७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम « Khabarhub

बजेट कार्यान्वयनका ३४० दिन

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

सरकारलाई संशोधित लक्ष्य भेट्नै मुस्किल !


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट संशोधनको ७७.२३ प्रतिशत खर्च गरेको छ । यो खर्च सुरु विनियोजनको ७०.२८ प्रतिशतमात्रै हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम महिना अर्थात्‌ असारको पहिलो सातासम्म सरकारले १३ खर्ब सात अर्ब ४७ करोड ९६ लाख रुपैयाँ खर्च गर्न सकेको हो ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट घोषणा गरेका थिए ।

तर, सत्ता गठबन्धन फेरिएपछि गठित सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गएको माघ २४ गते अर्धवार्षिक समीक्षामार्फत बजेट संशोधन गरी नयाँ अनुमान सार्वजनिक गरेका थिए ।

पौडेलले एक खर्ब ६७ अर्ब ५६ करोड ९७ लाख रुपैयाँले घटाउँदै बजेट आकार १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिदिएका थिए । सुरु विनियोजनभन्दा कुल बजेट ९.१ प्रतिशतले कम, चालु खर्च ९.७६ प्रतिशत कम र पुँजीगत खर्च १५ प्रतिशत कम हुने पौडेलले अनुमान गरेका थिए ।

तर, वर्तमान सरकार आफैँले एक खर्ब ६७ अर्ब रुपैयाँले घटाएको बजेट खर्चन पनि नसक्ने आकडाले देखाउँछ । संशोधित शतप्रतिशत बजेट आकार कार्यान्वयन गर्न सरकारले अबको २५ दिनभित्र बाँकी तीन खर्ब ८५ अर्ब २५ करोड ३९ लाख रुपैयाँ खर्चनुपर्छ ।

सरकारले असार मसान्तसम्म अब प्रतिदिन १५ अर्ब ४१ करोड एक लाख रुपैयाँ खर्च गरेमात्र शतप्रतिशत बजेट आकार कार्यान्वयन सम्भव छ ।

जब कि असारको पहिलो साता सरकारले प्रतिदिन तीन अर्ब ५० करोड ५० लाख रुपैयाँका दरले कुल २४ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ खर्च गर्न सकेको छ । जेठ मसान्तसम्मको ११ महिनामा सरकारले प्रतिदिन औषतमा तीन अर्ब ९० करोड ३९ लाख ७८ हजार १८१ रुपैयाँ खर्च गरेको थियो ।

जेठ मसान्तसम्म ६८.९६ प्रतिशत रहेको सरकारको कुल बजेट खर्च असार सात गतेसम्म शुरु विनियोजनको ७०.२८ प्रतिशत पुगेको छ । हालसम्म चालु खर्च आठ खर्ब ७० अर्ब ४३ करोड ९० लाख र पुँजीगत खर्च एक खर्ब ४९ अर्ब ६ करोड ७० लाख पुगेको छ ।

वर्तमान सरकारले बजेट संशोधनमार्फत चालु खर्च लक्ष्यको ९०.२४ प्रतिशत १० खर्ब २९ अर्ब ३० करोड रुपैयाँमात्र हुने अनुमान गरेको थियो । हालसम्म आठ खर्ब ७० अर्ब ४३ करोड रुपैयाँ अर्थात्‌ संशोधित लक्ष्यको ८४.५६ प्रतिशत चालु खर्च भएको छ ।

असार मसान्तसम्म पूँजीगततर्फ दुई खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान सरकारले गरेको थियो । असार पहिलो सातासम्म सरकारले एक खर्ब ४९ अर्ब ६ करोड ७० लाख रुपैयाँ अर्थात्‌ संशोधित लक्ष्यको ४९.७६ प्रतिशतमात्र खर्चन सकेको छ । यस हिसाबले पुँजीगत खर्च संशोधित लक्ष्यको ५० प्रतिशत पनि पुग्न सकेको छैन ।

आम्दानीतर्फ उस्तै

तीन खर्ब ८८ अर्ब ६७ करोड रुपैयाँ बराबरको घाटा बजेट कार्यान्वयन गरिरहेको सरकारले आम्दानीतर्फ हालसम्म सुरु लक्ष्यको ७२.१३ प्रतिशत जुटाउन सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ७ गतेसम्म सरकारले १० खर्ब ६१ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ प्राप्त गरेको हो ।

राजस्व सुरु लक्ष्यको ७२.७३ प्रतिशत अर्थात्‌ १० खर्ब ३२ अर्ब २२ करोड आड लाख रुपैयाँ उठेको छ । आर्थिक वर्षभर १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन उठाउने सरकारको सुरु लक्ष्य थियो ।

५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदान प्राप्ति सुरु लक्ष्य राखेको सरकारले असार ७ सम्म ३३.७९ प्रतिशत अर्थात्‌ १७ अर्ब ६८ करोड आठ लाख रुपैयाँमात्रै हात पारेको छ ।

सरकारले चालु आर्थिक वर्षभर राजस्व र आन्तरिक ऋणबाट १४ खर्ब ७५ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । एक खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ वाह्य ऋण काढ्ने संशोधित लक्ष्य छ ।

आन्तरिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋण दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थपिएको छ । उक्त अवधिसम्म सरकारले वाह्य ऋण ९९ अर्ब २० करोड १७ लाख र तीन खर्ब १४ अर्ब ९९ करोड ६ लाख रुपैयाँ आन्तरिक ऋण काढेको छ ।

आन्तरिक ऋणतर्फ सुरु लक्ष्यको ४.५५ र वाह्यतर्फ ५४.२८ प्रतिशत वाह्य ऋण काढ्न बाँकी छ । यद्यपि लक्ष्य संशोधन गरेकाले सरकारले केही कम ऋण काढे लक्ष्य भेट्न पर्याप्त हुनेछ ।

गत आर्थिक वर्ष २०८०/८१ को अन्त्य अर्थात्‌ असार मसान्तसम्म सरकारले कुल बजेट खर्च सुरु लक्ष्यको ८०.४४ प्रतिशतमात्र गर्न सकेको थियो । चालु खर्च ८३.४१ र पुँजीगत खर्च ६३.४७ प्रतिशतमा सीमित भएको थियो ।

चालु आर्थिक वर्षमा पनि सुरु बजेट ८० प्रतिशत हाराहारी नै खर्च हुने देखिन्छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : ४६ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त