काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्ने लालभित्तीतर्फ भएर बग्थ्यो । हाल सुनसरीको बराहक्षेत्र–२ स्थित सुन्दर गुन्दर कोशी किनारमा बस्ती थियो । चक्रघट्टीदेखि पश्चिम तीन किलोमिटर टाढासम्म बस्ती बसेको थियो । पातला बस्ती तर कृषि पशुपालनको क्षेत्रमा उर्वर थियो ।
चतरा नहर भर्खरै खनिसकिएको थियो र त्यसलाई मिलाउने काम भइरहेको थियो । तात्कालीन एलएण्डटी (हाल धार्मिक मठमन्दिर निर्माण भएको जगदगुरु आश्रम रहेका ठाउँ) मा चतरा बजार थियो । बजारलाई पुनर्बास गर्ने क्रम चलिरहेको थियो ।
चतरा नहर खनिसकेपछि केही चहलपहल बढ्यो । चतराको कच्ची सडकमा धुलो उडाउँदै एउटा ल्याण्डरोभर चल्थ्यो । त्यसैताका पुरानो मोडलको एउटा बस धरान–विराटनगरका कच्ची सडकमा दौडन्थ्यो । तराईतिरका सामान गोरु गाडामा बुधबारकै दिन लावालस्करसहित चतराको बिहीबारे हाट आउँथ्यो । बयलमानको दुवाली गोरु र राँगाहरूमा चल्दा गाडाका चक्काबाट आउने चुइँचुइँको एकोहोरो आवाज निकै परपरसम्म सङ्गीतमय सुनिन्थ्यो । मधेसतिरका खाद्यान्न घोडाहरूमा लोड गरेर चतरा हाटमा ल्याइन्थ्यो ।

कालाबञ्जरमा भर्खर धान मिल चल्न थालेको थियो । भोजपुर र खोटाङतिरका मान्छे ढाकर लिएर चतरा आइपुग्थे । भारी लगाएर तोक्मा टेक्दै उनीहरू खाद्यान्न बोकेर उकालो लाग्थे । गाउँका मान्छे कोशीको पानी खान बाध्य थिए । अहिलेको बयरवन बजारदेखि जङ्गल सुरु हुन्थ्यो । कच्ची बाटो थियो । दुर्गम देखिन्थ्यो । जङ्गलै जङ्गलले घेरिएको भर्जिन ठाउँ थियो चतरा । बीसको दशकमा चतराको वास्तविक अनुहारको सर्सर्ती बयान गर्छन्, स्थानीय युवराज भट्टराई ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेपछि फागुनसम्म विश्वेश्वर कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइयो । फागुनपछि सुन्दरीजल बन्दी गृह पुर्याइयो । वि. सं. २०२१ असार ८ देखि १५ गते तदअनुसार सन् १९६४ जुन २१–२८ सम्ममा सुन्दरीजल बन्दीगृहमा विश्वेश्वरप्रसाद कोइरालाले ‘सुम्निमा’ उपन्यास लेखे ।
सुम्निमाभित्रको चतरा
उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाले विश्वामित्रको शेषपछि कौशिकी नदीको तिर शून्यमा अड्किन पुगेको उल्लेख गर्दै सुम्निमा उपन्यास सुरु गरेका छन् । सुम्निमा लेखनताकाको समय, हालको समय र विश्वेश्वरले सुम्निमाको कल्पना गरेको समयको अन्तरमा निकै दूरी स्थापित भइसकेको छ ।

विश्वेश्वरले उपन्यासको सुरुवात गरेका छन्–
धेरै धेरै वर्षको कुरा हो, अतितको धमिलो गर्भबाट आएको कि वर्तमानमा हाम्रो कानमा यो पुराण जस्तो ध्वनित हुन्छ । प्राचीन वृत्तान्तहरूलाई आजकलका हामी आफ्नो वैयक्तिक अनुभवद्वारा ग्रहण गर्न सक्दैनौ, ती हाम्रा जीवनका जीवित अनुभूति हुन सक्दैनन । ती पुराना घटनाहरूले सत्य र असत्यको माध्यमबाट आफूलाई एकदम मुक्त गरिसकेका हुन्छन् । दश हजार वर्ष बाँच्ने ऋषि वैज्ञानिक सत्य होइनन् न चित्रकारले कागजमा रहले रातो सूर्य नै वैज्ञानिक सत्य हो । ती त प्रतीक हुन् । अनुभवभन्दा बाहिर पाउने सक्ने चाख प्रतीकात्मक हुन्छ, सङ्केतजनित । त्यसैले यो कथा सत्य र असत्यको तराजुमा नजोखिने यात्रा वृत्तान्त हो । यसको महत्त्व पौराणिक छ, सङ्केतमय, प्रतीकात्मक (पृ. १) ।

विश्वेश्वरले सुम्निमामा भनेका छन्– त्यहाँ कुनै कालमा आश्रम थियो भन्ने चिह्नसम्म पनि रहेन । भिल्लहरू शिकारका लागि त्यता आउँदा कहिलेकाहीँ कुनै एउटा ढुङ्गालाई देखाएर भन्ने गर्थे, – प्राचीनकालको एउटा आश्रमको अवशेष हो यो, जो किरातीहरूमा जनश्रुति मात्र बाँकी रह्यो कि उनीहरूको जातिको एउटा शाखा, पछि रावा खोलातर्फ लाग्यो, को एउटा पुर्खा आश्रमवासी बाहुन थियो रे ।
सुम्निमा उपन्यासको विषयवस्तु मिथकीय कुरालाई आधार मानेर तयार गरिएको विश्वेश्वरले स्वयम् स्वीकारेको देखिन्छ । विश्वामित्रको आश्रम त्यतिबेला यज्ञवेदी, पाठपूजा र धार्मिक स्थलको रूपमा चर्चित थियो । सहस्र वेदका पाठहरू उच्चरित हुने हुँदा त्यहाँ रमाइलो वातावरणको सिर्जना हुन्थ्यो । उपन्यासमा उपन्यासकारले सूर्यदत्तको परिवारले घर छोडी वनको आश्रममा आइ बसेको देखाएका छन् ।
सुम्निमाभित्रको आश्रम कौशिकी किनार चतराको भूभागमा रहेको छ । यही भिल्ल बस्ती र किराँत बस्तीको मध्य भागमा पर्ने चतराको पवित्र माटोमा अवस्थित आश्रममा सोमदत्तको शिक्षा दीक्षाको सुरूवात हुन्छ ।
सोमदत्त पितासँगै स्नान, ध्यान गरी उच्च स्वरले मन्त्र पढ्दै जौ, तेल, धुप आदिको हवन गर्दै यज्ञवेदीमा व्यस्त हुन्छ । सुनसान ठाउँमा पिता– पुत्र वेदको उच्चारणले आश्रमको वातावरण नै रमाइलो हुन्छ । अध्ययनको काम सकेर सोमदत्त गाई लिएर कोशी तटमा पुग्छ जसको छेवैमा समथर हरिया फाँटहरू र नजिकै एउटा शमीको वृक्ष पनि देखिन्छ । यस्तो रमणीय स्थान कोशीको तटमा शमीको वृक्षमुनि एकदिन सोमदत्तको किरात संस्कृतिकी एक केटी सुम्निमासँग परिचय हुन पुग्छ ।

कोशी नदीको चतराको यथास्थिति र परिवर्तनबीचको अन्तराल र समयको आँकलन उपन्यासले गरेको छ । उपन्यासको आखिरी पानामा विश्वेश्वर लेख्छन्, ‘किरातीहरूको जातिको रक्तको महासमुद्रमा एउटा थोपाको कुनै अस्तित्व रहेन । कोशीको अबाध गति प्रकृतिको विराट् शान्तिलाई चिर्दै बगिरह्यो ।’
कोइरालाले उपन्यासको भौगोलिक पृष्ठभूमि वराहक्षेत्र र त्यसभन्दा उत्तरको पहाडी भूभागलाई बनाएका छन् । पिता सूर्यदत्तले आफ्नो वानप्रस्थाश्रमका क्रममा कोसी–किनार वराहक्षेत्रमा कुटी निर्माण गरेका छन् जहाँ सोमदत्त पनि साथै छन् । वराहक्षेत्रमा आर्य (ब्राह्मण)हरूको उपस्थितिबारे भारतीय गुप्तकालका दुईवटा ऐतिहासिक अभिलेख उपलब्ध छन् । ज्ञानमणि नेपालका अनुसार, दिनेशचन्द्र सरकारद्वारा ‘सेलेक्टेड इन्स्क्रिप्सन’ मा प्रकाशित दुईवटा ताम्रपत्रअनुसार बुधगुप्त (विसं. ५३३–५२) र अयोध्याका अमृतदेवले वराहक्षेत्रमा श्वेतवराहका लागि जग्गा गुठी राखिदिएको उल्लेख छ (नेपाल निरुक्त, विसं. २०७४, पृ. ३१५) ।
अध्येता भोगिराज चाम्लिङले लेखेका छन्– प्रामाणिक रूपमा वराहक्षेत्रमा ब्राह्मणहरूको उपस्थिति छैटौँ शताब्दीदेखि भएको स्पष्ट हुन्छ । यस हिसाबले हेर्दा ब्राह्मण सोमदत्तले बाँचेको समयलाई छैटौँ शताब्दीभन्दा परको मान्न सकिँदैन । खुवालुङ किरातीहरूको सामाजिक स्मरणमा अझै पनि ताजै छ । त्यो पवित्र भूगोलमा ब्राह्मण सोमदत्त र किराँती सुम्निमाको कथा कोरेका छन् विश्वेश्वरप्रसाद कोइरालाले । किराँतीहरू खुवालुङबाट सप्तकोसी तरेर कोही अरुण, कोही तमोर र कोही दूधकोसी पछ्याएर पहाडतिर छरिएका थिए ।

कोशी नदी र विश्वेश्वर
सुन्दरीजल बन्दी गृहमा भित्रका विश्वेश्वरले कसरी चतराको त्यो दुर्गम ठाउँको कल्पना गरे ? के उनी त्यहाँ कहिल्यै पुगेका थिए ? यो प्रश्नको उत्तर उनैले दिएका छन् ।
१० जनवरी १९७७ का दिन ‘फेरि सुन्दरीजल’ डायरीमा विश्वेश्वरले आफूले व्यतीत गरेको समयबारे भनेका छन् । ‘अहिले म ६२ वर्षको भएँ । यसमध्ये १९ वर्ष काठमाडौंमा बिताएँ । चार वर्ष विराटनगरमा (अर्थात् नेपालमा २३ वर्ष) । दुई वर्ष चन्द्रगञ्ज (हालको सिरहा, माडर) मा । (अर्थात् नेपालमा २५ वर्ष) । बनारसमा १९ वर्ष । पटनामा आठ वर्ष । टेढीमा पाँच वर्ष । कलकत्तामा तीन वर्ष । हजारीबागमा दुई वर्ष । दार्जीलिङमा एक वर्ष गरी भारतमा ३८ वर्ष बिताएँ । काम र क्रियाकलापको आधारमा हेर्दा पढाइमा १७ वर्ष । जेलमा १२ वर्ष । निर्वासनमा २० वर्ष । सरकारमा दुई वर्ष बिताएँ । भारत र नेपालमा गरी करिब २६ वर्ष सक्रिय राजनीतिमा बिताएँ ।’

कोशी नदी र विश्वेश्वर कोइरालाको सम्बन्ध चतरासँगभन्दा पनि बढी बिहार हुँदै बग्ने कोशी नदीसँग बढी भएको हुनुपर्छ । तर चतराबाटै बगरे आउने कोशीको उस्तै विशेषता थियो । विश्वेश्वर पिता कृष्णप्रसाद कोइरालासँग निर्वासनमा रहँदा मोरङ नजिकै बिहारको एउटा गाउँमा बसेका थिए । वीपीले त्यसै गाउँको पृष्ठभूमिमा नरेन्द्र दाइ उपन्यास र श्वेतभैरवी संग्रहमा रहेका कथाहरू लेखे । प्रदीप गिरीको नजरमा बीपी कोइराला शीर्षकको आलेखमा गिरीले यो प्रसङ्ग उल्लेख गरेका छन् । पछि कोशी नदीले त्यस घरजममा हठात् दुःख दिन थाल्यो ।
उपन्यासमा विश्वेश्वरले चित्रण गरेको भूगोल वराहक्षेत्र, चतरा र त्यसको माथि पहाडमा मनुवा दह रहेको बाहेक उल्लेखीय अन्य भौगोलिक स्थानका बारे लेखेका छैनन् । सुम्निमा उपन्यासमाथि अध्येताहरूले निकै धेरै विषयमा अध्ययन गरेका छन् ।
सुम्निमा उपन्यासको परिवेशीय मिथक, सुम्निमा उपन्यासको बिम्बपरक विश्लेषण, पर्यावरणको आँखाबाट सुम्निमा उपन्यास, उपन्यासको औपन्यासिक वृत्त, उपन्यासको विधातात्विक विश्लेषण, उपन्यासभित्रको वर्णशङ्कर संस्कृतिको अवधारणा, सुम्निमाभित्रको अभिव्यङ्ग्य पक्षको खोजीलगायतका विषयमा अध्ययन भएको छ ।
उपन्यासकारलाई भौगोलिक अवस्थाको पर्याप्त ज्ञान नभएका कारण पनि त्यहाँको भौगोलिक परिवेशको उल्लेख नभएको हुन सक्छ । चतरा, वराहक्षेत्र आसपासका ऐतिहासिक पुरातात्विक क्षेत्रको उल्लेख नहुनु र मनुवा दहलगायतका काल्पनिक नाम समावेश हुनु यसको उदाहरण हुन सक्छ ।

उपन्यासमा भनिएको छ– ‘बरु सूर्यदत्तले किराती भिल्ललाई सम्झाउँदै भने — ल भयो तिमीहरूलाई त्यो ठाउँ पूजा निमित्त चाहिएको छ भने भयो तिमीहरूकै रहोेस् त्यो स्थान । तर त्यहाँ सुँगुरको हिंसा नगर्नू । त्यो ठाउँ आजदेखि वराहक्षेत्र कहलाइने छ र हाम्रा पुराणमा वर्णित वराह अवतारको द्योतक त्यो स्थल हुनेछ । (पृ.११)
त्यस्तै उपन्यासमा अर्को प्रसङ्ग छ– ‘भिल्ल समूहबाट भिल्लले भन्यो — ‘त्यो माथिको सानो पहाडी थुम्कोमा हामीले हाम्रो पूजाको नियमानुसार सुँगुरपाठा चढाउने गरेका छौँ । त्यो चढाउन पाएनौँ भने अन्धेर हुन्छ राजपुत्र’ (पृ.११)
उपन्यासमा ‘त्यो माथिको सानो पहाडी थुम्को’ कुन ठाउँ हो भन्ने उल्लेख छैन । कोशी नदी किनार र चतरा भनेपछि पक्कै पनि त्यो स्थान वर्तमानको चावाचा (किराती नाम, राई भाषामा चावाको अर्थ पानी भन्ने हुन्छ ।) बागदलबारी, सूर्यकुण्ड, भवानीस्थान, लालकोट गढीलगायतका क्षेत्रमध्ये कुनै एक हुन सक्छ । त्यस्तै किरातहरूको सघन बस्तीका रूपमा पश्चिमपट्टि मैनामैनी रहेको छ । उक्त स्थानसमेत सुम्निमा उपन्यासको परिवेश हुनसक्छ ।
विश्वेश्वरले उल्लेख गरेको मनुवा दह खास भूगोलमा देखिँदैन । बरु धार्मिक शास्त्रले उल्लेख गरेको सूर्यकुण्ड, चन्द्रकुण्ड त्यहाँ अवस्थित छ । त्यस्तै चावाचा हुँदै कोशी नदीमा मिसिने हाल भनिँदै आएको रानी खोला अवस्थित छ ।

कसरी लेखियो सुम्निमा ?
विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासालाई आफैंले ‘किराँत देशको एउटा कथा’ भनेका छन् ।
अध्येता भोगीराज चाम्लिङले विश्वेश्वरप्रसाद कोइराला जेल नपरेका भए सुम्निमा लेखिने थिएन भनेका छन् । उनी भन्छन्, ‘जेल परेर मात्र किन लेखिन्थ्यो र ! जेलमा रामनारायण मिश्र र दिवानसिंह राईबीच हिन्दू र किराँत संस्कृति–सभ्यताका सन्दर्भमा गरम बहस नभएको भए पनि यो उपन्यास लेखिने थिएन ।’
चाम्लिङका अनुसार यी दुईको बहस सुनेपछि विश्वेश्वरप्रसाद कोइरालालाई यो उपन्यास लेख्ने ‘प्लट’ फुरेको थियो । सुम्निमा र बिजुवाको कथा उनले दिवानसिंह राईबाट सुनेका थिए । सोमदत्तको कथा रामनारायण मिश्रबाट । मिश्रले अध्यात्मवाद, राईले भौतिकवादमा आधारित भएर गरेको बहसबाट आख्यानका रूपमा सुम्निमा जन्मिएको हो ।
वर्तमानको चतरा
सुम्निमा उपन्यास वि.सं. २०२७ मा प्रकाशित भयो । प्रकाशित भएको ५५ वर्ष नाघिसकेको छ । सुम्निमा रचना भएको ६० वर्षपछि चतरामा भौतिक परिवर्तन भएको छ ।
कोशी नदी कहिले पश्चिम कहिले पूर्व भएर बग्छ । कोशीले स्थानीयको नम्बरी जग्गाको ठूलो हिस्सा आफूमा समाहित गरेको छ । कोशी नदीमा पुल लागेको छ । सडक कालोपत्रे भएका छन् । कोशी नदीमा व्यवसायिक रुपमा मोटर बोट चल्न थालेका छन् । साइकल, मोटर साइकल र विद्युतीय सवारी साधनले बयलगाडालाई प्रतिस्थापन गरेको छ । साना गाउँ नगरमा परिवर्तन भएका छन् । ढिके नूनको बजार मुक्तिधामका रुपमा परिणत भएको छ । पहिले हिँडेर मात्र पुग्न सकिने ठाउँमा मोटर पुग्छन् । भौतिक पूर्वाधारको विकासले चतरा परिवर्तन भएको छ ।
धार्मिक पक्षको बढ्दो उद्घाटनले चतराको सांस्कृतिक पक्ष ओझेलमा छ । पुरातात्विक र ऐतिहासिक पक्ष पनि प्रकाशमा आउन सकेको छैन । प्राकृतिक रुपमा सुन्दर रहेको यो क्षेत्रलाई पर्यटकीय दृष्टिले समेत प्रवद्र्धन गर्न सकिएको छैन ।
चतरामा प्रत्येक ६ वर्षमा अद्र्धकुम्भ मेला र प्रत्येक बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्छ । त्यसका अलावा वर्षमा ६ वटा ठूला मेला लाग्छन् । चतराधाम र वराहक्षेत्रधाममा गरी वर्षमा २० बढी पर्व चल्छन् । तर तिनीहरूको प्रवद्र्धन स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत गर्न सकेको छैन ।

सन्दर्भ स्रोत :
सुम्निमा – विश्वेश्वरप्रसाद कोइराला
के सुम्निमा नांगै थिइन् ? – भोगीराज चाम्लिङ
‘बीपी कोइरालाले सोमदत्तमाथि अन्याय गर्नुभयो’ – प्रदीप गिरी
बीपीको ‘सुम्निमा’ : एक निरूपण – हरिबहादुर श्रेष्ठ
सुम्निमा उपन्यासको परिवेशीय मिथक– विन्दु पौड्याल वस्ती
सुम्निमा उपन्यासमा व्यङ्ग्यार्थ– गोकुल पोख्रेल
प्रतिक्रिया