लेखसार* :
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा चर्चा गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलेखनको परिवेश, प्रेरणा र प्रभावको अध्ययन गरी उनको विधागत प्रवृत्ति र योगदानका बारेमा प्रकाश पार्नु यस लेखको मूल उद्देश्य रहेकोले कोइरालाको साहित्यलेखनको परिवेश, प्रेरणा र प्रभाव तथा विधागत प्रवृत्ति र योगदान केके हुन् ? भन्ने समस्यामा केन्द्रित रही अनुसन्धान कार्यलाई अगाडि बढाइएको छ । कोइरालाका मूल कृतिलाई प्राथमिक र कोइरालाका विभिन्न अन्तर्वाता तथा उनका विषयमा अध्ययन–अनुसन्धानलाई द्वितीय स्रोतका रूपमा लिई पुस्तकालयीय प्रक्रियाद्वारा वर्णनात्मक र विश्लेषण विधिका माध्यमबाट विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदानबारे प्रकाश पार्ने प्रयास गरिएको छ ।
शब्दकुञ्जी : अस्तित्ववाद, विसङ्गतिवाद, मनोविश्लेषण, यौनचेतना, मानवतावाद, छायावाद
विषय परिचय
विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९) नेपाली साहित्यजगत्का आधुनिक युगका मूर्धन्य प्रतिभा हुन् । राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी व्यक्तिको रूपमा आफ्नो परिचय दिन रुचाउने कोइरालाको खुला जीवन मूलतः राजनीतिमा समर्पित देखिन्छ भने बन्दी जीवन साहित्यमा । विश्व समाजवादी आन्दोलनका अथक योद्धा, राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रवर्तक, लोकतन्त्रका संवाहक, राष्ट्रियताका धरोहर, युगनायकजस्ता विशेषताहरू कोइरालाको राजनीतिक व्यक्तित्वसँग जोडिएर आउँछन् । अमर साहित्यशिल्पी कोइरालाले आफ्नो अथक साधनाद्वारा नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा उभिन सफल गराए । साहित्यका विविध विधामा कलम चलाएका कोइराला विशेष गरी आख्यानकारका रूपमा प्रसिद्ध छन् । वि.सं. १९९२ मा ‘शारदा’ पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ कथाका माध्यमबाट कोइरालाले पाश्चात्य मनोविज्ञानको नवीन प्रवृत्तिलाई साहित्यमा प्रवेश गराएपछि नेपाली साहित्यले पाश्चात्य साहित्यको हाराहारीमा पुग्ने मार्ग तय गरेको थियो । गुरुप्रसाद मैनाली, बालकृष्ण सम र विश्वेश्वरप्रसाद कोइराला नेपाली कथा–साहित्यमा आधुनिकयुगको रेखा कोर्ने त्रिमूर्तिको रूपमा देखा पर्दछन् (श्रेष्ठ र शर्मा, २०५९, पृ. ८१–८२ ) ।
हिन्दी साहित्यबाट कलम चलाउन सुरु गर्ने विश्वेश्वरप्रसाद कोइराला मनोवैज्ञानिक कथाकार, वैचारिक उपन्यासकार, स्वच्छन्दतावादी कवि, यथार्थवादी जीवनीकार, तार्किक निबन्धकार, समालोचक तथा अनुवादकजस्ता बहुआयामिक व्यक्तित्वको रूपमा स्थापित भएका छन् । कोइरालाको लेखनी सिर्जना, समालोचना, अनुवाद, गैरसाहित्यिक लेखरचना आदि विविध क्षेत्रमा अगाडि बढेको छ ।
यस आलेखमा कोइरालाको समग्र लेखक व्यक्तित्वको नभएर केवल साहित्यिक व्यक्तित्वको सङ्क्षिप्त परिचय दिने जमर्को गरिएको छ ।
समस्या तथा उद्देश्य
विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्वको विश्लेषण गर्नु अध्ययनको मूलभूत समस्या हो । यही प्रमुख समस्यालाई दृष्टिगत गरी कोइरालाको साहित्यिक व्यक्तित्वको प्रेरणा, प्रभाव र परिवेश तथा विधागत प्रवृत्ति र योगदान केके हुन् ? भन्ने प्रश्नहरूको समाधानका लागि अध्ययन–विश्लेषण केन्द्रित रहेको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्वको विश्लेषण गर्नु अध्ययनको मूलभूत उद्देश्य हो । यही प्रमुख उद्देश्यलाई दृष्टिगत गरी कोइरालाको साहित्यिक व्यक्तित्वको प्रेरणा, प्रभाव र परिवेशको पहिचानका साथै उनका विधागत प्रवृत्ति र योगदानका बारेमा प्रकाश पार्नु लेखको उद्देश्य रहेको छ ।
अध्ययनविधि
विश्वेश्वरप्रसाद कोइरालाका मूल कृतिहरूलाई प्राथमिक स्रोतका रूपमा लिनुका साथै कोइरालाद्वारा विभिन्न अवसर र सन्दर्भमा प्रस्तुत गरिएका अन्तरवार्ता र अभिमतहरू, कोइरालाको साहित्यका विषयमा व्यक्त गरिएका अभिव्यक्तिहरू, विश्लेषकहरूले लेखेका र सम्पादन एवम् सङ्कलन गरेका समालोचनात्मक पुस्तकहरू र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेख–रचना तथा अन्तरवार्ताका अध्ययन–विश्लेषणलाई द्वितीय स्रोतका रूपमा लिई पुस्तकालयीय पद्धतिद्वारा वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाई यस लेखको कार्यसम्पादन गरिएको छ ।
कोइरालाका विविध साहित्यिक आयामको परिवेश, प्रेरणा र प्रभाव
कोही पनि जन्मदै ज्ञाता भएर आएको देखिंदैन । ज्ञानको उत्पत्ति र विकास–प्रभाव, प्रेरणा, प्रयत्न र परिवेशबाटै भएको पाइन्छ । अन्य व्यक्तिसरह नै कोइरालाको साहित्यिक व्यक्तित्व पनि पूर्वजहरूका सिर्जना तथा दर्शनहरूको प्रभाव र प्रेरण तथा विभिन्न परिवेशबाट अभिप्रेरित भएको देखिन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाले चौध–पन्ध्र वर्षको कलिलो उमेरदेखि नै साहित्ययात्रा प्रारम्भ गरेको पाइन्छ । कोइरालाको साहित्यिक वातावरणको मूल प्रेरणास्रोतको रूपमा हिन्दी साहित्यका स्वच्छन्दतावादी कवि तथा समालोचक शान्तिप्रिय द्विवेदी रहेका छन् । द्विवेदीले नै जयशंकर ‘प्रसाद’, मुन्सी अजमेरीजी, मैथिलीशरण गुप्त, विनोदशंकर व्यासजस्ता हिन्दी साहित्यका मूर्धन्य साहित्यकारहरूसँग कोइरालालाई परिचित गराएका थिए । द्विवेदीले नै हिन्दुस्तानका प्रख्यात समालोचक तथा स्वच्छन्दतावादी कवि एवम् कथाकार रामकृष्ण दाससँग कोइरालालाई परिचित गराएका थिए; जसको कथा ‘अन्तःपुरका आरम्भ’ कथाकार कोइरालाको प्रथम अनुप्रेरणास्रोत मानिन्छ (कोइराला, २०५६, पृ. १४४–४५) ।
हिन्दी साहित्यका आदर्शोन्मुख यथार्थवादी कथाकार तथा उपन्यासकार प्रेमचन्दसँग कोइरालालाई परिचित गराउने व्यक्ति पनि द्विवेदी नै थिए । मुन्सी प्रेमचन्दको सम्पादकत्वमा प्रकाशित हुने ‘हंस’ पत्रिकामा कोइरालाका सुरुसुरुका कथा र कविताहरू प्रकाशित भएका देखिन्छन् । कोइरालाले प्रेरणा र प्रकाशनका आधारमा द्विवेदी र प्रेमचन्द दुवैलाई साहित्यिक गुरु स्वीकारेका छन् (चटर्जी, २०५१, पृ. १०५) ।
विश्वेश्वरप्रसाद कोइरालाले बाल्यकालदेखि नै साहित्यिक गतिविधिहरूप्रति जिज्ञासा राख्दथे । आमाको काखमा बसेर बढो चाखका साथ दन्त्यकथाहरू सुन्थे । बाल्यकालमै उनले रामायण र महाभारतका कथाहरू चाख मानेर पढेका थिए । स्कुलमा पढ्दा पञ्चतन्त्रका कथाहरूलाई अत्यन्तै रुचिकासाथ पढ्नुका साथै प्रेमचन्द, कौशिक, सुदर्शन आदिका सामाजिक कथाहरूको अध्ययन कोइरालाले गरेका थिए (कोइराला, २०५६, पृ. १४८) ।
सानैदेखि साहित्यप्रति रुचि भएका कोइरालालाई शान्तिप्रिय द्विवेदीले “…विसु ! तिमीमा साहित्यिक रुचि छ भन्ने मलाई थाहा थियो । तिमी लेखक, कवि तथा कथाकार हुन सक्छौ (कोइराला, २०५६, पृ. १४९) ।” भनेर हौसला दिँदा उनको प्रतिभाले प्रस्फुटित हुने अवसर पायो । द्विवेदीकै सल्लाहअनुसार रामकृष्ण दासको ‘अन्तःपुरका आरम्भ’ को मूल प्रेरणा र प्रभावमा कोइरालाले हिन्दी नाम ‘वहाँ’ दिएर प्रथम लघुकथा ‘त्यहाँ’ (१९८७) लेखे ।
यो कथा हिन्दी भाषामा लेखिएको छ र यसलाई कोइरालाको कथा–लेखन अथवा साहित्य–साधनाकै प्रथम रचना मानिन्छ (शर्मा, २०५७, पृ. २०) । त्यसपछि कोइरालाका रचनाहरू भारतबाट प्रकाशित हुने ‘हंस’ का साथै ‘विशाल भारत’, ‘भविष्य’ आदि पत्रिकामा प्रकाशित हुन्छन् (कोइराला, २०५६, पृ. १५१) । हिन्दी साहित्यबाट आफ्नो साहित्ययात्रा आरम्भ गरेका कोइरालाले नेपाली साहित्यमा कलम चलाउने अनुप्रेरणा सूर्यविक्रम ज्ञवालीबाट प्राप्त गरेका थिए (आचार्य, २०३९, पृ. १९) ।
कोइराला मूलतः मनोवैज्ञानिक यथार्थवादी साहित्यकार हुन् । मनोविश्लेषणका बृहत्रयी भनेर चिनिने फ्रायड, एडलर र जुङ्गबाट प्रभावित भएको कुरालाई कोइराला स्वयम्ले स्वीकारेका छन् (कोइराला, २०४०, पृ. ३६) । सुरुमा शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, प्रेमचन्द आदिबाट प्रभावित कोइरालाले रविन्द्रनाथ टैगोर, शरच्चन्द्र चटर्जीजस्ता बङ्गाली साहित्यकारहरूलाई मन पराएको पाइन्छ । त्यस्तै जयशंकर ‘प्रसाद’, सुमित्रानन्द पन्त, सूर्यकान्त त्रिपाठी ‘निराला’ जस्ता मूर्धन्य भारतीय साहित्यकारहरूको प्रभाव पनि कोइरालामा पर्न गयो (चटर्जी, २०५१, पृ. ११४) ।
सुरुमा एसियाली साहित्य पढ्ने कोइरालामा विस्तारै पाश्चात्य साहित्यप्रति पनि झुकाव बढ्दै गएको पाइन्छ । फ्रान्सेली र रसियाली लघुकथाहरू कोइरालाले अत्यन्तै मन पराउँथे । चेखबबाट आफू प्रभावित भएको स्वीकार्ने कोइरालाले पुस्किन, दस्तोएभस्की, टल्सटाय, तुर्गनेभ, गोर्की आदि रसियाली साहित्यकारहरूलाई मन पराउँथे । एनोतोले फ्राँस, मोपाँसा आदि फ्रेन्च साहित्यकारहरूलाई मन पराउने कोइरालाले अल्बर्ट कामु र जाँ पाल सार्त्रलाई नेपाली साहित्यमा आफूले भित्राउन सकेको कुरा सगौरव बताएका छन् (चटर्जी, २०५१, पृ. १०७–८) ।
कविताका क्षेत्रमा अङ्ग्रेजी कविता रुचाउने कोइरालालाई सेक्सपियरका सनेट मन पर्थे र उनले मार्लोलाई पनि राम्रा साहित्यकार मान्थे । वर्डस्वर्थलाई त्यति मन नपराए पनि किट्स, सेली, वाइरन आदिका रोमान्टिक कविता, स्विनवर्गका सङ्गीत, ब्राउनिङका एकालाप कोइरालाले अत्यन्तै रुचाउँथे । चाल्र्स डिकेन्स, जर्ज बर्नाड सा, टेनिसन, जोन म्यान्सफिल्ड, युजिन ओ–निल कोइरालाका अत्यन्त प्रिय साहित्यकार मानिन्छन् । अर्नेष्ट हेमिंग्वेका उपन्यास र टेनेसी विलियमका नाटकलाई पनि धेरै रुचाउने कोइरालाका दृष्टिमा बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा उत्कृष्ट नेपाली साहित्यकार हुन् (चटर्जी, २०५१, पृ. ११४–१६) ।
विश्वेश्वरप्रसाद कोइरालामा कुनै एउटा मात्र दर्शनको प्रभाव परेको छ भन्दा अन्याय हुनजान्छ । पूर्वीय तथा पाश्चात्य दर्शनको समष्टि प्रभाव कोइरालामा परेको देखिन्छ । मनोविज्ञान, अस्तित्ववाद जस्ता पाश्चात्य दर्शनको साथै पूर्वीय वेदान्त दर्शनको प्रभाव कोइरालाको साहित्यिक व्यक्तित्वमा स्पष्टतः परेको पाइन्छ । कोइरालाका जेलजीवनका साथी रामनारायण मिश्रको अध्यात्म दर्शन र दिवानसिंह राईको जैविक दर्शनले कोइरालाको साहित्यिक व्यक्तित्वमा अनुप्रेरणाको काम गर्यो । त्यसैको उपज हो ‘सुम्निमा’ उपन्यास (कोइराला, २०४०, पृ. ३४) ।
प्रारम्भमा हिन्दी साहित्यमा कलम चलाउँदा मुख्यतः सामाजिक, प्राकृतिक परिवेश र अंशतः मनोवैज्ञानिक परिवेशको मियोमा साहित्य सिर्जना गर्ने कोइरालाले जब नेपाली साहित्यमा कलम चलाउन सुरु गरे तब उनले मनोविज्ञानलाई नै केन्द्रीय परिवेशको रूपमा ग्रहण गरेको देखिन्छ । कोइरालाले सामाजिक, सांस्कृतिक, आध्यात्मिक, राजनीतिक, प्राकृतिक, जैविक विविध परिवेशलाई नछोएका अवश्य होइनन् । यद्यपि कोइराला मनोवैज्ञानिक परिवेशको चित्र उतार्न जति सफल देखिन्छन्, त्यति अन्य पक्षमा देखिंदैनन् ।
महान् राजनीतिज्ञ हुँदाहुँदै पनि साहित्यलाई आफ्नो राजनीतिक विचारको प्रचारको माध्यमको रूपमा नलिनु विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक विशिष्टता हो । कोइरालाले मुख्यतः बन्दी अवस्थामै साहित्य सिर्जना गरेको देखिन्छ । बन्दी अवस्थामा लेखिएका कोइरालाका रचनाहरू अत्यन्तै उत्कृष्ट मानिन्छन् ।
तत्कालीन समयमा देशमा व्याप्त निरङ्कुश राजनीतिक व्यवस्थाका कारण आफ्ना रचनाहरू प्रकाशनमा ल्याउन भोग्नु पर्ने कठिनाइले गर्दा कोइरालाले राजनीतिक तथा सामाजिक विषयवस्तुको सट्टा व्यक्तिमनलाई साहित्यको विषयको रूपमा ग्रहण गरेको एउटा कारण मान्न सकिन्छ भने अर्कोतर्फ जेलमा रहेर विविध दर्शनको अध्ययनबाट कोइरालामा विकसित भएको दार्शनिक चिन्तन र एकान्तमा समय बिताउँदा मानिसमा विकसित हुने अन्तर्मुखी व्यक्तित्वका कारण पनि कोइरालाले मनोविज्ञानलाई साहित्य सिर्जनाको मुख्य परिवेशले रूपमा ग्रहण गरेका हुन् भन्न सकिन्छ ।
कथाकार
विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यका प्रथम मनोवैज्ञानिक कथाकार हुन् । वि.सं. १९९२ मार्ग– पौषको ‘शारदा’मा प्रकाशित कोइरालाको ‘चन्द्रवदन’ कथाबाट नै नेपाली कथा–साहित्यमा मनोविज्ञानको प्रवेश भएको हो । वि.सं. १९८७ मा ‘हंस’ पत्रिकामा ‘वहाँ’ नामक हिन्दी लघुकथा प्रकाशित गरेर कथायात्रा आरम्भ गरेका कथाकार कोइरालाले साहित्यका प्रायः सबै विधामा कलम चलाएका भए तापनि उनको सफलताको प्रमुख विधा कथा नै हो ।
कोइरालाका सुरुमा हिन्दीमा लेखिएका ‘वहाँ’, ‘पथिक’, ‘अपनी ही तरह’, ‘भैयादाइ’, जस्ता कथाहरू उनको कथा–लेखनको अभ्यासको रूपमा देखा पर्दछन् । कोइरालाले जब नेपालीमा कथा लेख्न थाले तब उनी चर्चित बन्न पुगे । कोइरालाका ‘दोषी चस्मा’ (२००६), ‘श्वेतभैरवी’ (२०३९) कथासङ्ग्रहमा सङ्कलित कथाहरूका अतिरिक्त अन्य छरिएर रहेका केही कथाहरू गरी जम्मा २६ वटा नेपाली कथाहरू प्रकाशित भएका छन् । नेपाली भाषामा लेखिएका कोइरालाका सबै कथाहरू उत्कृष्ट देखिन्छन् । यी बाहेक कोइरालाले पृथ्वीनारायण शाहको विजय र मानसिक परेसानीलाई लिएर कथा लेखेको बताएका छन् (कोइराला, २०४०, पृ. ३६) । यद्यपि उक्त कथा हालसम्म प्रकाशित भएको पाइँदैन । कोइरालाले लेखेको ‘त्रिभङ्गा उमा’ नामक कथा प्रकाशित हुने समयमा ‘बाबु, आमा र छोरा’ को नाममा परिवर्तित भई औपन्यासिक आकारमा प्रकाशित भएकोले यसलाई उपन्यासकै रूपमा समालोकहरूले गणना गरेका छन् (दाहाल, २०६०, पृ. २३३–३४) ।
कोइरालाको ‘कैदी’ नामक हिन्दी कथा इलाहावादबाट प्रकाशित ‘भविष्य’ पत्रिकामा छापिएको कुरा हरिप्रसाद शर्मालाई दिएको अन्तरवार्तामा उल्लेख गरिएको छ (कोइराला, २०४०, पृ. ३३) । नेपाली कथा–साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको आगमनले युगान्तकारी परिवर्तन आयो । पाश्चात्य फ्रायडवादी विचारलाई नेपाली साहित्यमा प्रवेश गराई त्यसलाई नेपाली संस्कृतिसापेक्ष रूपमा प्रयोग गर्ने कथाकार कोइराला नेपाली साहित्यको कथा–विधामा आधुनिकताको श्रीगणेश गर्ने प्रतिभामध्ये एक हुन् ।
उपन्यासकार
कथापछि विश्वेश्वरप्रसाद कोइरालाको अर्को प्रसिद्धिको विधा उपन्यास हो । फ्रायड, जुङ्ग, एडलर जस्ता मनोविश्लेषकहरूको प्रभावमा कथा लेख्ने कोइरालाले आफ्ना उपन्यासमा मनोविज्ञानका अतिरिक्त कामु, सार्त्रजस्ता अस्तित्ववादी–विसङ्गतिवादी दार्शनिकहरूका विचारलाई महत्त्वपूर्ण स्थान दिएका छन् । कोइरालाका ‘तीन घुम्ती’ (२०२५), ‘नरेन्द्रदाइ’ (२०२६), ‘सुम्निमा’ (२०२७), ‘मोदिआइन’ (२०३६), ‘हिटलर र यहुदी’ (२०४०) र ‘बाबु, आमा र छोरा’ (२०४५) गरी जम्मा ६ वटा उपन्यास प्रकाशित छन् । कोइरालाले–“उपन्यासमा मैले कथा भन्न खोजेको छुइनँ, विचार दिन चाहेको छु (कोइराला, २०४०, पृ. ३४)” भनेर आफ्ना उपन्यासहरूलाई आख्यानका दृष्टिले भन्दा दर्शन र विचारका दृष्टिले महत्त्वपूर्ण ठानेका छन् ।
कोइरालाका उपन्यासहरूमध्ये ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ मूलतः नारीमूलक उपन्यास हुन् भने ‘सुम्निमा’ संस्कृतिमूलक उपन्यास हो । त्यसैगरी कोइरालाका ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ मानवतामूलक उपन्यास हुन् । कोइरालाका हरेक उपन्यासमा फ्रायडीय यौनचेतना र अस्तित्ववादी दर्शनको अपूर्व सङ्गम भेट्न सकिन्छ । कोइरालाले आफ्ना उपन्यासमार्फत मान्छेलाई मान्छेकै रूपमा हेरेका छन् र मान्छेलाई ठूलोभन्दा पनि असल बन्ने प्रेरणा दिन खोजेका छन् ।
कवि
“जीवनको अनन्त ज्वालाबाट टिपेको– शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो हो– कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तर्चेतनामा झल्काउँछ ’’ (कोइराला, २०५६, पृ. १४९) भनेर कवितालाई परिभाषित गर्ने विश्वेश्वरप्रसाद कोइरालाका एक दर्जन (१ हिन्दी र ११ नेपाली) गद्य कविता प्रकाशित छन् ।
वि.सं. १९८७ को ‘हंस’ पत्रिकामा प्रकाशित ‘बम्बईप्रति’ हिन्दी कविता कोइरालाको प्रथम प्रकाशित कविता हो । कोइराला स्वयम्ले १५–२० वटा कविता लेखेको र कविता आफूलाई मन पर्ने विधा (कोइराला, २०४०, पृ. ३४) बताए पनि उनका सबै कविता उपलब्ध हुन सकेका छैनन् । उनका प्रकाशित कविताहरूमा ‘बम्बईप्रति’ (हंस–१९८७), ‘बारीको कुरो’ (सिउँडी–२०२६), ‘विष्टापुष्प’ (सिउँडी–२०२६), ‘छोरी र छाया’ (कल्पना–२०२७), ‘एउटा सन्धि : एक सम्झौता’ (नेपाल–२०२९), ‘नखिचिएको तस्बिर सुन्दर’ (बिहान–२०२९), ‘पोखरा’ (पूजा–२०३९), ‘बादल गोलगोल, कोमलकोमल’ (एकता–२०३९), ‘वर्षाले पोतेको दृश्य’ (राजधानी–२०४३), ‘कोशी–कौशिकी’ (नेपाल पुकार–२०४७ ), ‘बगरको घोचो’ (नवकविता–२०५०) र ‘टाढाको कल्पना’ (मधुपर्क–२०५२) रहेका छन् (शर्मा, २०५९ : २६)।
हिन्दी छायावादी–रहस्यवादी कविताको प्रभावमा अगाडि बढेको कोइरालाको कवि व्यक्तित्वमा स्वच्छन्दतावादी भावधारा, कल्पना, प्रकृतिप्रेम, प्रणय र मानवतावादको प्रभाव भेटिन्छ ।
निबन्धकार
विश्वेश्वश्वरप्रसाद कोइरालाले विभिन्न विषयवस्तु सम्बद्ध निबन्धहरू लेखेका छन् । कोइरालाका निबन्धहरू कतै भावना–प्रधान भएर बगेका छन् र कतै वस्तुनिष्ठ भएर व्यक्त भएका छन् । कोइरालाका निबन्धमा कोरा कल्पनाभन्दा आत्माको अनुभूति पोखिएको भेटिन्छ । उनका हालसम्म ‘आफ्नो कथा’ (२०४०), ‘जेल जर्नल’ (२०५४), ‘आत्मवृत्तान्त’ (२०५५) र ‘फेरि सुन्दरीजल’ (२०६३) गरी चारवटा निबन्धात्मक पुस्तकाकार कृतिहरू प्रकाशित हुनुका अतिरिक्त अन्य फुटकर निबन्धहरू पनि प्रकाशित भएका छन् ।
कोइरालाका निबन्धात्मक कृतिहरूलाई १. जेल–साहित्य निबन्ध, २. जीवनी–साहित्य निबन्ध, ३. पत्र–साहित्य निबन्ध, ४. संस्मरण निबन्ध र ५. अनुभूतिजन्य निबन्धको रूपमा विभाजन गर्न सकिन्छ । कोइरालाको ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ (कारागार दिनपञ्जी)लाई जेल–साहित्य निबन्धको रूपमा लिन सकिन्छ । ‘आफ्नो कथा’ र ‘आत्मवृत्तान्त’लाई जीवनी–साहित्य निबन्ध मान्न सकिन्छ । पत्र–साहित्य निबन्धअन्तर्गत कोइरालाले भाइ तारिणीप्रसाद कोइरालाको नाममा लेखेको ‘जेलको चिठी,’ बुहारी रोशा कोइरालाको नाममा लेखेको ‘जेठाजुको चिठी’ (अप्रकाशित)को साथै शैलजा आचार्य तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका नेताहरूलाई लेखेका पत्रहरूलाई लिन सकिन्छ भने कोइरालाले आफ्ना सहृदयी मित्र फणिश्वरनाथ रेणुको सम्झनामा लेखेको संस्मरण ‘रेणु र म’ लाई संस्मरण निबन्ध मान्न सकिन्छ ।
उनका ‘कला, कलाको दाियत्व र मानव जीवन’, ‘साहित्यमा आधुनिकतावाद : शिल्प परिवर्तनको आन्दोलन’, ‘साहित्यमा प्रगतिशीलता’, ‘धर्म, ईश्वर र नियति’ जस्ता निबन्धहरू अनुभूतिजन्य निबन्ध हुन् । यीबाहेक कोइरालाका ‘जीवनशक्ति’, ‘प्रेमका व्यवहार’जस्ता हिन्दी निबन्ध पनि प्रकाशित छन् (कोइराला, २०५९, पृ. २२) । आफ्ना निबन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न कोइराला सफल देखिन्छन् ।
समालोचक
विश्वेश्वप्रसाद कोइरालाले धेरै समालोचना नलेखे पनि जति लेखेका छन् त्यसमा विषयवस्तुको चुरो समातेर विश्लेषण गर्न सफल भएका छन् । यद्यपि कोइराला स्वयम्ले आफूलाई समालोचक स्वीकारेका छैनन् । कोइरालाले भनेका छन्– “समालोचक हुनलाई पर्याप्त ज्ञान र सीप हुनुपर्दछ । समालोचक भनेका वास्तवमा साहित्यका रजहाँस हुन् । म आफू समालोचक नभएकोले आफ्ना रचनाका बारेमा नै आधिकारिक रूपले केही भन्न सक्दिनँ न त समकालीन अथवा तत्कालीन सामाजिक परिवेशकै बारेमा केही भन्न सक्छु” (आचार्य, २०३९, पृ. २५) ।
कोइरालाले आफूलाई समालोचक नमाने पनि केही लेख र अन्तरवार्ताका माध्यमबाट आफूलाई समालोचकका रूपमा प्रस्तुत गरेका छन् । स्वसिर्जनापरक समालोचक र परसिर्जनात्मक समालोचक गरी दुई प्रकारले कोइरालाको समालोचक व्यक्तित्व विकसित भएको देखिन्छ ।
स्वसिर्जनापरक समालोचक
स्वसिर्जनापरक सामालोचनाका माध्यमबाट कोइरालाले आफ्ना केही कथा, उपन्यासका सम्बन्धमा गहकिला मूल्याङ्कन प्रस्तुत गरेका छन् । “मैले इन्द्रवदन भन्ने एउटा कथा लेखें नेपालीमा । त्यसको बडो चर्चा भयो । त्यसमा एउटा नयाँ प्रयोग गरेको देखियो । त्यस कथाको मुख्य पात्र एउटी स्वास्नीमानिस छे । उसको एउटी छोरी छ । उसको दुलहा वर्ष दिनको निम्ति कतै बेपत्ता भएको छ । त्यस स्वास्नीमान्छेको बिहानदेखि बेलुकासम्मको नीरस दैनिक जीवनको चित्रण छ । छेउको अर्को घरको बार्दलीमा एउटा लोग्नेमानिस बस्दो रहेछ । त्यो नै त्यसको अभिरुचिको विषय भएको रहेछ । त्यसबाट उत्पन्न भएको मनोवैज्ञानिक असरको मैले विश्लेषण गरेको थिएँ । त्यो कथा ‘शारदा’ भन्ने मासिक पत्रिकामा निस्क्यो जसलाई सम्पादन गर्दथे– सिद्धिचरण श्रेष्ठ (कोइराला, २०५५, पृ. २६) ।
‘चन्द्रवदन’ कथामाथि कोइराला स्वयम्ले गरेको समालोचना हो यो । यस कथाको प्रथम प्रकाशन ‘इन्द्रवदन’ नामबाट भएको देखिन्छ । ‘दोषी चस्मा’ कथा सम्बन्धमा कोइरालाको समालोचकीय टिप्पणी यस्तो छ –
मैले कहानीकार चेखब पढेर प्रभाव ग्रहण गरे पनि उनको ‘बैदारको मरण’ कथा भने पढेकै थिइनँ । त्यो कथा त्यति नामी पनि होइन । त्यसमा अति देखाइएको छ; त्यहाँ बैदार मर्छ । मेरो कथामा त्यो अति छैन । त्यसो हुँदा ‘दोषी चस्मा’ कथामा चेखबको ‘बैदारको मरण’ कथाको कुनै प्रभाव छैन । (कोइराला, २०४०, पृ. ३६) ।
कोइरालाले आफ्ना अन्य कथाहरूका सम्बन्धमा यस्तो समीक्षात्मक टिप्पणी गरेका छन्–
मलाई ‘पवित्रा’ कथा मन पर्छ । यसमा कुरूपा पवित्राको दमित शाश्वत वा सार्वभौम मानवीय आकाङ्क्षाको राम्रो विश्लेषण भएको छ । त्यसपछि ‘होड’ राम्रो छ । यसमा राम्रो मनोविज्ञान छ । केही नहुँदै दुलही पद्माको मानसिकताले हार खाएको देखाइएको छ । तर मेरा पाठक वा आलोचकहरू भने ‘कर्नेलको घोडा’ कथालाई औधी मन पराउँछन् । तैपनि मलाई लाग्छ ‘कर्नेलको घोडा’ कथामा अझै ४–५ पेज संवाद थपिनु आवश्यक छ । कर्नेल–कर्नेल्नीको अझ गहिरो अध्ययन गर्नुपर्ने देखिन्छ । अहिले यो कथा हतार–हतारमा लेखिएजस्तो सोझो मात्र छ (कोइराला, २०४०, पृ. ३७) ।
कोइरालाले आफ्ना केही कथाका अतिरिक्त उपन्यासका सम्बन्धमा पनि गहकिला टिप्पणी गरेका छन् –
‘तीन घुम्ती’मा मैले नारी समस्या प्रस्तुत गर्न खोजेको छु । इन्द्रमाया ‘तीन घुम्ती’मा ज्यादै विद्रोहिणी छे । उसले प्रेमिका, भार्या र माताका घुम्ती पार गरी, विद्रोह गरी । इन्द्रमायाले कुनै पनि स्थितिमा सहारा पाउँदिन । यतिसम्म कि मातृत्वको अन्तिम प्रािप्त बोकेर घर छोडी हिंडेकी इन्द्रमाया पनि सहाराहीना नै देखिन्छे । यसैले ‘तीन घुम्ती’ले स्वास्नीमानिसको वास्तविक अस्तित्वको समस्या हेर्न खोजेको छ न कि कथा भन्न (कोइराला, २०४०, पृ. ३४) ।
यसैगरी ‘नरेन्द्रदाइ’ उपन्यासका सम्बन्धमा कोइरालाले टिप्पणी गरेका छन्–
‘नरेन्द्रदाइ’को नरेन्द्रदाइ विश्वबन्धुको आमाको दाजु हो । यसको घटना यथार्थ छ । नरेन्द्र, गौरी र मुनरिया तीनैजनाको केही दोष छैन । तर ती पूर्णरूपले दोष–भाजन भएका छन् । ती एक अर्कालाई बाँच्न पनि दिंदैनन् र स्वयम् पनि सुखी छैनन् तापनि ती कसैलाई दोषी ठहर्याउन सकिंदैन । मान्छेले आफूले गल्ती नगरे पनि सजायँ अवश्य पाउनुपर्छ, नपाए पनि सजायँको भावना–ग्रसित हुनुपर्छ । यसै हुँदा ‘नरेन्द्रदाइ’मा केही प्रबल कथा वातावरणका माध्यमबाट मानवीय स्वभाव होइन नियतिलाई उद्घाटित पार्न खोजेको छु (कोइराला, २०४०, पृ. ३४) ।
यसैगरी ‘सुम्निमा’ उपन्यासबारे कोइरालाको टिप्पणी छ–
मैले सुन्दरीजल जेलमा बस्दा ब्राह्मण र राई सभ्यताका कट्टरपन्थी रामनारायण मिश्र र दिवानंसिंह राईको चर्काचर्की बहस सुनें । सुम्निमा र बिजुवा आदिको कहानी राईले बताए र सोमदत्तको मिश्रले । यिनीहरूले भनेको कुरालाई ‘सुम्निमा’ मा कलात्मकता दिइएको छ । मिश्र र राईको अध्यात्मवाद र भौतिकवाद सुनेर लेखिएको यो उपन्यास दुई सभ्यताबीचको सङ्गमजस्तो देखिन्छ (कोइराला, २०४०, पृ. ३४) ।
‘मोदिआइन’ र ‘हिटलर र यहुदी उपन्यासहरू गीता—दर्शनमा आधारित भएको कुरा कोइराला स्वयम्ले बताएका छन् । ‘मोदिआइन’ उपन्यासबारे कोइरालाको धारणा यस्तो छ– “मलाई लाग्छ अर्कालाई समाप्त गरी आफू समेत समाप्त हुने विघटनकारी प्रवृत्तिदेखि बाहेक गीताले केही दिएन । यही कुराको सहायता लिएर मैले ‘मोदिआइन’ लेखें । यसमा मानवीय समस्या प्रस्तुत गरिएको छ” (कोइराला, २०४०, पृ. ३५) ।
यसैगरी ‘हिटलर र यहुदी’बारे कोइरालाले यस्तो टिप्पणी गरेका छन्
गीतामा मानवेतर दैवत्व प्राप्त व्यक्तिका रूपमा कृष्ण छन् भने ‘हिटलर र यहुदी’को हिटलर त्यस्तै अमानवीय व्यक्तित्व छ । उता मानवीय व्यक्तित्व भएका यहुदीहरू स्वधर्म बहिष्कारका रूपमा देखिएका छन्; आफ्ना धर्मका दफाहरूलाई उनीहरूले तोडेका छन् । त्यसो हुँदा यस उपन्यासमा गीताको आदर्श अनुरूपको हिटलरको निष्काम कर्मजन्य नरसंहारी प्रवृत्तिका साथै यहुदीको निजी धारणासमेत प्रष्ट पार्न खोजिएको छ (कोइराला, २०४०, पृ. ३५) ।
विश्वेश्वरप्रसाद कोइरालाले आफ्ना रचनाहरूको वस्तुपरक र तुलानात्मक प्रविधिका माध्यमबाट समीक्षा गरेका छन् ।
परसिर्जनापरक समालोचक
विश्वेश्वरप्रसाद कोइरालाले आफूबाहेक अन्य साहित्यकार र तिनका रचनाहरूका विषयमा जुन समीक्षात्मक मूल्याङ्कन गरेका छन् । त्यो नै उनको परसिर्जनापरक समालोचक व्यक्तित्व हो ।
बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु आदि स्रष्टाका कृतिहरूको मूल्याङ्कन कोइरालाले ठाउँठाउँमा गरेका छन्–
मलाई समको ‘कैकेयी’ कथा मन पर्छ । त्यस कथाले मलाई प्रभावित पारेको छ । त्यसमा साहसी एवम् वीराङ्गना कैकेयीले पछि गएर तुच्छ र घृणित विचारबाट प्रेरित भई रामको वनवासको स्वार्थमूलक वर मागेको देखाइएको छ । त्यसपछि मैनालीको ‘परालको आगो’ कथा पहाडी जीवनको राम्रो तस्बिर उतारिएकोले राम्रो छ । भिक्षुको ‘त्यो फेरि फर्कला’ कथा राम्रै हो (कोइराला, २०४०, पृ. ३७) ।
कोइरालाले अझ अगाडि बढेर टिप्पणी गरेका छन् –
नेपाली कविताको स्थिति राम्रो छ । समका नाटकहरू अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानयोग्य छन् । आध्यात्मिक र भौतिक शक्तिको द्वन्द्व देखाइएको समको ‘प्रह्लाद’ नाटक दार्शनिक दृष्टिले राम्रो छ । सामाजिकस्तरमा ‘मुकुन्द इन्दिरा’ राम्रो छ । सम ठूला कलाकार हुन्” (कोइराला, २०४०, पृ. ३७) ।
कोइरालाले देवकोटाको ‘मुनामदन’लाई नेपाली साहित्यको उत्कृष्ट कृति मानेका छन् (आचार्य, २०३९, पृ. १९) । यी बाहेक कोइरालाले पारिजातको ‘शिरीषको फूल’, भरत जङ्गमको ‘कालो सूर्य’, ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’जस्ता उपन्यासहरूका विषयमा समालोचनात्मक टिप्पणी गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाले जेजति साहित्यिक रचनाहरूको समालोचना गरेका छन् ती सबै आकारका दृष्टिले सङ्क्षिप्त हुँदाहुँदै पनि अत्यन्तै गहन देखिन्छन् ।
अनुवादक
विश्वेश्वरप्रसाद कोइरालाले आफूले साहित्य सिर्जना गर्नुका अतिरिक्त अरूका साहित्यिक रचनाहरूले नेपालीमा अनुवाद पनि गरेका छन् । कोइरालाद्वारा अनुवादित कृतिहरूमध्ये ‘देवदास’ (बंगाली उपन्यास), ‘मेघदूत’ (संस्कृत खण्डकाव्य), ‘त्रिशंकु भंग’ (संस्कृत नाटक), ‘दृष्टिदान’ (भारतीय उपन्यास) र ‘सिबिल’ (इटालियन उपन्यास) का बारेमा जानकारी प्राप्त भएको छ (कोइराला, २०५९, पृ. २२) । यद्यपि ती कृतिहरू हालसम्म प्रकाशित हुन सकेका छैनन् ।
निष्कर्ष
नेपाली राजनीति र साहित्यको उच्च शिखर चुम्न सफल विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली जनमानसले सर्वप्रथम राजनीतिको क्षेत्रबाट भन्दा साहित्यको क्षेत्रबाट चिन्ने मौका पाएको हो । कोइराला नेपाली कथाजगत्का प्रथम मनोवैज्ञानिक कथाकार हुन् । कोइरालाको कथालेखनमा फ्रायड, जुङ्ग, एडलरजस्ता मनोदार्शनिकहरूको प्रभाव परेको देखिन्छ । कथापछि कोइरालाको अर्को प्रसिद्घिको विधा उपन्यास हो । कोइरालाका उपन्यासमा फ्रायडीय यौनचेतना र अस्तित्ववादी–विसङ्गतिवादी दर्शनको अपूर्व सङ्गम भेटिन्छ । कोइरालाले नारीमूलक, संस्कृतिमूलक र मानवतामूलक उपन्यास लेखेका छन् ।
कोइरालाका निबन्धात्मक कृति पनि त्यत्तिकै चर्चित छन् । उनका चारवटा निबन्धात्मक पुस्तकाकार कृतिका अतिरिक्त फुटकर निबन्धहरू प्रकाशित छन् । उनका निबन्धहरू कतै भावनाप्रधान र कतै वस्तुनिष्ठ भएर अगाडि बढेका छन् । कोइरालाका एक दर्जन फुटकर गद्य कविता प्रकाशित छन् । हिन्दी छायावादी–रहस्यवादी कविताको प्रभावमा अगाडि बढेको कोइरालाको कवि व्यक्तित्वमा स्वच्छन्दतावाद र मानवतावादको प्रभाव भेटिन्छ ।
कोइराला स्रष्टा र द्रष्टा दुबै थिए । आफूलाई समालोचकको रूपमा स्वीकार नगरे पनि आफ्ना रचना र अन्य साहित्यकारका रचनाका सम्बन्धमा स्पष्ट दृष्टिकोण उनले प्रस्तुत गरेका छन् । मौलिक रचनाका अतिरिक्त अनुवादका क्षेत्रमा पनि कोइरालाको कलम अगाडि बढेको छ । यद्यपि ती कृतिहरू अप्रकाशित अवस्थामै छन् ।
विशुद्ध राजनीतिक परिवारमा हुर्किएका र केटाकेटी उमेरदेखि नै राजनीतिप्रति आकर्षित भई जीवनका महत्त्वपूर्ण क्षणहरू त्यसमै समर्पित गरेका कोइरालाका अधिकांश साहित्यिक रचनामा प्रत्यक्ष रूपमा राजनीतिको छाप नभेटिनु उनको कुशल तथा विलक्षण प्रतिभाको परिचायक क्षमता हो ।
सन्दर्भसूची
आचार्य, गिरिराज (सम्पा.). (२०३९). बी.पी. कोइरालाका साहित्यिक विचारहरू. विराटनगर : जानुका पुस्तक भण्डार ।
कोइराला, खेमनाथ (२०५९). साहित्यकार विश्वेश्वरप्रसाद कोइराला. तेस्रो संस्करण. काठमाडौं : विद्या प्रकाशन ।
कोइराला, जीवनचन्द्र (सम्पा.). (२०५३). विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा. काठमाडौं : बी.पी. अनुसन्धान तथा सेवा केन्द्र ।
कोइराला, विश्वेश्वरप्रसाद. (२०४०). ‘मलाई जति परेसानी परे पनि पराजयको अनुभव कहिल्यै भएन’. बरगाछी (बी.पी. स्मृति अङ्क). वर्ष १४, पूर्णाङ्क ८, विराटनगर : गुराँस पुस्तकालय ।
कोइराला, विश्वेश्वरप्रसाद (२०५५). आत्मवृत्तान्त, (संक.) गणेशराज शर्मा. ललितपुर : जगदम्बा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद. (२०५६). आफ्नो कथा. तेस्रो संस्करण. ललितपुर : साझा प्रकाशन ।
चटर्जी, भोला (२०५१). बी.पी. कोइराला : एक क्रान्तिकारी व्यक्तित्व. (अनु.) ज्ञानचन्द्र अचार्य र अन्य, काठमाडौं : साझा प्रकाशन ।
ढकाल, भूपति ‘कमल’. (२०५६). विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा विचारपक्ष. पोखरा : जयनेपाल प्रकाशन ।
दाहाल, कृष्णप्रसाद (२०६०). विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा द्वन्द्वविधान. काठमाडौं : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
शर्मा, हरिप्रसाद (सम्पा.). (२०५७). विश्वेश्वरप्रसाद कोइरालाका कथा. ललितपुर : साझा प्रकाशन, दोस्रो संस्करण ।
शर्मा, हरिप्रसाद विश्वेश्वरप्रसाद कोइरालाका कविता. ललितपुर : साझा प्रकाशन, २०५९ ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०५९). नेपाली साहित्यको संक्षिप्त इतिहास. छैटौँ संस्करण. ललितपुर : साझा प्रकाशन ।
(यो सामग्री त्रिभुवन विश्वविद्यालयको जर्नल डाटावेस ‘नेपाल जर्नल अनलाइन – नेप्जोलबाट साभार गरिएको हो । विज्ञसमीक्षित प्रस्तुत अनुसन्धानमूलक लेख विश्वविद्यालयका तत्कालीन उपप्राध्यापक महेन्द्रकुमार पन्थीलिखित हो । सं.)
प्रतिक्रिया