापन गर्न तथा सफा गर्न अर्को १०० दिन लाग्ने अनुमान गरिएको छ।
राष्ट्र सङ्घ अन्तरगतको विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा २० लाख जना घरबार र आम्दानीको श्रोतबिहीन छन्। उनीहरू राहत सहयोगमा नै निर्भर छन्। युद्ध विराम लागु हुनु अघि ६३० लरी सहयोग सीमामा राखिएको थियो। त्यसलाई युद्ध सुरु भएपछि इजरायलमा लगिएको हो। सोमबार ९१५ लरी गाजमा प्रवेश गरे। यो पछिल्लो १५ महिनामा सबै भन्दा धेरै हो।
गाजस्थित राष्ट्र सङ्घीय शरणार्थी नियोग उन्रवाका कार्यकारी निर्देशक साम जोसका अनुसार राहत वितरण कार्यक्रम भर्खर सुरु भएको छ। परन्तु थुप्रै चुनौती अझै बाँकी छन्। उनले खाद्यान्न, लत्ता कपडा र औषधी मात्र नभएर पुर्न संरचनाका लागि आवश्यक सहयोग समेत गर्ने बताए। १६ महिनामा उनीहरूले बिताएको त्रासदीय जीवनबाट एकै पटक पार दिलाउनु पक्कै कठिन हो। अहिले उक्त क्षेत्रको पुननिर्माणका लागि काम सुरु गरिए पनि माथि उठ्न धेरै लामो समय लाग्न सक्ने छ।
सुरुमा रिहा भएकी एक बेलायती इजरायली नागरिककी आमा मन्डे डमारीको मनमा छोरी फिर्ता भएकोमा खुसी छ। तर, चिन्ता पनि छ। छोरीले दुई औला गुमाएकी छन्। उनले गाजाको दुःख पनि देखेकी छिन्। उनी पनि गाजा फेरि पुरानो अवस्थामा फर्केको हेर्न चाहिन्छन्।
गाजाले छाडेको दिन तीन जनाका अभिभावकले खुसी मनाए। तर, अन्य बन्दीका आफन्त अझै चिन्तामा छन्। सबै भन्दा चिन्ताको विषय पहिलो चरणमा सार्वजनिक भएका बाहेक अन्य मृतक र जीवितको नाम सार्वजनिक भएको छैन। बन्दी बनाइएका सबैका आफन्तमा नाम सार्वजनिक नभएसम्म चिन्ता लाग्नु स्वाभाविक हो।
४६ हजार ९०० को मृत्यु तथा एक लाख १० हजार भन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ। यसमा सैन्य पहिचान खुलेको छैन। के पक्का भइसकेको छ भने मारिनेमा महिला र बालबालिका धेरै छन्। बेलायती मेडिकल जर्नल लानसेटमा प्रकाशित एक रिपोर्टका अनुसार मृतकको अनुमानित तथ्यांक ४० प्रतिशतले कमी देखाइएको छ।
गाजाको सुरक्षा निकायका अनुसार यसमा आबद्ध ४८ प्रतिशत कि घाइते भए अथवा ज्यान गुमाए। यसैगरी ८८ प्रतिशतको सवारी सधान नष्ट भएको छ। २१ मध्य १७ वटा भवन नास भएका छन्।
नागरिक सुरक्षामा आबद्ध एक युवाका अनुसार हरेक गल्लीमा लास छन्। हरेकले छिमेकीको घरमा गएर हेर्ने हो भने भवन मुनि पुरिएका लास छन्। युद्ध विराम भएपछि पनि धेरै फोन कलहरू थिचिएकाको उद्धारका लागि आइरहेको उनले बताए। लगभग धेरैले कोही न कोही आफन्त यस युद्धमा गुमाएका छन्।
इजरायली सेनाले अझै चेतावनी दिइरहेको छ। नजिक नपर्न भनेको छ। घर फर्कने क्रममा बफर जोनमा प्रवेश नगर्न भनेको छ। नेतजारिक कोरिडोर लगायत केही स्थानमा झुक्किएर पाइला मात्र टेकेका इजरायली डिफेन्स फोर्स (आइडिएफ) को सिकार हुने जोखिम अझै छ। परिवार गुमाएका पीडा मात्र होइन घर समेत नास भएकाले कठिनाइ समेत छ।
राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेजले युद्ध विराम ६ साता पूर्ण रूपमा लागि पर्ने तथा अर्को चरणका लागि तयार गर्ने बताइसकेका छन्।
हमास तथा हिजबुल्लाहले गुमाएका नेता
यस युद्धमा हमास तथा हिजबुल्लाहले धेरै नेता गुमाए। हमासले आफ्नो नेता याया सिनवार गुमाइसकेको छ। यसै गरी फताह सरिफलाई पनि गुमाइसकेको छ। इस्माइल हानिए, सालेह अल अराउरी तथा मरवान उसा मारिएका छन्। यसैगरी हिजबुल्लाहका नेता हसन नसरल्लाह, अलि कारकी, नकिन काउक, इब्राहिम क्य्बासी, इब्राहिक अकिल र फाउद सुकर लगायत अनेक नेता सो युद्धमा मारिए।
७ अक्टोबरमा इजरायलमा आक्रमण हुँदा ३० हजार हमास लडाकु रहेकोमा अहिले १५ हजार बाँकी रहेका छन्। हमास युद्धमा साथ दिँदै आएको हिजबुल्लाह र हाउथीले समेत क्षति व्यवहारेको छ।
हिलबुल्लाहको शक्ति हमासको भन्दा बढी भएको तथा सङ्गठित भएको जनाइए पनि हिजबुल्लाहले पनि कम क्षति सहेको छैन। हमासले युद्धमा धेरै क्षति भए पनि इजरायली जेलमा रहेकालाई भने छुटाउन सफल भएको छ। ७ अक्टोबरका दिन आक्रमण गरिदा भनिएका कुरा केही हदसम्म पाउन हमास सफल भने भएको छ। इजरायलले लामो समय जेलमा बन्दी बनाएका प्यालेस्टाइनीलाई छुटाउनु हमासको सफलता हो। इजरायललाई एक्लो बनाएर अरब राष्ट्रको घेराबन्दीमा पार्ने हमासको योजना भने तुहिएको छ।
नेतान्याहु र इजरायलको क्षति र प्राप्ति
७ अक्टोबरका दिन हमासले आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण स्वरूप आक्रमण गरेको थियो। यसले लगातार १५ महिना युद्धमा सरिक हुँदा इजरायले पक्कै पनि आर्थिक क्षति समेत व्यहोरेको छ। साथमा मानवीय क्षतिको आँकडा बाहिर आएको छैन। सुरुवातमै १२ सय भन्दा बढीको भने ज्यान गएको थियो।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण गर्नु भन्दा एक दिन अघि युद्ध विराम भएको थियो। अहिले लचिलो भएर विस्तारै ती क्षेत्रमा फेरि प्रभाव जमाउने नेतान्याहुको नीति प्रस्ट देखिन्छ। इन्टर नेसनल क्राइसिस ग्रुपकी इजरायल विशेषज्ञ माइराम जोन्सेभका अनुसार अहिले लचिलो भएर वेस्ट बैंकमा पछिल्लो समय हाबी हुने इजरायली नीति प्रस्ट देखिन्छ।
युद्ध विरामपछि अति दक्षिणपन्थी नेताले सरकार छाड्ने धम्की पनि दिइसकेका छन्। बेन गिभिरको दलले नेतान्याहुलाई साथ छाड्न १२० सदस्यको सांसदमा १२२ मत नेतान्याहुको पक्षमा बाँकी रहेको थियो। आठ सिट भएको स्मोटसिरको पनि साथ नरहने हो भने नेतान्याहुको सरकार कुनै पनि समय गिर्न सक्छ।
सन् १९४० को दशकको अन्त्यदेखि यहुदी र प्यालेस्टाइनको क्षेत्रमा करिब ८० वर्ष भइसक्दा पनि सधैँ तनावमै बितेको छ। इजरायल, इरान, सिरिया, जोर्डन र इजिप्ट लगायत धेरै अरब देशका लागि जेरुसेलम, वेस्ट बैङ्क र गाजा चासोका भूमि हुन्। अहिले युद्ध विराम भएको छ। परन्तु ८ दशकको इतिहास हेर्ने हो भने जुनसुकै समय पनि त्यस क्षेत्रमा नयाँ किसिमको तनावको सृजना हुनसक्ने जोखिमलाई नकार्न सकिँदैन।
अहिले भने प्यालेस्टाइनमा बितेका करिब ५० हजार व्यक्ति, विस्थापित भएका १० लाख भन्दा बढीमा आएको जीवन यापनाको समस्या तथा घाइते भएका एक लाख भन्दा बढी सबै भन्दा ठुलो क्षति हो।
स्रोत : बिबिसी, अल जजिरा, द हिन्दु
प्रतिक्रिया