मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति | Khabarhub Khabarhub

मन्त्रीको दाबी- सुधार हुँदैछ वीरको स्थिति : सेवाग्राही भन्छन्- टिकट काट्ने लाइनमै बेथिति

अस्पताल प्रशासन भन्छ - अहिलेसम्मको सिस्टम यही छ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाउको दुखाइको समस्या लिएर वीर अस्पताल पुगेकी एक सेवाग्राही युवतीले लामो लाइन बसेर न्युरो सम्बन्धी डाक्टरलाई भेट्न टिकट (पुर्जा) लिइन् ।

डाक्टरले न्युरोसम्बन्धी समस्या पत्ता लगाउन आवश्यक जाँच गर्नुपर्ने बताए । टाउको दुखाइको समस्या न्युरोका कारणले मात्रै नभई आँखा, कानलगायत अन्य अङ्गमा आउने समस्याले समेत हुन सक्ने डाक्टरले बताए । डाक्टरकै सुझावअनुसार ती सेवाग्राहीले आँखा र कानसम्बन्धी समस्या पत्ता लगाउन विज्ञलाई देखाउनुपर्ने भयो ।

डाक्टरको सल्लाहअनुसार त्यही टिकट लिएर सेवाग्राही आँखाको डाक्टरकहाँ पुगिन् । डाक्टरको कक्ष बाहिर बसेका सहयोगीले ‘यो टिकटले हुँदैन अर्को टिकट काटेर ल्याउनुपर्छ’ भन्दै हप्काएर पठाए । फेरि टोकन लिएर उनी अर्को टिकट काट्न पुगिन् ।

आँखा जाँचपछि उनी फेरि कानका डाक्टरकहाँ जँचाउन पुगिन् । लाइन बस्ने झन्झटिलो प्रक्रिया उनले दोहोर्‍याई– तेहेर्‍याई गर्नुपर्‍यो ।

सस्तो र सुलभ सेवाका लागि वीर अस्पताल गएकी ती युवतीले ७५ रुपैयाँका दरले ओपीडीको लागि मात्रै तीन पटक टिकट लिएर २ सय २५ रुपैयाँ तिर्नुपर्‍यो ।

अनलाइन टिकट काटेर चेकजाँचका लागि वीर अस्पताल पुगेकी अर्की सेवाग्राही महिलाले ग्याष्ट्रोलोजी डाक्टरलाई भेटिन् । पहिलेदेखि नै सर्जिकल समस्या रहेकी ती महिलालाई डाक्टरले जनरल सर्जनलाई भेट्न सल्लाह दिए र टिकटमा पनि लेखिदिए ।

त्यही टिकट लिएर सर्जनलाई भेट्न खोज्दा उनले डाक्टरलाई भेट्न पाइनन् । कर्मचारीले उनलाई फेरि अर्को टिकट काटेर ल्याउनुस् भने ।

‘एकपटक टिकट काटेर डाक्टरको सल्लाहमै अर्को डाक्टरलाई भेट्न खोज्दा किन टिकट चाहिन्छ ?’ उनले त्यहाँका कर्मचारीलाई प्रश्न गरिन् ।

‘जुन हाकिमले भने पनि केही हुँदैन यहाँको नियम यस्तै छ, जँचाउन मन छ भने टिकट काट्नुस् हैन भने जानुस् ।’ सेवाग्राहीले ठाडो जवाफ पाइन् । कर्मचारीको जवाफले उनी डाक्टरै नभेटी फर्किइन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेपछि स्वास्थ्य सुधारको लामै सूची सार्वजनिक गरे ।

एक वर्षको अवधिमा धेरै राम्रा काम गरेको उनको दाबी थियो । मन्त्री पौडेलको दाबीको सूचीमा वीर अस्पतालको सेवा सुधारको विषय पनि समावेश थियो ।

वीर अस्पतालको सेवा सुधारकै लागि डा. मदन उपाध्यायको संयोजकत्वमा गठित समतिले दिएको सुझावका आधारमा काम भइरहेको मन्त्री पौडेलले बताएका थिए ।

एकदमै अव्यवस्थित रहेको वीर अस्पतालको आपतकालीन कक्षमा ७२ बेड थपेर व्यवस्थित बनाउने कामदेखि पुराना उपकरण मर्मतलगायतका काम गरेर सेवा सुधारको प्रयास भइरहेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रीकै निर्देशनमा बिरामीको लाइन घटाउन भन्दै दुई सिफ्टमा सेवा दिने र अनलाइन टिकटको व्यवस्था गर्ने घोषणा यसअघि नै अस्पतालले गरिसकेको छ ।

तर बिरामीको लाइन के कारणले बढिरहेको छ ? सेवाग्राहीले के कस्ता समस्या झेल्नुपरेको छ भन्ने विषयमा न स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ न त अस्पताल प्रशाशनले नै ।

बिहान ७ बजेदेखि नै टोकन लिएर लाइनमा बसिरहेका बिरामीले घण्टौँपछि पालो पाउँछन् । लाइनमा कति समय बसेपछि पालो पाइन्छ भन्ने कुरा अनिश्चित हुन्छ । डाक्टरलाई भेटिसेकपछि उनले अर्का डाक्टरकहाँ रिफर गर्नुपर्ने अवस्था आए पुनः लाइन बस्नुपर्ने सुरुकै प्रक्रिया दोहोरिन्छ ।

अनलाइन टिकट लिएकाले पनि अस्पतालमै गएर लाइन बस्नुपर्छ । अनलाइन टिकट केका लागि त ? सेवाग्राहीको गुनासो र प्रश्नको उत्तर वीर अस्पतालसँग छैन । बरु सेवाग्राहीले कर्मचारीको हप्कीदप्की सहनुपर्छ ।

एउटै बिरामीले तीन पटकसम्म टिकट काट्नुपर्ने बाध्यता

सरकारी अस्पतालमा बिरामीको लाइन धेरै हुने, प्रभावकारी सेवा नपाउने, उपचारमा समय लाग्ने गुनासो आउनुलाई अस्पताल प्रशासनले सामान्य र स्वभाविक रूपमा लिन्छ ।

मुलुककै जेठो वीर अस्पतालमा ओपीडीकै लागि एकजना बिरामीले तीन पटक टिकट लिनुपरेको सेवाग्राहीको गुनासो छ ।

साउनभित्रै समस्या समाधान हुन्छ :अस्पताल प्रशाशन

वीर अस्पतालमा लाइन लाग्ने सिस्टम पुरानै भएकोसूचना अधिकारी सीताराम खड्का बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म हाम्रो सिस्टम त्यही नै छ । अब हामी नयाँ सर्वर बनाउँदैछौँ । एउटै टिकटले सबैलाई हुने गरी रिफर गर्ने नियम बनाउँछौँ । त्यसको तयारी हुँदैछ ।’

खबरहबसँग कुरा गर्दै सूचना अधिकारी खड्काले बारम्बार लाइन बस्ने समस्या समाधानका लागि कोटेशन माग्ने काम भइरहेको बताउँछन् ।

‘सम्भवतः साउनभित्रै यो समस्या समाधान हुन्छ, हामीलाई पनि एकदमै खड्किएको विषय हो ।’

यही सिस्टमका कारण बिरामीलाई असहज भएको र लाइन पनि घटाउन नसकिएको खड्का स्वीकार गर्छन् । ‘एउटै बिरामीले ५–७ वटासम्म टिकट काट्नुपरेको छ ।’ उनी भन्छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ४३ बजे

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर