वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता « Khabarhub

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब बराबरको अधिकृत पुँजी र २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसद्मा विधेयक दर्ता भएको छ ।
       
मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ गत शुक्रबार संसद्मा दर्ता गरेको हो ।

पूर्वाधार परियोजनाको पहिचान, प्राथमिकीकरण र लगानीका लागि आवश्यक आन्तरिक तथा बाह्य स्रोत खोज्न कानुनी व्यवस्थाका लागि यो विधेयक ल्याइएको जनाइएको छ । स्वदेशी तथा वैदेशिक लगानीलगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्तसम्बन्धी कानुन आवश्यक रहेको विधेयकमा उल्लेख छ ।

‘समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरणमार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नका लागि आवश्यक भएको हुँदा यो विधेयकलाई सरकारी विधेयकका रुपमा सङ्घीय संसद्मा पेस गरिएको हो’, विधेयक ल्याउनुको उद्देश्य र कारण खुलाउँदै अर्थ मन्त्रालयले भनेको छ ।

नेपालमा लगानीको आवश्यकता र सम्भावना सम्बन्धमा भएका विभिन्न अध्ययनले आगामी दशकमा रु एक सय खर्बभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ । तर नेपालको पूर्वाधार क्षेत्रमा हाल वार्षिक दुई खर्बदेखि तीन खर्ब मात्र लगानी भइरहेको अवस्था छ ।

यही लगानीको आवश्यकता र स्रोतको उपलब्धताका बीच रहेको कमी परिपूर्ति गर्न लगानीका नवीन स्रोत र उपायहरूको आवश्यकता रहेका कारण वैकल्पिक वित्तका स्रोत खोज्न यो विधेयक ल्याइएको हो ।

“वैकल्पिक विकास वित्तका स्रोतहरूको माध्यमबाट रोजगारी प्रवर्द्धन, दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वर्तमान वित्तीय स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाउन कानुन आवश्यक छ”, विधेयकमा भनिएको छ ।

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोष एक स्वायत्त संस्थाका रुपमा स्थापना हुनेछ । कोषमा नेपाल सरकारको ५१ प्रतिशत शेयर लगानी गर्ने प्रस्ताव गरिएको छ ।

‘चुक्तापुँजी २५ अर्बको ५१ प्रतिशतले हुने रकम अर्थात् १२ अर्ब ७५ करोड सरकारले लगानी गर्नुपर्ने हुन्छ’, विधेयकमा भनिएको छ, ‘यसको प्रभावकारी प्रयोग भई संस्था सबल एवं सक्षम भएपछि सरकारको शेयर अनुपात क्रमशः घटाउँदै जाने नीति लिनु उपयुक्त हुन्छ ।’

विधेयकअनुसार उच्च आर्थिक प्रतिफल दिने, रोजगारीको थप अवसर सिर्जना गर्ने वा मुलुकको आर्थिक विकास गर्न सहयोग पु¥याउने आयोजनामा वैकल्पिक विकास वित्त परिचालन हुनेछ । त्यस्तो लगानी जुटाउनका लागि सम्भावित स्रोतबारे पनि विधेयकमा उल्लेख छ ।

सूचना प्रविधि पार्क, विशेष पर्यटन पूर्वाधार, विशेष खेलकुद पूर्वाधारजस्ता संरचना, शहरी पूर्वाधार, डिजिटल पूर्वाधार, केबुलकार, रज्जु मार्ग, पोडवे जस्ता पूर्वधार निर्माण र सञ्चालनका लागिसमेत यो वैकल्पिक विकास वित्त कोषमार्फत लगानी गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ०१ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त