काठमाडौं- प्रस्तावित संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न लागिएपछि निजामती क्षेत्रमा उच्च पदस्थहरू तरंगित भएका छन् ।
खासगरी सरकार मुख्यसचिव र सचिवहरू अवकाश पाउनेबित्तिकै मिल्ने राजनीतिक र अन्य नियुक्ति रोकिने चिन्ताले तरंगित भएका हुन् ।
उनीहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेर विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न दबाब दिएका हुन् ।
‘उहाँहरू ‘कुलिङ पिरियड’कै विषयमा सभामुखलाई ध्यानकर्षण गराउन आउनु भएको हो’, प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने, ‘मुख्यसचि एकनारायण अर्यालसहितले सभामुखलाई मौखिक रुपमा ध्यानाकर्षण गराएर जानु भएको छ ।’
मुख्यसचिव अर्याल र श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करसहितका सरकारका २२ जना सचिवहरूले आफूहरूमाथि राज्यले ठूलो लगानी गरेकाले उपयोग गर्नुपर्ने जिकिर गरेका थिए ।
‘हामीमाथि राज्यले ठूलो लगानी गरेको छ, यसलाई उपयोग गरियोस् भन्ने हाम्रो धारणा हो’, मुख्यसचिव अर्यालसहितका सचिवहरूले सभामुख घिमिरेसँग भने, ‘त्यसैले ‘कुलिङ पिरियड’ नराखी निजामती विधेयकलाई संसद्मा लैजानु उचित हुन्छ ।’
सभामुख घिमिरेको ध्यानाकर्षणका लागि संसदका महासचिव पद्मप्रसाद पाण्डे पनि युगेका थिए ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राखेर पास गरिसकेको छ । अब उक्त विधेयक संसद्मा जाने छ ।
मुख्यसचिव र सचिवहरू ‘कुलिङ पिरियड’ हटाउन सभामुखलाई दबाब दिने गरी समूह बनाएर पुगेका थिए । सभामुखलाई भेट्ने क्रममा श्रमसचिव कृष्णहरि पुष्करले कुनै हालतमा ‘कुलिङ पिरियड’ राख्न नहुने अडान राखेका थिए । उनले यसमा सभामुख घिमिरेको सकारात्मक भूमिमा चाहिने बताए ।
पुष्करले ३०/४० वर्षसम्म सरकारको सेवामा लागेका हुनाले अवकाशपछि पनि आफूहरूलाई राज्यले उपयोग गर्नु उचित हुने तर्क गरेका थिए । उनले अवकाशपछि संवैधानिक र राज्यका निकायमा रहेर काम गर्ने वातावरण बनाइदिनुपर्ने पनि उल्लेख गरे । पुष्करले यसरी ‘कुलिङ पिरियड’ राखेर सेवा गर्ने अवसरबाट बञ्चित गर्न नहुने पनि तर्क गरेका थिए ।
यसबारेमा सभामुख घिमिरेले संसदीय समितिबाट पास भइसकेको कुरामा अब हाउसमै गएर छलफल हुने बताए । उनले सचिवहरूको कुरालाई आफूले संसद्मा राखेर छलफल गराउने पनि बताएका थिए । तर संसद्ले निर्णय गर्ने भएकाले विधेयक आइसकेपछि थप कुरा हुने उनले जवाफ दिए ।
यसअघि उच्च सरकारी कर्मचारीहरूको टोलीले शीर्ष नेतामाथि पनि दबाब बढाइरहेका छन् । उनीहरूले बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । त्यसैगरी सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटर ‘कुलिङ पिरियड’ हटाउन दबाब दिएका छन् । दबाब टोलीमा मुख्यसचिव अर्याल आफैं खटिएका छन् ।
प्रतिक्रिया