तीन महिनामा पनि खुलेन पर्सामा फैलिएको हैजाको स्रोत, संक्रमित बढ्दै | Khabarhub Khabarhub

तीन महिनामा पनि खुलेन पर्सामा फैलिएको हैजाको स्रोत, संक्रमित बढ्दै

कस्तो छ हैजाको इतिहास ?


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मधेस प्रदेशको पर्सामा फैलिएको हैजाको पकोेप अझै नियन्त्रणमा आउन सकेको छैन। साउनको अन्तिम साताबाट फैलिएको हैजा संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ। १४ सय बढी झाडापखालाका बिरामी उपचारका लागि विभिन्न अस्पताल पुगेको रेकर्ड छ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो २४ घण्टामा थप २७ जना झाडापखालाका नयाँ बिरामी फेला परेका छन्। योसँगै बिरामीको संख्या एक हजार चार सय ५१ पुगेको छ। तीमध्ये एक हजार चार सय २१ जना निको भइसकेका छन्। पछिल्लो पटक उपचारका लागि आएका ३० जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

झाडापखालाका बिरामीको संख्या बढे पनि सुरुवाती अवस्थाको जस्तो जटिल नदेखिएको स्वास्थ्य कार्यालय पर्साका सूचना अधिकारी धनीसिंह ठकुरीले बताए। उनका अनुसार हाल हैजाका चार जना बिरामीको उपचार भइरहेको छ।

प्रकोप फैलिएको लामो समय भइसक्दा पनि स्रोत पत्ता लाग्न सकेको छैन। सम्भावित पानीका स्रोतको नमूना परीक्षण भइरहेको र हैजा नियन्त्रणउन्मुख रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। तर अहिलेको युगमा सामान्य हैजाको कारण पत्ता लगाउन नसक्नु दुखद भएको चिकित्सक बताउँछन्।

हैजा भनेको के हो ? कुन स्थितिलाई हैजा भनेर बुझ्ने ? हैजाका कारक तत्त्वहरु के के हुन ? सरकारले नियन्त्रणको लागि विभिन्न प्रयास गरिरहेको भनेको झण्डै १५ दिन पुगिसक्यो। अहिलेसम्म कारण नै पत्ता लागेको छैन। सरकारले कसरी नियन्त्रणमा ल्याउँछ त ? यिनै विषयमा पाटन अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग गरिएको कुराकानी :

हैजा भनेको के हो ? कुन स्थितिलाई हैजा भनेर बुझ्ने ?
हैजा भनेको एक प्रकारको किटाणुले गराउने संक्रामक रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र झाडापखाला गराउँछ। हैजाले गराउने झाडापखाला सामान्य भन्दा अलि फरक खालको हुन्छ। यसको संक्रमणले शरीरको पानी नै सुकेर बिरामीको मृत्युसम्म हुनसक्ने जोखिम हुन्छ। संक्रमित व्यक्तिको दिसाबाट निस्केको किटाणुले पानी या विभिन्न खानेकुरामा मिसियो भने यो एक व्यक्तिबाट अर्को हुँदै समुदायमा फैलिन्छ।

हैजाका कारक तत्त्व के के हुन ?
हैजाको किटाणु मान्छेको पेटभित्रै हुन्छ। त्यो किटाणु पानी वा खानामा मिसिन गई खाना दुषित भयो भने हैजाको संक्रमण फैलिने हो। त्यसैले यसको मुख्य कारक भनेको पानी नै हो। त्यो बाहेक हात राम्रोसँग धोएन, खानेकुरा फोहोर पानीले धोएर खायो भने त्यो किटाणु मान्छेको पेटभित्र पसेर झाडापखाला गराउँछ।

हैजाको किटाणु मान्छेको पेटभित्रै हुन्छ। त्यो किटाणु पानी वा खानामा मिसिन गई खाना दुषित भयो भने हैजाको संक्रमण फैलिने हो। त्यसैले यसको मुख्य कारक भनेको पानी नै हो।

नेपालमा बढी फैलिने हैजा कुन हो ?
हैजा गराउने किटाणुलाई भिब्रियो कोलेरा भनिन्छ। यसका पनि विभिन्न प्रजाति हुन्छन्। त्योमध्ये अहिले नेपालमा फैलिएकोलाई ओभावा भनिन्छ। त्यस्तै एल्टोर नामको किटाणुले गराउने हैजा पनि नेपालमा फैलिने गरेको छ। तर यसपाली फैलिएको हैजा चाहिँ ओभल ओभावा प्रजातिले गराइरहेको छ।

दोहोरिने सम्भावना कतिको हुन्छ ?
हैजा फेरि फेरि पनि दोहेरिन सक्छ। किनकी यसका प्रजातिहरु धेरै छन्। हैजाको किटाणु लागेपछि केही समयका लागि हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिले त्यसलाई जित्नसक्छ। तर पछि गएर पुनः आक्रमण गर्न सक्छ। विशेष गरी बालबालिका, बृद्धबृद्धा लगायत इम्युनिटी पावर कम भएका कमजोर व्यक्तिमा दोहोरिन सक्छ।

नेपालमा हैजाको इतिहास कस्तो छ ?
हैजा प्राचीनकालदेखि नै थियो। यो धेरै पुरानो रोग हो। आजभन्दा चार सय वर्ष अगाडि इङ्ल्याण्डमा हैजा फैलिएपछि त्यो बेलाका जनस्वास्थ्यविद्ले अनुसन्धान गर्दा खोलाको पानीबाट फैलिएको तथ्य पत्ता लगाएका थिए। खोलाको सिरान भागमा पखाला लागेको कुनै व्यक्तिले दिसापिसाब गरेको छ भने त्यहाँदेखि तलको पानी प्रयोग गर्ने व्यक्तिमा पनि पखाला लागेको पाइएको थियो।

पहिले त नेपाल लगायत अन्य देशमा पनि सबैले खोलाकै पानी खाने गरेका थिए। उक्त अनुसन्धनमा खोलाको सिरानभन्दा तल तलको भागमा बस्ने व्यक्तिमा हैजाको संक्रमण देखिएको थियो।

त्यसपछि पानीलाई शुद्ध राख्नुपर्छ फोहोर फाल्नु हुँदैन, दिसापिसाब गर्नु हुँदैन भन्ने ज्ञान त्यो बेलादेखि नै थियो। हाम्रो देशमा पनि त्यो ज्ञान त छ, हैजा पानीबाट फैलिन्छ भन्ने सबैलाई थाहा छ। तर पनि शुद्ध पानीको व्यवस्था गर्न नसक्दा अहिलेसम्म हैजा फैलिरहेको पाइन्छ।

हैजाका दृष्टिले हिमाल, पहाड, तराई कुन क्षेत्र बढी असुरक्षित देखिन्छ ?
प्रकृतिले अलिकति गर्मी हुने ठाउँ तराई क्षेत्रमा धेरै किसिमका रोगहरु फैलिन्छन्। किनभने त्यहाँ ब्याक्टेरिया अर्थात् किटाणुहरु धेरै बढ्ने सम्भावना हुन्छ।

जस्तै हामीले पनि ल्याबमा कुनै ब्याक्टेरिया बढाउनुपर्ने छ भने तातोमा राख्छौं। त्यसैले हिमाली क्षेत्रमा चिसोले विभिन्न किसिमका रोगब्याधी धेरै लाग्दैन। तर हैजा पानीबाट फैलिने भएका कारण यदि पानी दूषित छ भने हिमाल, पहाड, तराई सबै क्षेत्रमा फैलिनसक्छ।

त्यस्तै हिमाली र पहाडी क्षेत्रका खोला बगेर तराईमा नै आउने भएकाले बाढीले बगाएर ल्याएको फोहोर पानीका स्रोत ट्युबेल, इनारमा मिसिन गई खानेपानीलाई समेत दुषित गराउँछ।

जसका कारण हैजा, झाडापखाला, टाइफाइड, जण्डिस लगायतका संक्रामक रोग फैलिने सम्भावना धेरै हुन्छ।

अहिले वीरगञ्जमा फैलिएको हैजाको कारण पत्ता लागेन भनिएको छ। पानीबाट फैलिएको पुष्टी नभएको भनिन्छ। यसको स्रोत के हुनसक्छ त ?
बीरगञ्जमा ८ सय एक हजार जनामा झाडापखालाको संक्रमण देखिए पनि करिब दुई सय जनालाई हैजा भएको पुष्टि गरिएको छ। ती दुई सय जनाले कहाँको पानी प्रयोग गरिरहेका छन् ? कस्तो खानेकुरा खाइरहेका छन् ? भन्ने अनुसन्धान हुन जरुरी छ।

जस्तै उनीहरुको नजिकको मान्छेलाई सोधेर उसको आनीबानी खानपान कस्तो छ सबै पत्ता लगाउनुपर्छ। सरकारले त्यो समुदायको पानी लगेर कल्चर गरेको छ। तर कल्चर गर्दा सधैंभरी पानीबाट हैजा पत्ता लगाउन सकिँदैन।

यसमा मुख्य गर्नुपर्ने काम कहाँको पानी खाइरहेका छन् ? कस्तो खानेकुरा खाइरहेका छन् ? भन्ने पत्ता लगाएर त्यो खाना तथा पानी जाँच गर्नुपर्छ। किनकी खानाबाट फैलिएको हो भने त्यो खाना खाएको व्यक्तिलाई मात्र हुन्छ भने पानी एउटै स्रोतबाट धेरै जनाले खाएको हुन्छ।

जस्तै काठमाडौंमा केही वर्ष अगाडि हैजा फैलिएको थियो। त्यो बेला मनहरा तथा बागमतीको छेउछाउमा बस्ने व्यक्तिलाई हैजा लागेको पाइएको छ। खोलाको पानीले लुगा धोएको, भाँडा माझेको या त्यो पानी प्रशोधन नगरी जारमा भरियो कि भन्ने कुरा आएको थियो। अहिले पनि सरकारले बाँडेको खानेपानीमा भेटिएन होला। तर संक्रमितले ट्युबेल, इनार या बाहिर जाँदा कहाँको पानी खान्छन् भन्ने पत्ता लगाउनु आवश्यक हुन्छ। त्यसैले अझै पनि यी सबै कुरामा खोज अनुसन्धान गर्यो भने स्रोत पत्ता लगाउन सकिन्छ।

सरकारले नियन्त्रणको लागि विभिन्न प्रयास गरिरहेको भनेको झण्डै दुई महिना पुगिसक्यो। अहिलेसम्म कारण नै पत्ता लागेको छैन। कसरी नियन्त्रणमा ल्याउँछ त ?
सबैभन्दा पहिले त बिरामीसँग कस्तो खानेकुरा खाइराख्नुभएको छ ? पानी कहाँको खाइराख्नुभएको छ ? भनेर सोधपुर्छ गरेर पानीकै स्रोत पत्ता लगाउनुपर्यो। त्यसपछि खानेकुरा बनाउँदा कस्तो पानी प्रयोग भएको थियो ? त्यो पत्ता लगाउनुपर्यो।

त्यसपछि मात्रै नियन्त्रणका प्रयास जस्तै उपचार कहाँ गराउने, कसरी उपचार गर्ने भन्ने तर्फ लाग्नुपर्यो। अर्को रोग लाग्नबाट कसरी बचाउने भन्नेतर्फ लाग्ने हो भने पहिलो कारणलाई नियन्त्रण गर्ने हो। जस्तै पानी उमालेर मात्रै खाने, बाहिर जथाभावी खानेकुरा नखाने। त्यस्तै अर्को हो खोप। समुदायस्तरमै फैलिएको हैजालाई तत्काल नियन्त्रणका लागि हैजा विरुद्धको खोप लागउन सकिन्छ।

दैनिक बढ्दै गएको हैजा संक्रमणले छिमेकी जिल्लामा पनि त्रास फैलाएको छ। त्यो हैजा काठमाडौंसम्म फैलिन सक्ने सम्भावना कति छ ?
एकदमै सम्भावना हुन्छ। अहिलेको युगमा मान्छे एकै ठाउँ बस्दैन। कामको लागि या अन्य कारण जस्तै उपचारकै लागि काठमाडौं आउलान्। उनीहरुले कतै त्यो पानी स्रोतमा मिसिनगयो भने काठमाडौं मात्रै हैन जहाँसुकै पनि फैलिनसक्छ। त्यसैले यसलाई चाँडो भन्दा चाँडो नियन्त्रणमा ल्याउन जरुरी छ।

सम्बन्धित निकायले नियन्त्रणमा आउन अझै समय लाग्छ भनिरहेका छन्। यो चाँडो सर्ने भएकाले केही समयका लागि संक्रमित क्षेत्रका व्यक्तिलाई बाहिरी जिल्लामा आवत जावतमा रोक लगाउनुपर्ने हो कि?
यातायातलाई नै रोक लगाउन जरुरी छैन। किनकी कुनै पनि व्यक्तिले उचित ठाउँमा चर्पीको प्रयोग गर्ने, राम्रोसँग हात धुने जस्ता कुरामा ध्यान दिनुपर्ने यसबाट बच्न सकिन्छ।

अहिले प्राय सबैजसो ठाउँमा खुलादिसापिसाब मुक्त भएर शौचालयको प्रयोग हुने गरेको छ। त्यसैले कसैलाई आवतजावतमा नै रोक लगाउनु पर्ने होइन। तर व्यक्तिगत सरसफाइ जस्तै हात धुने, झाडापखाला लागेको मान्छेले खानेकुरा नबनाउने लगायतका कुरामा ध्यान दिनुपर्छ।

रिपोर्ट अनुसार पर्सामा अहिले ४०–५० जना जति दैनिक बिरामी थपिने गरेका छन्। यो सामान्य होइन। किनकी अस्पतालमै यति धेरै बिरामी आउँदा कति बिरामी त घरमै जीवनजल खाएर पनि बसिरहेका होलान्। तिनलाई समेत जोड्दा दिनमै २–३ सय जनामा संक्रमण फैलिरहेको पाइन्छ। त्यसैले सरकारले चाँडो भन्दा चाँडो एक्शन लिनुपर्छ।

नेपालमा हैजाको इतिहास पुरानै हो। कहिले कर्णाली, कहिले काठमाडौं गरी वर्षेनी हैजाको प्रकोप देखिँदै आएको छ। तर पनि सरकारले केही गर्न गर्न सकेको छैन। यसको पूर्व तयारीमा सरकार चुकेको हो ? सरकारले गर्नुपर्ने काम के के हुन् ?
पूर्वतयारीको कुरा गर्दा मलाई सबैभन्दा ठूलो भन्नुपर्ने कुरा के लागेको छ भन्दाखेरी अहिलेको युगमा पनि नेपाल सरकारले खानेपानीको राम्रो व्यवस्था गर्न नसक्नु दुखद हो।

गेट बनाउने, भ्यु टावर बनाउने, घण्टाघर बनाउने, काममा सरकारले ठूलो लगानी गरिरहेको छ। त्यो भन्दा आवश्यक त बाटो, बिजुलीको व्ववस्था गरेजस्तै जनतालाई शुद्ध खानेपानीको व्यवस्था गर्नु सरकारको मुख्य दायित्व हो।

यो अहिलेको सरकारको मात्रै होइन, राजाकै पालादेखिको समस्या हो। मेलम्चीको पानीको व्यवस्था गर्दा समेत शुद्ध पानी पाउन सकिएको छैन। किनकी मेलम्चीको पानी बेला बेलामा सुक्छ।

सुकेको बेलामा बाहिरको ढल, खोलानाला लगायतको सबै फोहोर पानी भित्र पस्छ। जसले गर्दा विभिन्न रोगहरु फैलिने सम्भावना रहन्छ। त्यसैले शुद्ध खानेपानीको व्यवस्था सरकारले गर्ने हो भने हैजा लगायत पानीजन्य रोगहरु ८० प्रतिशत हराएर जान्छन्। त्यसैले सरकारको मुख्य दायित्व यो हो। त्यसपछि सरकारले गर्ने अर्को काम भनेको कुनै ठाउँमा प्रकोप फैलियो भने सुई दिनसक्नुपर्यो। हैजाको भ्याक्सिन एकदमै प्रभावकारी छ। जुन भारतमै बन्छ। केही वर्ष अगाडि नवलपरासीमा प्रकोप फैलिँदा यो सुई दिइएको थियो।

हैजा भनेको त एकदमै सिरियस रोग हो। हामी आफैँले व्यक्तिगत सरसफाइमा जोड दिनुपर्छ। दिसा पिसाब गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुने लगायतका कुरामा ध्यान दिने हो भने सजिलै नियन्त्रण गर्न सकिन्छ।

अहिले पर्सामा पनि त्यहीसुई दिनसक्ने हो भने धेरै जनाको ज्यान जोगाउन सकिन्थ्यो। किनभने हैजा भनेको त एकदमै सिरियस रोग हो। हामी आफैँले व्यक्तिगत सरसफाइमा जोड दिनुपर्छ। दिसा पिसाब गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुने लगायतका कुरामा ध्यान दिने हो भने सजिलै नियन्त्रण गर्न सकिन्छ।

विगतका दिनहरुमा देखिने झाडापखालाको अवस्था हेर्दा अहिलेको स्थिति के हो ?
हैजाको संक्रमण हुँदा शरीरको पानी सबै जान्छ। विशेष गरी बालबालिका र बृद्धबृद्धा तथा कमजोर व्यक्तिमा शरीरको पानी नै सुकेर मृत्यु हुने हुन्छ। अहिलेको अवस्थामा त्यस्ता बिरामीलाई तुरुन्तै आइवी दिएर कन्ट्रोल गर्ने राम्रो व्यवस्था छ।

हैजा हो होइन भनेर थाहा पाउने लक्षण के के हुन् ?
अन्य झाडापखाला जस्तै एकदमै पातलो दिसा हुन्छ जसलाई वाटरी डाइरिया पनि भनिन्छ। जसमा चामलको पानी जस्तै झोल जाने हुन्छ। त्यो भन्दा पनि एकदमै धेरै पातलो दिसा भयो, कमजोर महसूस भयो र हैजा फैलिरहेको छ भने हैजा नै हो कि भनेर शंका गर्नुपर्छ। त्यस्तो अवस्थामा तुरुन्तै जीवनजल खाने र यदि जीवनजलले पनि केही काम गरेन भने नजिकको अस्पताल गएर पानी चढाउनुपर्छ।

आमनागरिकले यसबाट बच्न के कस्ता सतर्कताअपनाउन जरुरी छ ?
आमनागरिकले अपनाउनुपर्ने मुख्य सतर्कता भनेको खाना र पानीमा एकदमै ध्यान दिनुपर्छ। जस्तै पानी उमालेर खाँदा मात्रै पनि ९९ प्रतिशत यो रोग लाग्नबाट बच्न सकिन्छ।

खानेकुरा बनाउँदा या शौचालय गएर आएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। बासी सडेगलेका र काँचो खानेकुरा सकेसम्म नखाने र खानै परे राम्रोसँग धोएर मात्रै खाने गर्नुपर्छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : १० बजे

सचिवबाट राजीनामा दिएकी संगीताको नाम काटियो, चार मन्त्रीलाई शपथ गराइँदै

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा मन्त्री बन्ने सम्भावना तत्काललाई टरेको

भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफैँ फर्किए

बागमती– जेन-जी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी

देशभर छ राजमार्ग पूर्णरुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने

काठमाडौं– हाल देशभरका छ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध र

दसैँ मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौं– मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका