शिक्षकका नेतालाई प्रश्नका झटारा ! | Khabarhub Khabarhub

सामाजिक सञ्जाल

शिक्षकका नेतालाई प्रश्नका झटारा !


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशैभरिका उच्च माविमा अध्ययनरत १२ कक्षाका विद्यार्थीको अन्तिम परीक्षा आउन अब तीन दिनमात्र बाँकी छ । यता काठमाडौंको सडकमा चैत २० देखि आन्दोलन गरिरहेका शिक्षकहरु विद्यार्थीको परीक्षाप्रति जिम्मेवार देखिएका छैनन् । सरकारी स्कुलमा नयाँ भर्ना अवरुद्ध हुँदा निजी विद्यालयलाई फाइदा पुगिरहेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार शिक्षकका माग पूरा गर्न अनिच्छुक रहेको तथ्य शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले पुष्टि गरिसकेको छ । यसैसाता बालुवाटारमा शिक्षकका नेताहरुले प्रधानमन्त्री र सभामुखलाई भेटे पनि समस्याको समाधान निस्केको छैन । यस्तो परिस्थितिमा अब शिक्षकहरुको आन्दोलन अन्योलमा रुमलिएको छ । विद्यार्थी र अभिभावकमा भने मनोवैज्ञानिक त्रास बढ्दै गएको छ ।

एमाले–कांग्रेस नेतृत्वको सरकारप्रति जनआक्रोश बढेको छ नै, सरकारी विद्यालयका शिक्षकप्रति पनि आम जनतामा विस्तारै आक्रोश बढ्न थालेको छ । यसको प्रमाणका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको फेसबुक ‘भिजिट’ गरौं–

अध्यक्ष सुवेदी हरेक दिन शिक्षक आन्दोलनका बारे केही न केही सन्देशहरु फेसबुकमा लेखिरहन्छन् । मंगलबार उनले ‘आन्दोलन अपडेट : २०८२ बैशाख ९ गते’ शीर्षकमा यस्तो स्टाटस लेखे–

‘आदरणीय साथीहरु, हाम्रो आन्दोलन यथावत् जारी छ । सदा झैं आज पनि ठिक ९ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । आन्दोलनलाई निर्णायक बनाउन अझ जोड बल सहित आन्दोलनमा जुटौं । आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधि बाहेक अन्य कार्यमा संलग्न नहुनु होला । आन्दोलन आफैंमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला । बजारमा चलेका अफवाह र गलत समाचारहरुमा विश्वास नराख्नुहोला । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्नुहोला । अहिलेसम्म देखाउनु भएको साहस, धैर्य र सक्रिय सहभागिताका लागि नमन । मेरो आन्दोलन मेरो सहभागिता । बलियो सहभागिता, बलियो आन्दोलन । बलियो आन्दोलन, बलियो उपलब्धि ।’

महासंघका अध्यक्ष सुवेदीको स्टाटसमा मंगलबार बिहान साढे ८ बजेसम्म ३ सय भन्दा बढी कमेन्ट आएका छन् । ती कमेन्टमा आन्दोलनको मोडालिटी फेर्न, ९ बजेको समयतालिका परिवर्तन गर्न र आन्दोलन स्थगनसमेत गर्न सुझाव आएका छन् ।

अधिकांश शिक्षकले शिक्षक एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ । नेतृत्वको सहासलाई सलाम छ इत्यादि लेखेर ऐक्यवद्धता जनाएका छन् भने कयौं व्यक्तिले शिक्षक महासंघमाथि विभिन्न प्रश्नको झटारो हानेका छन् ।

महासंघका अध्यक्ष सुवेदीको फेसबुक स्टाटसमाथि आएका केही प्रतिनिधि कमेन्टहरु पढौं –

अब तपाईंहरु फर्केर १२ कक्षाको परीक्षा संचालन गर्नुस् । अब तपाईंहरु र हामी अभिभावक सहित मिलेर आन्दोलन गर्नुपर्छ । हरेक दिन खाने खाना पनि मिठो लाग्दा लाग्दै छोड्यो भने भोलि पनि खादा स्वादिलो मिठो हुन्छ । आन्दोलन भड्कियर, बिग्रियर छोड्नुभन्दा राम्रो चलिरहदा छोड्दा भोलि फेरि आन्दोलन उठ्छ । अबको आन्दोलनमा तपाईंहरु पार्टीको सदस्यता पार्टीलाई बुझाएपछि आन्दोलनमा निस्किनुहोला । आन्दोलन सफल नहुने एउटा कडि तपाईंहरु पार्टीको मान्छे भयर पनि हो । (दीपेन्द्र तिम्सिना)

बाल अधिकारको गम्भीर उलंघन भएको छ (जोशी कृष्णदत्त)

फटाहा चोरहरू, अब सरकारले ठूलो कदम लिएरै सबलाई भाटा हानेर धपाउनुपर्छ । नयाँ आउँछ, के बिग्रिन्छ ? (हामी नेपाली, हाम्रो नेपाल)

तपाईंको २ छोराहरु त प्राइभेटमा पढेका रहेछन् नि नेताज्यु । रिजल्ट सत प्रतिसत कहिले ल्याउनु हुन्छ सरकारी स्कुलको नेताज्यु ? नेतागिरि नै गरेर पेन्सन भए छ नि होइन । अब बिदा हुनुस । नयाँ आउँछन् तपाईंको पेशामा पेन्सन लिएर बस्नु । (लेखनाथ अधिकारी)

यता विद्यालयमा विद्यार्थी नै सकिन थाले । कि त निजी विद्यालयलाई पनि बन्द गरौँ नत्र हाम्रो आन्दोलनको तरिका बदलौँ । (सुजन घिमिरे)

आन्दोलन लम्ब्याएर विद्यार्थीको भविष्य बर्बाद पार्नुभन्दा दलगत सदस्यता जलाएर सम्पूर्ण शिक्षकलाई अनिवार्य उपस्थिति गराउनु, एक हप्ताभित्रै माग पूरा हुन्छ । नत्र हात्ती मात्र आउँछ, ऐनले फुस्सा पाउँछ । (लक्ष्मीराज जोशी)

कुनै पनि दलको झोले कार्यकर्ता नत्यागी तपाईहरुको माग पूरा हुनै सक्दैन । (यामलाल आचार्य)

आन्दोलनकै लागि मात्र गएकाहरुको खर्च कसरी म्यानेज गरिराख्नु भएको छ संयोजकज्यु ? जसका त्यहाँ (काठमाडौंमा) कोही पनि छैनन् । न छोरा छोरी, न त स्थायी जागिर । उनीहरुको गाँस बासको ब्यवस्थापन कसरी गरिराख्नु भएको छ ? बुझ्न सकिएन यतिका दिनसम्म । (डीएन जोशी)

भोलि देखि समय ११–३ गर्न अनुरोध छ । (इन्द्र दुलाल)

९ बजे नै पुग्न अलि कठिन हुनेरैछ खाना खाने पनि समय मिलेन (श्रीराम कार्की)

आन्दोलनको समय उपयुक्त भएन । यसलाई ११–३ बनाउनु पर्छ विनम्र अनुरोध छ । (शशिकुमार भट्टराई)

ब्यापक सहभागिताका लागि ११ देखि २ बजे राख्नु पर्‍यो । भ्यालीको टिचर ९ देखि हुँदा कमभन्दा कम उपस्थिति छ पछिल्लो दुई दिन समय परिवर्तनका कारण । विचार गरौं समयका लागि । (वालकृष्ण खनाल)

ताप्लेजुङदेखि दार्चुलासम्मको शिक्षक आन्दोलनको लागि आउने तर आंशिक आन्दोलन नगरिकन यसलाई काठमाडौंको जनजीवन अस्तब्यस्त पार्न सक्नुपर्छ । विद्यालयमा विद्यार्थीका अभिभावक अनसन बस्छौं भन्नुभएको छ, मैले उहाँलाई ठिकै छ, तपाईं अभिभावक र हामी शिक्षक सँगै सिंहदरवारमा आमरण अनशन बसौं भनेको छु । अब संस्थागत विद्यालय जसरी(पनि) बन्द गर्नुपर्छ । अन्यथा द्वन्द्वको सिर्जना हुन सक्छ । आन्दोलन लम्बाउनु छ भने संस्थागत विद्यालय बन्द गर्नैपर्छ । (चन्द्रकान्त पण्डित)

निजी विद्यालयलाई पनि भर्ना र पढाइ बन्द गराउनु पर्‍यो । तबसम्म सरकारी विद्यालयको शिक्षकले गाली खाने मात्र हो । (याम गुरुङ)

हुन्छ, १२ कक्षाको परीक्षा १ महिना पछि सार्न भन्नुस, भित्र तयारी बाहिर बन्दले काम गर्दैन बरु, आन्दोलनको मोडालिटीसमेत परिवर्तन आवश्यक छ । जादु र नाचले सुनुवाइ हुनेवाला छैन । (अमृत अधिकारी)

आन्दोलनको मोडालिटी परिवर्तन गर्नुपर्‍यो यो त अति भो । बौद्धिक ब्यक्ति हौं भनेर ३ घन्टा नाचगान गरेर जादु देखाएर मात्रै पार लाग्ला जस्तो लागेन । (दिनेश बोहरा डीपी)

आन्दोलनको मोडालिटी परिवर्तन गर्न पर्ने देखियो । यस प्रकारको आन्दोलनले अभिभावक र स्थानिय तहसँग मात्र दुरी बढ्ने देखियो । बरु सिंहदरबार घेर्ने, बालुवाटार घेर्ने, पार्टी कार्यलयहरु घेर्ने जस्ता कार्यक्रम ल्याउनपर्ने देखियो । (कृष्णप्रसाद तिम्सिना)

आन्दोलनको स्वरुप बदलौं अलि । (पदमराज जोशी)

अब आन्दोलनको मोडालिटी परिवर्तन गरेर ६० प्रतिशत शिक्षक काठमाडौँ अनि ४० प्रतिशत शिक्षक स्थानीय नगरपालिकामा धर्ना दिने काम गर्नुपर्ने भयो । ४० प्रतिशत शिक्षकले हाजिर कपी नगरपालिकामा बोकेर पालिकामा हाजिर गर्ने अनि अरु काठमाडौँ जाने व्यवस्था गर्नुपर्छ । महासङ्घको माध्यमबाट प्रत्येक विद्यालयको ६० प्रतिशत शिक्षक अनिवार्य काठमाडौँ आउने तहबाट निर्णय गराइहाल्नुपर्‍यो । स्थानीय तहमा हाजिर नहुने शिक्षकहरूलाई पनि कारबाही गर्ने व्यवस्था गर्नुपर्‍यो अब । (सन्तोष बेल्बासे)

अस्थायी करारमा कार्यरत शिक्षकहरूको काहीँ कतै पनि कुरो चुहिएको छैन, झन सम्बोधन कहाँबाट हुनु । त्यसैले सम्पूर्ण अस्थायी करारको शिक्षक सर, मिस, म्याडमहरूलाई आन्दोलनमा सहभागी बन्न विचार गर्नुपर्ने हो कि ? सबै जिल्लाका साथीहरूले सोचौं यस विषयमा । हामी चर्केघाम र दर्केपानी नभनी आन्दोलन गर्ने । (भवनाथ गौतम)

अध्यक्षज्यु, आन्दोलन जारी राखी अब हामीलाई बिद्यालय जाने वातावरण बनाउनु होला । (कृष्ण घिमिरे, केजी)

मेरो सुझाव– तपाईंहरू वार्तामा बस्दा विद्यालय कर्मचारीलाई किन समावेश गर्नुहुन्न ? आन्दोलन पम्प्लेट त शिक्षक कर्मचारी भनेर लेखिया छ त । कि कर्मचारी बस्न चाहँदैनन् ? खुलस्त पार्नुहोस् (जोन भण्डारी)

हामी सडकमै छौं । समय ९–४ बनाउनेबारे सल्लाह गरौं । आन्दोलन शालीन, भद्र, सभ्य साथै ऐतिहासिक रुपमा पेचिलो र धारिलो बनाऔँ । जसले निष्कर्षमा पुग्न सफल बनाउन सहयोग गरोस् (कृष्णजी)

विद्यायलमा भर्नाको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई दिने । ८ गतेबाट जति पनि आन्दोलनको कार्यक्रम लम्बिँदै गयो, त्यस कार्यदिनको पठनपाठनको सुनिश्चिताको प्रतिवद्धता गर्नुस् । (डाँसिनारायण पौडेल)

कूटनैतिक पहललाई र मातृ पार्टीलाई दबाव दिने कामलाई जोड दिनुपर्ने देखियो ।…. नेताको काम शिक्षकबाट हुने भएपछि नेता र शिक्षकबीच अप्रत्यक्षरुपमा हाकिम र नोकरको सम्बन्ध स्थापित हुँदोरहेछ । नोकरका माग हाकिमले सजिलै पूरा गर्ने अवस्था जटिल हुन्छ । (प्रकाश ओम अधिकारी)

यो आन्दोलनविरुद्ध आम अभिभावक र विद्यार्थी सङ्गठनहरु सडकमा उत्रौं । यो अति भो । गरीब जनताका सन्तानले भर्नासमेत हुन नपाउने ? शिक्षकको नैतिकता यही हो ? (नवीन सी)

देश अहिले राज्यविहीनताको अवस्थामा पुग्दै गरेको परिदृश्य हनुमान प्रकटीकरण भइरहेकाले मेरा आदरणीय गुरुहरू समयमै थप गम्भीर र संवेदनशील एवं जिम्मेवार भइदिने हो कि ? (शिवेन्द्रकुमार यादव)

अब भने जिम्मेवार र संवेदनशील बनी आन्दोलन केही समय स्थगन गर्नु राम्रो हुन्छ कि ? एकांकी तरिकाले मात्र काम गर्ला र ! (सोमनाथ शर्मा)

प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ । (तुल्सीराम गौतम)

हजुरको सुझावलाई शीरोधार्य गरियो । हामी त ठीक ठाउँमा नै छौं । तर, नेतृत्वमा रहनुभएको सरहरूले केपीको मोहनी जालमा फसेर आची नखानु होला । हामी त सडकमा सचेत छौं । (मानसिंह खाप्चिरी)

बालुवाटारमा प्रधामन्त्री ओलीसँग तस्बिर खिच्दै शिक्षक महासंघका नेता । प्रधामन्त्रीसँगको यो भेटपछि अध्यक्ष सुवेदीले बैशाख ७ गते फेसकुममा स्टाटस लेख्दै कार्यकर्तालाई भनेका थिए,’आफ्ना प्रस्तुतीमा कुनै पनि व्यक्ति, राज्यका पदाधिकारीका व्यक्तिगत विषय, राजनीतिक तथा गैरशैक्षिक विषय समावेश नगर्नुहोला ।’

आजको आन्दोलनको नारा केपीको राजीनामा माग्नु होस् । (नारायण पौडेल खड्का )

अब यो आन्दोलनले ओलीतन्त्रको अन्त्य गर्नुपर्छ ! (विशाल कुमार गुरुङ)

१९ दिनमा व्यवस्था परिवर्तन भाको देशमा हामीचाहिँ अझै कति दिन हो ? (राजेन्द्र हुमागाईं)

यसरी जुटेर केही हुँदैन । आन्दोलनको मोडालिटी परिवर्तन गर्नुपर्छ । सिंहदरबार घेर्नु पर्छ तोडफोड गर्नुपर्छ …को खोला बगाउनु पर्छ, नत्र सम्भव छैन । (जेबी थापा)

नवीनतम् माग होइन, विगतका सहमति कार्यान्वयनको आन्दोलन हो । यसर्थ पनि कुनै यो या त्यो सवालमा दलीय भरोसाभित्र नरुमलिऔं । शिक्षा ऐन र सामुदायिक विद्यालय सुधारमा सरकार निकम्मा नबनोस् । यथासक्य ऐन जारी होस् । पेशागत उत्तरदायित्वप्रति राज्य गैरजिम्मेवार नबनोस् । (खड्का केशव)

यसपटक पनि महासंघ थाङ्नामै सुत्यो भने शिक्षकहरुले हिजोभन्दा धेरै अपमान, अभद्रता, खिसीट्युरीको सामना गर्नुपर्नेछ । उपहासको पात्र बन्नुपर्ने छ । दोस्रो दर्जाको पेशाकर्मी मात्र होइन, दोस्रो दर्जाकै मान्छे र दासताको जीवन बाँच्नुपर्नेछ । म्याक्सिम गोर्कीले भनेका छन्, ‘घिस्रन जन्मेकाहरु उड्न सक्दैनन् ।’ मलाई पूर्ण विश्वास छ, समाजका पथप्रदर्शक, हरेक मानवका भविष्य निर्माता, अगुवा र शिक्षित वर्ग शिक्षक पक्कै पनि घिस्रन जन्मेका होइनन् । शिक्षक आन्दोलन तार्किक निष्कर्षमा पुगोस्, शुभकामना ! (मदन बीसी समालोचक/मुकुन्द रेग्मी)

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५६ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त