‘नेपालको हवाई सुरक्षामा समस्या छ, ईयूको कालो सूची गौण हो’ (भिडियोसहित) | Khabarhub Khabarhub

बहस

‘नेपालको हवाई सुरक्षामा समस्या छ, ईयूको कालो सूची गौण हो’ (भिडियोसहित)

‘प्राधिकरणले फटाफट काम गरेको भए छुट्याउने प्रश्नै आउन थिएन’


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 9 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

यो महत्वपूर्ण विषयमा सतही विश्लेषणले हामीलाई पुग्दैन । यो एकदमै गहिरो विषयवस्तु हो । यो नेपालको सुरक्षासँग मात्रै जोडिएको विषय मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तराष्ट्रिय छविसँग पनि जोडिएको विषय हो । मैले यो विषयमा धेरैपटक संसदमा कुरा उठाएकी छु । त्यसकारणले पनि मलाई यो विषयसँग अलि बढी चासो छ ।

मलाई के कुरामा दुःख लागेको छ भने हाम्रो छलफल ईयुले नेपालको उडान क्षेत्रलाई कालो सूचीमा राख्यो भन्ने कोणबाट शुरु भयो । तर, मलाई के छलफल हुनुपर्थ्यो भन्ने लाग्छ भने नेपालको उडान सुरक्षामा हामी कहाँ छौं ? हामी नेपालका जहाजहरुमा उडान गर्दैगर्दा सुरक्षित छौं कि छैनौं ? यो कोणबाट बढी छलफल हुनुपर्छ जस्तो मलाई लाग्छ ।

किनभने, पछिल्लो समय जुन हिसाबको विमान दुर्घटना भइरहेको छ, यो सामान्य छैन भन्ने मलाई लाग्छ ।

हुन त सडकमा पनि दुर्घटना हुने गरेको छ । अनुपात हेर्दा सडक दुर्घटना अझ बढी छ । तर, पनि मान्छेले सडक राम्रो छैन, हवाईजहाजमा जान्छु, छिटो हुन्छ भनेर हवाईजहाज छान्दा झन् धेरै दुर्घटना पीडित हुनुपर्ने जस्तो स्थिति देखिएको छ ।

यसकारणले पनि नेपालको हवाई क्षेत्रलाई ईयुको कालोसूचीबाट हटाउनु त पर्छ, तर त्योभन्दा अगाडि चाहिँ हवाई सुरक्षा पर्छ जस्तो मलाई लाग्छ । त्यसकारणले सुरक्षाको कोणबाट पहिले हेर्नुपर्छ ।

मैले संसदमा डेढ–दुई महिना अगाडि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेकी थिएँ । त्यहाँ संसदमा पनि यस्तै हल्का–फुल्का छलफल भयो र सकियो । त्यहाँबाट ठोस जवाफ केही पनि आएन । मन्त्रीज्यूले पनि त्यसको विस्तृत रुपमा जवाफ दिनुभएको छैन ।

मेरो प्रश्न– अहिले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर ईयुको नजरमा राम्रो बन्ने र कालोसूचीबाट हट्ने भन्दा पनि हामी सुरक्षित छौं कि छैनौं भन्ने कोणबाट पहिला हेरिनुपर्छ । त्यसकारण मैले उठाएका कुराहरु प्राधिकरणलाई छुट्याउने/नछुट्याउने भन्दा पनि सुरक्षित छौं कि छैनौं भन्ने कोणबाट बुझिदिनुहुन अनुरोध गर्न चाहन्छु ।

मैले त्यसबेला संसदमा १0/१२ वटा प्रश्नहरु राखेकी थिएँ ।

जस्तो– सामान्य भाषामा भन्दाखेरि हाम्रोमा ‘भीएफआर फ्लाइट’ (आँखाले बाहिरको भिजुअल हेरेर गरिने उडान) हुने गरेको छ । ‘इन्ट्रुमेन्ट फ्लाइट’ चाहिँ म्याप अनुसार रुटमा चल्ने हुन्छ । मैले कतिपय पाइलटहरुसँग कुरा गर्दा उहाँहरुले के बताउनुभयो भने प्लेन चलाउन जानेबेलामा ‘वेदर ब्रिफिङ’ (मौसमबारे जानकारी) हुनुपर्छ । तर, पाइलटहरुलाई राम्रोसँग ‘वेदर ब्रिफिङ’ गरिँदैन । यो उहाँहरुको गुनासो छ । आकाशमा कस्तो किसमको मौसम छ भन्ने कुराको पूर्ण जानकारी उहाँहरुलाई भएन भने जहाज चलाउन गाह्रो पर्छ ।

जाँदाजाँदै बाटोमा अर्कैखालको मौसम परिवर्तन भयो भने कतिथपय ठाउँमा इन्ट्रुमेन्ट फ्लाइटमा जानुपर्ने हुन्छ तर पाइटलहरुले कतिपय अवस्थामा म सकिहाल्छु नि भनेर ‘भीएफआर’ मै गइदिनुहुन्छ रे । त्यसले पनि दुर्घटना गराउँछ भन्नुभएको थियो । मेरो प्रश्न चाहिँ के हो त्यस्तो केसमा ‘रेगुलेटरी बडी’ (नियामक निकाय) बलियो हुनुपर्छ । यो प्राविधिक कुरा हो तर ‘रेगुलेटरी बडी’ बलियो हुनैपर्छ । पाइलटलाई तिमीले यस्तो गर्नुपर्छ भनेर पालना गराउनुपर्ने जिम्मा त ‘रेगुलेटरी बडी’ को हो नि ।

जस्तो- एउटा हेलिकोप्टर बादलमा टोक्किएर दुर्घटना भएको थियो । त्यसको रिपोर्ट त के आयो मलाई थाहा छैन, तर त्यसको छलफल हुने क्रममा के आएको थियो भने यति बादल त म छलिहाल्छु नि भनेर पाइलटले लग्ने बेलामा ठोक्कियो भन्ने कुरा बाहिर आएको थियो ।

नेपालजस्तो मौसम बदलिइरहने देशमा किन ‘भीएफआर फ्लाइट’ गर्ने त ? ‘इन्ट्रुमेन्ट फ्लाइट’ गर्दा भइहाल्यो । यसलाई अनिवार्य गराउँदाखेरि भइहाल्यो नि भन्ने प्रश्न पनि मैले उठाएकी थिएँ । यो सधैंभरि सम्भव नभए पनि मौसम अति खराब भएको बेलामा ‘इन्ट्रुमेन्ट फ्लाइट’ लाई अनिवार्य गराउन सकिन्छ, यो किन नगरेको भन्ने मेरो प्रश्न थियो ।

पाइलटलाई विमान चलाउने बेलामा नेभिगेसन एप्स चाहिन्छ । हामीकहाँ अहिले एयरपोर्ट विस्तारको एकदमै धेरै कुरा भइरहेको छ । बारामा बनाउने, त्यहाँ बनाउने, त्यहाँ बनाउने भन्ने गरिन्छ । विमानस्थलहरु नबनाउने हैन, बनाउनुपर्छ । चाहिन्छ । तर, त्योभन्दा अगाडि हेर्नुपर्ने विषय त सुरक्षा होला नि त । अहिले भइरहेका जहाजहरुलाई उडाउनका लागि हामीसँग पर्याप्त नेभिगेसन एप्सहरु छैन कुरा पाइलटहरुबाट आएको छ । यसको सुनिश्चितता गर्नुपर्छ कि पर्दैन ?

मैले युएस बङ्ला एयरको दुर्घटना सम्झिएँ । त्यतिखेर रन वेबाट चिप्लिने बेलामा रनवे ‘जिरो टु’ हो कि ‘टु जिरो’ भन्नेमा अलमल भएको थियो भन्ने कुरा आएको थियो । एटीसीबाट राम्रोसँग सूचना नभएको भन्ने कुराहरु आएको थियो । हामीले पनि त्यो अडियो सुन्यौं भने एटीसीले ‘जिरो टु’ भनेको हो कि ‘टु जिरो’ भनेको हो, ऊ आफैं कन्फ्युज्ड भइराखेको छ ।

प्लेन त गाडी जस्तो एकछिन रोक भन्दा रोकिँदैन । ल्याण्ड गर्ने बेला भइसक्यो, एटीसीको मान्छेले यो कि त्यो भनेर अलमलको कुरा गर्दियो भने त त्यो चिप्लिन्छ नि । यसमा कमिटीको रिपोर्टबाट के आयो, त्यो अलग विषय भयो । तर, हामी सामान्य मान्छेले सुन्दादेरि एटीसीबाट राम्रोसँग सञ्चार नभएको भन्ने कुरा त क्लियर छ । त्यसकारण, एटीसीको हटसिटमा बस्ने मानिसको क्षमता बढाउने कुरामा प्रश्न उठ्नु हुँदैन जस्तो लाग्छ ।

पाइलटहरुलाई राम्रोसँग मौसमसम्बन्धी जानकारी नै दिइँदैन । बाटोको मौसम कस्तो छ भनेर एकदमै एडभान्स मौसम पूर्वानुमान गर्ने टेक्नोलोजीहरु आइसक्दा पनि उहाँहरुलाई राम्रोसँग ब्रिफिङ हुँदैन । किनभने, हाम्रो जुन मौसम विज्ञान विभाग छ, त्यहाँ विज्ञ मानिसहरु नै रहेनछन्

त्यस्तै, अर्को भीएफआर चार्ट हुन्छ, जस्तो– कहाँ पोल लगेको छ, कहाँ तार छ, यी सबै कुराहरु हेर्नुपर्ने हुन्छ । अनि विमानस्थलमा के–के परिवर्तनहरु भए, यी कुराहरुको चार्ट अपडेट गरिरहनुपर्ने हुन्छ । तर, हाम्रो विमानस्थलको भीएफआर चार्ट पनि राम्रोसँग अपडेट नभएको अवस्था छ । विशेष गरी हेलीकोप्टरका लागि भीएफआर चार्टहरु अपडेट नभएको भन्ने गुनासाहरु पनि आएका छन् ।

यो कुरा संसदमा पनि चर्चा भएको थियो, तर ठोस जवाफ आएन । अघि पनि मैले भनें पाइलटहरुलाई राम्रोसँग मौसमसम्बन्धी जानकारी नै दिइँदैन । बाटोको मौसम कस्तो छ भनेर एकदमै एडभान्स मौसम पूर्वानुमान गर्ने टेक्नोलोजीहरु आइसक्दा पनि उहाँहरुलाई राम्रोसँग ब्रिफिङ हुँदैन । किनभने, हाम्रो जुन मौसम विज्ञान विभाग छ, त्यहाँ विज्ञ मानिसहरु नै रहेनछन् । पदमा विज्ञापन खुलाउँदा पनि आवेदन दिने मानिसहरु गइराखेका छैनन् भन्ने कुरा आएको छ ।

हुन त मौसम विज्ञान विभाग पर्यटन मन्त्रालयको क्षेत्राधिकारभित्र पर्दैन होला तर, उसँग जोडिएको ‘क्रस कटिङ ईस्यु’ त हो नि । भनेपछि, त्यहाँ दक्ष मानिसहरु राख्नका लागि के काम भइरहेको छ ? यसको जवाफ पनि आएको छैन । मैले पाइलटहरुलाई सोधें– ‘वेदर ब्रिफिङ’ राम्रोसँग भएको छैन भने तपाईहरुले कसरी विमान उडाइरहनुभएको छ त ?’

उहाँहरुले भन्नुभयो– आफ्नै मोबाइलमा हेर्ने, उडाउने । आफ्नै मोबाइलमै हेर्ने हो भने त त्यो मौसम विज्ञान विभागको के काम ? विस्तृत मौसमसम्बन्धी सूचना चाहिन्छ भनेर त्यो मौसम विभाग राखिएको हैन ? त्यसकारण यहाँनेर पनि कमजोरी देखिएको छ ।

अर्को छ, परीक्षाको कुरा । मैले पाइलटहरुलाई सोधेँ, तपाईहरु कोही फेल हुनुभएको छ ? कोही पनि फेल भएका छैनन् रे । यस्तो पनि हुन्छ त ? परीक्षामा कोही, कहिल्यै फेल नहुने पनि हुन्छ त ? किन फेल नभएका होलान् ? ह्या, यत्रि भयो, यति भए सक्छ भनेर छाडिदिने हामी नेपालीहरुको चलन छ । जसको क्षमतामा धेरै मानिसको जीवनको जोखिम जोडिएको हुन्छ, त्यस्तो मानिसको परीक्षामा तलमाथि गर्ने कुराहरु हुनुहुँदैन ।

‘एभिएसन इन्डस्ट्री’ भनेको ‘सोसियल साइन्स’ जस्तो होइन । तर, कहिल्यै फेल हुँदैनन् रे । परीक्षा लिने कुरामा के समस्या छ त ? बाहिर विदेश) मा पढेका साथीहरुलाई तपाईहरु फेल हुँदैन भनेर सोधेको फेल हुन्छ भन्छन् । भनेपछि हाम्रोमा परीक्षा लिने कुरामा पनि धेरै कमी छ जस्तो लाग्यो ।

अहिलेसम्म प्राधिकरण छुट्याउनु हुँदैन भन्ने साथीहरुले छुट्याउन नपर्नका लागि यी कामहरु फटाफट गरिदिएको भए प्रश्न आउने थिएन । अहिले भइराखेकै संरचनामा नियामक निकाय बलियो भइराखेको भए त यो प्रश्न नै उठ्दैनथ्यो

ईयुको कुरा गर्दा २०२३ मा जस्तो लाग्छ, हाम्रोमा एसेसस्मेन्ट अडिट गरेर गइसकेपछि एउटा रिपोर्ट आएको थियो । त्यो रिपोर्टमा उहाँहरुले २९ वटा बुँदामा प्रतिवेदन दिएका थिए । यी बुँदाहरु पढ्ने हो भने कहीँ पनि ईयुले यहाँ आएर प्लानिङ, पटिङ गरेको जस्तो मलाई लाग्दैन ।

ईयुले हामीलाई अलिकति होच्याउनका लागि प्लटिङ गरेको छ, यो उसको खेल हो भन्ने ढंगबाट कुराहरु आए । तर, यो रिपोर्ट पढ्दाखेरि कसैको एसमएसमा कमजोरी देखिएको छ, कसैको अर्कै फ्याक्टरमा कमजोरी देखियो भनेको छ । नेपाल एयरलाईन्सको अर्कोथोकमा समस्या भनेको छ, श्री एयरलाइन्सको अर्कैमा समस्या भनेको छ । उनीहरु त एक दिन आउने हो, स्याम्पलिङ गरेर एक दिन एसेसस्मेन्ट गर्दा जे–जे देखिन्छ त्यो कुरा उनीहरुले राखेको हो प्रतिवेदनमा । तर, उनीहरुले पठाएका यी २९ वटा बुँदाहरु हेर्दाखेरि कहीँ पनि उनीहरुले प्लानिङ, प्लटिङ गरेको भन्ने छैन ।

पाइलटहरुको सेड्युलको कुरा छ । उनीहरु आकाशमा जहाज चलाउँदा थाक्छन् । झुप्प निदाउँदा जहाज झ्याम्म खस्यो भने के गर्ने ? यस्तोमा पनि पाइलटहरुको म्यानेजमेन्टमा कति कुराहरु छन् । मैले यी कुराहरु डिटेलमा हेरेर, पाइलटहरुलाई सोधेर, इन्टरनेटमा सर्च गरेर अध्ययन गरेकी छु । यसरी हेर्दा मलाई ईयुले प्लानिङ/प्लटिङ गरेको कहीँ पनि लागेन । यहाँनेर हाम्रो आफ्नै कमजोरी छ ।

हाम्रो कमजोरी रहेको कुरालाई इयुले तिम्रो यो–यो कुरामा सुधार गर भनेको छ । सारांशमा के भनेको छ भने तिम्रो रेगुलेटरी बडी (नियामक निकाय) र तिम्रो सर्भिस प्रोभाइडर (सेवा प्रदायक) बीच ‘कन्फिक्ट अफ इन्ट्रेस्ट’ देखिएको छ । यो कुरा सारांशमा छ । हामीले छलफल गरिरहेको कुरा पनि यही हो ।

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने, नछुट्याउने भन्ने कुराको जहाँसम्म सवाल छ, छुट्याउन हुँदैन भन्ने केही साथीहरुले जोड दिइरहनुभएको छ । शायद मुख्य सरोकार चाहिँ दुईवटा प्राधिकरण बनाउँदा कसरी धानिन्छ त भन्ने पक्षबाट आइरहेको छ जस्तो मलाई लाग्छ । यसको जवाफ खोज्नुपर्छ तर हाम्रो जस्तो व्यवसायिकता नै विकास नभएको देशमा मान्छे चिनेर धेरै काम हुने गरेको छ । हाम्रोमा भनसुनबाट चल्नेखालको संस्कार छ । प्राधिकरणमा एउटै संस्थाभित्र सेवा प्रदायक पनि त्यही र नियामक निकाय पनि त्यही हुँदाखेरि एउटाले अर्कोलाई नियन्त्रण गर्ने अनि जहिले पनि स्वार्थको द्वन्द्व भइराख्ने । एउटै मान्छेले नियन्त्रण गरिराख्ने ।

जस्तो– अस्ति दुर्घटनामा परेको सौर्य विमानमा प्रकाश खतिवडाका आफन्त उक्त दुर्घटनामा पर्नुभयो । नियमअनुसार त्यो फ्लाइटमा बाहिरको मान्छे लैजान पाइँदैनथ्यो । तर, किन लगियो ? त्यसमा जाँच किन भएन ? जाँच गर्ने रेगुलेटरी बडी गतिलो भएको भए त त्यहीँनेर चेक हुनथ्यो होला नि ? हामी रेगुलेसनमा कमजोर छौं भन्ने कुरा त्यहीँ देखिएको छ ।

पोखरामा दुर्घटना भएको जहाजको कुरा होस् कि अस्ति मुस्ताङ गएको हेलिकोप्टरको कुरा होस् वा सौर्यको जहाज दुर्घटनाको कुरा होस्, जहाँ पनि ‘रेगुलेटरी बडी’को कमजोरी देखिएको छ । हाम्रो नियमन एकदमै कमजोर देखिएको छ

यत्रो अन्तरराष्ट्रिय विमानस्थलको छेऊमा त्यो सौर्य विमान आयल निगममा खसेको भए के हुन्थ्यो ? काठमाडौं के हुन्थ्यो । यस्ता धेरै त्रुटिहरु छन् जस्तो मलाई लाग्छ ।

प्राधिकरणलाई छुट्याउन हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा मेरो विचारमा यसलाई व्यवसायिकरुपमा काम गर्ने कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो । छुट्याउनुपर्छ भन्ने एउटा आइडिया हो । अहिलेसम्म छुट्याउनु हुँदैन भन्ने साथीहरुले छुट्याउन नपर्नका लागि यी कामहरु फटाफट गरिदिएको भए प्रश्न आउने थिएन । अहिले भइराखेकै संरचनामा नियामक निकाय बलियो भइराखेको भए त यो प्रश्न नै उठ्दैनथ्यो ।

तर, पोखरामा दुर्घटना भएको जहाजको कुरा होस् कि अस्ति मुस्ताङ गएको हेलिकोप्टरको कुरा होस् वा सौर्यको जहाज दुर्घटनाको कुरा होस्, जहाँ पनि ‘रेगुलेटरी बडी’को कमजोरी देखिएको छ । हाम्रो नियमन एकदमै कमजोर देखिएको छ ।

ईयुको कालोसूची भनेको त्यहाँ हाम्रो जहाज उडाउन नदिने भनेको मात्रै होइन । कालोसूची हुँदाखेरि केके हुन्छ भनेर मैले सोधेको थिएँ । जहाजबाट हाम्रोमा आउँदा युरोपका कतिपय देशका यात्रुहरुलाई कतिपय कम्पनीले वीमा पनि गर्न मान्दैनरहेछन् । नेपाल आउने पर्यटकको वीमा नै हुँदैन भने त यसलाई त किन नेपाल जाउँ जस्तो लाग्ला ? सुरक्षित नै छैन जस्तो हुन्छ ।

भनेपछि यो कालोसूची धेरै कुरा जोडिएको विषय हो । उहाँले प्रतिवेदनको सारांशमा यसको लिस्ट दिनुभएको छ । हामी ती कुराहरु सुधार्नै नखोज्ने, अनि ईयुले प्लानिङ गर्‍यो, त्यसले प्लटिङ गर्‍यो भनेर ईयुतिर मात्रै तेर्स्याउने ? मेरो लागि ईयु गौण कुरा हो । हाम्रा सबै कुराहरु सुध्रिन्छन् तर ईयुले ब्लयाक लिस्टमा राख्ने भने मतलब छैन, राखोस् ब्लयाक लिस्टमा । तर, मेरो देशको उडान सुरक्षित हुनुपर्‍यो । म विमानमा चढ्दा सुरक्षित हुनुपर्‍यो ।

तपाईहरुलाई म एउटा एयरलाइन्सको विमानको फोटो देखाउँछु । तपाई टायर हुर्नुभयो भने यस्तो पनि हुँदोरहेछ भनेर छक्क पर्नहुन्छ । एउटामा ग्रिप छ, अर्कोमा छैन । यो चेक गर्ने कसले हो त ? यस्ता–कुराहरु छन् ।

यो कर्मचारीले आन्दोलन गर्ने विषय होइन

हाम्रा कोही साथीहरु आन्दोलन गर्छौं भन्नुहुन्छ । मलाई लाग्छ यो आन्दोलन गर्ने विषय होइन । सिरियसली टेबल टक गर्ने विषय हो । हामी गलत छौं भने गलत भन्नुपर्‍यो । गल्ती भएको कुरा त गल्ती हो नि । प्लेन चढ्दाखेरि राम–राम, बाँचिन्छ कि मरिन्छ भन्ने तपाईहरुलाई हुन्छ कि हुन्न ? यस्तो डर त्रासको वातावरणमा हामीले प्लेन चढ्नु परिराखेको छ, यो यथार्थ हो । त्यही भएर यो आन्दोलन गर्ने कर्मचारीको विषय होइन साथीहरु ।

नेपाल सरकारको पोलिसी कसैबाट प्रभावित हुनुहुँदैन । सरक्षा प्रत्याभूत हुने हिसाबले पोलिसी बनाउनुपर्छ । त्यो अनुसारले कानूनको डिजाइन गर्ने हो । तर, नेपाल सरकारले बनाएको कानून सकैले मान्नुपर्छ । कसैले आन्दोलन गर्ने विषय होइन । नेपालमा आन्दोलन कल्चर एकदमै झूर भइसकेको छ । केही कुरा सरकारले अडान नै लिन नसक्ने स्थिति बनिसक्यो । कानून भनेको कानून हो । नियम–कानूनलाई कसरी बलियो बनाउने भन्नेतिर हाम्रो बहस खोई ?

नेपालको हवाई सुरक्षामा गम्भीर समस्या छ । मैले यसबारे मन्त्रीज्यूलाई १३ वटा प्रश्न सोधेकी थिएँ । ईयुले भनेको कुरा गौण हो, यसले समय समयमा आएर अडिट गरेर हाम्रा कमजोरीहरु पत्ता लगाइरहेको छ । ईयुले भनेको कुरा बरु न्युजपेपरमा छापेर सबैलाई देखाइदिनोस् ।

ईयुले नेपाललाई तल पार्न र उसको बिजनेसको स्वार्थले नै यसो गरेको हो भन्ने सब नेपाली जनतालाई लाग्यो भने ठीक छ । तर, होइन उसले प्राविधिक कुराहरुमा हाम्रो गल्ती औंल्याएको छ भने गल्ती सुधार्नुपर्छ, त्यसको अर्को उपाय छैन । यसमा चाहे नेपाल एयरलाइन्स होस् या अरु एयरलाइन्सको कुरामा होस् ।

अस्ति हामीले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका बेलामा नेपालको उड्ड्यन क्षेत्रको सुरक्षाका बारेमा कुरा गरेकी थिएँ । कति सांसदहरु त त्यहाँ नेपाल एयरलाइन्सका कुराहरु राखिरहनुभएको थियो । भनेपछि विषयवस्तुको स्पष्टता नै कतिजनासँग छैन । सांसदहरुमा स्पष्टता त छैन भने आम पब्लिकमा त्यति मजाले पुगेको विषय होइन । त्यसैले यसमा अझै धेरै गहिरो अनुसन्धान चाहिन्छ ।

हामीले धेरै साथीहरुका कुराहरु सुनिराखेका छौं । हाम्रो पार्टीले नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेबारे खास धारणा बनाइसकेको छैन । संसदमा हामीले व्यक्तिगत रुपमा आफ्ना कुराहरु राखिराखेका छौं । तर, युवा पाइलटहरु, इञ्जिनियरहरु, पूर्वडीजीहरु र एयरलाइन्स कम्पनीका साथीहरुसँग हामीले समय–समयमा छलफल गरेका छौं र आगामी सोमबार हामीले पार्टीका तर्फबाट एउटा छलफल राखेका छौं ।

हाम्रो उडान सुरक्षामा हामी साह्रै कमजोर छौं । यो कुरा ईयुलाई देखाएर हामी पन्छिन मिल्दैन । यदि उडान सुरक्षामा हामी बलियो हुन्छौं र हाम्रो नियामक निकाय बलियो हुन्छ भनेदेखि ईयुले कालो सूचीमा राखे पनि त्यो अर्को स्टेपको कुरा हो तर पहिलो प्राथमिकता चाहिँ हामी सुरक्षित भएर उड्न पाउनुपर्छ भन्ने हो ।

(दरबारमार्गमा शुक्रबार इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च ‘आईएसएसआर’ले आयोजना गरेको बहस कार्यक्रममा प्रतिनिधिसभा सदस्य गौतमद्वारा प्रस्तुत विचार)

भिडियो-


प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ०२ बजे

गायक दम्पती कमल र मेलिना बने छोराको अभिभावक

काठमाडौं– गायक दम्पती कमल खत्री र मेलिना मैनाली पहिलो सन्तानको

धरानमा बालिकाको नारीवादी उपन्यास ‘प्याउली’ को विमर्ष

सुनसरी– आख्यानकार बालिका वान्तवाको हालै प्रकाशित उपन्यास कृति ‘प्याउली’ को

७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिनामा साढे ३ लाख बढी

टाउकाको मोल नै एक अर्ब ३७ करोड तोकिएका हक्कानी अब अमेरिकाका मित्र ?

एजेन्सी – अमेरिकी सेनाको बलियो उपस्थितिलाई नाकाम सावित गर्दै विद्रोही

एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन 

विराटनगर– नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीनिकट पत्रकारहरूलाई