एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प « Khabarhub

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प

ओलीको प्रश्न– सगरमाथा चढेपछि अर्को हिमाल किन ?


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको अध्यक्ष बन्ने दाबी गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीलाई एमालेले इन्ट्री नदिने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु पार्टी राजनीतिमा आउनु संसदीय प्रणालीको मर्यादा विपरीत हुने औपचारिक निर्णय एमालेको जारी केन्द्रीय कमिटी बैठकले गर्न लागेको छ ।

केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति दलीय राजनीतिमा आउन नहुने औपचारिक निर्णय नै गरिसकेपछि एमालेमा सक्रिय हुने विद्यादेवी भण्डारीको योजनाको ‘च्याप्टर क्लोज’ हुनेछ । किनभने, राजनीतिक निर्णय नै भइसकेपछि विद्याको पार्टी सदस्यताले निरन्तरता पाउने छैन ।

सोमबार केन्द्रीय कमिटी बैठकको उदघाटन मन्तव्यमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माले पूर्वराष्ट्रपति दलको राजनीतिमा आउन नहुने स्पष्ट सन्देश दिए । उनले त्यस्तो सन्देश मात्र दिएनन्, विद्या भण्डारीको प्रवक्ता बनेर नहिँड्न केन्द्रीय सदस्यहरुलाई निर्देशनसमेत दिए ।

बैठकमा सहभागी एक नेताले दिएको जनकारी अनुसार ओलीले प्रश्न उठाउँदै भनेका थिए, ‘एकपटक सगरमाथा चढिसकेको व्यक्ति किन अर्को हिमाल चढ्ने ? राष्ट्र प्रमुख भइसकेको व्यक्ति आफ्नो मर्यादामा बस्नुपर्छ । प्रणालीमाथि नै प्रश्न उठ्ने काम गर्नुहुँदैन ।’

एमाले अध्यक्ष ओलीको यो विचारमा बहुमत पोलिटब्यूरो सदस्यहरु पनि सहमत देखिन्छन् । साथै केन्द्रीय कमिटीमा पनि एकाध सदस्यबाहेक अरुले विद्या भण्डारीलाई साथ दिन सकेका छैनन् । यो स्थितिमा जारी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति दलीय राजनीतिमा आउन नहुने राजनीतिक निर्णय लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

अब विद्याले के गर्लिन् ?

एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने औपचारिक निर्णय गरेको अवस्थामा विद्यादेवी भण्डारीको योजनामा धक्का लाग्ने निश्चित छ । त्यो अवस्थामा भण्डारीले के गर्लिन् ?

पहिलो विकल्प : एमाले पार्टीले नै औपचारिक निर्णय गरिसकेपछि बहुमतको निर्णय मानेर निश्क्रिय रहनु विद्यादेवी भण्डारीको पहिलो विकल्प हो । तर, सरकारी सुविधासमेत त्यागेँ भन्दै मिडियामा अन्र्तवार्ता दिइरहेकी भण्डारी अब चुप लागेर बस्ने सम्भावना पनि कमै छ । उनलाई उचाल्नेहरुले पनि अब चुप लागेर बस्न दिने छैनन् ।

दोस्रो विकल्प : केन्द्रीय कमिटीले विद्याको बाटो छेक्ने औपचारिक निर्णय गरेको अवस्थामा आगामी भदौ तेस्रो साता हुने विधान अधिवेशनमा यो एजेण्डा घुसाउने र छलफलमा ल्याउने भण्डारीका लागि दोस्रो विकल्प हुन सक्छ । तर, पार्टीभित्रैबाट त्यसो गर्नका लागि विद्या आफैंबाट सम्भव छैन । कुनै न कुनै नेताले केन्द्रीय कमिटीमा फरक मत दर्ता गराएर त्यसलाई विधान महाधिवेशनमा छलफलमा लैजानुपर्ने हुन्छ । अथवा, विधान महाधिवशेन हलमै आवाज उठाएर प्रतिनिधिहरुले फ्लोरबाटै यो विषयलाई औपचारिक प्रस्तावका रुपमा घुसाउन सक्नुपर्ने हुन्छ ।

विडम्वना के छ भने एमालेभित्र ‘विद्या भण्डारी पक्षधर’ भनिएका नेताले फरक मत दर्ता गराउने अहिलेसम्म आँट गरेको देखिँदैन । कोही पनि भीम रावल बन्न तयार देखिँदैनन् । पोलिटब्यूरो वा केन्द्रीय कमिटी कतै पनि विद्यालाई राजनीतिमा प्रवेश गर्न दिइनुपर्छ भनेर औपचारिक लिखित प्रस्ताव दर्ता गर्ने आँट कसैले गरेको छैन । त्यसैले आगामी विधान अधिवेशनमा विद्यालाई साथ दिने र ओलीलाई टक्कर दिने त्यस्तो आँटी नेता जन्मने आशा शायदै गर्न सकिन्छ ।

तेस्रो विकल्प : केन्द्रीय कमिटी वा विधान अधिवेशनबाट पनि बाटो छेकिएको अवस्थामा ०८३ सालमा हुने ११ औं महाधिवेशमा खुला प्रतिस्पर्धाबाट चुनाव जितेर एमालेको अध्यक्ष हुने विकल्पसमेत रहेको कतिपय एमाले नेताहरुको तर्क छ ।

तर, पार्टी सदस्यता नै खारेज भएको व्यक्ति महाधिवेशनको प्रतिनिधि बन्नै सक्दैन । प्रतिनिधि नै नभएपछि अध्यक्षमा चुनाव लड्न पाउने कुरै भएन । गैर सदस्यले उपाध्यक्ष वा अन्य पद पनि पाउने अवस्था रहँदैन ।

चौथो विकल्प : नेकपा एमालेले विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारीमा मात्रै आउनबाट रोक्न सक्छ । तर, उनमा ‘सगरमाथाबाट ओर्लेर हिमाल चढ्ने’ रहर जागिसकेको हो भने राजनीतिमा प्रवेश गर्नबाटै एमालेले रोक्न सक्दैन ।

संविधान र कानूनले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोक्ने स्थिति हुँदासम्म एमालेभन्दा बाहिरबाट विद्याले राजनीति अघि बढाइन् भने एमालेले रोक्न सक्दैन । त्यो अवस्थामा उनले नयाँ पार्टी खोलेर नयाँ दलको नेता बन्नुपर्ने हुन्छ ।माओवादी, एमाले, एकीकृत समाजवादी इत्यादि पार्टीबाट मान्छे भेला पारेर उनले नयाँ दल खोल्नुपर्ने हुन्छ ।

तर, त्यसो गर्दा विद्यामाथि एमाले फुटाएको आरोप लाग्न सक्छ । उनले आफूलाई नेकपा एमाले र जबजप्रति प्रतिवद्ध बताउँदै आएको हुनाले नयाँ दल बनाउने सम्भावना खासै देखिँदैन ।

यो स्थितिमा अब विद्यादेवी भण्डारीले के गर्लिन् ? माथिका यिनै चारमध्ये एउटा बाटो रोज्नुबाहेक उनीसँग अरु विकल्प देखिँदैन ।

चुप लागेर बस्ने, केन्द्रीय कमिटी वा विधान महाधिवेशनमा लबिइङ गर्ने वा ११ औं महाधिवेशनसम्म एमालेभित्रै अन्तरसंघर्ष चर्काउने वा एमाले छाडेर बाहिरबाटै राजनीति अघि बढाउने । विद्यादेवी भण्डारीसँग भएका चार विकल्प यत्ति हुन् ।

पूर्वराष्ट्रपतिको ‘पाेज’ यथावत्

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा सक्रिय हुने भएकाले पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा त्याग गरेको घोषणा गरेकी छिन् । तर, एमाले कार्यालय च्यासलमा केपी ओलीसँग भेट गर्न आउँदा उनको अघिपछि नेपाली सेनाका सुरक्षा गार्ड देखिन्थे । यसले देखाउँछ, पूर्वराष्ट्रपति भण्डारी अहिले पनि भीआईपीकै हैसियतमा छिन् । सर्वसाधारण नागरिक वा एमालेको सामान्य पार्टी सदस्य जस्तो बन्न सकेकी छैनन् ।

पूर्वराष्ट्रपतिलाई राज्यले स्वाभाविक रुपमा सुरक्षा लगायत अन्य सुविधा दिने गरेको छ । विद्याले लिँदै आएको सुरक्षा अहिलेसम्म कटौती नहुनु भनेको उनको हैसियत एमालेको सदस्यका रुपमा नभई पूर्वराष्ट्रपतिकै रुपमा रहेको अर्थ लाग्ने विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३३ बजे

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक