दिपावलीमा मोदीसँग कुरा गरेपछि ट्रम्पले भने- 'रुसबाट धेरै तेल नकिन्नू’ | Khabarhub Khabarhub

दिपावलीमा मोदीसँग कुरा गरेपछि ट्रम्पले भने- ‘रुसबाट धेरै तेल नकिन्नू’


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको रूसी तेल आयातबारे चर्चा गरेको दाबी गरेका छन् । उनले मङ्गलबार (स्थानीय समयअनुसार) ओभल अफिसमा आयोजित दीपावली समारोहपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भारतसँगको सम्बन्धलाई अत्यन्त ‘सकारात्मक’ बताउँदै दुवै देशबीच ‘केही ठूला सम्झौताहरूमा’ काम भइरहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री मोदीसँगको आफ्नो सम्बन्धलाई ‘धेरै राम्रो र भरपर्दो’ भन्दै भारतका जनताप्रति गहिरो स्नेह प्रकट गरे । “म भारतका जनतालाई माया गर्छु”, ट्रम्पले भने, “हामी हाम्रा दुई देशबीच केही महत्त्वपूर्ण सम्झौताहरूमा काम गर्दैछौँ । मैले आज प्रधानमन्त्री मोदीसँग कुरा गरेँ र हाम्रो सम्बन्ध अत्यन्तै राम्रो छ । उहाँले रुसबाट धेरै तेल किन्नु हुनेछैन । उहाँ पनि मेरो जस्तै युद्धको अन्त्य चाहनुहुन्छ । उहाँ रुस र युक्रेनबीचको युद्ध सकिएको देख्न चाहनुहुन्छ । त्यसैले भारतले रूसी तेल खरिद घटाएको छ र अझ फिर्ता गर्दैछ ।”

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग भएको कुराकानीको पुष्टि गरेका छन् तर तेल खरिदको विषयमा कुनै टिप्पणी गरेका छैनन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखे, “राष्ट्रपति ट्रम्प, फोन कल र दीपावलीको हार्दिक शुभकामनाका लागि धन्यवाद । प्रकाशको यस पर्वमा हाम्रो दुई महान लोकतन्त्रले विश्वलाई आशाको उज्यालोले झलमल्ल पारोस् र सबै प्रकारका आतङ्कवाद विरुद्ध एकताबद्ध रहोस् ।”

यसअघि अक्टोबर १८ मा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भोजका क्रममा पनि राष्ट्रपति ट्रम्पले भारतले रुसबाट तेल खरिदमा ‘उल्लेखनीय कटौती’ गरेको र ‘अब पूर्ण रूपमा फिर्ता लिइरहेको’ दाबी गरेका थिए । उनले त्यतिबेला भनेका थिए, “भारतले अब रुसबाट तेल खरिद गर्ने छैन । हङ्गेरी केही अड्किएको अवस्थामा छ किनकि उनीहरूका लागि पुरानो पाइपलाइन छ र समुद्र छैन । मैले उनीहरूका नेतासँग पनि कुरा गरेँ, तर भारतले अब रूसी तेल किन्ने छैन ।”

ट्रम्पका यी अभिव्यक्तिहरू युक्रेनमा जारी युद्ध र त्यससँग सम्बन्धित भू–राजनीतिक दबाबको सन्दर्भमा आएका हुन् । पश्चिमी मुलुकहरूले रूससँगको ऊर्जा व्यापारले मस्कोको सैन्य आक्रमणलाई सहयोग गरेको आरोप लगाउँदै त्यसमा कमी ल्याउन आग्रह गर्दै आएका छन् । अक्टोबर १६ मा भारतले राष्ट्रपति ट्रम्पका उक्त दाबीहरूको प्रतिक्रिया दिँदै देशको ऊर्जा नीति राष्ट्रिय हित र भारतीय उपभोक्ताको सुरक्षा आवश्यकताबाट निर्देशित छ भनी स्पष्ट पारेको थियो ।

भारतले लामो समयदेखि रूसी तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि अपरिहार्य बताउँदै आएको छ । राष्ट्रपति ट्रम्पले यसअघि पनि प्रधानमन्त्री मोदीले रूसी तेल खरिद रोक्ने आश्वासन दिएको र यो कदम मस्कोमाथि विश्वव्यापी दबाब बढाउने दिशामा ‘ठूलो कदम’ भएको दाबी गरेका थिए । एएनआईले राष्ट्रपति ट्रम्पसँग भारतलाई विश्वसनीय साझेदारका रूपमा हेर्छ कि हेर्दैन भनी प्रश्न गर्दा उनले जवाफ दिए, “हो, पक्का । प्रधानमन्त्री मोदी मेरा साथी हुनुहुन्छ । हाम्रो सम्बन्ध उत्कृष्ट छ । भारतले तेल खरिद गरिरहेकोमा म सन्तुष्ट थिइनँ, तर उहाँले मलाई आज आश्वासन दिनुभयो कि भारतले अब रुसबाट तेल किन्ने छैन । यो ठूलो परिवर्तन हो । अब हामीले चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ ।”

भारतले ऊर्जा आपूर्ति विविधीकरण यसको दीर्घकालीन रणनीतिक प्राथमिकता हो, तर तत्कालका लागि रूसी तेलले देशको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेको निरन्तर तर्क गर्दै आएको छ । वासिङ्टनले भने नयाँदिल्लीलाई वैकल्पिक स्रोततर्फ उन्मुख हुन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ३ : १९ बजे

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट

सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध