नयाँदिल्ली- भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नंबाला केशव राव उर्फ बसवराजु सुरक्षा बलको कारबाहीमा बुधबार मारिएका छन् ।
‘अपरेशन ब्ल्याक फरेस्ट’ अन्तर्गत छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षाबलसँगको मुठभेडमा उनी मारिएका हुन् । भारतीय गृहमन्त्री अमित शाहले बसवराजु सहित २७ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् ।
बसवराजु भारतीय माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक थिए । उनको मृत्युलाई सन् २००४ पछि माओवादी आन्दोलनका लागि सबैभन्दा ठूलो क्षति भनिएको छ ।
बसवराजु वैचारिक, संगठनात्मक र सैन्य रणनीतिकारका रूपमा चर्चित थिए । उनको नेतृत्वमा भारतमा माओवादी आन्दोलनले लामो समय प्रभाव पारेको थियो ।
उनको मृत्युले भारतीय माओवादी आन्दोलनलाई गम्भीर धक्का लागेको छ । यसलाई भारतीय जनता पार्टी नेतृत्वको केन्द्रीय सरकारले माओवादी आन्दोलन सकिने दिशातर्फको एउटा ठूलो खुड्किलो भनेको छ ।
छत्तीसगढमा सुरक्षाबलसँगको भिडन्तमा माओवादी नेता मारिएका नंबाला केशव राव उर्फ बसवराजमाथि भारतीय सरकारले १.५ करोड रुपैयाँको पुरस्कार तोकेको थियो । उनी भारतमा माओवादी आन्दोलनका शीर्ष नेता हु्न् ।
बुधबार छत्तीसगढको दुर्गम जंगलमा सुरक्षा बलले माओवादीविरुद्ध ठूलो सफलता हात पारेका बताइएको छ । केन्द्र सरकारद्वारा प्रतिबन्धित संगठन भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव बसवराजु मारिएपछि उक्त आन्दोलन पनि संकटमा परेको छ ।
केन्द्रीय रिजर्भ पुलिस बल र डिस्ट्रिक्ट रिजर्भ गार्डको संयुक्त अपरेशनमा उनी मारिएका पुष्टि भएको छ । पछिल्ला वर्षहरूमा यो सुरक्षाबलको सबैभन्दा ठूलो सफलता मानिएको छ ।
इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु
सन् १९८० मा आन्ध्र प्रदेशको वारंगलस्थित क्षेत्रीय इन्जिनियरिङ कलेज (वर्तमान एनआईटी) बाट बीटेक सकेर बसवराजु माओवादी आन्दोलनमा होमिएका थिए ।
उनी लामो समयदेखि सुरक्षाबलहरूको पहुँचभन्दा बाहिर थिए । यसअघि पनि उनी भिडन्तमा मारिएको खबर आएको थियो, तर उनी हरेकपटक जोगिने गरेका थिए ।
एलटीटीईबाट गुरिल्ला युद्ध
सुरक्षा विशेषज्ञहरूका अनुसार बसवराजु गुरिल्ला युद्धमा निकै दक्ष नेतामध्ये एक थिए । उनले श्रीलङ्काको तमिल विद्रोही समूह एलटीटीईसँग जंगल युद्ध, बम, बारुद र सैन्य रणनीतिसम्बन्धी तालिम लिएका थिए । उनी माओवादीहरूलाई काँधमा राखेर चलाउने रकेट लञ्चर बनाउन सिकाउँथे । यद्यपि ती प्राविधिक कमजोरीका कारण धेरै सफल हुन सकेनन् ।

कयौँ ठूला आक्रमण
बसवराजुको नेतृत्वमा भारतका विभिन्न राज्यहरूमा माओवादी लडाकूले कयौं ठूला आक्रमण गरेका थिए ।
सन् २०१०- दन्तेवाडा : सीआईपीएफ क्याम्पमा आक्रमण (७६ जवान मारिए)
झिरम घाँटी आक्रमण : कांग्रेस नेता महेन्द्र कर्मा लगायत २७ जनाको मृत्यु
सन् २०१८, अराकु घाँटी : टीडीपी विधायक किदारी सर्वेश्वर र पूर्व विधायक सिवेरी सोमाको हत्या
एक्सन म्यान
६ फिट अग्ला बसवराजु सधैँ ९ एमएम पेस्तो, एके-४७ बन्दुक र सञ्चार उपकरण बोकेर हिँड्थे । पूर्व माओवादी सदस्यहरूका अनुसार उनी ‘एक्शन म्यान’ थिए ।
उनी सन् १९७९ मा वारंगलको कलेजमा विद्यार्थीबीचको झगडामा एक छात्रको मृत्यु भएपछि पहिलोपटक पक्राउ परेका थिए । त्यसबेला उनलाई सशर्त धरौटीमा छाडियो ।
सन् १९८० को दशकको सुरुवातमा उनी विशाखापट्टनममा भक्तको भेषमा अय्यप्पा दीक्षा लिँदै गर्दा उनी पक्राउ परे, तर पछि फेरि भाग्न सफल भए ।
उनी मार्क्सवादी-लेनिनवादी विचारधाराबाट प्रभावित थिए । १० जुलाई सन् १९५५ मा आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियन्नापेट गाउँमा जन्मिएका बसवराजु इन्जिनियरिङ पढ्दा-पढ्दै मार्क्सवादी-लेनिनवादी विचारधाराबाट प्रभावित भए ।
सन् १९८० मा कोन्डापल्ली सीतारमैयाको नेतृत्वमा रहेको सीपीआई (एमएल) पीपुल्स वार ग्रुप (पीडब्लुजी) मा सामेल भए । उनी ‘रेडिकल स्टुडेन्ट्स युनियन’ (आरसएसयू) का पनि सदस्य थिए ।

रणनीतिक योजनाकार
सन् १९८०–८७ को बीचमा उनी विशाखापट्टनम र पर्वी गोदावरीमा विभिन्न भूमिकामा सक्रिय रहिरहे । त्यसपछि उनी पार्टीको केन्द्रीय समिति, सन् २००४ मा पीपुल्स वार र माओवादी कम्युनिस्ट सेन्टर (एमसीसी) एकीकरणपछिको सीपीआई (माओवादी) मा प्रमुख रणनीतिकार बनेर उदाए । उनले ‘रेड कोरिडोर’ र ‘जनताना सरकार’ को अवधारणा ल्याए।
सन् २००१ मा उनी पोलिटब्यूरो सदस्य भए । त्यससँगै उनी पार्टीको सैन्य शाखा सीएमसीका प्रमुख बने । उनको मृत्युको खबरपछि उनको गाउँ जियन्नापेटमा शोकमा डुबेको छ । उनको शव गाउँ लाने नलाने विषयमा अझै पनि परिवार अनिश्चयमा परेको छ ।
प्रतिक्रिया