कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन « Khabarhub

कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
 
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास निर्वाचन नै भएकाले पार्टीले भाग लिने निर्णय गरेको हो । 

यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन-जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । त्यसैले तत्काल शान्तिसुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”

गत भदौ २४ गते मुलुकमा अकल्पनीय विध्वंश र अराजकताको अवस्था सिर्जना भएको जटिल परिस्थितिमा तत्कालीन संकटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्ने प्रश्न अत्यन्त संवेदनशील बनेको स्मरण गर्दै कांग्रेसले सरकारविहीन अवस्थाका बीच प्रदर्शनरत युवाहरूको माग सम्बोधन र शान्तिसुरक्षा कायम गर्न राष्ट्रपतिले संसद् बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ । 

संवैधानिक व्यवस्थाअनुसार संसद् भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्नेमा कांग्रेसको स्पष्ट धारणा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

‘कांग्रेस कार्यसम्पादन समितिको असोज ३ गतेको बैठकले संसद् विघटनको उपक्रम, संविधानको परिकल्पना तथा सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ भन्दै संसद् विघटन असंवैधानिक भएको र यस कदमले लोकतान्त्रिक उपलब्धि जोखिममा पारेको ठहर गरिसकेको छ । संविधानभित्रै समाधान सम्भव छ भन्ने कांग्रेसको दृढ विश्वास छ’, विज्ञप्तिमा भनिएको छ,’हाल अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभई संवैधानिक पनि हो । सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकाले अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेसले विश्वास गरेको छ ।’

बैठकले विद्यमान शान्तिसुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन नसक्ने कांग्रेसले जनाएको छ । 

‘लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ । यसले समाजमा थप ध्रुवीकरण र हिंसा निम्त्याउने सम्भावना बढाउँछ । अतः उत्तेजना होइन संयम, निषेध होइन संवाद, अविश्वास होइन विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, सङ्घर्ष र त्यागका माध्यमबाट स्थापित गरेको सङ्घीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास साझा जिम्मेवारी हो भन्दै यसका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ । 

निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न कांग्रेसले जोडदार माग गरेको छ । गत भदौ २३ गते ‘जेन-जी’ पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अत्यन्तै अकल्पनीय र दुःखद घटना घट्न पुग्यो भन्दै कांग्रेसले उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्न माग गरिएको छ । 

कांग्रेसले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मीसहित सोही दिनमा नै ५७ जनाको ज्यान गएको र सयौँ नागरिक घाइते बनाउने सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भएको ठहर गरेको छ ।

कांग्रेसले प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट, कुटपिटका घटनालाई अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंशकारी भनेको छ । 

बैठकले यस्ता घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै भदौ २४ मा भएको आक्रमण, लुटपाट, आगजनीसहितका विध्वंशकारी घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय उपलब्ध गराउन पुनः सरकारसँग माग गरेको छ । यसैगरी घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, बर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालयसहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्तिसुरक्षाको प्रत्याभूति प्रदान गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

कांग्रेसले भदौ २४ को घटनाक्रममा आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण आर्थिक तथा व्यावसायिक क्षति व्यहोर्नुपरेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन सरकारलाई गरेको छ ।

‘जेनजी’ पुस्ताले प्रदर्शनमार्फत उठाएका ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता’ जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज हुन् भन्दै कांग्रेसले प्रदर्शनमार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने स्मरण गराउँदै ती माग पूरा गराउने आवश्यक भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यलाई बैठकले स्वागत र अनुमोदन गरेको छ । साथै सभापति देउवा र उनकी धर्मपत्नीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै केन्द्रीय कार्यसम्पादन समितिको २०८२ भदौ २७ र असोज ३ गते बसेको बैठकको निर्णयहरूलाई अनुमोदन गरेको छ ।

यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गर्दै सो प्रयोजनका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले जेन-जी प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको ठहर गर्दै सुशासन र पारदर्शितालगायत विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्र्ने, संविधानको मर्म र मूल्यमान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र स्थिरताको दिशातर्फ अघि बढाउन साझा समझदारी आवश्यकका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विघटित प्रतिनिधिसभाका दलहरू, प्रदर्शनपश्चात् उदाएका दल, जेन-जी पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकार भएकाहरूसँग बहुपक्षीय संवाद तथा साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ ।


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पुनः बस्ने जनाइएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ४० बजे

कर्णालीको समृद्धिका लागि राजनीतिक र सामाजिक एकता आवश्यकः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र

दुई थान पेस्तोलसहित एकजना पक्राउ

रौतहट – चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक

दुहबीको जुट मिलमा आगलागी

धरान – सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको

नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

लागोस – नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा