सत्र करोडमा पक्की पुल निर्माण « Khabarhub

सत्र करोडमा पक्की पुल निर्माण


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । 

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । 

जन्तेढुङ्गा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिले सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । 

बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावतकै गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताए। नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देवीस्थान–चिसापानी सडकखण्डमा पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवा सुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकारअन्तर्गत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताए ।

 ‘पुल बनेपछि स्थानीय किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि दैनिक जीवनमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पुर्‍याउन सकिने, विद्यार्थी तथा रोजगार खोज्ने युवालाई यात्रा छोटो र सहज हुने, बिरामीलाई आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पतालमा  पुर्‍याउन सहज भएको छ’, उनले भने, ‘यो पुल हाम्रो गाउँपालिकाको समृद्धिको ढोका हो । तोकिएको समयभन्दा अगाडि नै पुल सञ्चालनमा आएपछि त्यो समृद्धिको ढोका खुलेको छ ।’

जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व बुवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ । 

बुवाखोला मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको सात महिनापछि विसं २०८१ मङ्सिर–६ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका थिए । तोकिएको समयभन्दा वर्षदिन अघि नै निर्माण सम्पन्न भएको यो मोटरेबल पुल आज मन्त्री राईले नै औपचारिक उद्घाटन गर्ने कार्यक्रम राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इञ्जिनियर विनम दाहालले जानकारी दिए । 

नेपालमा निर्माण व्यवसायीका विरुद्ध ‘जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने’ भन्ने आलोचना सामान्य छ । बुवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्ष दिनअघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले यो कामको प्रशंसा गरेका छन् । 
 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : २० बजे

ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्यूनीकरणमा

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको

कर्णालीका मार्कको नाममा एनपीएल सिजन २ मा पहिलो शतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पहिलो

कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सर्वाधिक रन

लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार