दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब | Khabarhub Khabarhub

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरालो यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

हिट र फ्लपको प्रभाव कसलाई के ?


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज १३) आउन साता मात्रै बाँकी छ । भदौ ३० गते मात्रै फूलपातीलाई प्रदर्शन मिति तोकेको ‘अभिमन्यु’ असोज २४ मा पुगेको छ ।

‘अभिमन्यु’ले अन्तिम समयमा आएर प्रदर्शन मिति हेरफेर गरेको हो । यसले दशैँ प्रदर्शनको चापलाई केही कम गरेको छ ।

अब भने दशैँमा फिल्महरू ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ले बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् । अर्थात्, यो दशैँमा पनि तीन फिल्म हलमा लाग्ने छन् ।

पाठकलाई स्मरण गराऔं– गत वर्षको दशैँमा पनि तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ प्रतिस्पर्धामा थिए ।

त्यसबेला ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले ‘आफ्नो फिल्मलाई हलले कम शो दिएको’भन्दै आपत्ति जनाएका थिए ।

निश्चल बस्नेतको अभिनय र लगानी रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाबाट प्रदर्शनमा आएको थियो । दशैँ भिडन्तको चेपुवामा परेर हलहरूले कम शो दिएको भन्दै निश्चले फिल्म नै उतारेका थिए ।

यो गत वर्षको दशैँमा भएको घटना हो ।

चलचित्र विकास बोर्डका अनुसार देशभर अहिले १६८ वटा फिल्म हल सञ्चालनमा छन् । चार फिल्म हल जेन–जी आन्दोलनका क्रममा जलेका छन् ।

‘यो संख्यामा रहेका हलले एकसाथ प्रदर्शनमा आएका दुई फिल्म मज्जाले धान्न सक्छन्, त्यो भन्दा बढी नसक्ने फिल्म वितरकहरू’ भन्दै आएका छन् ।

यसको उदाहरण उनीहरू ‘पुजार सार्की’ र ‘फर्की फर्की’लाई लिएर दिन्छन् । गत वर्ष जेठमा अनमोल केसी स्टारर ‘फर्की फर्की’ र प्रदीप खड्का स्टारर ‘पुजार सार्की’ले बक्स अफिस भिडन्त गरेका थिए ।

यो भिडन्त दुई फिल्मको भन्दा पनि स्टार नायकहरू अनमोल र प्रदीपको थियो । दुवै फिल्मको व्यापार पनि ठीकठाक गरे ।

अर्थात्, दुई स्टारकै फिल्म एक साथ लागे पनि शो बाँडफाडँमा समस्या भएको सुनिएन । यहीबाट ‘नेपाली हलहरूले दुई फिल्म मज्जाले धान्छ’ भन्ने भाष्यले बढवा पाएको हो ।

बक्स अफिसबारे भिडन्तबारे फिल्म क्षेत्रमा यो विश्लेषण भइरहेको अवस्थामा यो दशैँमा तीन फिल्म प्रदर्शनमा आउँदैछन् ।

वितरकहरूको विश्लेषणअनुसार यो दशैँमा तीन मध्ये एक फिल्मले ‘कम शो पाएँ’ भनेर गुनासो गरे भने आश्चर्य नमान्दा हुन्छ ।

किनभने यो पूर्वअनुमान मात्रै हो । तर, हरेक वितरकलाई थाहा छ, ‘हलले एकैचोटी धान्न नसक्ने भनेको दुई फिल्म मात्रै हो ।’

अब तीन फिल्म एकसाथ प्रदर्शनमा ल्याउनुको पछाडि मेकर र वितरकको कुन मानसिकताले काम गरेको छ ? त्यो उनीहरूलाई नै थाहा होला ।

यो भयो मेकर, वितरक र व्यापार बारेको चर्चा ।

आशा गरौँ, यी सबै फिल्मले राम्रो व्यापार गर्नेछन् । गत वर्ष जस्तै राजनीतिक घटना ओझेलमा पार्ने गरी यी फिल्मका समाचारहरू बन्नेछन् ।

तर, यीमध्ये कुनै फिल्म घाटामा गए के होला त ? अब यो कोणबाट चर्चा गरौं :

‘धिरज–उपासन’ जोडीको भविष्य

दर्शकहरूले फिल्म ‘माइतीघर’मा नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी अनस्क्रिन जोडीको भूमिकामा देख्न पाउनेछन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ हिट भएपछि यो अनस्क्रिन जोडीले चर्चा पाएको हो ।

हिट फिल्मको जोडीलाई अर्कोमा पनि लिने अभ्यास पुरानै हो ।

‘माइतीघर’को हकमा पनि त्यही देखिन्छ । अर्को कुरा यी दुईले ‘खुस्मा’ हिट भएकै रातपातमा ‘माइतीघर’ साइन गरेका हुन् ।

‘माइतीघर’ बक्स अफिसमा हिट भए यो जोडीले थप निरन्तरता पाउने सम्भावना स्वभाविक बढ्छ ।

असफल भएको अवस्थामा यो जोडीलाई लिन मनस्थिति बनाएका मेकह्रूले उनीह्रूको विकल्प खोज्ने सम्भावना पनि उत्तिकै नबढ्ला भन्न सकिन्न ।

समीरको एक्सन स्टारको ट्याग

नायक समीर भट्टको दोस्रो फिल्म हो– ‘बलिदान’।

पहिलो फिल्म ‘१२ गाउँ’ हिट बनेपछि उनको तुलना नायकहरू प्रदीप खड्का र अनमोल केसीसँग हुन थालेको छ ।

उनको पारिश्रमिकबारे गसिप छ, ‘एक फिल्मका लागि ७५ लाखको प्रस्ताव गएको छ ।’

दोस्रो फिल्म ‘बलिदान’ले उनको परिचयमा ‘एक्सन स्टार’को फुर्को जोडिदिएको छ ।

‘बलिदान’ टिम हौसिएर उनलाई ‘एक्सन स्टार’को फुर्को झुण्ड्यादिएको हो भन्दा नपर्ला । किनभने बलिदानकै प्रचार सामाग्रीमा उनलाई यो ट्याग दिइएको हो ।

तर, तथ्य के हो भने केही दर्शकले सामाजिक सञ्जालमा समीरलाई ‘एक्सन स्टार’को ट्याग ‘१२ गाउँ’ हेरेपछि नै दिएका थिए ।

त्यो भन्दैमा मेकहरूले आफ्नो नायकलाई ट्याग दिइहाल्नु कत्तिको उचित हो ? त्यो पनि दोस्रो फिल्ममै ?

‘बलिदान’ व्यापारिक रुपमा सफल भएको अवस्थामा समीरलाई ‘एक्सन स्टार’को ट्याग दिइएको विषयमा प्रश्न उठ्दा मेकरलाई प्रतिरक्षा गर्ने स्थान मिल्नेछ । उनीहरूको तर्क बलियो बन्न सक्छ ।

फ्लप भएको अवस्थामा ‘एक्सन स्टार’को ट्याग समीर आफैँलाई बोझ पर्न सक्छ ।

खैर, हाम्रो सिनेमा क्षेत्रमा मेकरहरूले नै आफ्नो फिल्मको हिरोलाई उदार बनेर विभिन्न ट्याग दिने प्रवृति छ । यसबाट नवनायक समीर पनि प्रभावित भएका छन् ।

बलिदानको ठूलो लगानी

‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेनलाई ‘दशैँमा किन फिल्म प्रदर्शनमा ल्याउने निर्णय लिनुभयो ?’ भन्ने प्रश्न गर्दा जवाफ दिन्छन्, ‘फिल्मको लगानी नै ठूलो छ । अन्य समयमा आउँदा लगानी डुब्ने जोखिम हुन्छ ।’

सन्तोषले फिल्मको लगानीबारे सार्वजनिक रुपमा बोलेका छैनन् । तर, यसको लगानी कम्तीमा ६ करोड हाराहारी रहेको चर्चा छ । यो उनको ड्रिम पोजेक्ट पनि हो ।

बक्स अफिसबाट ६ करोड लगानी उठाउन कम्तीमा १८ करोड ग्रस कलेक्सन गर्नु पर्ने हुन्छ ।

सन्तोष लगानीको जोखिम मोल्ने निर्माताका रुपमा परिचित छन् ।

‘बलिदान’ सपुरहिट भएर मात्रै लगानी उठ्दैन । लगानी उठ्नका लागि बल्कबस्टर नै हुनुपर्छ ।

यो पटक पनि सन्तोषले ठूलो जोखिम मोलेर ‘बलिदान’ हलमा ल्याउने निर्णय गरेका हुन् ।

प्रकाश सपुतलाई अवसर

प्रकाश सुपतको डेब्यू निर्देशन रहेको फिल्म ‘वसन्त’ फ्लप भयो । गत साउनमा उनले सार्वजनिक गरेको गीत ‘नाइँ भनेसी नाइँ’ले युट्युबमा पहिलाका गीतभन्दा कम भ्यूज पायो ।

यी दुई कारणले प्रकाशको ‘करिअर ओरालो लाग्यो’ भन्ने विश्लेषण सुरू हुन थालेको धेरै भएको छैन ।

त्यहीकारण पनि प्रकाशमा एक हिटको खाजीमा देखिन्छन् ।

तर, प्रकाशको फिल्ममा व्यस्तता प्राइममा रहेको कलाकारको जस्तै छ ।

यसको उदाहरण यही फूलपातीलाई हेर्दा हुन्छ । यो मितिमा उनको अभिनय रहेको दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदैछ ।

त्यसमध्ये एक फिल्म व्यापारिक रुपमा सफल भयो ‘करिअर ओरालो लाग्यो’ भन्ने विश्लेषणलाई उनी कामबाटै खण्डन गर्न सफल हुनेछन् ।

दुवै फिल्म हिट भए ‘दुवै हातमा लड्डु ।’

यसका लागि फिल्ममा उनको भूमिका जस लिनसक्ने खालको हुन जरुरी छ ।

अर्थात्, फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो हुन भएन । यो फिल्म सर्वकालीन हिट हुँदा पनि उनले जस लिन पाएनन् ।

प्रकाश उक्त फिल्मको मुख्य भूमिकामै छन् । तर, दर्शकको सेन्टिमेन्ट छरिन पाएन, विजय बरालले मात्रै पाए । त्यसको असर, हिटको जस विजय बरालले मात्रै पाए ।

यस्तो घटना ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ नदोहोर्‍याउने पाठ प्रकाशले पाइसकेका छन् ।

अब लागू गर्ने कि नगर्ने त्यो उनमै निहित छ ।

अर्कोतर्फ, ‘हरिबहादुरको जुत्ता’को प्रचार सामाग्री हेर्दा प्रकाश सहायक भूमिकामा देखिन्छन् । यो फिल्मको नाम पनि ‘हरिबहादुर’को क्यारेक्टरबाट राखिएकाले हिट/फ्लपको जस प्रकाशमा नआउने सम्भावना उच्च देखिन्छ ।

तर, फिल्ममा उनी हाबी हुनसक्ने सम्भावना फिल्म प्रदर्शनमा नआउँदासम्म कायमै छ ।

निर्माता रोहित अधिकारीका अनुसार ‘माइतीघर’मा प्रकाश र धिरज मगर दुई नायक छन् ।

भन्छन्, ‘दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । दुई नायक भएको फिल्म हो यो ।’

निर्माताको अधिकारीको दाबीअनुसार यो फिल्मको हिट फ्लपको जस भने प्रकाशले लिन पाउने देखिन्छ ।

के प्रकाशले ‘करिअर ओरालो लागेको विश्लेषण’लाई चिर्ने अवसर रिलिज डेट फूलपाती बनाउन सक्लान् ?

त्यो थाहा पाउन अब धेरै दिन बाँकी छैन । अर्को साता सोमबार यी दुवै फिल्म प्रदर्शन आउनेछन् ।

०००

यो दशैँमा तीन फिल्म प्रदर्शनमा आए पनि जनरा फरक–फरक छ । एक्सन रुचाउने दर्शकका लागि ‘बलिदान’ उत्तम हुन सक्छ ।

कमेडी जनरा रुचाउने दर्शकले ‘हरिबहादुरको जुत्ता’ रोज्दा उचित हुने देखिन्छ ।

कमेडी मिश्रण भएको सामाजिक कथा खोज्नेले ‘माइतीघर’ हेर्दा उचित हुने देखिन्छ ।

नेपाली फिल्मका क्षेत्रका लागि भने दर्शकले तीनै फिल्म हेरेको उचित । होइन र ?

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  २ : २८ बजे

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६

डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर

हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध

शिक्षा मन्त्रीले बनाए अन्तरिक्ष, न्यूक्लियर, बायोटेक्नोलोजी र सूचना प्रविधि-एआईसम्बन्धी सल्लाहकार समिति

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

जनकपुरधाम – नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक