सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । कृषि उपज, दूध उत्पादन र पशुपालनका क्षेत्रमा यहाँका किसानले पौरख गरिरहेका छन् । भूपेन्द्र दाहाल (३५) कोशी किनारका पौरखी युवा किसान हुन् ।
वराहक्षेत्र वडा नं. २ स्थित जब्दी कोशी किनारमा कृषि उपजमा आधारित उद्योग सञ्चालन गरिरहेका भूपेन्द्रले अचार उद्योग सञ्चालन गरेको दुई वर्ष बढी भयो । उनको ‘साथी अचार उद्योग’ ले हाल ९ किसिमका अचार उत्पादन गरिरहेको छ । तामा, अकबरे, आँप, गाँजर, मुलालगायत मिक्स भेज अचार उत्पादन गरी बिक्री वितरण गरिरहेको छ ।
अचार मात्र होइन उनी, अचारका लागि तयारी कच्चा पदार्थसमेत बिक्री गर्छन् । उनको उद्योगमा अचार बनाउन योग्य फलफूलको भण्डारण छ । सिजनको भण्डारणले वर्षभरि अचार बनाउन र तयारी पदार्थ बिक्री गर्न सकिने भूपेन्द्र बताउँछन् । वराहक्षेत्र नगरपालिकाका बजारमा ९० प्रतिशत अचार उनले सञ्चालन गरेको उद्योगबाट खपत हुने गरेको भूपेन्द्र बताउँछन् ।
वराहक्षेत्रका अलावा आसपासका सहर धरान, इटहरी, विराटनगरसम्म उनको उद्योगबाट उत्पादित अचार बिक्री हुने गरेको छ ।

बढ्दो उद्योग, घट्दो माग
घरैबाट उत्पादन हुने अचार र ब्राण्ड निर्माण गरी उत्पादन हुने नेपाली अचारको विदेशमा समेत बढ्दो माग छ । विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपालबाट अचारको माग गर्ने गरेका छन् ।
देशभित्र र बाहिरको अचारको मागलाई धान्न देशैभरि नेपाली मौलिक अचार बनाउने र बिक्री गर्ने ट्रेण्ड बढ्दो रहेको भूपेन्द्र बताउँछन् । भेज अचारबाहेक अहिले बजारमा ननभेज अचारको माग बढिरहेको उनी बताउँछन् ।
‘सबै बजारको ट्रेण्डले निर्धारण गर्दो रहेछ, अहिले नेपाली बजारमा भेज अचारको माग घट्दै गइरहेको छ, त्यसको ठाउँमा ननभेज अचारको माग बढिरहेको छ,’ भूपेन्द्र भन्छन्, ‘सुकुटीको अचार, माछा, पर्क, बफ, मटन सबैको अचार उत्पादन हुन थालिसकेको छ । बजारमा पनि त्यसैको माग बढ्दो छ ।’
भेज अचार उत्पादन गर्दै आएको भूपेन्द्रले सञ्चालन गरेको उद्योगमा ननभेजका लागि छुट्टै प्लान्ट लगाउनु पर्ने बताउँछन् । त्यसका लागि उनलाई थप लगानीको आवश्यकता छ ।’
‘अचार उद्योगको थप प्रवर्द्धनका लागि थप लगानी आवश्यक छ, लगानी र स्रोत जुटाउनेतर्फ लागि परेको छु, यो एक वर्षभित्रमा उद्योगलाई अपग्रेड गरेर लानुपर्ने छ,’ भूपेन्द्र भन्छन्, ‘न्युनतम ३० लाख रुपैयाँ लागानी आवश्यक छ ।’

अचार उद्योगसँगै हाइब्रिड मेवा
कोशी किनारमा रहेको डेढ बिघा पुर्ख्यौली जग्गा भूपेन्द्रले लिजमा लिएका छन् । अचार उद्योगसँगै दुई सय बोट हाइब्रिड मेवा लगाएका छन् । मेवाले उत्पादन दिन थालिसकेको छ ।
भूपेन्द्रले लगाएको मेवा स्थानीय बजारबाहेक धरान, इटहरीलगायतका सहरमा पुग्ने गरेको छ । उनले मेवा प्रतिकेजी एक सय रुपैयाँसम्ममा उपलब्ध गराउँछ्न् ।
एक वर्षअघि दुईसय बोट मेवा रोपेका उनी एउटै बोटमा पाँच केजीसम्मका मेवा उत्पादन हुने गरेको बताउँछन् । मेवा खेतीबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी लिन सकिने भूपेन्द्र बताउँछन् ।

जङ्गली हात्तीको बिझाइँ
कोशीमा आउने बाढीको प्रकोप, जङ्गली जनावरको बिझाइँ र हात्तीको उदण्डताका कारण कोशी नदी किनारका किसान आजित छन् ।
आठ वर्षअघि आईएनजीओको आकर्षक तलब सुविधा छाडेर गाउँमै कृषि कर्म गर्न फर्किएका भूपेन्द्रले ६०० बोट सुपारीका बोट लगाए ।
उत्पादन बजार जाने तयारी भएकै बेला वराहक्षेत्रमा हात्तीको प्रकोप चल्यो । उनले रोपेका ६०० बोट मध्ये ५०० भन्दा धेरै सुपारीका बोट हात्तीले रातारात सखाप पारिदियो । कृषिकर्म गरेरै आकर्षक कमाइ गर्न सक्ने अनुमान गरेर गाउँ फर्किएका भूपेन्द्रको सपना हात्तीको बिझाइँले माटामा मिलाइदियो ।
त्यसताका सुपारीको एक बोट बराबर न्युनत्तम आठ सय रुपैयाँ ठेक्कामा लाग्दै आएको थियो । ६०० सय बोटको उत्पादनबाट उनले वार्षिक ४ लाख ८० हजार रुपैयाँ आम्दानी गर्न सक्थे । त्यसमा उनले मरिच खेतीसमेत गर्न सक्ने सम्भावना देखेका थिए । तर उनको योजना सफल हुन सकेन ।
यति हुँदा हुँदै पनि अर्थशास्त्रमा एमए अध्ययन गरेका भूपेन्द्रले कृषि कर्मबाट हरेस खाएनन् । उनले डेढ बिघामा कागती खेती गर्ने योजना अनुसार काम सुरु गरे । कागती उत्पादन हुन थालेपछि उनले अचार उद्योग खोलेर आम्दानी गर्न सक्ने योजना बनाए ।
हात्तीको उपद्रोबाट क्षति बेहोरेका भूपेन्द्रले वराहक्षेत्र नगरपालिकाबाट सात हजार रुपैयाँ क्षतिपूर्तिसमेत पाए ।

उत्पादनमा आधारित औद्योगीकरण
भूपेन्द्र एक दशकअघि आइएनजिओमा काम गर्थे । मासिक तलब ७४ हजार थियो । सुविधा छुट्टै । काम गर्दै जाँदा उनले आफ्नै पुर्ख्यौली जग्गामा कृषिकर्म गर्दा मनग्गे आम्दानी गर्न सकिने सम्भावना देखे ।
कृषिमा आधारित औद्योगीकरण अहिलेको आवश्यकता हो, कृषि उपजको उत्पादन र औद्योगीकरणलाई सँगै लान सके आर्थिक समृद्धि हासिल गर्न सक्ने उनको बुझाइ छ ।
‘हामी परम्परागत कृषिमै रहिरह्यौं’, भूपेन्द्र भन्छन्, ‘कृषिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक छ ।’
स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि कृषि उत्पादनलाई उद्योग र पर्यटनसँग जोड्नसक्ने योजना भएका युवालाई प्रोत्साहन गर्नुपर्ने भूपेन्द्रको भनाइ छ ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि कृषि उत्पादनलाई उद्योग र पर्यटनसँग जोड्नसक्ने योजना भएका युवालाई प्रोत्साहन गर्नुपर्ने भूपेन्द्रको भनाइ छ ।
कोशी किनारमा भूपेन्द्रले बाल उद्यानको अवधारणालाई कार्यान्वयन गर्ने योजनामा छन् । ‘देश छाडेर नजाने १८ वर्षमुनिका जनसङ्ख्यालाई आधार बनाएर उद्यम गर्ने हो भने यसबाट आयआर्जन गर्न सकिन्छ ।’ भूपेन्द्र भन्छन्, ‘वराहक्षेत्रको कोशी किनारमा मनोरञ्जन उद्योगलाई कृषिसँग जोड्ने सम्भावना छ, यो क्षेत्रमा काम भएको छैन,’ उनी भन्छन्, ‘यही वर्षदेखि चिल्ड्रेन पार्क र रिफ्रेशमेन्ट सेन्टरका रुपमा कोशी किनारलाई विकास गर्ने योजना छ ।’
भूपेन्द्रले बाल उद्यानसँगै कोशी क्षेत्रमा वन सिलामको खेती गर्ने योजना बनाएका छन् । यसअघि कालो तिलको खेती गर्दै आएका उनले वन सिलाममा सम्भावना देखेको बताउँछन् । हात्तीले समेत बिझाइँ नगर्ने यो खेतीबाट मनग्गे आम्दानी लिन सकिने उनको बुझाइ छ ।
प्रतिक्रिया