रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय | Khabarhub Khabarhub

रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा देशकै उत्कृट भएर एक लाख रुपैयाँको पुरस्कार थापेका व्यक्ति हुन् डा. हरिप्रसाद कँडेल ।

उनलाई मुलुकभरको उत्कृष्ट शिक्षक घोषित गर्दै पी.पी. प्रसाई प्रतिष्ठानले ‘पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७६’ बाट पुरस्कृत गरेको थियो । पुरस्कार राशी सानोतिनो थिएन ।

उनले शिक्षक भएकै बेला ‘एसियन लिडरशिप अवार्ड’ पाएको पनि बताएका थिए । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १०औँ संस्करणको अवसरमा २०७७ मा एसियालिडरसिपडटकमले आफूलाई अवार्ड प्रदान गरेको उनले त्यसबेला बताएका थिए ।

कँडेल उक्त विद्यालयको प्रधानाध्यापक हुँदा भौतिक पूर्वाधार विस्तार र पढाइको गुणस्तर सुधारमा ठूलो भूमिका खेलेको भन्नेहरू अझै पनि छन् । चितवनको कालिका नगरपालिका-५ निवासी ५० वर्षीय उनै कँडेललाई रूपन्देही प्रहरीले बिहीबार पक्राउ गरेर लगेको छ ।

पी.पी. प्रसाईँ फाउन्डेशनको कार्यक्रममा २०७६ भदौ १९ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको हातबाट एक लाख रुपैयाँको पुरस्कार थापेका उनै कँडेलको हातमा अब हत्कडी लागेको छ । उनी प्रहरी हिरासतमा पुगेका छन्‌ ।

विवादै विवाद !

कँडेलले भेरिफाइड गरिएको सामाजिक सञ्जाल फेसबुकमा समेत आफ्नो नाम ‘डा. हरिप्रसाद कँडेल’ लेखेका छन् । यसरी नामको अगाडि डा. लेख्नुको कारण हो – उनले भारतको राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट विद्यावारिधि गरेको दाबी ।

कुनै बेला नेपाली काँग्रेसनिकट नेपाल शिक्षक संघका नेतासमेत रहेका कँडेल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेता भएका छन् । उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । कँडेल पार्टीको प्रदेश प्रशिक्षण विभाग संयोजक रहेको पुष्टि रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले गरिसकेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बिहीबार पक्राउ पर्नुअघिसम्म उनी चितवनमा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधि र कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी भएका तस्बिर सामाजिक सञ्जालमै राखेका छन् ।

उत्कृष्ट शिक्षकको पुरस्कार पाएका उनै कँडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दासमेत चलाएको थियो । नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रधानाध्यापक कँडेलविरुद्ध अख्तियारले १८ माघ २०७९ मा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

कालिका नगरपालिकास्थित भीमोदय नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेकै बेला अख्तियारले उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा मुद्दा चलाएको थियो ।

बीएससीको कीर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको उजुरीका आधारमा त्यसबेला अख्तियारले अनुसन्धान गर्दा उक्त कुरा प्रमाणित भएको जनाएको थियो ।

निमावि तृतीय तहमा स्थायी नियुक्ति हुँदा कँडेलले वीरेन्द्र क्याम्पस, चितवनबाट आईएस्सी उत्तीर्ण भएको उल्लेख गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (पीसीएल) उत्तीर्ण भएको पनि उनले दाबी गरेका थिए ।

भारतको कानपुरस्थित छत्रपति शिवाजी महाराज विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको भनेर पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको ठहर अख्तियारले गरेको थियो ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक पदमा कार्यरत रही, लाभ लिई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐनअनुसार त्यसबेला विशेष अदालतमा आरोपत्र दायर गरिएको थियो ।

नमूना गुरूको नक्कली यात्रा

उनले विद्यालयमा हुन्जेल आफूलाई नमूना ‘गुरु’का रूपमा प्रचार गराउँथे । उनले भीमोदय नमूना माध्यमिक विद्यालयमा २०५५ माघ १० गते अस्थायी नियुक्ति लिएका थिए, २०६३ भदौ २५ गते स्थायी नियुक्ति पाए ।

त्यसयता अख्तियारले मुद्दा नहालुन्जेल उनले उक्त माविमा निरन्तर पढाए । तर, उनैले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको २५ वर्षपछि मात्रै थाहा लाग्यो ।

त्यसबेला अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले कँडेल (निमावि स्थायी शिक्षक) आईएससी र बीएको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्त भएका बताएका थिए ।

‘श्री भीमोदय नमूना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलले निमावि तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आईएससी उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति शिवाजी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (बीए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भीमोदय मावि चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको…’, विशेषमा मुद्दा चलाउँदा अख्तियारले भनेको थियो ।

नेतादेखि नेतासम्म !

कँडेल शिक्षकसँगै नेपाली काँग्रेसनिकट शिक्षकहरूका नेता पनि थिए । उनी काँग्रेसनिकट नेपाल शिक्षक संघ चितवनको अध्यक्षसमेत भए ।

अख्तियारले त्यही बेला कँडेलले पेश गरेको प्रवीणता प्रमाणपत्र तह (पीसीएल) को शैक्षिक प्रमाणपत्रको अभिलेख त्रिभुवन विश्वविद्यालयमा उपलब्ध नरहेको जनाएको थियो । नेपालदेखि भारतसम्मकै उनका शैक्षिक प्रमाणपत्र नक्कली पाइएको थियो ।

अख्तियारका अनुसार कँडेलले छत्रपति शिवाजी महराज विश्वविद्यालय कानपुरबाट स्नातक तह (मानविकी) पाश गरेको शैक्षिक प्रमाण पेश गरेका थिए । तर उक्त विश्वविद्यालयको रेकर्डमा उनी विद्यार्थी भएको अभिलेख भेटिएन ।

उनको अभिलेखबारे त्रिभुवन विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रलाई उक्त विश्वविद्यालयले भनेको थियो, ‘नट जेन्यूइन !’

त्यसबेला कँडेलले नियुक्ति लिँदा भारतको मगध विश्विद्यालय, बोधगया बिहारबाट बीए पास गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । तर, कँडेलले पेश गरेको प्रमाणपत्र उक्त विश्विद्यालयले पनि जारी नगरेको जवाफ अख्तियारलाई पठाएको थियो ।

कँडेलले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट २०५१ सालमा विज्ञान सङ्कायमा प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र २०५२ मा द्वितीय वर्षको परीक्षा दिएका थिए । उक्त क्याम्पसको रेकर्डमा उनी अनुत्तीर्ण विद्यार्थी हुन्‌ ।

कँडेलले त्यही समयमा स्टेट बोर्ड अफ तमिलनाडुबाट प्ल टु उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पनि पेश गरेका थिए । ‘सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्ने दश जोड दुई (‍+२) तहको विज्ञान विषय एकै समयमा दुई फरक मुलुकका विद्यालयमा उपस्थित भई अध्ययन गर्न सम्भव देखिँदैन’, अख्तियारले निष्कर्षमा भनेको थियो ।

कँडेलले भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गरेको दाबी गर्दै नामको अगाडि डा. लेखिरहेका छन् । तर, सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पीएचडी पूरा गरेको भेटिँदैन ।

सजाय

अख्तियारले दायर गरेको उक्त मुद्दामा कँडेललाई विशेष अदालतले २०८० फागुन ११ गते ६ महिना कैद सजाय र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो ।

त्यसपछि उनले उक्त विद्यालयको प्रधानाध्यापक र शिक्षकको जागिरसमेत छाड्नुपरेको थियो । अदालतबाट भ्रष्ट ठहर भएका उनी त्यसपछि शैक्षिक परामर्श केन्द्रको नयाँ धन्दामा लागेका थिए ।

विशेषका तत्कालीन अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठले कँडेललाई उक्त मुद्दामा दोषी ठहर गरेका थिए । फैसलामा लेखिएको थियो :

‘…अतः माथि विवेचित आधार र कारणबाट यी प्रतिवादी हरिप्रसाद कँडेलले आफ्नो सिटरोल फारामको शैक्षिक योग्यतासम्बन्धी विवरणमा वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएससी उत्तीर्ण गरेको ब्यहोरा उल्लेख गरी उक्त शैक्षिक योग्यताको सम्बद्ध प्रमाणपत्रसमेत पेस गरेको तर उक्त क्याम्पसबाट निजले उक्त शैक्षिक योग्यता हासिल गरेको नदेखिएको भनी लेखि आएको पाइन्छ…भारतका अन्य विश्वविद्यालयबाट जारी भएका भनी पेस गरेका प्रमाणपत्रसमेत ‘नट जेन्युन’ भनी उल्लेख भएको देखिन्छ। यस अवस्थामा निज प्रतिवादीउपरको आरोप दाबी बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम ६ महिना कैद र १० हजार रुपैयाँ) जरिवाना हुने ठहर्छ ।’

नयाँ विवाद

उनै कँडेल एकजना भारतीय नागरिकको बयानका आधारमा हिजो (बिहीबार) पक्राउ परेका हुन् । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कँडेल समातिएका हुन् ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बेलहिया बसपार्कस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा कँडेल समातिएका प्रहरीले जानकारी दिएको छ ।

भारत कानपुरका यादवले चितवनको कालिका नगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीय कँडेलेकै योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलोमार्क र भिसा स्टिकर लगायत कागजात बनाउने गरेको बयान प्रहरीलाई दिएका थिए ।

प्रहरीले यादवका साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र बरामद गरेको छ । अन्य विभिन्न शैक्षिक संस्थाका तीवटा नक्कली र पाँचवटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बन्डल होलोग्राम पनि बरामद भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डको एक हजार ७०० थान रहेको १७ प्याकेट होलो ग्राम र स्टिकर पनि यादवको साथबाट बरामद भएको छ ।

भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट पनि बरामद भएका छन् । ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा चारित्रिक प्रमाणपत्र, ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको हो ।

जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदरावाद, छत्रपति शिवाजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालयसहितका शैक्षिक संस्थाका सयौँ नक्कली स्ट्याम्प र छाप पनि प्रहरीको हात लागेका छन् ।

यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाहरूका नक्कली प्रमाणपत्र बिक्रीवितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका यादवको बयानका आधारमा रूपन्देही प्रहरीले चितवनस्थित कलेज कोच नेपाल प्रालिका सञ्चालक कँडेललाई पक्राउ गरेको हो ।

रूपन्देहीस्थित प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार चितवन प्रहरीको सहयोग आधारमा कँडेललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई बुधबार पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कँडेलले चितवनको लायन्स चोकमा ‘कलेज कोच’ नेपाल नामक शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका छन् । उनले त्यही परामर्श केन्द्रमार्फत् नक्कली शैक्षिक प्रमाणपत्रको कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगाएको हो ।

प्रहरीले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर नेपालीलाई अध्ययन तथा कामदारका रूपमा विदेश पठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

पछिल्लो पटक नक्कली शैक्षिक प्रमाणपत्र बनाएर केही विद्यार्थीलाई माल्टा पठाउने तयारी गरिरँदा उनी समातिएका हुन् । कँडेल र यादव दुवैलाई रुपन्देही प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : १६ बजे

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा